नसा–नसामा रङ र रेखा
हार्ट अट्याक आएपछि उत्तम नेपालीको दिनचर्या पूरै फेरिएको छ। अहिले उनी बिहान ८–९ बजेतिर मात्र उठ्छन्। उठ्नेबित्तिकै दुई गिलास मनतातो पानी पिउँछन् अनि मन्दिरासँग एकाध घन्टा मर्निङवाक गर्छन्।
पहिलो भेट
‘क’ लेख्नुभन्दा पहिले माटोमा दाहिने हातको चोर औंलाले साँढेको चित्र बनाएको थिएँ। यही स्वभाव हुर्कंदै जाँदा स्कुले जीवनमा चित्रकार बन्ने सपना देख्न थालेँ।
२०५३ सालमा आईकम दोस्रो वर्षको परीक्षा दिएर काठमाडौं गएँ र चित्रकलाको व्याकरण र व्यवहार सिक्न सिर्जना कन्टेम्पोररी आर्ट ग्यालरी भृकुटीमण्डपमा भर्ना भएँ।
ग्यालरीमा मूर्तभन्दा अर्धअमूर्त र अमूर्त चित्रकला धेरै थिए। ती कलालाई हेर्ने मनको आँखा मभित्र खुलिसकेको थिएन। यति ठूलाठूला कलाकारहरूले जे पायो त्यही रङ पोतेर बादलले झैं के चित्र बनाएका होलान् भनेर छक्क पर्थें।
मूर्त र अर्धअमूर्त चित्रकलामा मात्र अभ्यस्त मेरा आँखा अमूर्त चित्रकलामा पुगेर अलमलिन्थे। तिनलाई म धेरै बेर टोलाएर हेर्थें अनि निराकारमा आकार खोज्थेँ; अमूर्ततामा मूर्तता खोज्थेँ; व्यञ्जनामा अभिधा खोज्थेँ। यस्तो लाग्थ्यो, म पानी र बादलको आकार खोजिरहेछु; हावा र प्रकाशको स्वरूप खोजिरहेछु।
यसरी छक्क पर्ने क्रममा खरानी रङलाई नायक बनाएर सिर्जना गरिएको एउटा अमूर्त चित्रकला हेरेर टोलाएँ। पेन्टिङको साइज ठूलै थियो। माध्यम एक्रेलिक। पेन्टिङको तल दाहिनेतिर चित्रकारको हस्ताक्षर थियो— उत्तम नेपाली।
हामीलाई सिकाउने शिक्षक थिए— कृष्ण मानन्धर। एक प्रसिद्ध चित्रकार। चिया पिउँदै विद्यार्थीले चित्र बनाएको हेर्दै गरेका कृष्ण सरलाई त्यही खरानी रङको पेन्टिङ देखाएर सोधेँ, ‘सर, यो पेन्टिङले के भन्न खोजेको हो ? ’
उनले मुस्कुराउँदै भने, ‘अझै हेर न। चित्रकलालाई बुझ्न हेर्न जान्नुपर्छ।’
मैले फेरि हेरेँ तर केही बुझिनँ। लाग्यो, कि मैले हेर्न जानिनँ कि चित्रकारले बनाउन जानेनन्। कृष्ण सरले फेरि भने, ‘पेन्टिङको बारेमा पेन्टिङ आफैंले भन्छ। पेन्टिङको बारेमा व्याख्या गर्ने हो भने पेन्टिङ नै किन बनाउनुप¥यो ? व्याख्या मात्र गरे भइहाल्यो नि।’
अझै पनि मैले भनेँ, ‘सर, मैले त पटक्कै बुझिनँ।’
त्यसपछि कुन्नि के सोचेर हो, उनले भने, ‘मैले पनि बुझेको छैन।’
त्यसपछि धेरै बेरसम्म मेरो मुखमा ताल्चा लाग्यो। तर, मैले ताल्चा लगाइरहन सकिनँ र सोधेँ, ‘त्यसो भए मैले कसरी बुझ्ने त सर ? ’
उनले भने, ‘जाऊ न उत्तम नेपालीलाई नै सोध।’
‘कहाँ जाने सर ? ’
‘उनी एकेडेमीमा छन्। उनको कार्यालय नक्साल बालमन्दिरमा छ।’
‘मजस्तो सामान्य मान्छेलाई उहाँजस्तो ठूलो मानिसले भेट दिनुहोला र सर ? ’
‘गएर त हेर।’
‘भेट दिए पनि भन्नुहोला र सर ? ’
‘सोधेर त हेर।’
०००
साउन महिना। दिन बादलु र रुन्चे थियो। बेलाबेलामा बादल पन्छाएर आउने घाम भने चर्को थियो। म म्हैपीबाट बालमन्दिर नक्साल एक घन्टामा हिँडेरै पुगेँ र बालमन्दिरकै एक कर्मचारीलाई सोधेँ, ‘कलाकार उत्तम नेपालीको कोठा कुन हो ? ’
उनले देखाइदिएको कोठातिर गएँ। राणाकालीन घर भव्य लाग्दै थियो। ढोकामा बोर्ड थियो। उत्तम नेपाली— भित्र। मैले भित्र हेरेँ।
लाम्चो अनुहारमा लामो र पातलो नाक, सेतो चस्मा भित्रबाट कला खोजिरहेका ठूलाठूला आँखा, सेतै कपाल, तीलचामले जुँगा, ठिक्कको शरीर, कुनै गहिरो चिन्तन या कलामा डुबिरहेजस्तो भलाद्मी अनुहार। उनलाई पत्रपत्रिकामा त देखेकै थिएँ। फोटो देखिरहेकाले चिन्न गाह्रो भएन। ढोकाको सँघारमै उभिएर नमस्कार गरेँ।
उनले आफ्नो सामुन्नेको कुर्चीमा बस्न भने। बसेपछि उनले सोधे, ‘के कामले आउनुभयो ? ’
मैले सुस्तरी भनेँ, ‘तपाईंको पेन्टिङ हेरेको थिएँ। त्यसैका बारेमा सोध्न।’
‘तपाईं ललितकला क्याम्पसको विद्यार्थी हो ? ’
‘होइन, म सिर्जना कन्टेम्पोररी आर्ट ग्यालरीमा पढ्छु। एक जिज्ञासु। त्यहाँ तपाईंको पेन्टिङ रहेछ। त्यसकै बारेमा सोध्न आएको।’ उनले नभन्लान् कि भनेर मैले सन्दर्भस्रोत पनि भनेँ, ‘मलाई कृष्ण मानन्धर सरले पठाउनुभएको।’
उनले उल्टै सोधे, ‘तपाईंले त्यो पेन्टिङ हेरेर के बुझ्नु भो ? ’
कोठाभरि उनकै मात्र पेन्टिङ नै पेन्टिङ थिए। म उनको एउटा पेन्टिङका बारेमा सोध्न गइरहेको थिएँ। तैपनि मैले भनेँ, ‘त्यो पेन्टिङको मुख्य रङ खरानी छ र त्यो रङ अशान्त छ। त्यसैले मलाई लाग्यो, पेन्टिङले काठमान्डुको प्रदूषण देखाउन खोजेको हो।’
उनले सहज भावमा भने, ‘हो, त्यही हो।’
अहिलेजति प्रदूषित नभए पनि काठमान्डु त्यो बेला पनि प्रदूषित थियो। धुलो, धुवाँ र ध्वनि प्रदूषण।
उनले फेरि अर्को चुरोट सल्काए। लामो सर्को तानेर धुवाँ फ्याँके। चक्काचक्का पर्दै धुवाँ कोठाको आकाशमा बादलझैं नाच्न थाल्यो र कोठाबाट बाहिर निस्कने बाटो खोज्यो। पानी नपार्ने धुवाँको त्यो बादललाई हेरिरहेँ। लाग्यो, उनले उडाएको धुवाँले लेखेका रेखाहरूले पनि चित्र बनाइरहेछन्। अमूर्त चित्र।
केही बेर सोचमग्न भएर उनी बाहिर बार्दलीमा निस्किए। म पनि उनको पछिपछि निस्किएँ। बाहिर बार्दलीमा उभिएर पनि उनले धुवाँ उडाइरहे। मौसम बडो मोहक थियो। साउनको मध्य दिन। सिमसिम पानी परिरहेको थियो। पानीसँगसँगै घाम पनि लागिरहेको थियो। केटाकेटी छँदा घामपानी घामपानी स्यालको बिहे... गाउँदै रमाइलो गरेको याद आयो।
चारैतिर बार्दली सहितको बेलायती वास्तुकलाअनुसार बनाइएको विशाल राणाकालीन महल। महलका माझमा आँगन। आँगनको माझमा भर्खर सयौं सन्तानलाई जन्म दिएर हलुका बन्दै गरेको ठूलो आँपको रूख। कतैकतै अझै फल बाँकी थिए।
सिमसिम पानी परेको हुँदा आँपको रूखको प्रत्येक पातमा शीतझैं तप्किरहेका पानीका थोपा थिए। पानीका प्रत्येक थोपामा घाम थियो। बादललाई पन्छाएर पातको पानीमा परेको घाम पातहरूलाई पन्छाएर जमिनमा पनि परेको थियो। जमिनमा दूबैदूबो थियो। दूबोका सानासाना धारिला मुन्टाहरूले पनि एकएक थोपा पानी बोकेका थिए। ती प्रत्येक थोपामा पनि घाम थियो।
उनले धुवाँ उडाउँदै त्यही दृश्यलाई देखाएर भने, ‘त्यो दृश्यलाई हेर्नुस्।’
साँच्चै नै त्यो दृश्य अद्भुत थियो। त्यो चित्र मनमा अहिले पनि उस्तै छ। उनले फेरि सोधे, ‘यो आँपको रूख, रूखका पातहरू, पातका पानीहरू र पानीमा परेका घामहरू... यो सबै दृश्य जस्ताको तस्तै बनाउनु कला हो कि होइन ? ’
उनको मोटो र ओजिलो बोली। कुशल शब्दसंयोजन। म अझ आकर्षित भएँ। तर, उनको गहन प्रश्नले मजस्तो सतही केटो हच्केँ। कसरी ‘हो’ भनूँ, कसरी ‘होइन’ भनूँ ! मसँग कुनै बलियो तर्क थिएन।
केही सोचेजस्तो गरेँ। लाग्यो, यस्तो अद्भुत दृश्य जस्ताको तस्तै बनाउनुलाई कसरी कला होइन भन्ने ? मोनालिसाको मुहारचित्र जस्ताको तस्तै बनाउँदा कला हुने, यति मनमोहक दृश्य जस्ताको तस्तै बनाउँदा किन कला नहुने ? त्यसैले भनेँ, ‘हो।’
उनले चुरोटको खरानी झार्दै भने, ‘थियो, थियो र थियो... होइन, होइन र होइन।’
त्यसपछि त म ट्वाल्लै परेँ। यति अद्भुत दृश्यलाई जस्ताको तस्तै बनाउनु किन कला होइन ?
उनले व्याख्या गरे, ‘भिन्चीको पालामा थियो; पिकासोको पालामा होइन। जब क्यामेराको आविष्कार भयो कलाको परिभाषा परिवर्तन भयो। कति दिन लगाएर बनाइने चित्रकला त क्यामेराले एकै क्लिकमा खिचिक्क बनाइदिइहाल्छ।’
‘त्यसो भए कला भनेको के हो त ? ’
उनले भने, ‘यो अद्भुत दृश्यलाई, जस्ताको तस्तै नबनाई अरू नै तरिकाले कुनै विम्ब या प्रतीकका माध्यमबाट यो दृश्यलाई देखाउनु कला हो।’
मेरो मनमा फेरि अर्को प्रश्न उठ्यो र सोधेँ, ‘त्यस्तो चित्र कसरी बनाउने त ? ’
कहिल्यै नहाँस्लाजस्तो लाग्ने उनको ओठमा मुस्कानको मधुरो रेखा कोरियो। उनले आफ्नो ओजिलो बोलीमा अलिकति त्यही मुस्कान मिसेर भने, ‘त्यो जानेको भए त मै बनाइहाल्थेँ नि; तपाईंलाई किन भन्थेँ !’
कला बुझ्न यो भेट मेरा लागि महŒवपूर्ण रह्यो।
फर्कंदै गर्दा मनमा लाग्यो, भावलाई भाषामा भन्न यति धेरै पकड भएका यी चित्रकार कवि पनि हुनुपर्ने हो। नभन्दै यो भेटको सात वर्षपछि २०६० सालतिर बजारमा उनको बिना शीर्षकको कवितासंग्रह भेटेँ। प्रज्ञाप्रतिष्ठानले प्रकाशित गरेको त्यो कवितासंग्रह पनि खुब मन लगाएर पढेँ।
मैले चित्रकलामा निरन्तरता दिन सकिनँ। मलाई लाग्यो, मेरो कस्तूरी सायद चित्रकला होइन। जब मेरो पहिलो आख्यानको नामकरण गर्ने बेला आयो, मैले त्यो दिन आँपको पातमा परेको पानी र पानीमा परेको घाम सम्झेँ, जहाँ सयौं घाम थिए। तर, ती घामहरूले ताप र प्रकाश दिइरहेका थिएनन्; सौन्दर्य मात्र दिइरहेका थिए। ती घामहरू हावाको झोकासँगै जमिनमा खस्छन् र बिलाउँछन्। जीवन र जीवनका धेरै क्षण पनि त्यही पानीको घामजस्तै लागेर मैले किताबको नाम नै राखेँ— पानीको घाम।
त्यो दिन कलाकार उत्तम नेपालीसँग भेट नभएको भए। भेट भए पनि कुरा नभएको भए। कुरा भए पनि त्यो दृश्य र त्यो दृश्यमाथि त्यो कुरा नभएको भए मैले त्यो किताबको नाम ‘पानीको घाम’ राख्ने थिइनँ।
०००
मनमा लागिरहेको थियो, चित्रकलालाई निरन्तरता नदिए पनि चित्रकलालाई विषयवस्तु बनाएर एउटा उपन्यास लेख्छु। आखिर यहाँ चित्रकलालाई विषयवस्तु र चित्रकारलाई पात्र बनाएर उपन्यास लेखिएका पनि छैनन्। लैनसिंह वाङ्देलको ‘रेम्ब्रान्ट’ उपन्यास पनि विदेशी कलाकारको जीवनमा आधारित थियो। यसका लागि केही कलाकारलाई भेट्छु भन्ने लागिरहेको थियो।
यस्तैमा मित्र दीपक सापकोटाले उत्तम नेपालीका बारेमा लेख्न धेरै समयदेखि आग्रह गरिरहेका थिए। मेरो मनकै कुरा गर्दै थिए।
दोस्रो भेट
२०७४ पुस ४ गतेको पहारिलो दिन। म उनको घर पुगेँ, महाराजगन्ज सल्लाघारी बाँसबारी।
कवि ममता कर्माचार्य गेटमै लिन आइपुगिन्। उत्तम नेपालीकी जेठी छोरी, जो भर्खर अमेरिकाबाट केही दिनका लागि नेपाल आएकी रहिछन्।
गेटबाट भित्र छिर्नासाथ काठमान्डुको धुलोधुवाँ र भीडभाडबाट एकान्तको छुट्टै संसारमा प्रवेश गरेजस्तो लाग्यो। ऊर्जाशील भावहरू मनोलोकमा आउन थाले।
झन्डै दुई रोपनी फराकिलो जमिनमा बनेको सुन्दर घर। ममताजीले भनिन्, ‘यो घरको डिजाइन बुबा आफैंले गर्नुभएको हो।’
उनले यति भनेपछि कृष्ण मानन्धर सरले भनेको सम्झेँ, ‘मेरो घरको डिजाइन म आफैंले गरेको हो।’ उनले अझै अगाडि भनेका थिए, ‘इन्जिनियरले स्केलले नापेर बनाउँछ; कलाकारले आँखैले नापेर बनाउनुपर्छ।’
लाग्यो, आँखाले नाप्न अभ्यस्त भएकालाई स्केलले नापेर डिजाइन गर्नु ठूलो कुरा भएन।
एकाध कार्यक्रममा परबाट त देखेको थिएँ तर यति नजिक भएर ठीक एक्काइस वर्षपछि भेट्दै थिएँ।
असी वर्षको थकित अनुहार हेर्दा लाग्यो, उनी उमेरभन्दा १० वर्ष कम देखिएका छन्। मैले विगत सम्झाउने प्रयास गरेँ। सायद उनले सम्झेनन्। किनभने उनलाई यसरी भेट्न आउने धेरै हुन्छन्। त्यति मात्र होइन, उनलाई अचेल आफ्नै जिन्दगीका क्षणहरू पनि सम्झन गाह्रो हुँदो रहेछ। उनले खोक्तै भने, ‘अचेल मलाई बिर्सने रोगले मा¥यो। कुनै कुरा सम्झन खोज्छु, ज्यान गए सम्झन्नँ।’
तैपनि मैले उनीसँग केही कुरा गरेँ। उनकी जीवनसाथी मन्दिरा कर्माचार्य, छोरीहरू ममता र प्रकृति अनि जेठा छोरा उद्यमसँग कुरा गरेँ।
०००
चित्रकार, कवि, गीतकार उत्तम पहिलो नेपाली फिल्म ‘आमा’मा अभिनय गरेर चलचित्रका पहिलो खलनायक बने।
काठमान्डुको किलागलमा १९९४ सालमा उनले पहिलोपटक आँखा खोलेका थिए। उनका बाबुबाजे लखनउमा व्यापार गर्थे। ठूलै व्यापार थियो। कस्तूरी, केसरलगायत आयुर्वेदिक औषधिको व्यापार। नेपाली कोठी भनेपछि लखनउमा धेरैले चिन्थे। थुप्रै कारिन्दा थिए, जसलाई त्यहाँ मुनिमजी भनिन्थ्यो। पसलको नाम थियो— कृष्णप्रसाद तेजबहादुर नेपाली।
कृष्णप्रसाद उनको बाजेको नाम हो भने तेजबहादुर ठूलोबुबाको।
उनको बाल्यकाल र किशोरकाल त्यहीँ बित्यो। सानो छँदा उनी साह्रै मापाको थिए। चकचक र उट्पट्याङ गरिरहन्थे।
सानैदेखि उनलाई आफ्ना बाबुबाजेले गर्दै आएको व्यापारमा रुचि थिएन। तर, उनका बुबाले व्यापार नै गरोस् भन्ने चाहन्थे। उनले भने ठाडै अस्वीकार गरिदिए, ‘म तराजु समाउँदिनँ।’
मनमनै भने— म कुची समाउँछु।
उनको परिवारमा चित्रकारी गर्ने उनी पहिलो व्यक्ति थिए। उनका बुबा विष्णुप्रसाद कर्माचार्यको चित्रकलाप्रति सम्मान भाव थिएन। तल्लो वर्गका मानिसहरूले गर्ने कर्म हो भन्ठान्थे।
स्कुलको पढाइ सकेपछि उनले कलेजमा चित्रकारीको पाँचवर्षे कोर्स पढ्न चाहे। कलेजको आवेदन फारममा अभिभावकको हस्ताक्षर चाहिन्थ्यो। उनका बुबा हस्ताक्षर गर्न तयार थिएनन्। आमा रत्नादेवी भने उनको पक्षमा थिइन्, ‘तिमीलाई जे रुचि छ त्यही गर।’
तर आमालाई लेखपढ गर्न आउँथेन। कसरी आवेदन फारममा हस्ताक्षर गर्ने ? एक दिन आमाले नै उपाय सुझाइन्, ‘मुनिमजीहरूलाई सही गराऊ न।’
मुनिमजीहरू भनेका उनको व्यापारमा काम गर्ने एकाउन्टेन्ट कारिन्दाहरू। उनले आमाले भनेझैं गरे र लखनउको ‘कालीचरण इन्टर काँलेज’मा भर्ना भए। भर्ना भइसकेपछि भने उनका बुबाले रोकतोक गरेनन् तर तीनचार वर्षसम्म राम्रोसँग बोलेनन्।
२०१४ सालमा नेपाल आएर उनका बुबाले उनको नेवारी परम्पराअनुसार मागी विवाह गरिदिए। उनले केटी देखेका थिएनन्; केटीले पनि उनलाई देखेकी थिइनन्। उनका बुबाले केटी हेरेर भनेछन्, ‘यत्तिको केटी भए मेरा छोरालाई हुन्छ।’
केटीका बुबाले पनि उनलाई हेरेर भनेछन्, ‘यत्तिको केटो भए मेरी छोरीलाई पाल्छ।’
उनी २० वर्षका थिए, उनकी दुलही १५ वर्षकी।
उनको पुख्र्यौली घर किलागलबाट कुपण्डोल जन्ती गए। जन्ती जाँदा उनी बाजागाजासहित कालो कारमा धेरै नै जन्ती लिएर तामधामका साथ गए।
दुलही मन्दिराका साथीहरूले उनलाई जिस्क्याउँदै झ्यालबाट हेरेर भने, ‘ऊ तिमीलाई लिन तिम्रो दुलहा आए, कति राम्रो कालो कार चढेर।’
अर्की साथीले भनिन्, ‘अहा ! कति राम्रो बाजा। हेर त, कति राम्ररी बजाइरहेछन्।’
मन्दिराका साथी र आफन्तहरू कसैले दुलहीका लुगा लगाइदिए, कसैले गहना, कसैले सिँगारपटार गरिदिए। किशोरी मन्दिराले त दुलहाको कल्पना गरेकी पनि थिइनन्। उनी त राम्रो लुगा र महँगा गहना लगाउन पाएर कताकता खुसी पो भएकी थिइन्।
त्यही दिनदेखि मन्दिराले उत्तम र उनको घर सम्हाल्न थालिन्। कहिलेकाहीँ बिहान उठ्दा ढिलो भयो भने पिँढी र बुइगलमा तमाखु खाँदै धुवाँ उडाउँदै गरेका ज्यापुनीहरूले उनलाई जिस्क्याउँथे, ‘ए दुलही नानी ! किन अबेला उठेको ? काजीले समाइराख्यो कि क्या हो ? ’
मन्दिरा लाजले डल्लो पर्थिन् र भोलिपल्ट झिसमिसेमै उठ्नेबारे सोच्थिन्।
एकदिन उत्तमले मन्दिरालाई भने, ‘जस्तो मैले सोचेको थिएँ, त्यस्तै दुलही पाएँ। धेरै नपढे पनि तिमी व्यावहारिक छौ। तिमी देखेर म असाध्यै खुसी छु।’
मन्दिराले ४ कक्षा मात्र पढेकी थिइन्; उत्तमले कलामा स्नातक गरेका थिए।
बिहे भएको एक वर्षछि ०१५ सालमा उत्तमले मन्दिरालाई लखनउ लिएर गए। तर, एक वर्षभन्दा बसेनन्। ०१६ सालमा उनी सपरिवार नेपाल फर्के। किनभने उनलाई लखनउ बस्नै मन लागेन; आफ्नै देशमा आएर आफ्नो कला देखाउन मन लाग्यो।
उनी आएपछि केही वर्षमा त उनका बुबाहरू सबै नेपाल आए। उनकै आगमनले सबैलाई तान्यो। अहिले उनको परिवारका कोही सदस्य लखनउमा छैनन्।
नेपाल आएर उनी हुलाकमा टिकट डिजाइनरको जागिरे भए। तर, उनलाई नेपाली बोल्न आउँथेन। हिन्दी र अंग्रजी मात्र आउँथ्यो। उनलाई त आफ्नै मातृभाषा नेवारीसमेत बोल्न आउँथेन।
उनले बिस्तारै नेपाली भाषा सिक्न थाले। उनले नेपाली बोलेको सुनेर उनका साथीहरू हाँस्थे। उनका साथीहरूले हिन्दी बोलेको सुनेर उनी हाँस्थे।
तीन–चार वर्षमा त उनी नेपाली र नेवारी दुवै भाषामा पोख्त भए। घरपरिवारमा नेवारीमै बोल्ने र बाहिर नेपालीमा बोल्ने नियमै बनाए। घरपरिवारमा अहिले पनि नेवारीमै बोलिन्छ।
०१८ सालमा उनले पहिलो चित्रकला प्रदर्शनी गरे, सरस्वती सदन रानीपोखरीमा। त्यो प्रदर्शनी भव्य भएको थियो। राजा महेन्द्रले उद्घाटन गरेका थिए र उनका तीनवटा पेन्टिङ किनेका थिए।
घरव्यवहारको सम्पूर्ण जिम्मेवारी मन्दिराले सम्हालिन्। उत्तम संगीतमा डुब्दै चित्रमा पौडन्थे। पुराना क्लासिकल गीत–संगीत बजाउँदै पेन्टिङ गरिरहन्थे। कहिले त तीन–चार महिना नै तपस्या गरेजस्तो गरी काम गर्थे। मन्दिराले लगिदिएको चिया पनि खान बिर्सन्थे। पछि हेर्दा त चिया चिसो भइसकेको हुन्थ्यो।
यसरी उनी एकातिर कलाको संसारमा उड्दै थिए र अर्कोतिर मन्दिराको संसारमा हिँड्दै थिए। चित्र बनाउँदा बनाउँदै कहिलकाहीँ मन्दिरालाई भन्थे, ‘नजिकै बस न।’
मन्दिरा नजिकै बस्थिन्। उनी भन्थे, ‘हेर, म कसरी चित्र बनाउँछु।’
मन्दिरा प्रेमपूर्वक हेर्थिन्। मूर्त कला भए कतै कपाल मिलेन, कतै आँखा मिलेन भनेर सुझाव पनि दिन्थिन्। तर, अर्धअमूर्त र अमूर्त चित्रकला भए चुपचाप हेरिरहन्थिन् तर बुझ्थिनन्। नबुझे पनि राम्रो लाग्थ्यो।
उनी सूचना विभागमा जागिरे हुँदा सरकारको तर्फबाट विभागले ‘आमा’ फिल्म बनाउने भयो। उनले खलनायकको भूमिकामा खेले र नेपाली फिल्मको पहिलो खलनायक बने। विभागले नै बनाएको अर्को फिल्म ‘हिजो, आज र भोलि’मा भने सानो भूमिका मात्र गरे। त्यसपछि अभिनय गरेनन्।
उनलाई अर्काको नियन्त्रणमा बसेर धेरै नोकरी गर्न मन लागेन। उनी स्वतन्त्र रूपले चित्रकलामा नै मस्त भइरहे।
कलाकार मात्र होइन, साहित्यकार र गायकगायिकासँग पनि उनको गहिरो मित्रता थियो। कतिपयसँग पारिवारिक सम्बन्ध नै थियो। सँगै खाने, पिउने, घुम्ने र सुखदुःख साट्ने साथीहरू। भूपि शेरचन, भीमदर्शन रोका, नारायणगोपाल, शंकर लामिछाने, धु्रवचन्द गौतम, तुलसी दिवस आदिसँग उनको गहिरो सम्बन्ध थियो।
नारायणगोपाल र उनको त घर पनि नजिकै थियो किलागलमा। तँ–तँ र म–म चल्थ्यो। आफू गीतकार र नारायणगोपाल मिल्ने साथी भएकाले उनी घुक्र्याउँथे, ‘मेरो गीत पनि गा न नारान।’
नारायणगोपाल भन्थे, ‘तेरो गीत म गाउँछु ? हेर्, म तेरो गीत गाउँदै गाउँदिनँ।’
तैपनि यी दुईले मित्रताको गीत भने गाइरहे।
०००
मन्दिरासँग उनको कहिलेकता ठाकठुक पथ्र्यो। मन्दिराले एउटा खसी नै कसैलाई दिए पनि उनलाई थाहा हुन्थेन। उनी आफ्नै धुनमा हुन्थे। मन्दिरालाई भने कहिलेकाहीँ घरव्यवहारमा पनि चासो राखिदिए हुन्थ्यो भन्ने लाग्थ्यो। पछिपछि त स्वभाव नै यस्तै हो भनेर चित्त बुझाइन्।
उनका छोराछोरीहरू उनीसँग जुनै विषयमा पनि छलफल र बहस गर्थे। रमाइलो र हाँसिमजाक गर्थे। विशेषगरी छोरीहरू ममता र प्रकृति खुब खुल्थे। त्यो क्रम अहिले पनि जारी छ।
सानो छँदा दुवै छोरी बिहान ब्यूँझनेबित्तिकै एकछिन बुबासँग सुत्न जान्थे। बुबासँग एकछिन टाँसिएर सुतेपछि मात्र छोरीहरू सन्तुष्ट हुन्थे।
कान्छी छोरी प्रकृतिले त मुड भन्ने कुरा नै बुबाबाट सिकिन्। केटाकेटी हुँदा पनि बुबा चित्र बनाउने मुडमा डुबिरहेको बेला बाधा पुग्ला कि भनेर नजिकसम्म जान्थिन्।
उनका दुई छोरा— उद्यम र सुद्यम। दुई छोरी— ममता र प्रकृति।
उद्यम र प्रकृति नेपालमै छन् भने सुद्यम र ममता अमेरिकमा। ममता कवि पनि हुन्। उनको कविताको पुस्तक प्रकाशित भएको छ। उनी बेलाबेलामा छोराछोरीकहाँ बस्न अमेरिका गइरहन्छन्।
आजसम्म उनका पच्चीसवटा एकल चित्रकला प्रदर्शनी भइसकेका छन् भने नेपालको प्रतिनिधित्व गरेर विभिन्न देशमा उनको चित्रकला प्रदर्शनी भएको छ।
२०३१ सालमा उनले राष्ट्रिय कला प्रदर्शनीमा प्रथम पुरस्कार पाएका थिए भने २०५५ सालमा राष्ट्रिय पृथ्वी पुरस्कार पाएका छन्।
उनी विसं २०५२ बाट ०५६ सम्म तत्कादप्न नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको सदस्य भएका थिए।
उनको अर्को महत्वपूर्ण स्वभाव हो— कागज देख्यो कि लेखिहाल्ने। चुरोट खाएर त्यसको खोलमा समेत उनले खुब लेखे। पहिलेपहिले फुलमार चुरोटमा लेखे। यतिसम्म कि ट्वाइलेट जाँदा पनि कागज लिएर जान्थे र लेख्दै बस्थे। कवितासंग्रहका अतिरिक्त उनले थुप्रै गीत र भजन लेखेका छन्, जुन रेकर्ड पनि भएका छन्।
कुरैकुरामा उनले एउटा अप्रकाशित कविता सुनाए :
बिहानीपखै कालो रात भएछ
खल्तीमा राखेको ठूलो चन्द्र हराएछ
हुन त यो जीवनको पहिलो रात होइन
हराएको चन्द्र पनि पहिलो होइन
तर, यसपटक हतास छु
कहीँ भोलि बिहानको सूर्य चन्द्रझैं नहराओस्।
दिनचर्या
हार्ट अट्याक आएपछि उनको दिनचर्या फेरिएको छ। अहिले उनी बिहान ८–९ बजेतिर मात्र उठ्छन्। उठ्नेबित्तिकै दुई गिलास मनतातो पानी पिउँछन् अनि मन्दिरासँग एकाध घन्टा मर्निङवाक गर्छन्। प्रेसर र सुगरको औषधि खान्छन्। ब्रेकफास्टका रूपमा दूधसँग ओटमिल खान्छन् अनि अंगुर, सुन्तला, स्याउ आदि फलफूल एक कचौरा खान्छन्। त्यसपछि चारपाँचवटा बदाम र एउटा ओखर खान्छन्।
हेभी ब्रेकफास्टपछि उनी २ बजेतिर मात्र खाना खान्छन्। अपराह्नतिर ग्रिन–टी पिउँछन्। भ्यावलिन, गितार, सितारको धुन खुब मन पर्छ। जे काम गर्दा पनि उनलाई संगीत चाहिन्छ। घर संगीतमय र कलामय छ। पूरै घर ग्यालरी प्रतीत हुन्छ।
साँझ उनी सब्जी र बाक्लो दालसँग रोटी खान्छन्। तरकारीमा उनलाई पर्वल, पिँडालु, सागसब्जी खुब मन पर्छ।
पहिले उनी मदिरा र सिग्रेटका पारखी थिए। साँझ परेपछि प्रायः चाहिन्थ्यो। यतिसम्म कि मन्दिराले उनका लागि विशेष तरिकाले घरमै कोदो, नासपाती, आरूबखडाको मदिरा बनाउँथिन्।
तर, अहिले पिउँदैनन्। स्वास्थ्यले पिउन दिँदैन।
पहिलेपहिले त राति अबेरसम्म पनि बस्थे। कि चित्र बनाइरहन्थे कि किताब पढिरहन्थे। तर, अचेल चाँडै सुत्छन्, १० बजेतिरै।
उनको जीवनलाई सर्सर्ती पढेपछि भन्न मन लाग्यो, उनको शरीरका नसाहरू चित्रकलाका रेखा हुन् र ती नसामा बग्ने रगतमा विभिन्न रङहरू छन्, जसले उनी निदाइरहेको बेलामा पनि चित्र बनाइरहेका हुन्छन्।