साबिक बमोजिम
साबिक बमोजिम नै फर्कनेछ
उस्तै निर्वाचनपछि
उस्तै शैलीमा
यो देश दुनियाँ ।
शतप्रतिशत नभए पनि
खसिसकेको छ मतपेटिकामा मत
क्रमशः आउनेछ हार/जितको चुनावी परिणाम
साबिकमा झैं बन्नेछन् कोही सांसद, कोही मन्त्री, कोही प्रधानमन्त्री
र साबिकमा नै फर्कनेछन् चुनावी सरगर्मीको प्रपञ्चले तताइएका
चिसा जनता ।
राणा, पञ्च, प्रजातन्त्र, गणतन्त्र
सबै सबैमा
साबिकमा झैं रहेका रैतीहरू
रैती नै रहनेछन् साबिकमा झैं
साबिकका जस्तै मान्छेहरूले
साबिकमा झैं हत्याउने छन् शासनको उस्तै बागडोर ।
साबिकमा झैं सरकार पक्ष र प्रतिपक्ष
गरिरहनेछन् नाटक झगडाको
साबिकमा झैं दुवैले मिलेर खानेछन् वैदेशिक अनुदान, ऋण र ढुकुटी देशको ।
साबिकमा झैं
चिया पसल र रक्सी भट्टीहरूमा
आफैंले भोट हालेर जिताएकाहरूलाई
उसरी नै गाली गर्नेछन् साबिककै मतदाताहरू ।
साबिकमा झैं परदेशका भूमिहरूमा
एकमुठी गाँसका लागि मुरीका मुरी पसिना
बगाउनेछन् रैतीहरू ।
साबिकमा झैं
सोझा रैतीहरूसम्म नआइपुग्दै
सुकिसक्नेछ अवसरको हरेक मूल
घोप्टिनेछ टाठाबाठाहरूकै पोल्टामा
विजयको अर्को नयाँ फुल ।
साबिकमा झैं फेरिने पनि छ
केही कार्यकर्ताका घरको छाना
टोपी, ज्याकेट र जुत्ता
अथवा नयाँ सवारीसाधन ।
साबिकमा झैं कत्ति पनि फेरिने छैन
राज्यको छायामुनि परेका
विशुद्ध जनताको (नेताका आफन्त र पार्टीका अन्धभक्त कार्यकर्तामा नपरेका)
पुरानै दयनीय दैनिकी ।
विद्यालय पहुँचभन्दा पर छ
स्वास्थ्यालय हैसियतभन्दा टाढा छ
दुई गाँस अप्राप्य छ
ऊ
भरिया बन्नकै लागि पस्छ भारत
वा गोठालो बन्न जान्छ अरब
साबिकमा झैं
पुरानो शासकजस्तै नयाँ शासकले पनि
आफूले खाएर जुठो थाल
उसको अघि फ्याँकिदिनेछ ।
साबिक बमोजिम नै
उस्तै निर्वाचन पछि
उस्तै शैलीमा
फर्कनेछ यो देश दुनियाँ ।
हात्ती बलियो कि
हात्ती छाप चप्पल बलियोको
विज्ञापनमा आएको उत्तरजस्तै
खडा हुनेछ
साबिक बमोजिम नै
एउटा नयाँ सरकार ।
त्यै पनि एउटा आशा बुन्न मन लाग्छ
नदोहोरिउन बेतिथि कुनै
साबिकका झैं ।