रोनाल्डिन्होको आरोह–अवरोह
त्यो रोनाल्डिन्होको समय थियो । जब रोनाल्डिन्हो मैदानमा उत्रिन्थे, भरिभराउ स्टेडियमका लाखौं दर्शक एकसाथ रोमाञ्चित हुन्थे। उनको खुट्टामा फुटबल पर्नासाथ लाखौं फ्यानको चर्को हुटिङले स्टेडियम गुञ्जायमान हुन्थ्यो। तर, अब त्यो समयको अन्त्य हुने भएको छ। किनकि ती स्टारले सन्न्यास लिने भएका छन्।
आफ्नो समयका सबैभन्दा स्टार फुटबलरको जादुमयी खेल नदेखेको लामो समय भयो। ती ब्राजिलियन स्टार फुटबलर फुटसल खेल्न गत वर्ष भारतसम्म आइपुगेका थिए। पछिल्ला तीन वर्षयता उनले कुनै पनि क्लबसँग अनुबन्धित भएर व्यावसायिक लिग खेलेका थिएनन्। उनी राष्ट्रिय टोलीमा नपरेको लामो समय भइसकेको थियो।
पोर्चुगिज र अर्जेन्टिनी स्टार खेलाडीद्वय क्रिस्टियानो रोनाल्डो र लियोनल मेसीको खेल जादुमा रमाइरहेका आजको पुस्ताले रोनाल्डिन्होलाई हेक्का नराखेको पनि हुन सक्छ। तर, रोनाल्डिन्होको खेल हेरेका दर्शकले भने उनलाई कहिल्यै भुल्ने छैनन्। उनको खेल कलाशैली र हाँसोलाई सधैं सम्झिरहनेछन्। युरोपेली फुटबल लेखकहरू रोनाल्डिन्होबारे लेख्दा उनको हाँसोको वर्णन गर्न छुटाउँदैनन्।
मैदानमा नदेखिए पनि रोनाल्डिन्होले खेलजीवन नै भने त्यागेका होइनन्। कम्तीमा आगामी अगस्टसम्म उनी खेलाडीकै रूपमा रहनेछन्। बुधबार बिहान ब्राजिलियन पत्रिका ओ ग्लोबोमा छापिएको रोबर्टाे असिसको आर्टिकललाई आधार मान्दा रोनाल्डीन्होले आगामी अगस्टबाट भने खेलाडी जीवनबाट सदाका लागि बिदा लिनेछन्।
रोनाल्डिन्होका भाइ एजेन्ट असिसले गत बुधबार धेरैको ध्यान तान्ने गरी रोनाल्डोको सन्न्यासबारे खुलासा गरेका छन्। पछिल्लो ३६ महिनायता क्लब फुटबलसमेत नखेलेका रोनाल्डिन्होका लागि सन्न्यासको घोषणा औपचारिकताभन्दा बढी हुने छैन। किनभने उनी त्यसपछि फेरि खेलाडी जीवनमा फर्कने सम्भावना कम छ।
एसिसका अनुसार रोनाल्डिन्होले रुसमा हुने विश्वकप सकिएलगत्तै औपचारिक रूपमा फुटबलबाट बिदा लिनेछन्। त्यसअघि उनले केही मैत्रीपूर्ण खेल पनि खेल्ने छन्। रोनाल्डिन्होले सन्न्यास अघि आफूले खेलेको क्लबबाट मैत्रीपूर्ण खेल खेल्ने इच्छा व्यक्त गरेका छन्। राष्ट्रिय टोलीबाट पनि सायद अन्तिम पटक खेल्ने छन्।
यी फुटबलरले आफ्नो करिअरमा सफलताको उच्च बिन्दु चुमे। तर, आफ्नो उचाइलाई लामो समयसम्म कायम राख्न भने सकेनन्। अन्तर्राष्ट्रियस्तरमा रोनाल्डिन्होको करिअर अवधि ६ वर्षको मान्दा अन्यथा हुँदैन। त्यो स्वर्ण अवधि उनले बार्सिलोनामा बिताएका थिए। उनी अन्तर्राष्ट्रिय फुटबल जगत्मा जति छिटो उदाए, त्यति नै छिटो हराए।
रोनाल्डिन्होले सन् २००१ मा फ्रान्सेली लिग वानको टोली पेरिस सेन्ट जर्मन (पीएसजी) बाट खेलेका थिए। यूरोपेली फुटबलमा उनको पहिलो सिजन नै त्यही थियो। युरोपेली फुटबलमा उनले त्यही वर्षदेखि आफ्नो छाप छाड्न सफल भएका थिए। सन् २००२ मा दक्षिण कोरिया र जापानले संयुक्त रूपमा फिफा विश्वकपको आयोजना गर्दा विश्वकपको उपाधि ब्राजिलले भित्र्याएको थियो। त्यो जितमा रोनाल्डिन्होको उच्च योगदान रह्यो।
सोही प्रदर्शनमा हो बार्सिलोनाले रोनाल्डिन्होमाथि आँखा लगाएको। त्यसबेला बार्सिलोनाका अध्यक्ष जोएन लापोर्टाले इङ्लिस कप्तान डेभिड बेक्हामलाई भित्र्याउने वाचा गरेका थिए। यद्यपि बेक्हाम बार्सिलोनालाई बेवास्ता गर्दै उसको कट्टर प्रतिद्धन्दी क्लब रियल म्याड्रिड पुगे। त्यसैले रोनाल्डिन्होलाई भित्र्याउन बार्सिलोनाले ठूलै रकम खर्च गर्नुपरेको थियो। रोनाल्डिन्हो ३० करोड युरोमा बार्सिलोना पुगेका थिए।
बार्सिलानोमा निक्कै चम्किएका रोनाल्डिन्होले क्याम नाउमा झन्डै ६ वर्ष बिताए। यही अवधिमा रोनाल्डिन्होले करिअरकै ठूला सफलता चुमे। उनले त्यसै समयमा बार्सिलोनाबाट घरेलु लिग, युरोपियन च्याम्पियन्स लिगदेखि बेलोन डे अर अवार्डसमेत हात पारे। त्यसबेला उनी मिडफिल्डमा थिए। उनी सन् २००५ को अन्त्यतिर अवार्ड थाप्नमै व्यस्त बने।
रोनाल्डिन्होले सन् २००८ मा बार्सिलोना छाडे। त्यस बेला उनी २८ वर्षका मात्रै थिए। त्यसपछि उनी एसी मिलानसँग अनुबन्ध हुँदै इटाली पुगे। पीएसजीबाट बार्सिलोना जाँदा इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडको प्रस्तावलाई बेवास्ता गरेका रोनाल्डिन्होले एसी मिलानका लागि बार्सिलोना छाड्दा अर्काे इङ्लिस क्लब म्यानचेस्टर सिटीको प्रस्तावलाई लत्याएका थिए।
त्यसबेला क्लबसँग उनको केही खटपट थियो। त्यसैले पेप ग्वार्डिओला बार्सिलोनाको प्रशिक्षक नियुक्त भएकै सिजन उनी इटाली पुगेका थिए। संयोगवश उनीबिनाको बार्सिलोनाले ग्वार्डिओलाको नेतृत्वमा युरोपेली फुटबलमा एकछत्र राज गर्न थाल्यो। यता बार्सिलोना छाडेपछि उनको करिअरमा भने ओरालो बाटो सुरु भयो।
एसी मिलानमा रोनाल्डिन्होको बसाइ सोचे जस्तो भएन। बार्सिलोनाको जत्तिको सफलता पनि कायम राख्न सकेनन्। उनको जीवनशैली पनि फेरियो। पहिलो सिजनको अन्त्यतिर नाइट लाइफमा बढी रमाउने तर टोलीको नियमित अभ्यासमा समेत नजाने गरेपछि उनको निक्कै आलोचना भयो।
त्यसपछि रोनाल्डिन्हो यूरोपेली टोलीको आँखामा पर्न छाडे। अन्ततः उनी सन् २०११ मा केही असफलता लिएर आफ्नै देशको टोली फ्लमेङ्गो फर्किए। फर्म अझै खस्किए पनि उनलाई मलेसिया क्लबले अनुबन्धको लागि प्रस्ताव गरेका थिए।
बार्सिलोनामा उनी चम्किरहेको बेला लियोनल मेसीले करिअर भर्खरै सुरु गरेका थिए। रोनाल्डिन्होले बार्सिलोना छाडेपछि उनको स्थान मेसीले लिए। फुटबल कौशलमा रोनाल्डिन्हो अझ अघि हुनुपर्छ। रोनाल्डिन्हो आक्रामक खेल्न रुचाउँछन्। बलसँगको उनको ‘स्पिड’ अन्य खेलाडीको भन्दा तीव्र छ। रोनाल्डिन्होले आक्रामक मिडफिल्डरको भूमिकामा मात्रै खेलेनन्, विङगर र कहिलेकाहीँ लेस्ट्राइकरका रूपमा पनि खेले।
मेसी पनि आक्रमक मिडफिल्डर हुन्। स्ट्राइकरको भूमिकामा पनि हुन्छन्। रोनाल्डिन्होको तुलनामा मेसीको खेल केही शान्त देखिन्छ। यद्यपि रोनाल्डिन्हो बार्सिलोनामा मेसी जति टिकेनन्। बार्सिलोनामा लामो समय नटिक्नु नै रोनाल्डिन्होको गल्ती थियो कि ?
क्लब छाड्ने र नयाँ ठाउँमा अनुबन्ध हुने खेलाडीलाई रोनाल्डिन्होको खेलजीवन एउटा उदाहरण हुन सक्छ। एउटा निर्णयले खेलाडीलाई कहाँ पुर्याउँछ भनेर बुझ्न सकिन्छ। सक्रिय खेलजीवनपछि पनि उनी फाट्टफुट्ट फुटबल गतिविधिमा देखिए। सन्न्यासपछि पनि फुटबलकै कुनै भूमिकामा रहँलान् या हराउँलान् ? त्यो भने भविष्यले देखाउनेछ। उनका केही समर्थक भने उनलाई अझै मैदानमै देख्न चाहन्छन्।
– एजेन्सीको सहयोगमा