कथामा नारी जीवन

कथामा नारी जीवन

अनुवादक ऋचा शर्माले विभिन्न देशका महिला कथाकारका कथाहरूको अनुवाद गरेर ‘विश्व महिला कथाकारका कथाहरू’ नामक पुस्तक ल्याएकी छन्। १२ महिला कथाकारका १३ कथा समाविष्ट यस संग्रहमा मूलभूत रूपमा नारी संवेदनालाई केन्द्रीय महत्व दिइएको पाइन्छ। विश्वको जुनसुकै देशको भए पनि नारी संवेदनामा समानता हुने उदाहरण यस संग्रहले प्रस्तुत गरेको छ।

प्रस्तुत संग्रहमा बच्चादेखि वृद्धासम्मका संवेदनालाई विश्लेषण गर्ने खालका कथाहरू चयन गरिएको पाइन्छ। यस्तो संवेदनामा कतै डरत्रास, कतै पारिवारिक जिम्मेवारी, कतै एक्लोपना त कतै दुःखकष्टका रूपमा विस्तारित भएको देखिन्छ। विश्वका कुनै देश विकासको चुलीमा पुगेको देखिन्छ भने कुनै देश कछुवाको चालमा। विकसित र अविकसित दुवै देशमा नारीले भोग्नु परेको व्यथामा भने खासै फरक नदेखिएको निष्कर्ष यस संग्रहमा छ।

समकालीन परिवेशलाई अभिव्यक्त गर्ने यी कथाहरूले जीवनबोधको स्वर मुखरित गरेको छ। यी कथाले नारी दयनीय सामाजिक स्थितिमा पुग्नुको कारक पुरुषको एकाधिकारवादी मानसिकता भएको संकेत गरेको छ। नारी जीवनका विविध आयामहरू समेट्न विविध विषयवस्तु कथाले उठाएको छ।

अजरबैजानका कथाकार अलेमिया बाबाएमाको ‘झन् गुलियो’ कथाले एक आमाका साथै एक सैनिकको पनि मनोविज्ञान खोतल्न भ्याएको छ। युद्धजस्तो भयानक विपत्को समयमा पनि जननीहरू आफ्नो ज्यानको सुरक्षाभन्दा सन्तानको भोक र रोगबारे चिन्तित देखिनुले मातृत्वकै कारण नारी महान् हुन्छन् भन्ने सन्देश दिएको छ। अर्को अर्थमा मानवताको सबलीकरणमा नारी नै अग्रसर हुने उदाहरण लिन सकिन्छ। अर्कातिर बाध्यतावश लडाइँमा सहभागी हुनु परे पनि सैनिक भविष्यप्रति आशावादी हुनेजस्ता विम्बले प्रस्तुत कथा थप रुचिकर हुन पुगेको छ। अमेरिकी कथाकार केट चपिनका ‘कथा एक घन्टाको’ कथाले बिरामी नारीको मनस्थिति केलाउने प्रयत्न गरेको छ। जीवनसाथीको आकस्मिक मृत्युमा मर्माहत भएकी महिला कसरी आफूलाई बाँकी दिनको यात्रामा एक्लै हिँड्ने आँट गर्छे भन्ने आत्मविश्वास बटुल्दै गरेको प्रयासलाई निकै रोचक पारामा देखाइएको छ। पतिबिना केही पनि गर्न सकिँदैन भन्ने सोच भएका कमजोर महिलाहरूलाई यो कथा विशेष खुराक हुन सक्छ। त्यस्तै अमेरिकी कथाकार पर्ल एस. बकको ‘मृत्यु र बिहानी’ मर्नै लागेका पतिकी पत्नीको मनोदशा केलाइएको छ। यहाँ पतिको निकट मृत्युको दिनसित साक्षात्कार गर्न पत्नीका साथ बालबच्चासमेत मन नलागीनलागी आपूmलाई तयार गर्दै गरेको अवस्थाको कथा चित्रित छ।

केट चपिनको अर्को कथा ‘पछुतो’मा अविवाहित नारीलाई अर्काको बालबच्चासित हुने सानिध्यसँगै उब्जने मातृत्वको चित्रण छ। बालबच्चाको सैतानी क्रियाकलाप सुरुमा झर्कोलाग्दो हुनु र पछि त्यही क्रियाकलाप प्रियकर लाग्दै आउनु मातृत्वको पहिचान हो। बालबच्चाको अबोधपनाले जोकोहीलाई छुन्छ। जसलाई छुँदैन, त्यसमा मानव हृदय हुँदैन भन्ने संकेत कथामा रोचक ढंगले अभिव्यक्त गरिएको छ। बेलायती कथाकार क्याथरिन म्यान्सफिल्टको ‘सानी’, अस्ट्रेलियाली कथाकार मिसेल हेल्ज टमसको ‘पिताका दिन’ कथामा बालिकाहरूको मनोविज्ञान राम्ररी केलाइएको छ। ‘सानी’ कथामा बालिकाले पितृहृदयलाई नजिकैबाट नियालेकी छन्। व्यस्तताका कारण कुनै पनि पिताले आफ्ना सन्तानलाई समय दिन नपाइरहेका होलान् तर त्यतिमै पिताप्रति कुनै पनि नकारात्मक धारणा बनाइहाल्नु युक्तिसंगत नहुने कुराको यहाँ चित्रण भएको छ। पिताबिना पनि बालबच्चाका दिनहरू राम्ररी सुचारु हुन सक्छ। तर, माताबिना त्यसरी नै दिन बित्न सक्छ कि सत्तैmन भन्ने चिन्तनलाई परोक्ष रूपमा ‘पिताका दिन’ कथामा पस्कने काम भएको छ। अभिभावकको पहिरन लगाउँदै खेल्ने बालसुलभ व्यवहार देखाउँदै केटाकेटीले यहाँ आफ्नी आमाको निराशाबाट पिताको छाया ठम्याएको रोचक चित्रण छ।

म्यानमारकी कथाकार जर्नल क्याउ मा मा–लेको ‘एक त्यान्द्रो घाँस’ कथामा बालबालिकाको किनबेच र शोषणको दुःखद कथा छ। नारीको शोषणमा पुरुष मात्र जिम्मेवार छैन। यस सन्दर्भमा नारी नै पनि कम छैनन् भन्ने स्पष्टोक्ति कथामा दिइएको छ। इजिप्टकी कथाकार पेनिलोप लाइभ्लीको ‘प्रियजनहरू’ कथामा जवान छोराछोरीकी आमाको अवस्था प्रस्तुत गरिएको छ। सन्तानहरू अभिभावकप्रति आफ्नो अधिकार त सजिलै जनाउँछन्, तर कर्तव्यबोध गर्न भने मान्दैनन्। आमाले सन्तानका खुसी हेरिदिनुपर्ने, तर सन्तान आमाको खुसीप्रति उदासीन रहने पक्षको चित्रण छ। आमालाई एउटा साधन मात्र मान्ने प्रसंगले जडवत् युगको संकेत गर्नुका साथै व्यंग्य पनि प्रस्तुत गरेको छ।

अधिकांश विदेशी रचना हालसम्म प्रायः हिन्दीबाट अनूदित भइरहेको अवस्थामा अंग्रेजीबाट अनुवाद हुनु आफैमा सराहनीय प्रयास हो।

अफ्रिकी कथाकार रेडा जाकोब्सको ‘दोषी’ कथाले वृद्धाको सुरक्षासम्बन्धी प्रश्न उठाएको छ। यस कथामा महिलाका लागि जीवनसाथीको महत्व देखाइएको छ। साथी हाँसखेल मात्र हैन; सुरक्षा, सुखदुःखमा पनि चाहिन्छ भन्ने देखाइएको छ। अस्ट्रेलियाली कथाकार रेबेकाजीको ‘महाप्रस्थान’ कथामा वैवाहिक नारीको मनोदशा केलाइएको छ। मृत्युको नजिक पुगेका व्यक्तिको आफन्तका क्रियाकलापमाथि कथानक केन्द्रित छ। आफन्तको यस किसिमका उद्विग्नता, छटपटी, अधैर्यजस्ता प्रसंगबाट संवेदनाका स्वर उराल्ने काम भएको छ। नजिकको आफन्तलाई एकैछिनपछि लासको रूपमा स्वीकार्नुपर्ने बाध्यतालाई करूणामयी ढंगले प्रस्तुत गरिएको छ।

भारतीय कथाकार शशी पाण्डेको ‘अनि त्यसपछि’ परम्परावादी नारीको दृष्टिकोण प्रस्तुत गर्ने कथा हो। पति त्यागेकी महिलालाई भारतीय समाजले हेर्ने दृष्टिकोण कथामा प्रस्तुत छ। रूढ धार्मिक परम्पराका कारण एक महिलालाई अर्को महिलाले कसरी सहयोग गर्दैन भन्ने अवस्थाको चित्रण छ।

क्यानेडियन कथाकार साउना सिंह बाल्डविनको ‘मन्ट्रियल’ कथाले संस्कृतिलाई जोड दिन्छ। क्यानडामा पुग्दा पाइने अवसर र संघर्षको लेखाजोखा गरिएको छ। फेटा लगाइदिने प्रसंगमार्पmत भारतीय नारीले आफ्ना पतिको सफलताको कामना गरेको सन्दर्भ छ। अस्ट्रेलियाली कथाकार स्याली मग्र्यानको ‘चिठी’ कथामा रंगभेद र आदिवासी समस्यामाथि प्रश्न उठाइएको छ। कालो वर्ण भएकै कारण आफ्नै गोरी सन्तानलाई हुर्काउन नपाउने रंगभेदी समस्याको उठान गरिएको छ। आफ्नी छोरीसित सानिध्यताको अभावमा एक आमाले भोग्नु परेको व्यथालाई मर्मस्पर्शी ढंगले चित्रण गरिएको छ।

उपर्युक्त कथाहरूले नारी समस्या केलाएको छ। त्यस क्रममा आधुनिक जीवनशैलीले भिœयाएको रिक्तता, बिरानोपन र तिक्तताजस्ता पक्षको पनि चित्रण गरिएको छ। कथाले युगबोधका सन्दर्भमा प्रश्न उठाइएको छ।

समग्रमा विश्वका महिला कथाकारहरूको अनुभूति समान देखिन्छ। नारीको अवस्थाको चित्रण गर्दै विश्वका सम्पूर्ण नारीमा जागरणको चेतना सम्प्रेषण गर्ने प्रयास कथामा देखिन्छ। अनुवाद गर्दा प्रायः रचनाको आत्मा कतै भड्किने सम्भावना बढी हुन्छ, तर अनुवादक ऋचा शर्माले नेपाली धरातलमा भिज्न सकिने गरी कथाको अनुवाद गरेकी छन्। रचनाको मूल भावसित पाठकलाई साक्षात्कार गर्न कठिनाइ पर्दैन। अधिकांश विदेशी रचना हालसम्म प्रायः हिन्दीबाट अनूदित भइरहेको अवस्थामा अंग्रेजीबाट अनुवाद हुनु आफैमा सराहनीय प्रयास हो। यस संग्रहबाट विश्वका महिलाहरूको अवस्था र प्रवृत्तिको जानकारी पाइन्छ। विश्वव्यापी महिलाको स्थिति र चेतनालाई एकै ठाउँमा अनुभूत गर्न सकिने भएकाले यो संग्रह पठनीय बन्न पुगेको छ।

पुस्तक : विश्व महिला कथाकारका कथाहरू

अनुवाद : ऋचा शर्मा

प्रकाशक : नेपाल प्रज्ञाप्रतिष्ठान


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.