शान्ति सुरक्षामा सशस्त्र प्रहरीको भूमिका उल्लेखनीय : प्रधानमन्त्री देउवा

शान्ति सुरक्षामा सशस्त्र प्रहरीको भूमिका उल्लेखनीय : प्रधानमन्त्री देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले सशस्त्र प्रहरी बल नेपालले स्थापनाकालदेखि नै मुलुकमा शान्तिसुरक्षा कायम गर्ने कार्यमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको बताएका छन्।

मंगलबार आयोजित ‘सत्रौँ सशस्त्र प्रहरी दिवस २०७४’ समारोहमा उनले भने, “सशस्त्र प्रहरीले सीमा सुरक्षा, विशिष्ट व्यक्ति तथा महत्वपूर्ण प्रतिष्ठानको सुरक्षा, विपद् व्यवस्थापनलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा शान्ति सुरक्षार्थ महत्वपूर्ण योगदान पुर्‍याएको छ।”

प्रधानमन्त्री देउवाले हालै सम्पन्न विभिन्न चरणका निर्वाचनमा समेत सशस्त्र प्रहरीले महत्वपूर्ण योगदान पु¥याएको चर्चा गर्दै भविष्यका सम्भावित सुरक्षा चुनौतीलाई सामना गर्न पनि सशस्त्र प्रहरी तम्तयार रहनुपर्ने आवश्यकता औंल्याए।

सशस्त्र प्रहरीलाई आन्तरिक सुरक्षाको सशक्त अंगका रुपमा विस्तार गर्दै लगिने उल्लेख गर्दै उनले फौजी मूल्य, मान्यता र सेवा विशिष्टीकरणको अवधारणाबमोजिम अघि बढिरहेको सशस्त्र प्रहरीका कर्मचारीहरुले आगामी दिनमा देश र जनताको सुरक्षार्थ अझै उच्च मनोबलका साथ लाग्नुपर्ने बताए।

प्रधानमन्त्री देउवाले उक्त समारोहमा यस वर्षको उत्कृष्ट गण रनिङ अवार्ड प्राप्त गर्ने सशस्त्र प्रहरीको दक्षिणकाली गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक श्यामकाजी कुँवर र उत्कृष्ट सीमा सुरक्षा कार्यालय रनिङ अवार्ड प्राप्त गर्ने सीमा सुरक्षा कार्यालय सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक ऋषिदेव कार्कीलाई अवार्ड प्रदान गरे।

उनले सोही समारोहमा संगठनमा लामो समय सेवा गरी अनिवार्य अवकाश ग्रहण गरेका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रविराज थापालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’बाट सम्मान गरे।

समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले स्थापनाको छोटो अवधिमै सशस्त्र प्रहरी देश र जनताप्रतिको सेवा र समपर्णका कारण जनमानसमा परिचित रहेको बताउँदै संगठनले यस अवधिमा स्थापनाको औचित्य पुष्टि गरिसकेको उल्लेख गरे।

उनले संगठनलाई आजको अवस्थासम्म ल्याई पु¥याउन महत्वपूर्ण योगदान पु¥याउने सशस्त्र प्रहरी कर्मचारी तथा पूर्व नेतृत्व वर्ग एवं अग्रजको प्रशंसा गर्दै कर्तव्य निर्वाहका क्रममा वीरगति प्राप्त अमर सशस्त्र प्रहरीप्रति श्रद्धाञ्जली एवं घाइते र अशक्तको शीघ्र्र स्वास्थ्य लाभको कामनासमेत गरे।

सशस्त्र प्रहरी दिवसका अवसरमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय परिसरमा आयोजित रक्तदान कार्यक्रममा बहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारी एवं सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारी गरी ६० जनाले रक्तदान गरेका छन्।

सँगै कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले वीरगति प्राप्त सशस्त्र प्रहरी कर्मचारीका १७ जना परिवारलाई कदरपत्र तथा सशस्त्र प्रहरी बल नेपालमा वर्षभरि उत्कृष्ट कार्य गर्ने ११ जना राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीलाई प्रशंसापत्र प्रदान गरे।

अमर सशस्त्र प्रहरी कर्मचारीका ३२ जना सन्ततिलाई सोही अवसरमा जनही २४ हजारको दरले छात्रवृत्ति रकम पनि प्रदान गरिएको छ।

सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले यस वर्ष ‘वर्ष जवान २०७४’ हुन सफल सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटारमा कार्यरत सशस्त्र प्रहरी जवान डिल्ली भट्टराईलाई ‘वर्ष जवान’ ट्याग प्रदान गर्नाका साथै नगद रु १० हजारसहित पुरस्कृत गर्नुभयो। यसरी घोषित वर्ष जवानलाई युएन मिसनमा समावेश गर्नाका साथै निजको एक सन्ततिलाई वार्षिक १२ हजारका दरले १२ कक्षा अध्ययन गरुन्जेलसम्म छात्रवृत्ति प्रदान गरिनेछ। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.