आगलागी झुपडी डेढ घडी भद्रा

आगलागी झुपडी डेढ घडी भद्रा

म २०४३ साल असोज ११ गते मङ्गलबार बिहान आठ बजेर पैँतालीस मिनेट जाँदा आफ्नो त्यति बेलाको काठमाडौँस्थित बानेश्वर डेराबाट फुत्त निस्केर पुतलीसडकतर्फ हिँडेँ। मूल ढोकाबाट बाहिर निस्कनेबित्तिकै एउटा भुस्याहा कुकुरमा मेरा आँखा परे। त्यसै रात मैले कुकुरहरूको बिगबिगी मच्चिएर सम्पूर्ण सहर नरकजस्तो त्रासयुक्त भएको सपना देखेको थिएँ।

भुस्याहा कुकुरका हुल जताततै झुम्मिएर बालक, स्त्री र अशक्त मान्छेहरू बाहिर निस्कनेबित्तिकै ङारङार र ङुरङुर गर्दै आक्रमण गर्न झम्टेका देखेर म डरले आधाप्राण भएको थिएँ। मलाई कुकुर मन पर्दैन। कुकुरलाई अँगालो मार्ने, म्वाइँ खाने र सँगै सुताउने सभ्य पुरुष र भद्र महिलाहरूलाई मेरो विचार जान्न पाउँदा उदेकलाग्दो हो, तर मलाई भने कुकुरलाई कुकुरकै ठाउँमा नराखेर घरभित्र पसाएको देख्ता बिघ्नै नरमाइलो लाग्छ। कसैका घरमा जाँदा पनि कुकुरले टोक्ला भन्ने डरले म खœयाकखुत्रुक पर्छु। र जब मैले त्यस भुस्याहा कुकुरलाई उछिनेर अघि जानुपर्ने भयो, मेरो सातोपुत्लो उड्यो। नगर समितिलाई सराप्तै मात्र थिएँ, एउटा खाली ट्याक्सी मेरैअगाडि रोकियो।

ट्याक्सीमा गुड्न थालेपछि पनि कुकुरको सम्झनाबाट म मुक्त हुन सकिनँ। बाटामा थुपारिएका ढुँडी गन्हाउने, अमिलो दुर्गन्ध फैलाउने र हरिया झिँगा भत्काउने मैलाका रासमा मुख जोतिरहेका, भित्तामा एक खुट्टो उचालेर तुक्र्याइरहेका अथवा सडकका बीचमा टुक्रुक्क परेर दिसा बस्तै गरेका र पाँचछ पाँचछका समूह बनाएर जोल्ठिरहेका भुस्याहा, जीउ खुइलिएका र रङबिरङका कुकुरहरूमा मेरा आँखा परी नै रहे। गन्नु पो पर्‍यो भन्ने मनमा इच्छा उब्ज्यो। पुतलीसडकमा ट्याक्सीबाट ओल्र्हँदा दस मिनेट भित्रमा मैले तेत्तीसवटा भुस्याहा कुकुर गन्न भ्याएँ।

एक महिनाजति अघिदेखि भुस्याहा कुकुर मार्ने अभियान नगर समितिले चलाएको थियो। भँगेरटाउके अक्षरमा पत्रपत्रिकाहुँदो कुकुर मारिने सूचना पनि छापिएका थिए। तर रातसाँझ कतै हिँडेर जान भने कुकुरको बिग्बिगीले आजसम्म पनि यस काठमाडौंभित्र सकिएको छैन। मूल सडकमा नौ बजेतिर दसै मिनेट ट्याक्सीबाट गन्दा तेत्तीस भुस्याहा कुकुर भेटिन्छन् भने साँझतिर अँध्यारा गल्ली र गल्छेडाहरूमा कस्तो स्थिति हुँदो हो ? जो सम्पन्न छन् ती गाडीमा हुइँकिहाल्छन्, तर अशक्त र असम्पन्न बासिन्दालाई यी छाडा छौँडाहरूले कति पिरेका होलान् ?

कुकुर पाल्नु मानसिक रोग हो। पाल्नैपर्छ भने र दयाको खानी हुन मन लाग्छ भने सयौं बालबालिका उचित संरक्षण र स्नेह नपाएर सडिरहेका छन्। मानिसकै छोराछोरी पाले भइहाल्छ।

एक पशुचिकित्सकसँग मेरो भेट भयो। कुकुरहरूलाई मार्ने कुरैकुरामा उनले एउटा रोचक कथा सुनाए। सालैपिच्छे नगर समितिले काठमाडौंका भुस्याहा कुकुरहरू मार्ने अभियान चलाउन थालेको छ रे। पोहोर एकजना निकै माथिल्लो तहमा पुगेको सरकारी जागिरदारले आफ्नो गल्लीका भुस्याहा कुकुरहरूलाई मार्न दिएन रे। किन रे भने उसको घरवरिपरि मनुष्यले थुपारेका बिस्टाका लिँड, थास र छेरहरू खाएर र चाटेर वातावरण पवित्र र शुद्ध तुल्याइदिने स्वामीभक्त र बिनातलपका नोकर ती भुस्याहा कुकुरहरू नै हुन् रे। तिनको निर्मम हत्याले उसको मुटु चोइटिने हुनाले अभियानमा खटाइएका कर्मचारीहरू खाली हातै फर्केका थिए रे।

सडकमा फोहोरमैला फ्याँक्ने, पेटीका डिलमा बसेर निर्धक्क दिसा गर्ने र भुस्याहा कुकुरहरू पालेर वातावरणलाई विषाक्त बनाउने स्तरका निकृष्टताको मैलो मनबाट नपखालेसम्म काठमाडौंले आधुनिक सभ्यता प्राप्तिको आशा गर्नु मृगमरीचिका नै हो। रातारात भ्रष्टता र कालो बेपारले कमाएको र कुम्ल्याएको धनले चारपाटे र रङ्ग न ढङ्गका अग्ला भवन ठड्याएर धुरीमा झिक्रा उचाल्दैमा, गल्ली नै थर्किने गरी नबुझिने पश्चिमी गीत गुन्जाउँदैमा, छोरीहरूलाई घुँडामास्तिर फेर भएका लुगा लगाउन दिँदैमा र एमए पास गरेका बुहारी भित्र्याउँदैमा काठमाडौंवासी जतिसुकै आफूलाई आधुनिक ठानून्, सभ्यता, शिष्टता र आधुनिकता चरित्रमा, व्यवहारमा र मानसिकतामा हुन्छ भन्ने कुरालाई तिनले बुझ्नुपर्छ। घरमा रेफ्रिजरेटर र टीभी राख्तैमा, बाहिर कारमा चढेर हुइँकिँदैमा र जीउलाई जापानी लुगाले बेर्दैमा तपाईं झ्यालबाट कसिँगर फाल्ने बानी छोड्न सक्नुहुन्न, छोराछोरीलाई पेटीमा आची नगराई सक्नुहुन्न र त्यस्ता आचीको संरक्षण र सम्बद्र्धन गर्न केही भुस्याहा, लुताले खाएका, खुइलिएका, देख्तै बान्ता आउने कुकुर पाल्न छोड्नुहुन्न भने कसरी तपाईंलाई सभ्य, शिष्ट र शिक्षित मान्ने?

कुकुरले रोग फैलाउँछ। आचीमा मुख जोत्ने फोहोरी जन्तुले कीटाणुहरू सर्वत्र छरेर वातावरण नै विषाक्त बनाउँछ। बौलाहा नहुने सुईले रोपेर जीउमा ओखती पसाइएका कुकुरहरूसमेत दुर्गन्धी वातावरणबाट क्षीण भई कीटाणुहरूबाट मुक्त रहन सक्तैनन्। घरमा मासु खुवाएर पालिएका कुकुरहरूसमेत कुन सड्को कुन सड्को भुस्याहा कुकुरहरूसित मिसिन र यौनसम्बन्ध स्थापित गर्न पुगिसकेका र चिताउनै नसकिने रोग बोकेर मालिकको घरलाई सखाप पार्न फर्केका हुन्छन्। यस कुराको हेक्का कुकुर पालेर फुइँ गर्ने उच्चवर्गीय व्यक्तित्वहरूलाई कतिसम्म हुन्छ मलाई थाहा छैन।

कुकुर पाल्नु मानसिक रोग हो। पाल्नैपर्छ भने र दयाको खानी हुन मन लाग्छ भने सयौं बालबालिका उचित संरक्षण र स्नेह नपाएर सडिरहेका छन्। मानिसकै छोराछोरी पाले भइहाल्छ। मानिसको दुःख हटाउनु मानवता पनि हो। हो, पशु नै पाल्नु छ भने गाई, बाख्रा, हाँस, कुखुरा, खराया पाले हुन्छ। होइन, सोखको लागि हो भने सुगा, मैना पाले झन् रमाइलो हुन्छ। तर कुकुर र बिरालाजस्ता घिनलाग्दा जन्तु घरभित्र पाल्नु आफ्नै फोहरीपनाबाहेक अरू के हुन सक्छ ?

हो, चोरको डर हुने ठाउँमा सुरक्षाका लागि कुकुर पालिन्छन् र पाल्नु पनि पर्छ, तर ती कुकुर प्रहरी स्वरूप बाहिर बेग्लै कटेरामा रहन्छन्। ती आगन्तुकलाई सुँघ्न वा हातमुख चाटिदिन बैठकमा आउँदैनन्, आउन पाउँदैनन्। गुहु खाने मुखले तपाईंका गाला चाटिदिँदा तपार्इंलाई कस्तो अनुभूति हुन्छ ?

महँगीले सम्पूर्ण जनता त्रस्त छन्। मान्छे नै खान नपाएर मर्ने स्थितिमा पुगेका बेला कुकुरहरूलाई गल्लीमा स्वच्छन्द फैलिन र झ्याँगिन दिएर काठमाडौं नगर समितिले केको भद्रो हेरिरहेका छ ?

दिन दुगुना रात चौगुना बढिरहेका यी यमदूतका वाहन कुकुरहरूले समस्त नगरवासीलाई टोकेर बौलाहा तुल्याई यमलोकमा पुर्‍याइसकेपछि मात्र यस समितिको आँखा खुल्छ भने मलाई केही पनि भन्नु छैन। आगलागी झुपडी डेढ घडी भद्राचाहिँ नभइदेओस्। मेरो भन्नु यत्ति हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.