प्रतिभा र मानबहादुर वर्ष उत्कृष्ट
काठमाडौं : नेपाल भलिबल संघले पहिलोपटक भलिबल विकासमा योगदान पुर्याउने खेलाडी, प्रशिक्षक, प्रतियोगिताका आयोजक र जिल्ला संघलाई सम्मान गरेको छ। संघले पुरुष र महिला गरी आठ विधामा सम्मान गरेको हो।उत्कृष्ट महिला खेलाडी अवार्ड वर्षभर चर्चा बटुल्न सफल न्यु डायमन्डकी प्रतिभा मालीले चुमिन्। पुरुषमा त्रिभुवन आर्मी क्लबका मानबहादुर श्रेष्ठले बाजी मारे।
उत्कृष्ट दुवैले २५÷२५ हजार रुपैयाँ हात पारे। उता, सुदूरपश्चिममा पहिलो ट्रेनिङ सेन्टर स्थापन गरी राष्ट्रिय भलिबल प्रशिक्षणमा उत्कृष्ट भूमिका खेल्दै आएका आर्मीका प्रशिक्षक जगदीश भट्ट उत्कृष्ट पुरुष प्रशिक्षक घोषित भए। महिलातर्फको उपाधि एपीएफका ज्ञानेन्द्र विष्टले चुमे। विष्ट र भट्ट दुवैले २५÷२५ हजार रुपैयाँ पाए। पुरुषतर्फ नेपाल पुलिस क्लबका विशाल विक उदीयमान खेलाडी घोषित भए। महिलातर्फ पनि नेपाल पुलिसकै कामन विष्ट उदीयमान खेलाडी भइन्। उदीयमानको हातमा १५÷१५ हजार रुपैयाँ पर्यो।
यसैगरी संघले यही वर्ष माल्दिभ्समा सम्पन्न एभीसी सेन्ट्रल जोन भलिबल प्रतियोगितामा कांस्य पदक जित्न सफल नेपाली टोलीका सदस्यलाई जनही २० हजार रुपैयाँसहित सम्मान गरेको छ। उत्कृष्ट महिला टिमको अवार्ड विभागीय टोली एपीएफले पायो। पुरुषमा आर्मी उत्कृष्ट ठहरियो। उत्कृष्ट दुवै टिमले ५०÷५० हजार रुपैयाँ पाए। विभिन्न वर्षका विभिन्न विधाका विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा लगायतले पुरस्कार प्रदान गरे। भलिबल नेपालको राष्ट्रिय खेल पनि हो।
ढोरपाटनमा टप्स विजयी
काठमाडौँमा जारी १३औं ढोरपाटन राष्ट्रिय महिला भलिबल प्रतियोगितामा पोखराको टप्स माध्यमिक विद्यालय विजयी भएको छ। सोमबार भएको खेलमा टप्सले श्रीगाउँ खेलकुद विकास समिति दाङलाई २५-१४, २५-१८, २५-२२ को सेटमा पराजित गर्यो। बसपार्कस्थित ढोरपाटन प्रशिक्षण केन्द्रमा भएको अर्को खेलमा पूर्वाञ्चल भलिबल संघले थ्रीस्टार एकेडेमीलाई २५-११, २५-१७, २५-१८ को सेटमा हरायो। नेपाल पुलिस क्लबले न्यु डायमन्ड स्पोर्टस् क्लबलाई २५-७, २५-५, २५ -१० को सेटमा पराजित गर्यो। शिवम् न्यु डायमन्डले चितवनको मेघौली स्पोर्टस् क्लबलाई २५-१४, २५-१८, २५ -२२ ले हरायो। अन्य खेलमा एपीएफ क्लबले पारामाउन्टलाई हरायो भने त्रिभुवन आर्मीले पूर्वाञ्चल भलिबल संघलाई पराजित गर्यो।