कार्यभार सम्हाल्न प्रदेश प्रमुख विराटनगरमा
विराटनगर : प्रदेश १ का प्रमुख प्रा.डा.गोविन्द सुब्बा कार्यभार सम्हाल्न प्रदेश राजधानी विराटनगर आइपुगेका छन् । सुब्बाले प्रदेश रराजधानीको मागलाई हिंसात्मक रुपमा अघि नबढाउन पनि सुझाव दिएका छन् ।
शनिबार अपरान्ह ४ बजे काठमाडौंबाट विराटनगर विमानस्थल झरेका सुब्बाले मुलुक अब संघीय गणतन्त्रको संस्थागत कार्यान्वयनतर्फ अघि बढेको बताउँदै यो सुखद क्षणमा आफूले प्राप्त गरेको जिम्मेवारी निष्ठापूर्वक पूरा गर्ने बताए ।
राजधानीको विषयलाई धेरै ठूलो विवाद बनाइन सबैले शान्तिपूर्ण तरिकाले आफ्नो माग राख्न पाउने तर आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकार हनन् हुनु हुन्न भन्ने मान्यताचाहिँ बुझ्नु पर्ने सुझाव उनको छ ।
‘हरेक जिल्लाका नागरिकले प्रदेश राजधानी मेरै जिल्लामा होस भन्ने चाहना राख्न पाउँछन् तर गैरकानुनी र हिंसात्मक ढंगले अघि बढ्नु हुन्न’, प्रदेश १ का प्रमुख सुब्बाले भने, ‘अहिले अस्थायीमात्र तोकिएको र संविधानअनुसार भएकाले प्रदेश सभाले फेरि निर्णय गर्न र हेरफेर गर्न सक्ने भएकाले अत्तालिनु पर्दैन ।’ आफू प्राध्यापन पेशामा रहँदा पनि जिम्मेवार भएर काम गरेकाले नयाँ परिस्थितिमा पाएको जिम्मेवारीलाई पनि त्यसरी नै पूरा गर्ने उनको भनाइ छ ।
उनले भने,‘मुलुकले क्रमिक रुपमा फड्को मारेको छ, निर्वाचनहरु भएका छन् । अब सबै राम्रो हुन्छ भन्ने अपेक्षा गरौं ।’ सुब्बाले अहिले भएकै भौतिक पूर्वाधार तथा संरचनालाई नै सदुपयोग गरेर प्रदेश सभा, मुख्यमन्त्री तथा प्रदेश प्रमुखका कार्यालयलाई अघि बढाइने बताउँदै नभएका विषयवस्तु मिलाउने र दोधारमा नपर्ने पनि स्पष्ट गरे । संविधान, नियम कानुन बनिसकेको र बन्ने क्रममा पनि रहेकोेले आफूले त्यसैलाई आधार मानेर काम गर्ने सुब्बाले बताए ।
आइतबार नै प्रदेश सभासदको सपथ गराएर प्रदेश सभाको बैठक गर्ने र अन्य प्रक्रिया यथाशक्य चाँडो सुरु हुने सुब्बाले स्पष्ट गरे । सुब्बालाई स्वागत गर्न विमानस्थलमा समर्थकको निकै ठूलो घुइँचो थियो । उनलाई फूलमाला लगाएर स्वागत गरिएको छ ।