'अनुवादक लेखकको विश्वसनीय मुखपात्र हो'
लेखक, अनुवादक बलराम अधिकारीले प्रा. हेमांगराज अधिकारी लिखित ‘समसामयिक नेपाली व्याकरण’लाई अंग्रेजीमा अनुवाद गरेका छन्। उनले गरेको अंग्रेजी अनुवाद ‘अ ग्रामर अव कन्टेम्पोररी नेपाली’ पुस्तकमाथि केन्द्रित भएर अधिकारीसँगको 'अन्नपूर्ण फुर्सद' ले गरेको कुराकानी :
यो कस्तो किसिमको पुस्तक हो ?
यो मूलतः विश्वविद्यालय तहका विद्यार्थी, अध्यापक, अध्येताका निम्ति तयार पारिएको नेपाली भाषाको सैद्धान्तिक व्याकरण हो। अंग्रेजीमा यस प्रकारको व्याकरणलाई प्राज्ञिक व्याकरण भनिन्छ। विद्यालय प्रयोजनका लागि लेखिने शैक्षणिक व्याकरणभन्दा यस्तो व्याकरण विस्तृत, सघन र जटिल प्रकृतिको हुन्छ। यस प्रकारको व्याकरणलाई स्रोत मानेर अन्य प्रकारका प्रायोगिक व्याकरणका पुस्तक लेखिन्छ। अतः यो एक प्राज्ञिक अनुवाद हो।
अनुवाद गर्न कत्तिको गाह्रो भयो ?
विश्वविद्यालयमा अनुवाद विषय पढेँ। यही विषय पढ्दैछु, पढाउँदै छु। अनुवाद कर्ममा लागेको एक दशक पूरा भयो। हालसम्म मैले गरेकामध्ये सबैभन्दा कठिन अनुवाद हो यो, पुस्तकको आकार र प्रकृति दुवै दृष्टिले। आकारमा यो अनुवाद पाँच सय ७५ पृष्ठको छ। ठूलो पुस्तकको अनुवाद गर्न लामो समयको धैर्य, अध्ययन र अनुसन्धान चाहिन्छ। अनुवादको सिद्धान्तले भन्छ, व्याकरणको अनुवाद हुँदैन। म भने त्यही अनुवाद नहुने तत्वको अनुवादमा लागेँ। व्याकरण भनेको भाषाको अति निजी तत्व हो। एउटा भाषाको निजत्वलाई अर्को भाषाको संरचनाअनुसार प्रस्तुत गर्नुपर्दा निकै कठिन भयो। यसका लागि नेपाली र अंग्रेजी व्याकरणको अध्ययन र विश्लेषणमा लामो समय लगाएँ। अनुवादका लागि आफूलाई मानसिक रूपले तयार पार्न नै करिब ६ महिना लाग्यो। यो अनुवाद थालेको २०६४ को फागुनतिर हो भने २०७४ सालमा मात्र प्रकाशनको निम्ति तयार भयो। तर, दस वर्षको यस यात्रामा म एक्लो भने थिइनँ। लेखक, सम्पादकद्वय प्राध्यापक गोविन्दराज भट्टराई र उषा अधिकारीसँगको सहकार्यमा यो काम पूरा भयो।
पुस्तकलाई न्याय गरे जस्तो लाग्छ ?
अनुवादकले पुस्तकलाई कत्तिको न्याय गरेको छ भन्ने बुझ्ने आधार विश्वसनीयता र पठनीयता हुन्। अनुवादक भनेको लेखकको विश्वसनीय मुखपात्र हो। त्यसैले मैले यस पुस्तकको अनुवाद गर्दा हदैसम्म लेखकको पदचापलाई सास थामिथामी पछ्याएको छु। अनुवाद गर्दा मैले टेक्ने, खेल्ने र घुम्ने पाठ्यमैदान भनेको मूल पुस्तक नै हो। तर, लेखकलाई जुरुक्क उठाएर अर्को भाषामा लैजाँदैमा न्याय हुन्छ भन्ने चाहिँ कदापि होइन। लेखकको विषयवस्तुमा अनुवादकले सहज र स्वाभाविक भाषा भर्नुपर्छ। यसका लागि उसले आफूभित्रको सर्जकीय चेतनालाई जगाउनुपर्ने हुन्छ। मूल पुस्तक पढ्दा म लेखकसँगै टाँसिन्छु तर उसको विषयवस्तुलाई अंग्रेजीमा लेख्दा भने आफूलाई लेखक नै ठान्छु। यस्तो दोहोरो भूमिकाले अनुवाद विश्वसनीय र पठनीय दुवै हुन्छ। अंग्रेजी अनुवादलाई पठनीय बनाउन त्यसको अनेकौं पटक पुनर्लेखन गर्नुप¥यो। यसमा लामो समयसम्म सम्पादकीय कैंची र रन्दा चलिरह्यो। लेखक आफैंले पनि अंगे्रजी अनुवादलाई स्रोतसँग भिडाएर हेरे। त्यसैगरी प्रज्ञा प्रतिष्ठानले पनि विज्ञबाट मूल्यांकन गरायो। मूल्यांकनकर्ताको टिप्पणी झिकायो। तदनुरूप आवश्यक सुधार गरियो। अनुवाद, पुनर्लेखन, सम्पादन र मूल्यांकनको लामो प्रक्रियाबाट गुज्रिएको हुनाले पनि पुस्तकप्रति मैले न्याय गरेको छु भन्ने लागेको छ।
यो अनुदित पुस्तकको लक्षिक पाठक को हो ?
नेपाली भाषाको अध्ययन र अनुसन्धानमा विदेशी विद्वानहरूको रुचि बढ्दै गएको छ। अंग्रेजीभाषी विद्वानहरूको नेपालीप्रतिको रुचि आजको होइन। झन्डै दुई सय वर्षअघि नै इटोनले नेपाली भाषाको व्याकरण अंग्रेजीमा लेखेका थिए। नेपाली र अंग्रेजीबीच तुलनात्मक अध्ययन गर्न चाहने जो कोहीलाई पनि यो पुस्तक उपयोगी हुन सक्छ। त्यस्तै, नेपालका अंग्रेजी शिक्षकका लागि पनि यो अनुदित व्याकरण उपयोगी छ। अंग्रेजी शिक्षकले विद्यार्थीको भाषा र उसले सिक्दै गरेको अंग्रेजीबीचको व्याकरणात्मक अन्तरसम्बन्ध बुझ्नु आवश्यक हुन्छ। दोस्रो भाषा सिकाइको सिद्धान्तको मान्यता हो यो। यस्तो तुलनात्मक बुझाइले शिक्षकलाई नेपाली व्याकरणका सहायताले अंग्रेजी व्याकरणको संयन्त्र बुझाउन सहज हुन्छ। नेपाल र अंग्रेजीबीच अनुवाद गर्ने व्यक्तिलाई पनि यो अनुदित पुस्तक सहयोगी हुन सक्छ।
प्रायः साहित्यिक कृतिहरू अनुवाद भएको पाइन्छ। तपाईंलाई भने किन व्याकरण नै अनुवाद गर्न मन लाग्यो ?
पक्कै पनि अनुवादको सबैभन्दा ठूलो कित्ता साहित्यले नै ओगटेको छ। व्याकरणको अनुवाद भने सम्भवतः सबैभन्दा सानो कित्तामा छ। मैले यो सानो कित्ता रोज्नुका पछाडि दुई प्रमुख कारण छन्। पहिलो, अंग्रेजी शिक्षकका लागि नेपाली व्याकरणको दृष्टान्तको आवश्यकता। स्नातकोत्तर तहमा अंग्रेजी शिक्षकहरूलाई अंग्रेजी व्याकरणको कोर्स १४ वर्ष पढाएँ। उक्त कोर्समा फारसी, जर्मन, चिनियाँ, फ्रेन्चजस्ता भाषाको प्रसंग आउँथ्यो। यी भाषाका वाक्य संरचनालाई अंग्रेजीको संरचनासँग तुलना गरिएका हुन्थे। तर त्यहाँ नेपालको कुनै पनि भाषाको कहीँ कतै दृष्टान्त छैन। अन्य भाषाका दृष्टान्तहरू नेपाली विद्यार्थीका लागि सान्दर्भिक पनि नहुने र बुझ्न पनि उक्तिकै कठिन। नेपाली व्याकरणको आधिकारिक उदाहरण अंग्रेजीमा दिन नपाउँदा, नसक्दा मलाई ग्लानी हुन्थ्यो। कुनै विस्तृत नेपाली व्याकरण अंग्रेजीमा भइदिए हुन्थ्यो भन्ने लाग्थ्यो। हुन त नेपाली भाषाका केही व्याकरण अंग्रेजीमा नभएका भने होइनन्। तथापि ती अनुवादभन्दा पनि अनुकूलित हुन्। म थिएँ, नेपाली र अंग्रेजीको तुलनात्मक संरचना र वाक्यहरूको खोजीमा। त्यसैले म आफैं नेपाली व्याकरणमा काम गर्न चाहन्थेँ। त्यो अवसर पाएँ।
दोस्रो हो, अनुवादकको आवश्यकता। नेपालीबाट अंग्रेजीमा अनुवाद गर्दा ठोक्किने र अल्झिने ठाउँ भनेको व्याकरण पनि एक हो। नेपालीका निपात, अज्ञात भूत, भाववाच्य, आदरार्थी सर्वनाम, आदरार्थी क्रियापद आदिका समतुल्य कोटी अंग्रेजीमा छैनन्। यिनलाई अंग्रेजीमा कसरी उतार्ने होला भन्ने आम अनुवादकको चासो रहन्छ। अतः यस पुस्तकको अनुवाद गर्न सके नेपाली भाषाका यी र अन्य विशिष्ट संरचनालाई बुझ्न अनुवादकलाई सहज होला भन्ने लाग्यो।
प्राज्ञिक विमर्शमा यो अनुवादको भूमिका के हुन सक्छ ?
सानो कित्ता ओगटेको व्याकरणको यस अनुवादले तत्कालै बृहत् बहस सिर्जना गर्ला भन्ने त लाग्दैन। तथापि, यो अनुदित पुस्तक बाहिर आएपछि विमर्शका केही संकेत भने मैले पाएको छु। पहिलो त, व्याकरणको पूरै किताबको अनुवाद कति सम्भव छ, सम्भव भए ता पनि कति आवश्यक र सान्दर्भिक छ भन्ने हो। कतिपय विद्वानले यस्तो प्रयासमा निधार खुम्च्याएको देखेको छु भने कतिपयले यसको प्रशंसा गरेका छन्। आशंका र प्रशंसा दुवैका पछाडि पक्कै पनि आआफ्नै मान्यता, सिद्धान्त छन्। दोस्रो हो अनुवादकको अग्रभूमीकरण। विश्वविद्यालयका केही अध्यापकहरूले यस अनुदित पुस्तकमा अनुवादक लेखकमाथि हावी भएको गुनासो गरेका छन्। यस अनुदित पुस्तकको बाहिरी कभरमा अनुवादकको नाम मात्रै छ। लेखकको नाम भित्री पृष्ठमा छ। अनुवादकलाई अग्रभूमीकरण गर्ने यो एउटा प्रयोग पनि हो। यद्यपि सबैलाई यस्तो प्रयोग स्वीकार्य नहुन सक्छ। लेखकको मूल स्थान स्रोत कृति हो भने अनुदित पुस्तकमा अनुवादक अग्रस्थानको हकदार छ। तर यसमा लेखकको स्वीकृति भने अवश्य नै चाहिन्छ।
यसबाट नेपाली भाषालाई के फाइदा हुन्छ ?
अनुवादको काम भनेको उपयोगी विषयवस्तु अरूकोबाट आफूमा ल्याउने र आफूसँग भएको विषयवस्तुलाई अरूसम्म पुर्याउने हो। यस अनुवादले नेपाली व्याकरणलाई अंग्रेजी प्रयोगतासम्म पुर्याएको छ। अब नेपाली व्याकरण नेपालीमा मात्र होइन, अंग्रेजीमा पनि पढ्न सकिन्छ। यसबाट नेपाली व्याकरणको पाठकको संख्यामा पक्कै वृद्धि हुन्छ। साथै यसबाट नेपाली व्याकरणको अध्ययन र अनुसन्धानको क्षेत्रको विस्तार हुनेछ। त्यसैगरी, नेपाली भाषाको तुलनात्मक अध्ययनको दायरा पनि अलि फराकिलो होला भन्ने लागेको छ।
अंग्रेजी भाषाको ‘हेजेमोनी’ले नेपाली भाषा संकटमा छ भनिन्छ। तपाईंले झनै नेपालीलाई अंग्रेजीमा अनुवाद गर्नुभयो। यसले संकट थप्छ कि संकटबाट निस्कन सहयोग गर्छ ?
अनुवाद गर्नु भनेको आफ्नो छोड्नु होइन, आफ्नोलाई अरूसँग जोड्नु हो। नेपालीलाई छाडेर अंग्रेजीमा मात्र लेख्दा यसले संकट थप्छ। नेपाली भाषा र साहित्यमा यहाँले संकेत गरेको संकटको मोचन अनुवादले गर्न सक्छ। नेपालमा अंग्रेजीको जुन हेजेमोनी अर्थात् प्रभुत्व छ त्यो केवल भाषाको कारणले भएको होइन। अंग्रेजीको हालिमुलीको मूल कारण त यसले बोकेको ज्ञान, यसको साहित्य र यसमा सन्निहित प्रविधि हो। अब हामीले अन्तर्राष्ट्रिय समुदायलाई हामीसँग भएको ज्ञान देखाउन, बुझाउन सक्नुपर्छ। यसका लागि अंग्रेजीको तत्काल अर्को विकल्प छैन। हामी परभाषी ज्ञानका उपभोक्ता मात्र होइनौं, ज्ञानको उत्पादक पनि हौं। ‘अब तिम्रा भाषामा हाम्रा कुरा सुन’ भन्ने समय आएको छ। विश्व समुदायमा नेपाली भाषाको उपस्थिति कमजोर छ भन्नुको अर्थ विषयवस्तुमा हामी कमजोर भन्ने त होइन नि।