चेपाङको अनिकाल भगाउने सपथ

चेपाङको अनिकाल भगाउने सपथ

हेटौंडा : आइतबार बिहानैदेखि हेटौंडा बजारमा चहलपहल थियो । स्थानीयले आआफ्नो घरअगाडि पानीका घैला राखेका थिए । प्रायः सुनसान रहने हेटौंडा १० बसपार्कनजिक क्षेत्रीय शिक्षा निर्देशनालय (हाल संसद सचिवालय) वरिपरि सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो । संसद सचिवालयअघिको सडकमा पन्चेबाजा र धिमे बाजा बजिरहेको थियो । स्थानीय महिला हातमा पुष्पगुच्छा लिएर लामबद्ध थिए । पुष्पगुच्छा, फूलमाला र खादाले स्वागत गरिरँदा निर्वाचित भएको दुई महिनापछि पद तथा गोपनीयतको शपथ लिन हेटौंडा आइपुगेका सांसदको अनुहारमा छुट्टै रौनक देखिन्थ्यो ।

प्रदेश ३ का सांसदलाई प्रदेश प्रमुख अनुराधा कोइरालाको उपस्थितिमा ज्येष्ठ सदस्य डोरमणि पौडेलले पद तथा गोपनीयतको शपथ गराए । ईश्वर र देशको नाममा शपथ लिँदै सांसदहरूले देश विकासमा जुट्ने प्रतिबद्धता व्यक्त गरे । आइतबार बिहान साढे ११ बजे ७१ वर्षीय ज्येष्ठ सांसद पौडेलले शपथ गराएपछि सभा सकिएको थियो । त्यसअघि प्रदेश प्रमुख कोइरालाले प्रदेश कार्यालयको सभाहलमा ज्येष्ठ सांसद पौडेललाई पद तथा गोपनीयतको शपथ गराएका थिए । उनी प्रतिनिधिसभा मकवानपुर १ (ख) बाट निर्वाचित सांसद हुन् ।

पहिलो प्राथमिकता आफ्नो क्षेत्रको विकास

प्रदेश सांसदहरूले आफू निर्वाचित क्षेत्रको विकासलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । पद तथा गोपनीयतको शपथ लिएपछि सिन्धुलीकी सांसद कल्पना नेपालीले भनिन्, ‘आफ्नो क्षेत्रको विकासलाई पहिलो प्राथमिकता दिन्छु । जनताको बीचमा गरेका प्रतिबद्धता पूरा गर्ने प्रयास गर्छु ।’

धादिङबाट निर्वाचित सांसद राजेन्द्र पाण्डेले आफ्नो क्षेत्रसँगै प्रदेश ३ को विकास आफ्नो प्राथमिकतामा रहेको बताए । ‘संघीयता कार्यान्वयनको अनुभूति भएको छ’, उनले भने, ‘अब देश विकासका लागि अघि बढ्ने बेला आएको छ, हामी सबैले मिलेर काम गर्नुपर्छ ।’ अर्का सांसद कैलाश ढुंगेल प्रदेशको पहिलो अभ्यास भएकाले बलियो कानुन निर्माण पहिलो प्राथमिकता रहेको बताए । ‘त्यसपछि बलियो अर्थतन्त्र निर्माण गर्दै अरू प्रदेशले सिक्नुपर्ने गरी हामीले काम गर्नुपर्छ’, उनले भने ।

राजधानीबारे आआफ्नै तर्क

प्रदेश ३ को अस्थायी राजधानी हेटौंडा तोकिएपछि स्थायी राजधानी कहाँ भन्ने बहस सुरु भएको छ । पद तथा गोपनीयताको शपथ लिन आएका सांसदको मिश्रित प्रतिक्रिया छ । बहस र छलफलबाटै स्थानीय राजधानी तोकिने काठमाडौंबाट निर्वाचित सांसद अष्टलक्ष्मी शाक्यले बताइन् । ‘देशलाई समृद्धिको बाटोमा लैजान जिम्मेवारी थपिएको छ’, उनले भनिन्, ‘प्रदेश सरकार निर्माणपछि यो विषयमा छलफल अघि बढ्छ ।’ रसुवाबाट निर्वाचित सांसद प्रेमबहादुर तामाङले हटौंडा आफूहरूको अपायक रहेको बताए । चितवनकी सांसद रिना गुरुङले प्रदेश राजधानीलाई लिएर आन्दोलन गर्नु गलत भएको प्रतिक्रिया दिइन् । ‘आपसी छलफल र बहसबाट राजधानी टुंगो लगाउनुपर्छ’, उनले भनिन्, ‘राजधानी कहाँ भन्दा पनि विकास र समृद्धिको बाटोमा अघि हिँड्नु मुख्य काम हो।’

चेपाङ सांसदको अनिकाल भगाउने लक्ष्य

नेपाली कांग्रेसबाट समानुपातिक निर्वाचित एक मात्र चेपाङ सांसद सन्त चेपाङले आफ्नो समुदायलाई अनिकालबाट मुक्त गराउन लागिपर्ने बताए । ‘मकवानपुर, चितवन र धादिङ आसपासमा बसोवास गर्ने अधिकांश चेपाङलाई आफ्नो उब्जनीले वर्षभर खान पुग्दैन, उनीहरूलाई राज्यको अनुभूति दिलाउन जरुरी छ’, उनले भने, ‘त्यसका लागि कम्तीमा दुई छाक खान पाउने वातावरण बनाउन म पहल गर्नेछु ।’

संसद्मा एमाले एक्लैको बहुमत

प्रदेश ३ को संसदमा एमाले एक्लैको बहुमत छ । एक सय १० प्रदेश सांसदमध्ये ६६ जना प्रत्यक्ष निर्वाचित छन् । तीमध्ये ४२ जना एमाले, १५ माओवादी केन्द्र, सात कांग्रेस, एक नयाँ शक्ति पार्टी नेपाल र एकजना नेपाल मजदुर किसान पार्टीबाट निर्वाचित सांसद हुन् ।

समानुपातिकतर्फ एमालेका १६, कांग्रेसका १४, माओवादी केन्द्रका आठ, विवेकशील साझा पार्टीका तीन, राप्रपाका एक, नेपाल मजदुर किसान पार्टीका एक र राप्रपा प्रजातान्त्रिकका एकजना सांसद छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.