म्यानचेस्टर सिटी कारबाओ कपको फाइनलमा
काठमाडौँः इङ्लिस प्रिमियर लिगको लिडर म्यानचेस्टर सिटी कारबाओ कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । उपाधिका लागि वेम्बली रंगशालाको यात्रा तय गर्ने क्रममा सिटीले सेमिफाइनलको दोस्रो लेगको खेलमा ब्रिस्टोल सिटीमाथि ३–२ को जित निकालेको हो ।
सिटीले पहिलो लेगको खेलमा ब्रिस्टोललाई २–१ ले पराजित गरेको थियो । समग्रमा ५–३ को नतिजासहित सिटी उपाधि नजिक पुगेको हो । सिटीलाई जिताउने क्रममा खेलको इन्जुरी समयको अन्तिममा ल्योरी सानेको पासमा केभिन डे ब्रुनेले निर्णायक गोल गरे ।
सिटीले खेलको ४३ औँ मिनेटमा सानेको गोलमा अग्रता बनाएको थियो । त्यसपछि ब्रुनेको पासमा खेलको ४९ औँ मिनेटमा सर्जियो एग्युएरोले गोल गर्दै अग्रता दोब्बर बनाए ।
पराजित ब्रिस्टोलका लागि प्याकले ६४ औँ मिनेटमा पहिलो गोल गरे भने फ्लिन्ले खेलको इन्जुरी समयको तेस्रो मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । तर, त्यसको २ मिनेटपछि ब्रुनेले गोल गर्दै सिटीलाई उपाधिका लागि फाइनलमा पुर्याए ।