एउटा चोरको कथा

एउटा चोरको कथा

भारतका अन्तर्राष्ट्रिय ख्यातिप्राप्त आख्यानकार रस्किन बन्डको यस कथामा प्रेम र विश्वासले एउटा किशोर चोरको मन परिवर्तन भएको कथा छ। यो कथा पहिलोपल्ट सन् १९८० अप्रिलको रिडर्स डाइजेस्टमा छापिएको थियो। पीके थाकर, एसडी देसाई तथा टीजे पुरानीद्वारा सम्पादित तथा अक्सफोर्ड युनिभर्सिटी प्रेस, कलकत्ताद्वारा प्रकाशित ‘डेभलपिङ इङ्लिस स्किल्स’बाट यहाँ ‘द थिफ्स स्टोरी’को साभार अनुवाद गरिएको हो।


अनिललाई भेट्दासम्म म चोर नै थिएँ। १५ वर्षको अल्लारे भए पनि चोरीमा म नामी र हरामी थिएँ।

म अनिलको नजिक जाँदा ऊ एउटा कुस्ती हेरेर रमाइरहेको थियो। ऊ करिब २५ वर्षको जवान थियो। अग्लो र दुब्लो। ऊ सजिलै ठग्न सकिने खालको, मेरो उद्देश्यका लागि काफी दयालु र साधारण देखिन्थ्यो। केही समयदेखि यस्तो मौका मलाई जुरिरहेको थिएन। मैले सोचेँ, म यो केटाको ‘विश्वास’ जित्न सक्छु।

‘तपाईं आफैं पनि कुस्तीवाजजस्तै देखिनुहुन्छ नि !’ मैले भनेँ। कुरा सुरु गर्न चिल्लो घस्ने अरू उपाय मसँग थिएन।

‘तिमी पनि कम त देखिन्नौ !’ उसले जवाफ दियो। सुनेर म एकछिन के भन्नु न के भन्नुमा परेँ किनभने त्यस बेला म ज्यादै दुब्लो र मरन्च्याँसे थिएँ।

‘हो’, मैले विनम्र भएर भनेँ, ‘म आफैं पनि अलिअलि कुस्ती खेल्छु।’

‘तिम्रो नाम के हो ? ’

‘हरि सिंह’, मैले ठाडै ढाँटे। हरेक महिना म नयाँ नाम धारण गर्थें। त्यसले मलाई प्रहरी र पूर्वमालिकबाट बचाउँथ्यो।

यो सामान्य औपचारिकतापछि अनिल चिल्ला, मोटाघाटा कुस्तीवाजहरूमाथि टिप्पणी गर्न थाल्यो जो एकअर्कालाई बेस्सरी च्याप्थे, उचाल्थे र कनिरहेका थिए। मसँग बोल्ने कुरा बाँकी थिएन। अनिल हिँड्यो। म एक्कासि उसको पछि लागेँ।

‘हेल्लो, फेरि किन त ? ’ उसले सोध्यो।

उसलाई मख्ख पार्ने गरी म एकपल्ट हाँसिदिएँ।

‘म तपाईंकहाँ काम गर्न चाहन्छु क्या !’ मैले भनेँ।

‘तर, म पैसा दिन सक्दिनँ।’

के गर्ने त ? म एक मिनेट त्यसै सोचमग्न भएँ। सायद मैले गलत मान्छेलाई समाएको थिएँ।

‘खुवाउन त सक्नुहोला कि !’ मैले सोधेँ।

‘तिमी खाना बनाउन सक्छौ ? ’

‘किन नसक्नु !’ मैले फेरि ढाँटेँ।

‘खाना बनाउन सक्छौ भने खुवाउन सक्छु होला।’

उसले मलाई जमुना मिठाई पसलको माथिपट्टि रहेको आफ्नो कोठामा लिएर गयो र मलाई बुइगलमा सुत्नू भन्यो। त्यो दिन मैले पकाएको खाना पक्कै खत्तमको थियो होला किनभने अनिलले आफ्नो भागको खाना सबै भुस्याहा कुकुरलाई दियो र मलाई सुत्न जाऊ भन्यो। म यताउता गरिरहेँ, मख्ख पार्ने हिसाबले हाँसिरहेँ। अनि त ऊ पनि नहाँसी बस्नै सकेन।

पछि उसले मलाई धाप दिँदै भन्यो, ‘भइहाल्यो, तिमीलाई खाना बनाउन म सिकाउँला।’

उसले मलाई आफ्नो नाम लेख्न सिकायो र चाँडै नै पूरा वाक्य लेख्न र संख्याहरूको जोड गर्न सिकाउने आश्वासन दियो। म कृतज्ञ भएँ। मलाई थाहा थियो, पढेका मान्छेजस्तै लेख्न सक्ने भएँ भने मैले प्राप्त गर्ने कुराको सीमा नै हुने छैन।

अनिलका लागि काम गर्दा म पर्याप्त खुसी थिएँ। बिहान चिया बनाउँथे। अनि दिनभरिका लागि किनमेल गर्न जान्थेँ र एक रुपियाँजसो हरेक दिन नाफा निकाल्थेँ। मलाई लाग्थ्यो, मैले यसरी केही पैसा जम्मा गरेको उसलाई थाहा थियो। तर, ऊ त्यसमा चासो दिँदैनथ्यो।

अनिल कहिलेकाहीँ पैसा कमाउँथ्यो। ऊ एक हप्ता सापटी लिन्थ्यो, अर्को हप्ता तिथ्र्यो। अर्को चेकका लागि ऊ सधैं चिन्तित हुन्थ्यो। तर, जसै त्यो आउँथ्यो, ऊ बाहिर जान्थ्यो र मोज गरेर सक्थ्यो। यस्तो लाग्थ्यो, ऊ पत्रिकाहरूमा लेख्थ्यो। बाँच्ने एउटा अनौठो तरिका।

एक साँझ ऊ नोटहरूको सानो बिटो बोकेर आयो। उसले आफ्नो किताब प्रकाशकलाई बेचेको थियो। राति उसले त्यो पैसा सिरानीमुनि घुसा¥यो।

अनिलका लागि म झन्डै एक महिनादेखि काम गरिरहेको थिएँ। किनमेलमा अलिकति नाफा निकाल्नुबाहेक मैले आफ्नो पेसाअनुसारको कुनै बदमासी गर्न पाएको थिइनँ। यस्तो अवसर नआएको होइन। अनिलले मलाई ढोकाको साँचो दिएको थियो। म आफ्नो खुसीअनुसार आउन र जान स्वतन्त्र थिएँ। मैले अहिलेसम्म भेटेमध्ये ऊ सबैभन्दा विश्वस्त मान्छे थियो।

रेल गइसकेको थियो, उजाड प्लेटफर्ममा म एक्लै उभिरहेको थिएँ। रात कहाँ बिताउने भन्ने मलाई केही सुझिरहेको थिएन। मेरा कोही साथी पनि त थिएनन्। मलाई लाग्थ्यो, साथीहरूले सहयोगभन्दा बढी दुःखै दिन्छन्।

त्यसैले उसलाई ठग्नु बढो मुस्किल कुरा थियो। लोभी मान्छेलाई ठग्नु सजिलो हुन्छ किनभने ऊ यस्तो ठगीलाई सजिलै पूर्ति गर्नसक्छ। होसियार नरहने मान्छेलाई ठग्नु बढो गाह्रो कुरा हो किनभने कहिलेकाहीँ त ऊ आफू ठगिएको छु भन्नेसमेत मतलब गर्दैन। अनि यस्तोमा त ठगीको सारा मज्जा नै गायब हुन्छ।

अच्छा, मैले यस्तो काम नगरेको धेरै भयो। अभ्यास नै छुटिसक्यो। मैले त्यो पैसा चप्काइनँ भने त उसले साथीहरूलाई खुवाएरै सकाउँछ। अनि, उसले अहिलेसम्म मलाई तलब पनि त दिएको छैन नि !

अनिल निदाएको थियो। एक चोक्टा चन्द्रकिरण बुइगलमा अड्किएर तल ओछ्यानमा खसेको थियो। परिस्थिति आकलन गरेर म भुइँमा मचक्क बसेँ। मैले पैसा चप्काउन पाएँ भने १०ः३० को लखनउ एक्सप्रेस रेल समाउन भ्याउँछु। ब्लांकेटबाट बाहिर निस्केर म उसको ओछ्यानतिर घस्रिएँ। अनिल नरम र सहज श्वास लिँदै शान्तिपूर्वक सुतिरहेको थियो। उसको अनुहार सफा थियो। कुनै धर्साहरू थिएनन्। मेरो अनुहारमा भने टीकाटाकी र दागहरू थिए।

नोट खोज्दै मेरो हात सिरानीमुनि घस्रियो। भेट्नेबित्तिकै मैले कुनै आवाज ननिकाली त्यसलाई तानेँ। निद्रामै अनिलले लामो श्वास तान्यो अनि मतिर अनुहार पारेर कोल्टे फेर्‍यो। म तर्सिएँ र तुरुन्तै घस्रिँदै बाहिर निक्लिएँ।

सडकमा पुग्नेबित्तिकै म दौडन थालेँ। नोट मैले आफ्नो सुरुवालको इँजारघरमा घुसारेको थिएँ। मैले आफ्नो दौडाइको गति कम गरेँ र नोटलाई स्पर्श गरेँ। पचास पचासका छ सय रुपियाँ थियो। गजबको सिकार गरियो हौ ! अब त एक वा दुई हप्तालाई म पनि अरबको तेल धनी व्यापारीजस्तै बाँच्न सक्ने भएँ।

स्टेसन पुग्दा म टिकट अफिसमा अडिन सकिनँ (मैले जिन्दगीमा कहिल्यै टिकट किनेको छैन) र सोझै प्लेटफर्मतिर हान्निएँ। लखनउ एक्सप्रेस छुट्ने तरखरमा बिस्तारै गुडिरहेको थियो। रेलले गति लिन बाँकी नै थियो। म उफ्रेर सजिलै एउटा क्यारिजमा छिर्न सक्थेँ। तर, म दोधारमा परेँ— केही कारण जो म व्याख्या गर्न सक्दिनँ— र, मैले भाग्ने अवसर गुमाएँ।

जब रेल गइसकेको थियो, उजाड प्लेटफर्ममा म एक्लै उभिरहेको थिएँ। रात कहाँ बिताउने भन्ने मलाई केही सुझिरहेको थिएन। मेरा कोही साथी पनि त थिएनन्। मलाई लाग्थ्यो, साथीहरूले सहयोगभन्दा बढी दुःखै दिन्छन्। स्टेसन नजिकको कुनै सानो होटलमा बस्न पनि मलाई कुनै रुचि भएन। मैले चिनेको एउटै मान्छे साँच्चिकै असल थियो र उसलाई मैले ठगेको थिएँ। स्टेसन छाडेर म बिस्तारै बजारतिर लागेँ।

मानिसहरूका सामान र सम्पत्ति चप्काउने मेरो छोटो क्यारियरमा मैले तिनको अनुहारको भाव पढेको छु। आफू ठगिएको थाहा पाउँदा लोभी मान्छे डराउँथ्यो, धनी मान्छे रिस प्रकट गथ्र्यो, तर गरिब मान्छे ‘होस्’ भन्ने मुडमा हुन्थ्यो। मलाई थाहा छ, जब अनिलले आफू ठगिएको थाहा पाउनेछ, उसको अनुहारमा सानो झलक उदासी फैलिनेछ। पैसा हराएकोमा भन्दा विश्वास गुमेकोमा।

म मैदानमा आइपुगेँ र बेन्चमा बसेँ। रात असाध्यै चिसो थियो। यो नोभेम्बरको सुरुआत थियो। त्यसमाथि हल्का वर्षाले मेरो हैरानी बढायो। एकैछिनमा ठूलै पानी प¥यो। मेरो बुसर्ट र पाइजामा छालामै चपक्क टाँसिए। चिसो हावाको झोक्काले मेरो मुखमा हिर्काउन थाल्यो।

म बजार फर्किएँ र घन्टाघरको टावरमुनि ओत लागेँ। माग्ने र आवाराहरू मेरो छेवैमा पातलो ब्लांकेट ओढेर ठेलमठेल गरेर सुतिरहेका थिए। घडीले मध्यरात भएको जनाउ दियो। मैले नोट छामेँ। पानीले त्यो लछप्पै भिजेको थियो।

अनिलको पैसा। सायद भोलि उसले मलाई फिल्म हेर्न जाऊ भनेर दुई वा तीन रुपियाँ दिन्थ्यो होला। अब त त्यो जम्मै मसँग छ। क्या मज्जा ! अब खाना पकाउनु परेन। बजार दौडनु परेन वा पूरै वाक्य लेख्न सिक्नु पनि परेन।

पूरै वाक्य ! अहो, चोरीको जोशमा मैले यो कुरा त भुसुक्कै बिर्सेको ! पूरै वाक्य ! मलाई थाहा छ, यसले कुनै दिन मलाई केही सय रुपियाँभन्दा धेरै कुरा दिलाउनेछ। चोरी गर्नु सामान्य कुरा हो। कहिलेकाहीँ समातिनु पनि सामान्य नै हो। तर, साँच्चै ठूलो मान्छे बन्नु, चलाख र सम्मानित मान्छे हुनु अर्कै कुरा हो। कम्तीमा पढ्न र लेख्न सिक्नैलाई भए पनि म अनिलकहाँ फर्कनैपर्छ, मैले आफैंलाई भनेँ।

म सातो गएझैं स्थितिमा कोठमा फर्कें। कुनै कुरा चोरी गर्नुभन्दा चोरी गरिएको कुरा पत्तो नपाउने गरी फर्काउनु अत्यन्त गाह्रो कुरा हो। मैले बिस्तारै ढोका खोलेँ। हल्का बादलले मधुरो चन्द्रकिरण खसेको ढोकाको सँघारमा उभिएँ। अनिल अझै निद्रामै थियो। म ओछ्यानको सिरानतिर सरेँ र नोट निकालेँ। उसले फेरेको श्वास मेरो हातमा पर्‍यो। म एक मिनेट त्यत्तिकै स्थिर भइरहेँ। त्यसपछि मैले सिरानीको अर्को किनारा भेटेँ र नोट घुसारिदिएँ।

भोलिपल्ट बिहान म ढिलो बिउँझिएँ। उठ्दा अनिलले चिया बनाइसकेको थियो। उसले आफ्नो हात मेरो अघिल्तिर बढायो। उसका औंलाहरूको बीचमा पचास रुपियाँको नोट थियो। मेरो हंशले ठाउँ छाड्लाजस्तो भयो। मेरो चोरीबारे उसलाई थाहा भयो भन्ने डरले म थरथरी भएँ।

‘मैले हिजो केही पैसा कमाएँ !’ उसले भन्यो, ‘अब म तिमीलाई महिनैपिच्छे पैसा दिन्छु।’

मेरो मनस्थिति अलिकति उचालियो। तर, मैले नोट लिँदा त्यो रातिको पानीले भिजेकाले अझै चिसो थियो।

‘आज हामी वाक्यहरू लेख्न सुरु गर्नेछौं’, उसले भन्यो।

उसलाई थाहा थियो। तर, उसका ओठ र आँखा दुवैले यी कुरा प्रकट गरेनन्। म उसलाई मख्ख पार्ने गरी हाँसिदिएँ। यो हाँसो कुनै प्रयासबिना स्वतः आएको थियो।

अनुवाद : अभय श्रेष्ठ


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.