फिरफिर हल्लिरहेको वैजनी स्कार्फ

फिरफिर हल्लिरहेको वैजनी स्कार्फ

गाढा नीलो आकाशमुनि बुख्याचा उभिइरहेको छ। गलामा भ्यान्टा झुन्ड्याएको ‘अब्सर्ड’जस्तो लाग्ने ‘तान्त्रिक’ दिशाभ्रम भए जसरी उभिएको छ। एउटा पातलो खाँबोमा दिशा–सूचक काठ–प्लेट छ। खाँबोको माथिल्लो भागमा बतासको झोक्कामा वैजनी रङको स्कार्फ फिरफिर हल्लिरहेको छ।

धुलो उडिरहेको जेब्राक्रसमा उभिएर मैले आफ्नोअघि उपस्थित मानिस हेरेँ। यी मानिस पनि जेब्राक्रसमा उभिएका थिए। लामो ड्रेडलक, बाक्ला सिसा भएका चस्मा, अव्यवस्थित दाह्रीजुंगा। झ्याप्प हेर्दा उनलाई देखिने यत्ति हो। सहरलाई सतही रूपमा हेर्ने हो भने देखिन्छ– सवारीसाधनको चर्को कोलाहल, अनिश्चित जिन्दगीको त्रासमा दौडिरहेका मानिस। कुनै भयावह घटना नघटे पनि सहरका मानिसको अनुहारमा टेन्सन र दुःखका स–साना रेखा पोतिएको देखिन्छ।

deepakमसिनो गरी हेर्ने हो भने त्यस्तै त्रास, दुःख वा टेन्सनको रेखा मैले ती ड्रेडलक–म्यान निगम श्रेष्ठको अनुहारमा देखेको थिएँ। न कुनै भयानक विशिष्टता वा विराट व्यक्तित्व। सायद एक दशकपछि सहरमा आउन लागेको आफ्नो नयाँ फिल्म ‘लालपुर्जा’को दौडधुपमा उनी फतक्कै गलेका थिए। थोरै अराजकता, थोरै अधैर्य, थोरै केही गर्ने तत्परता, क्रियाटिभिटीप्रति अलिकति मोह। सायद, यति भयो भने भइन्छ, डिरेक्टर। उनलाई पढेपछि मैले जानेको कुरो यत्ति हो।

०००

सिनेमामा निर्मम प्रतिस्पर्धा छ। भयानक दौड छ। पुरस्कारको दौड, अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा स्क्रिनिङ हुने दौड। सिनेमाको राजा, बादशाह भनाउने/भन्ने भीडबीच निगम श्रेष्ठचाहिँ भनिरहेका छन्, ‘मेरो कसैसँग प्रतिस्पर्धा छैन। सिनेमाको निर्मम र भयानक दौडमा सामेल पनि छैन।’

निगम श्रेष्ठको फिल्म र कुमार नगरकोटीको आख्यान– यी दुई भिन्न रसायन यसरी एकआपसमा जोडिएका छन्, सहरका हलहरूमा ‘लालपुर्जा’ चल्न थालेपछि दर्शकले दुई मानिसको अस्तित्वलाई एकै रूपमा लिनेछन्। किनभने फिल्म नगरकोटीले लेखेका छन्, निगमले निर्देशन। नयाँ खबर के पनि छ भने उनै आख्यानकार नगरकोटीले ‘लालपुर्जा’मा ‘स्ट्रेन्जर’को भूमिकामा अभिनय गरेका छन्।

स्ट्रेन्जरको रोलमाथि केही लेख्नु पाठकीय दृष्टिले लाभदायक हुन सक्छ।

(स्ट्रेन्जर एकतमासले हिँडिरहेको छ। उसले हातमा ‘विश्व सरकार’ किताब च्यापेको छ। ओठबीच श्वेत सिग्रेट च्यापिएको छ। एकैछिनमा ऊ सालिक चोकमा देखापर्छ। त्रिमूर्तिमध्ये बीचको स्त्री–सालिकको खुट्टामा चुपचाप बस्छ।

दृश्यमा ऋग्वेद देखापर्छ। ऋग्वेद सालिकहरूसामु ठिंग उभिन्छ। उसका गोडाहरू डगमगाइरहेका छन्। ऊ मदिराको अर्धमातमा छ। स्ट्रेन्जरलाई स्त्री–सालिकको खुट्टामा बसेको देखेपछि ऋग्वेद भन्छ– मलाई....सलाई... दिइयोस्। स्ट्रेन्जर प्रतिक्रियाविहीन छ। ऋग्वेद सालिकहरूसित एकालाप गर्छ। तर, सालिकहरू बोल्दैनन्। उही पोस्चरमा ठिंग छन्, सालिकहरू।)

‘लालपुर्जा’को गुलाबी ब्रान्डको कलर–नाममाथि अतिथि लेखकमा कुमार नगरकोटीको नाम छ। त्यसैले (उदाहरणको लागि) माथिको दृश्य, डायलग, स्टाइल, पात्र, ठाउँका नाम सबै दर्शकलाई कतै पहिल्यै सुनिसकेझैं लाग्न सक्छन्। किनभने ती लोकेसन, सेटिङ, पात्र कुमार नगरकोटीका पूर्वकिताबमा कतै कुनैबेला आइसकेका हुन सक्छन्। ऋग्वेद उनको कुनै कथाको पात्र हो। तर, फिल्ममा पनि छ ऋग्वेद। किताबकै जस्तो डायलग बोलिरहेको भेटिन्छ। जस्तो हेर्नुस् न, ऋग्वेदको एकालाप यस्तो छ–

(गुड मर्निङ गायज। मलाई आज थोरै बढी लाग्यो। अलिकति बढ्ता लाग्यो। हो कि होइन ? म आज अलि (कान समात्दै) कन्फ्युज्ड भाछु। कानै फ्युज्ड भएपछि मान्छेले राम्रो सुन्दैन। हो कि होइन ? तिमीहरूले मेरो कनफ्युजन हटाउनुपर्‍यो। मलाई भन्नुपर्‍यो। म कस्तो खालको क्यारेक्टर हुँ ?       तिमीहरूले आज यसको फैसला गर्नुप¥यो। मलाई थाहा छ, तान्त्रिक मलाई मन पराउँदैन। ॐ नरसिंह मलाई मन पराउँदैन। सासू बुढी मलाई मन पराउँदिनन्। तर, म सबैलाई मन पराउँछु। म कस्तो ठिस् हुँ ?  मलाई थाहा छ– मुखिया मीतज्यूको भित्री नियत के छ। मुखमा चाहिँ रामराम बगलीमा छुरा ! तर छुरा बोक्ने छुरावाल छौंडा छौंडीहरूलाई पनि म माया गर्छु। म कस्तो क्यारेक्टर हुँ ? गायज्, तिमीहरूले भन्नुपर्‍यो।)– लालपुर्जा।

बडो टेन्सन छ ऋग्वेदलाई। सबैलाई प्रेम गर्छ, उसलाई कसैले प्रेम गर्दैनन्। र, सालिकसामु एकालाप गरिरहन्छ।

०००

केही अपवादबाहेक नेपाली सिनेमामा ‘साहित्य’ छैन। तर, निगमको दाबी छ– ‘लालपुर्जा’मा साहित्यका तŒवहरू भरपूर छन्। सर्रियल लेखनलाई ‘आर्टवर्क’मार्फत प्रस्तुत गर्ने नगरकोटी–मेनुमा अब ‘सर्रियल’ शैलीको फिल्म थपिएको छ।

मौलिक दृश्य भाषा भएको नेपाली फिल्मको निर्देशक निगम फिल्मलाई समाजसँग जोड्नुपर्छ, मान्छेहरूसँग फिल्मले संवाद गर्नुपर्छ भन्छन्। म निगम श्रेष्ठसँग छु र ‘लालपुर्जा’का केही पात्र, डायलग, लोकेसन, सेटिङ सम्झिरहेका छौं।

उमेरले २५ वसन्त पार नगर्दै निगमले ‘छड्के’ फिल्म बनाए। त्यसपछि उनको अर्को फिल्म (लालपूरा) हेर्न लगभग आधा दशक कुर्नुपर्‍यो। चितवनका निगमले पहिलो फिल्म ‘छड्के’मा चितवनकै लोकेसन र घटनाहरूमाथि काम गरे। ‘लालपुर्जा’मा आइपुग्दा उनी भन्न थालेका छन्, ‘मिस्टिकवाद र भैतिकवाद।’ उनी ‘अध्यात्मवाद’लाई मिस्टिकवाद भन्दारैछन्।

सीए पढिरहेका विद्यार्थी अचानक फिल्मको संसारमा तानिएपछि उनले सीए क्लासका ‘हार्ड’ फर्मुला र म्याथमेटिकल सोलुसन गर्न छोडिदिए र युट्युबमा फिल्म ‘सर्च’ गर्न थाले। ओस्कर कलेजमा भर्ना भएपछि, सुनील पोखरेल र अनुप बरालका विद्यार्थी भएपछि विधिवत् रूपमै फिल्म डिरेक्सन र स्क्रिप्टमा करियर खोज्न थाले। पहिलो फिल्मले सिनेमा बजारमा राम्रै पहिचान बनेको ठान्छन् निगम।

मनकामनाको दर्शनमा जाँदा निगमले केबुलकारबाट तलतिर हेर्दा एनसेलले रंग्याइदिएको पर्पल कलरको भिलेज देखे। फिल्मको लागि फिक्सनल गाउँ खोजिरहेका र नगरकोटीका किताब पढिरहेका उनलाई कुमारका किताबका टाइटल मनप¥यो। अन्ततः धमाधम लेखिइरहेको फिल्मको स्क्रिप्टमा नगरकोटीले थप काम गरे। जस्तोः निगमको स्क्रिप्टमा ‘इन्दु’, ‘बिन्दु’ दुई क्यारेक्टर थिए। नगरकोटीले ‘इन्दु’लाई ‘पर्पला’ बनाए, ‘बिन्दु’लाई ‘तान्त्रिक’। फिल्मका हरेक पात्र, डायलग र लोकेसनमा नगरकोटीको फिक्सन फ्लेवरले प्रवेश पायो, जस्तोः ‘तान्त्रिक’ कस्तो मनोदशामा छ भने एकातिर जग्गाको लागि लडिरहेको छ, अर्कोतिर उसको यात्रा अध्यात्मवादको छ। जस्तोः ऊ एकबारको जुनीमा ‘अक्षरगन्ज’ पुग्न चाहन्छ। ‘अक्षरगन्ज’ जस्तै नगरकोटीका किताबको अरू नाम पनि फिल्ममा लोकेसनका रूपमा लिपिबद्ध छन्।

गाढा नीलो आकाशमुनि बुख्याचा उभिइरहेको छ। गलामा भ्यान्टा झुन्ड्याएको ‘अब्सर्ड’जस्तो लाग्ने ‘तान्त्रिक’ दिशाभ्रम भए जसरी उभिएको छ। एउटा पातलो खाँबोमा दिशा–सूचक काठ–प्लेट छ। खाँबोको माथिल्लो भागमा बतासको झोक्कामा वैजनी रङको स्कार्फ फिरफिर हल्लिरहेको छ। काठ–प्लेटमा दिशा यसरी देखाइएको छ :

– अक्षरगन्ज : १११ किमि

– कोमा गल्ली : ९९ किमि

– मिस्टिका झर्ना : ७७ किमि

– फोसिल गाउँ : ३३ किमि

– मितेरी गाउँ : शून्य किमि

पछाडिको खाली जग्गाको कुनामा दारुमहल छ। मितेरी गाउँबाट १११ किमिको दूरीमा रहेको ‘अक्षरगन्ज’ बुद्धत्व प्राप्त गरेका मानिस बस्ने बस्ती हो। ‘अक्षरगन्ज’मा ‘भगवान्’ बस्छन्, त्यहाँ पुगेपछि मानिस बुद्ध बन्छ भनिन्छ।

०००

तान्त्रिकको जग्गा मोह र अक्षरगन्ज कौतुहल नै लालपुर्जाको यात्रा हो। लालपुर्जा एउटा मिस्टिक ड्रामा हो। मितेरी गाउँको तान्त्रिक र ओम नरसिंह नामका दुई दाजुभाइको जग्गा–द्वन्द्व नै फिल्मको कन्टेन्ट हो। सौगात मल्ल, विपिन कार्की, मेनुका प्रधान, कमेश्वोर चौरसिया, हरिहर शर्मा लालपुर्जाका अन्य पात्र हुन्।

(फिल्मबारे यो विषय मैले निगमलाई सुनेर नै थाहा पाएको हुँ। मुनि पढौं, निगमसँग फिल्ममाथि गरिएको संक्षिप्त वार्ता। मलाई बोल्नु किन थियो, सुन्नु थियो। बस् सुनिरहेँ उनलाई।)

तपाईंको फिल्मका कथा जीवनको नजिक र मानिसका ‘अब्सर्ड’ सोचाइका परिणाम लाग्छन्। ‘छड्के’मा ग्याङस्टारको कथालाई जसरी प्रस्तुत गर्नुभयो, त्यसले नेपालको सामाजिक–राजनीतिक अवस्थालाई जस्ताको तस्तै चित्रण ग¥यो। हामीले नेपाली फिल्ममा कस्तो संकेत देखाइरहेका छौं ?      

– ‘कालो पोथी’, ‘कथा’जस्ता फिल्मले अन्तर्राष्ट्रिय प्लेटफर्ममा पनि आफूलाई निकै राम्ररी प्रस्तुत गरे। ‘लुट’, ‘कबड्डी’जस्ता फिल्मले लोकल दर्शकलाई ‘आफ्नो’ बनाइरहेका छन्। यो निकै सुन्दर संकेत हो।

०००

फिल्ममा ‘अमला’ भन्ने क्यारेक्टरको काम नै अरूको मीत लगाइदिनु हो। अरूको मीत लगाएर आफ्नो जवानी र जीवन सकिन लागेको उसलाई बल्ल हेक्का हुँदैछ। अमला भन्ने गर्छे :

‘आमा भन्नुहुन्थ्यो हेर अमला ! मैले यो गाउँमा जतिको मीत लगाईदिए गनिसाध्य छैन। बैरीहरूको कल्याण गर्नु छ भने तिनीहरूलाई मीत लगाइदिनुपर्छ। तर के गर्ने ! आमा त मरिसक्नु भयो। मीत लाउने जिम्मा मलाई दिनु भो। तँ पनि अमला, म पनि अमला ! तँ वनमा फलेको। म गाउँमा। हाम्रो जुनी यो मितेरी गाउँमा गाउँलेहरूको मीत लाउँदैमा बित्ने भो। मीत लाउँदा लाउँदा तँ चाउरी पर्ने भइस्। म पनि चाउरी पर्ने भएँ। हाम्रो जीवन चट् हुने भो। हेर मीत भन्ने कुरा...।’

हामीले माथि कुरा गरेको पात्रको कथा पढिरहेका किताबमा भन्दा, हेरिरहेका फिल्ममा भन्दा टोटल्ली फरक लाग्छ। उनीहरूका गाउँका नाम, गल्लीका नामले पनि दर्शकलाई, अचम्भित पार्छन् है !

– हामीले कथामा, डायलगमा, लोकेसन र सेट डिजाइनमा नयाँपन खोजेका छौं। पात्रहरूको नाम नै अचम्मका छन्। कुमार सरका किताबका पात्रका नाम यहाँ आएका छन्। जस्तो : तान्त्रिक, ओम नरसिंह, अमला, पर्पला। ठाउँको नाम पनि आफ्नै पाराका छन्, ती नाम उनका किताबबाट आएका हुन्। मलाई उनका किताबका युनिक नामले निकै आनन्द दिएका थिए र कालान्तरमा तिनै नाम र तपाईंले माथि उल्लेख गर्नुभएजस्ता अचम्मका डायलग फिल्ममा प्रयोग गरेका हौं। कुमार सरका कुण्डलिनी कुहिरोले छोपेको उपन्यास ‘मिस्टिका’का पात्रको नाम पनि गज्जब रमाइला छन्। पाठकको लागि केही नाम सम्झौं है त– दिवंगत बुढाथोकी, हाउडे, मृत्युञ्जय गेलाल, तिलिचो तिमल्सिना, पन्छि पुडासैनी, डाक्टर कलब्रेक गोदार, देहान्त कायस्थ, कारपेन्टर, कार पेन्टर, मोफसल मानन्धर, मनमयजु महर्जन, सिमसारा, हट डग, अम्रिसो अधिकारी, म्याडम फेब्रुअरी, तामसिक शर्मा, प्रतिपदा पराजुली आदि।

०००

नगरकोटी र निगमको ड्रिम हो– नेपाली फिल्मले आफ्नो कम्फर्ट जोनबाट बाहिर निस्कन ढिलो भइसक्यो। त्यही ड्रिमअनुसारको इन्टेरियर डिजाइन गरेका छन् उनीहरूले लालपुर्जाको। साहित्य र सिनेमा अब सँगसँगै आउनुपर्छ। सिनेमा दृश्यको कुरा हो। किताब टेक्स्टको। निगमको दाबी छ, फिल्ममा नया“खाले प्रयोग गरिएको छ, जुन आम फिल्ममा पाइँदैन। लालपुर्जाको पात्र, सेटिङ, स्थान, स्टाइल फ्यान्टासी लाग्छ।

नेपाली फिल्म रचनात्मक भएन भनिन्छ। के भयो भने नेपाली फिल्म रचनात्मक हुन्छ ?      

– उपेन्द्र सुब्बा, कुमार नगरकोटी, प्रशान्त रसाइलीलगायत अलिखित युवा रचनाको प्रवेश र विनोद चौधरी या कर्ण शाक्यजस्ता रचनात्मक निर्माताहरूको बाहुल्यले फिल्म पनि रचनात्मक बन्छ।

‘लालपुर्जा’को गाउँ, क्यारेक्टर र भूमिकाबारे केही भनिदिनुस न !

– ‘लालपुर्जा’ काल्पनिक पर्पल गाउँ को कथा हो। घाटमान्डुबाट ५५५ किमि पश्चिममा पर्पल गाउँ छ– मितेरी गाउँ। मितेरी गाउँमा सबैका मीत–मितिनी हुन्छन्। त्यहाँको कानुन ‘मितेरी समाज’ले हेर्छ र नियम मिच्नेलाई सालिक हुनुपर्ने सजाय दिइन्छ। उनीहरू पर्पल कलरलाई पूजा गर्छन्। भ्यान्टा उनीहरूको प्रमुख परिकार हो। मितेरी गाउँबाट १११ किमि वेस्टमा अक्षरगन्ज भन्ने ठाउँ छ, त्यहाँ पुगे बुद्ध भइन्छ भन्ने हल्ला मितेरी गाउँलेले सुनेका छन्। तर, कोही ‘अक्षरगन्ज’मा जाने आँट कसैको छैन। किनभने ‘अक्षरगन्ज’को यात्रा जोखिमपूर्ण छ। त्यहाँ गएका मानिस कोही पनि फर्केर आएका छैनन्। ‘अक्षरगन्ज’ जाने हिप्पी र विदेशीहरू मितेरी गाउँ हुँदै जानुपर्ने हुन्छ।

०००

निगमले हाई पावरको चस्मा लगाएका छन्। माइनस १.५ दाहिने आँखामा र माइनस २.५ देब्रे आँखामा। ‘निगमको त्यही लामो बाक्लो ड्रडलक देख्दै मानिस तर्सन्छ’ भन्थ्यो साथी किरण दहाल। उसले त सोध्यो पनि, ‘यस्तो ड्रेडलकले कोही मानिस तर्सेको छैन ? ’ ‘कहिलेकाहीँ लेडिज साथीहरू नजिक बस्न रुचाउँदैनन्, सायद तर्सेरै होला’, निगम भन्छन्।

निगमको अबको प्रोजेक्ट हो– इन्द्रबहादुर राईको कथा ‘जार’माथिको सर्ट फिल्म र कुमार नगरकोटीकै कथा ‘ज्ञ’माथिको अर्को फिल्म। ‘ज्ञ’मा हाकुपटासिमा सजिएकी मयजुमाथिको कथा छ, जसको गुफा रखिएकै घरमै मृत्यु हुन्छ। ‘ज्ञ’मा सातवटा डेथ क्यारेक्टरलाई झेल्नुपर्नेछ दर्शकले।

०००

संवादको अन्त्यमा निगमले आन्तोन चेखब सम्झिए। निगमको मस्तिष्कमा आएका चेखबको कथा यस्तो छ ः

चेखबको एकांकी ‘द स्वान सङ’को एक पात्रले नाटकमा लाग्नुका दुःखमाथि बोलेका छन्। ६८ वर्षीय भासिली स्वेतलोभोडोफ लोकप्रिय रंगकर्मी हुन्। एकदिन नाटक सकिएपछि उनी मञ्चमै सुतिरहेका हुन्छन्। उनकी सहयोगी निकिता इभानिच उनलाई घर जान आग्रह गर्छिन्। स्वेतलोभोडोफ भन्छन्, ‘मैले सारा जीवन नाटकलाई दिएँ। मेरो घर छैन। परिवार छैन। म नितान्त एक्लो छु। एकान्त खेतहरूमा बग्ने हावाजस्तो हुँ म। म मरेपछि भोलि मलाई कसैले सम्झने छैन। म कसैको होइन। कसैलाई मेरो आवश्यकता छैन। कसैले मलाई माया गर्दैन।’ निकिता उनलाई सम्झाउँछिन्– ‘महोदय ! तपाईंलाई दर्शकले माया गर्छन्।’ प्रत्युत्तरमा स्वेतलोभोडोफ भन्छन्, ‘मलाई माया गर्ने दर्शक अहिले कहा“ छन् ? उनीहरू घरमा मस्तसँग सुतिरहेका छन्। उनीहरूले मजस्तो बूढो कलाकारलाई यहा“बाट जानासाथ बिर्सिसके।’

नेपाली कलाक्षेत्रको एउटा सुखद पक्ष के हो भने यावत् असुविधा, कष्ट र अभावबीच पनि केही फिल्मकर्मी भासिली स्वेतलोभोडोफझैं ‘फिल्म फिल्म’ जपिरहेका छन्। निर्देशक निगम श्रेष्ठ तिनै समर्पित जमातका एक हुन्। नेपाली सिनेमाको धमाधम निर्माण भइरहेको घरमा दुई महत्वपूर्ण पिल्लर थपेका छन् निगमले।

हाम्रो फिल्मी–सम्पदा निकै कमजोर छ। कमजोर फिल्म प्रदर्शनमा रमाइरहेका हामी ‘आत्मप्रशंसा’ गरिरहन्छौं। खतराको विषय के हो भने हाम्रा निर्देशक आफ्नाभन्दा राम्रा फिल्म संसारमा बनेकै छैन भन्ने आत्मरतिमा रमाइरहेका छन्। निर्देशकहरूको यस्तो बुझाइ निकै खतरनाक हो भन्छन् निगम। र, यस्तो खतराको राम्रै हेक्का छ– निगमलाई।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.