आहा रारा गोल्डकप: आयोजकलाई निराश पार्दै सुदूरपश्चिम क्वार्टर फाइनलमा
पोखरा: आयोजक सहारा क्लबलाई निराश बनाउँदै सुदूरपश्चिम-११ पोखरामा मंगलबारबाट सुरु आहा-रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।
आयोजकमाथि ३-० गोलको सहज जित निकाल्दै सुदूरपश्चिम-११ स्पोर्टिङ क्लबले आहारारा गोल्डकपको १६ औं संस्करणमा क्वार्टर फाइनल यात्रा तय गरेको हो ।
यसअघि १५ औं सस्करणमा आयोजक सहारासँग ४-० गोलको हारको बदाला समेत सुदूरपश्चिमले लिएको छ । सुदूरपश्चिमलाई जिताउने क्रममा खेलको २५ औँ मिनेट धनबहादुर थापाले खाता खोले । त्यसपछि खेलको दोस्रो हाफमा सुदूरपश्चिमले २ गोल गर्यो । उसका लागि खेलको ७८ औँ मिनेटमा मनिराम चौधरीले गोल गर्दै अग्रता २-० मा पुर्याए । त्यसैगरी खेलको इन्जुरी समयमा राकेश हमालले गोल गर्दै ३-० को जित पक्का गरे ।
यो प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी, मनाङ मर्स्याङ्दी क्लब, नेपाल पुलिस क्लब, संकटा क्लब, सशस्त्र प्रहरी र थ्रीस्टार क्लब सहभागी छन् ।
प्रतियोगितामा बरिन्धरा बंगलादेश र भारतको सिक्किम युनाइटेड पनि सहभागी छन् । त्यसैगरी मोफसलबाट धरान फुटबल क्लब र झापा-११ सहित १२ टिम सहभागी छन्। प्रतियोगिता अन्तर्गत बुधबार सिक्किम युनाइटेड र धरान फुटबल क्लब भिड्दैछन् ।
पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले प्रतियोगिताको उद्घाटन गर्दै खेलकुदको विकासमा उपमहानगरपालिकाले सहयोग गर्ने बताए । यो प्रतियोगिताको विजेताले ७ लाख र उपविजेताले ३ लाख ५१ हजार रुपैयाँ पाउनेछन् ।