भक्तपुरमा देखिए बिदेसिएका सम्पदा
भक्तपुर : नेपालबाट विविध कारणले बिदेसिएका सम्पदाहरूको फोटो प्रदर्शनी भक्तपुरमा सुरु भएको छ। भक्तपुर नपा— ९ स्थित टोनी हागन हाउसमा भइरहेको उक्त प्रदर्शनीमा सन् १९५७ देखि १९५९ सम्म नेपाल भ्रमणमा आएका डेनमार्कका पुरातत्वविद् बेर्नेर याकोब्सनले हात पारेर साथमा लगेका सम्पदाको फोटो समावेश छ।
त्यस्तै याकोब्सनले खिचेका उसबेलाको कठमाडौं उपत्यकाका २७ वटा दुर्लभ तस्बिरसमेत प्रदर्शनीमा राखिएका छन्। याकोब्सनले लगेका नेपाली सम्पदाको फोटो तथा उनले खिचेका फोटोको प्रदर्शनीलाई ‘एक दिव्य भ्रमण : विगतसँगका भेटहरू’ नाम दिइएको छ। उक्त बेला याकोब्सनले नेपालको १७औंदेखि १९औं शताब्दीका ८८ वटा विभिन्न सम्पदा साथमा लगेका थिए। उनले लगेका ती सम्पदाहरू डेनमार्कस्थित राष्ट्रिय संग्रहालयमा प्रदर्शनीमा राखिएका छन्।
उक्त प्रदर्शनीको चाँजोपाँजो डेनमार्कका पीएचडी विद्यार्थी उल्रिक जोन्सनले मिलाएका हुन्। उनले आफ्नो पीएचडी थेसिस गर्ने क्रममा डेनमार्कका पुरातत्वविद् याकोब्सनले संग्रह गरी लगेका तथा डेनमार्कस्थित मोसगार्ड संग्रहालयमा संग्रहित नेपाल र नेपालसँग सम्बन्धित केही सम्पदाका फोटो प्रदर्शनीका लागि ल्याएका हुन्।
आइतबार सुरु भएको प्रदर्शनी भक्तपुरमा तीन दिनसम्म चल्नेछ। प्रदर्शनी सुरु गर्दै पीएचडी विद्यार्थी उल्रिकले सम्पदाको महत्वबारे जागरण ल्याउन आफूले बिदेसिएका सम्पदाको फोटो प्रदर्शनमा ल्याएको जानकारी दिए।
उनले डेनमार्कका विभिन्न संग्रहालयमा दुई सयभन्दा बढी नेपाली सम्पदा रहेको समेत बताए।
‘डेनमार्कका विभिन्न संग्रहालयमा दुई सयभन्दा बढी नेपाली सम्पदा संग्रृहीत छन्’, उल्रिकले भने, ‘ती सम्पदा कसरी डेनमार्क पुगे र ती कहाँ कहाँका हुन् अध्ययन अनुसन्धान हुन बाँकी छ।’
आफ्नो नेपालको अध्ययन अनुसन्धानको थेसिसबारे एक वर्षपछि डेनमार्कमा प्रस्तुति गर्ने योजना रहेको उनको भनाइ थियो।
उक्त प्रदर्शनीको व्यवस्थापन गरेको आरपी फाउन्डेसनका अध्यक्ष एवं सम्पदा संरक्षणकर्मी रवीन्द्र पुरीले नेपालबाट चोरिएका सम्पदाको पहिचान गर्ने उद्देश्यले उक्त फोटो प्रदर्शनी गरिएको सुनाए। फोटो प्रदर्शनीमा रहेका सम्पदा कहाँका हुन् र कहिले चोरी भए भन्नेबारे कुनै यकिन जानकारी नभए पनि फोटो बाहिरिएपछि त्यसको खोजीनीति हुने उनको विश्वास छ।
‘यस्ता प्रदर्शनीले चोरिएर विदेश पुगेका कला र सम्पदा स्वदेश फर्काउने पहल गर्न सजिलो हुन्छ’, संरक्षणकर्मी पुरीले भने, ‘मूर्ति र अन्य कला सम्पदाको चोरीसम्बन्धी खोज र अनुसन्धान गर्न सहयोगसमेत पुग्छ।’
प्रदर्शनीमा नेपालबाट बिदेसिएका १७ औंदेखि १९औं शताब्दीका काठ, पित्तल, तामाबाट बनेका विभिन्न देवदेवीका मूर्ति तथा प्राचीन सम्पदाको फोटो छन्। ती सम्पदामध्ये काठ र तामाले बनेका भैरवका दुई, मञ्जु श्रीको काठ र पित्तलबाट बनेका दुई मूर्ति अत्यन्त दुर्लभ मानिन्छन्। त्यस्तै काठले बनेको हरित तारा, गरुडसहितको नारायणको काठको मूर्ति, काठकै कलात्मक तोरण, पित्तलको सिंहको मूर्ति पनि महत्वपूर्ण छन्।
काठमाडौंको इटुमबहाल र ललितपुरको पाटन संग्रहालय र नागबहालमा सम्पन्न भइसकेको उक्त प्रदर्शनी भक्तपुरपछि पुनः पाटनको ज्यापु समाजको भवनमा गरिने उल्रिकले जानकारी दिए।