पार्टी एकताको सहमति एक हप्तामा : झलनाथ खनाल
काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमाले र माओवादी केन्द्रबीच एकताको लागि एक हप्ताभित्रै नीति र नेतृत्वका विषयमा सहमति हुने खुलासा गरेका छन्।
शनिबार रिपोर्टर्स क्लब नेपालले गरेको विशेष साक्षात्कारमा बोल्दै वरिष्ठ नेता खनालले यस्तो बताएका हुन्। ‘अब बस्ने एकता संयोजन समितिको बैठकले एकताबारे ठोस निर्णय लिन्छ, नेतृत्व र नीतिबारे एक हप्ताभित्रै सहमति हुन्छ ’, नेता खनालले भने, ‘आवश्यक परे दुई कार्यदल बनाउँछौं, एउटा वैचारिक र अर्को संगठनात्मक, कार्यदलले सबै कुरा टुंगो लगाउछ।’
नेता खनालले केपी ओली प्रधानमन्त्री बन्ने पक्का भएको तर, अध्यक्षका लागि छलफल गर्नै बाँकी रहेको उल्लेख गरे ‘अहिलेलाई केपी ओलीजी प्रधानमन्त्री बन्ने सम्भावना ९९ प्रतिशत छ, को अध्यक्ष बन्छ भन्ने विषयमा सल्लाह गर्न बाँकी छ’, नेता खनालले भने।
उनले पार्टीले जिम्मेवारी दिए आफू जुनसुकै भूमिका निर्वाह गर्नबाट पछि नहट्नेसमेत स्पष्ट पारे। ‘मलाई पार्टीले जे जिम्मेवारी दिन्छ, म त्यो भूमिका दृढतापूर्वक पालना गर्न तयार छु’, खनालले भने।
राष्ट्रपतिमा तपाईंको नाम चर्चामा छ नि भन्ने पत्रकारको प्रश्नको जवाफमा खनालले भने, ‘को राष्ट्रपति बन्ने भन्ने कुरा सबै कुरा ध्यानमा राखेर निर्णय हुन्छ, राष्ट्रमा पुर्याएको योगदानको आधारमा उचित निर्णय हुन्छ, यसबारेमा उपर्युक्त समयमा उपर्युक्त निर्णय गरिनेछ।’
नेता खनालले प्रदेश प्रमुख नियुक्तिलाई आफूहरुले आश्चर्य र अनौठो ढंगले नलिएको स्पष्ट पारे। उनले भने,‘सरकारले गरेको प्रदेश प्रमुखको नियुक्तिलाई हामीले अनौठो र आश्चर्यको रुपमा लिएका छैनौँ।’ खनालले प्रदेश राजधानीको टुंगो प्रदेशसभाले गर्ने भएकाले अहिले यो विवादलाई संघीयतासँग जोडेर नहेर्न सबैलाई आग्रह गरे।
उनले फागुनको दोस्रो हप्ताभित्रै वाम गठबन्धनको नेतृत्वमा नयाँ सरकार बन्ने विश्वास दिलाए। उनले भने,‘वाम गठबन्धनमा पनि एमालेको नेतृत्वको सरकार बन्ने कुरामा विवाद छैन, सरकार बन्छ।’
अब बन्ने सरकारले महत्वपूर्ण कार्यभार सम्हाल्नुपर्ने बताउदै खनालले भने,‘अब बन्ने सरकारले महत्वपूर्ण पाँच वटा कार्यभार पूरा गर्नुपर्छ, त्यो भनेको लोकतन्त्रलाई संस्थागत गर्ने, व्यापक बनाउने, वामपन्थी लोकतान्त्रिक हुँदैनन् भन्ने आरोप तथा मिथ्यालाई खण्डन गर्नुपर्छ, दोस्रो भनेको राष्ट्रियता, सार्वभौमिकता, अखण्डतालाई सुदृढ गर्ने, राष्ट्रिय स्वाभिमानलाई प्रर्वद्धन गर्ने, हामी कसैको पनि विरुद्धमा छैनौं, तेस्रो भनेको सामाजिक–आर्थिक रुपान्तरण गर्ने, यसलाई तिव्रता प्रदान गर्ने हो, देशको पूर्वाधार विकास, कृषि आधनुकिरण, जलस्रोतको विकास गर्ने, जलविद्युत उत्पान गर्ने हजारौं÷हजारौं मेगावाट विद्युत उत्पादन गर्ने, पर्यटनको विकास गर्ने, त्यस्तै चौथो भनेको सामाजिक, सांस्कृतिक विविधतालाई कायम गर्ने, र पाँचौ भनेको अन्र्तराष्ट्रिय सम्बन्धलाई सन्तुलित ढंगले अघि बढाउने, दुवै छिमेकी देशहरु भनेको ट्रान्जिट कन्ट्री हुन, पारवाहन सुविधा दुवै देशसँग लिनुपर्छ।’
उनले नेपालको विदेश नीति सन्तुलित हुनुपर्ने आगामी कार्यभार रहेको सुनाए।