रियल म्याड्रिड सेमिफाइनल नजिक
म्याड्रिड : रियल म्याड्रिडले कोपा डेल रे फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ । बिहीबार भएको क्वार्टरफाइनलको पहिलो लेग खेलमा लेगानेसलाई उसैको मैदानमा १-० गोलले पराजित गर्दै रियलले प्रतियोगिताको अन्तिम चारमा प्रवेशको सम्भावना बलियो बनाएको हो । लेगानेसविरुद्धको खेलसँगै प्रशिक्षक जिनेदिन जिदानमाथिको दबाब पनि केही कम भएको छ।
घरेलु फुटबलमा रियलको पछिल्लो तीन खेलमा यो पहिलो जित हो । टोली जितबाट लगातार असफल भइरहँदा प्रशिक्षक जिदान पनि दबाबमा देखिएका थिए । मार्काे असेन्सियोले खेलको अन्त्यतिर गरेको एकमात्र गोल रियलको जितमा निर्णायक बन्यो । थियो हर्नान्डेजको क्रसलाई गोलमा परिणत गर्दै असेन्सियोले खेलको ८९औं मिनेटमा टोलीका लागि गोल गरेका थिए ।
दोस्रो रोजाइका खेलाडी लिएर मैदानमा उत्रिएको रियलले लेगानेसविरुद्धको खेलमा पनि कमजोर प्रदर्शन गरेको थियो । जितमा निर्णायक गोल गरेपछि असेन्सियोले टोलीलाई लयमा फर्काउन अझै केही जित आवश्यक रहेको प्रतिक्रिया दिए । ‘यदि हामीले केही खेलमा गोल गर्दै जित हात पार्न सक्यौं भने यसले हाम्रो आत्मविश्वास पनि बढाउनेछ’, उनले भने, ‘त्यसका लागि हामीले अझै केही खेलमा जित हात पार्न आवश्यक छ । त्यसले टोलीको बिग्रिएको लयमा पनि सुधार ल्याउनेछ ।’
खेलको दोस्रो हाफममै लेगानेसको एक प्रहार क्रसबारमा लागेर फर्किंदा रियल गोल बेहोर्नबाट बचेको थियो । त्यसपछि पाएको अवसरमा विपक्षी रक्षकलाई समेत बिट गर्दै असेन्सियोले टोलीका लागि विजयी गोल गरेका थिए । यी दुई टोलीबीचको दोस्रो लेग खेल अर्काे साता रियलको घरेलु मैदानमा हुनेछ । दोस्रो लेगपछि सेमिफाइनलमा पुग्ने टोलीको टुंगो लाग्नेछ ।
अघिल्लो दुई खेलमा जितविहीन बन्दा आलोचना खेपेका प्रशिक्षक जिदानले लेगानेसविरुद्धको खेलमा क्रिस्टियानो रोनाल्डोलगायतका स्टार खेलाडीलाई आराम दिलाएका थिए । आइतबार स्पेनिस ला लिगाअन्तर्गत डेपोर्टिभो ला कोरुनाविरद्ध खेल्नुपर्ने भएकाले प्रशिक्षक जिदानले रोनाल्डोलगायतका स्टार खेलाडीलाई आराम दिइएको जनाएका छन् ।
पहिलो रोजाइका खेलाडीमध्ये डानी कार्भाजल र राफेल भारानाले मात्रै लेगानेसविरुद्धको खेलमा पहिलो रोजाइमै अवसर पाएका थिए । लुका मोड्रिच र इस्को खेलको दोस्रो हाफमा मात्रै मैदानमा प्रवेश गरेका थिए । यसअघि बुधबार भएको अर्काे खेलमा लियोनल मेसीले पेनाल्टी प्रहारको अवसर चुकाउँदा तीन पटकको विजेता बार्सिलोनाले भने क्वार्टरफाइनलको पहिलो लेग खेलमा स्पान्योलसँग १-० को पराजय बेहोरेको थियो । अर्काे खेलमा सेभिलले एट्लेटिको म्याड्रिडलाई २-१ गोलले पराजित गरेको थियो ।