समावेशी बन्यो प्रदेशसभा

समावेशी बन्यो प्रदेशसभा

 

 काठमाडौं : प्रदेशसभा समानुपातिकतर्फका २२० मध्ये १५१ सिटमा आदिवासी, थारू, दलित, मधेसी र मुस्लिम विजयी भएका छन्। निर्वाचन आयोगले सार्वजनिक गरेको नतिजामा खस आर्य समूह भने खुम्चिएको छ। खस आर्यबाट जम्मा ६६ जना विजयी भएका छन्। आदिवासी÷जनजातिले ६९, थारूले १२, दलितले २९, मधेसीले ३७ र मुस्लिमले ७ सिट पाएका छन्।

एमालेले आफूले पाएको ७५ सिटमध्ये आदिवासी÷जनजाति २४, खस आर्य २७, थारू ४, दलित १०, मधेसी ७ र मुस्लिम ३ जना पठाएको छ। प्रदेशतर्फ ७२ सिट पाएर दोस्रो बनेको कांग्रेसले आदिवासी÷जनजाति २२, खस आर्य २३, थारू ५, दलित ११, मधेसी ९ र मुस्लिम २ जनालाई सांसद बनाएको छ भने ३५ सिट पाएको माओवादी केन्द्रबाट आदिवासी÷जनजाति ११, खस आर्य ११, दलित ६, मधेसी ४, मुस्लिम १ जना निर्वाचित भएका छन्।

संघीय समाजवादी फोरमले पाएको १३ सिटमा आदिवासी ३, खस आर्य २, दलित २, मधेसी ५ र मुस्लिम १ जना छानिएका छन्। १२ सिट पाएको राष्ट्रिय जनता पार्टीबाट ११ जना मधेसी र १ थारू सांसद विजयी भएका छन्। सातै प्रदेशमा गरी ३८ जना अल्पसंख्यक निर्वाचित भएका छन्।

महिला कोटा समावेशीबाट पूरा

प्रदेशसभामा समानुपातिकबाट १७२ जना महिला निर्वाचित भएका छन्। सातै प्रदेशमा गरी एमालेबाट ७१, कांग्रेसबाट ३९ र माओवादीबाट ३० जना महिला छानिएका हुन्। समानुपातिकको २२० सिटमध्ये पुरूषको संख्या भने ४८ मात्रै छ। प्रत्यक्षतर्फ विजयी महिलाको संख्या कम भएकाले समानुपातिकको समावेशी कोटाबाट पूर्ति गरिएको हो। प्रत्यक्षतर्फ प्रनिनिधिसभामा पाँच र प्रदेशतर्फ १७ जना महिला निर्वाचित भएका छन्।

 प्रदेशसभामा निर्वाचित समानुपातिक सांसदलाई निर्वाचन आयोगले शुक्रबारै प्रमाणपत्र वितरण गरेको छ।

समावेशी कोटाबाट राम्रो प्रतिनिधित्व भए पनि नातावाद र कृपावादले ठाउँ पाएको गुनासो महिला सांसदले गरेका छन्। नेताका श्रीमती, आफन्त पनि समावेशी कोटाबाट सांसद बन्न पुगेका छन्। एमाले, कांग्रेस, माओवादी र राजपासम्म नातावादले प्र श्रय पाएको छ।

एमालेबाट प्रदेश ३ मा निर्वाचित रचना खड्काले स्थानिय तहमा ४० प्रतिशत महिलाको प्रतिनिधित्व भए पनि प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिकबाट कोटा पुर्‍याउने बाध्यता आउनु उपयुक्त नभएको बताइन्। ‘प्रत्यक्षमा पुरुषलाई प्राथमिकता दिइयो, अहिले अधिकांश महिलालाई ल्याइयो। यस्तो अभ्यास उचित हुँदैन। नेतृत्व विकास र नेता बन्नेतिर यसले सहयोग गर्दैन', उनले भनिन्।

कांग्रेसबाट प्रदेश १ मा निर्वाचित नवोदिता चौधरी महिलालाई पनि प्रतिस्पर्धाबाटै छानिएर आउने अवसर दिनुपर्ने बताउँछिन्। ‘अहिले समावेशी कोटाबाट आएका महिला कसरी प्रतिस्पर्धी हुने र प्रत्यक्षमा कसरी जित्ने भन्ने मुख्य विषय हो। राज्यको महत्वपूर्ण ठाउँमा प्रतिस्पर्धाबाटै महिला आउने व्यवस्था हुनुपर्छ', उनले भनिन्। नातावाद-कृपावादभन्दा पनि सक्षम महिलालाई अवसर दिनुपर्ने उनको भनाइ छ।

माओवादी केन्द्रबाट प्रदेश ३ मा निर्वाचित भावना सुवेदी नेता झक्कुप्रसाद सुवेदीकी छोरी हुन्। उनले पनि समावेशीताको नाममा नातावाद-कृपावादले ठाउँ पाउनु राम्रो नभएको बताइन्। ‘पार्टीमा पुर्‍याएको योगदानलाई पनि ख्याल गर्नुपर्छ। केही पार्टीमा नातावाद निकै हावी भयो। यो राम्रो होइन', उनले भनिन्, ‘नाताभन्दा अब योगदानलाई हेर्नुपर्छ।'

संघीय समाजवादी फोरम नेपालबाट प्रदेश २ की सांसद बनेकी सुनितादेवी मोची प्रतिनिधित्व सबैको हुनु राम्रो भए पनि समावेशीताको नाममा आफ्नालाई टिप्न नहुने बताउँछिन्। ‘पार्टीमा योगदान दिएका र दिन चाहने सबै वर्गलाई प्रतिनिधित्व गराउनुपर्छ। नत्र समावेशी नीति राम्रो भए पनि त्यसले दिने प्रतिफल राम्रो हुँदैन', उनले भनिन्।

५० कटेका धेरै

प्रदेशसभाका समानुपातिक सांसदमा ५० वर्ष उमेर कटेकाको बाहुल्य छ। ५१-५५ वर्ष उमेर समूहका ४० जना निर्वाचित भए। त्यस्तै ५६-६० वर्ष उमेरका १९ जना, ६१-६५ वर्षका २१ जना, ६६-७० सम्म ८ जना, ७१-७५ वर्षका ३ जना निर्वाचित भएका छन्। २६-३० वर्षका जम्मा ९ जना र ३१-३५ वर्षका जम्मा २० जना सांसद् निर्वाचित भए। सबैभन्दा कम उमेरकी २६ वर्षीया सिर्जना सायजू प्रदेश ३ मा नेमकिपाबाट निर्वाचित भएकी छन्। त्यस्तै सबैभन्दा बढी उमेरका ७६ वर्षीय बलदेव शर्मा पोखरेल कांग्रेसबाट प्रदेश ५ मा सांसद भएका छन्।

विजयी भएका १८५ जना सांसदलाई निर्वाचन आयोगमा शुक्रबार आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले प्रमाणपत्र वितरण गरे। बाँकी सांसदको प्रमाणपत्र भने आयोगले सम्बन्धित पार्टीलाई जिम्मा लगाएको छ। विजयी सांसद्को शपथ आ-आफ्नै प्रदेशको अस्थायी मुकाममा आइतबार हुँदै छ।

आयोगले बुझायो परिणाम

निर्वाचन आयोगले सातवटै प्रदेशबाट प्रत्यक्ष र समानुपातिकबाट निर्वाचित भएका सांसदको निर्वाचन विवरण शुक्रबारै सम्बन्धित प्रदेश प्रमुखलाई अलग-अलग रूपमा बुझाएको छ। प्रत्यक्षबाट ३३० र समानुपातिकबाट २२० गरी ५५० सांसद प्रदेशसभामा छानिएका छन्। दुवै निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र प्रदेश प्रमुखसमक्ष पठाउनुपर्ने व्यवस्था भएबमोजिम आयोगले शुक्रबार नै परिणाम बुझाएको हो।

कुन समूहबाट कति ?

- १७२ सिटमा महिला निर्वाचित

- अल्पसंख्यक ३८

- आदिवासी/जनजाति ६९

- थारू १२

- दलित २९

- मधेसी ३७

- मुस्लिम ७


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.