कीर्तिपुरमा क्रिकेट कार्निभलको रौनक
काठमाडौं : मदन भण्डारी स्पोटर्स एकेडेमीअन्तर्गतको क्रिकेट विभागको आयोजनामा शुक्रबारदेखि राजधानीमा क्रिकेट कार्निभल सुरु भएको छ। नेपालमा पहिलो पटक आयोजना भएको कार्निभलको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरिन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलाडी, विभिन्न राजनीतिक दलका नेता, कलाकार, व्यवसायी, शिक्षासेवी, विद्यार्थीलगायतको उल्लेख्य सहभागिता रहेको थियो।
उद्घाटन कार्यक्रममा युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसी, पूर्वगृहमन्त्री तथा माओवादी केन्द्रका नेता जनार्दन शर्मा, एमाले नेता कृष्णगोपाल श्रेष्ठलगायतले खेलकुदको विकासका लागि राज्यले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। उद्घाटन कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई सम्मान पनि गरिएको थियो। नेपाली क्रिकेटको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै राष्ट्रपति भण्डारीले पारसलाई २५ हजार रुपैयाँ नगदसहित प्रशंसापत्रबाट सम्मानित गरिन्।
कार्निभलमै युवा खेलाडी छनोटका लागि ‘ट्यालेन्ट हन्ट’ पनि आयोजना गरिएको छ। शुक्रबार अरुण अर्याल, सञ्जम रेग्मी र रूपेश श्रीवास्तव सम्मिलित टोलीले करिब दुई सयजना खेलाडीको खेल कौशल अवलोकन गरेको जानकारी एकेडेमीका क्रिकेट विभाग अध्यक्ष सुदीप शर्माले दिए। उनले शनिबारसम्म करिब पाँच सयजना खेलाडीको खेल कौशल परीक्षण शर्माले बताए।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले केही व्यवस्थापकीय कमजोरीबाहेक कार्निभलको पहिलो दिनको कार्यक्रम सफल भएको बताए। उनले अहिलेको कमजोरीलाई सुधार गरेर आगामी वर्ष कार्निभललाई अझ भव्य रूपमा आयोजना प्रतिबद्धता पनि व्यक्त गरे। कार्निभलअन्तर्गत शनिबार ‘क्रिकेट सम्भावना र चुनौती’ विषयक विचार गोष्ठीको आयोजना हुनेछ। यसैगरी कार्निभलका क्रममा सांगीतिक कार्यक्रम, क्रिकेटसम्बन्धी फोटो प्रदर्शनी, वृत्तचित्र प्रदर्शनीलगायतका कार्यक्रम पनि सञ्चालन हुनेछन्। कार्निभललाई पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइरालाको नाममा स्थापित फाउन्डेसनले मुख्य प्रायोजन गरेको छ।