खाद्य संकटको विकल्प

खाद्य संकटको विकल्प

जाजरकोटका ग्रामीण भेगमा खाद्यान्न संकट सुरु भएको छ। हिउँद लागेसँगै प्रत्येक वर्ष पश्चिम नेपालबाट ‘खानै नपाएको खबर’ आउने गर्छ, जुन लाजमर्दो पक्ष हो। अनुदानको चामल स्थानीयले नपाएका कारण खाद्य संकट हुन थालेको हो। खाद्य संस्थान, नेपालगन्ज कार्यालयको चरम लापरबाहीका कारण अनुदानको चामल लक्षित वर्गसम्म पुग्न सकेको छैन। ठेकेदारले आफ्नो अनुकुलका डिपोहरूबाटै बेचिदिँदा चामल दुर्गम गाउँबस्तीमा नपुगेर स्थानीय मर्कामा परेका हुन्। यो समस्या हटाउन सरकारले ढिलो नगरी जाजरकोटमा उत्पन्न खाद्य संकटको हल खोज्ने अग्रसरता देखाउनुपर्छ।

खाद्य संकटमा अनेकौं आयाम छन्। पहिलो, बाँझा पाखापखेरामा अचेल खेती हुन छोडेको छ। गाडी पुगेका ठाउँमा गाडीबाट र नपुगेका ठाउँमा घोडा, खच्चर वा मान्छेलाई बोकाएर पहाडी र हिमाली भेगमा खाद्य ढुवानी हुने गर्छ। स्वास्थ्य र पोषणका हिसाबले अन्यत्र फलेका भन्दा स्थानीय स्तरमा फलेका खाद्यान्न स्थानीयका लागि हरेक कोणबाट हितकारी हुन्छ। तर भारत तथा अन्य देशका चामल सडक मार्ग हुँदै गाउँगाउँ पुग्न थालेपछि र सरकारले समेत चामलमा अनुदान दिएपछि पहिला, करु, जौ, गहुँ र आलुजस्ता खाद्यमा आश्रितहरू अचेल भातमै आश्रित हुन थाले। अरू खाद्यलाई खाना नै नठान्ने यो ‘भाते प्रवृत्ति’ पश्चिम नेपालको मात्रै होइन, अन्य भेगको पनि समस्या हो।

दोस्रो, नेपाली युवाहरू विदेशी श्रम बजारमा जाँदै गर्दा पाखुरा बजाएर खेतबारीमा काम गर्नेहरूको अभाव हुँदै गएको छ। जाजरकोटकै कुरा गर्दा यहाँका धेरैजसो पुरुष युवा भारतको कालापहाड श्रम गर्न जाने गरेका छन्। गुजाराका लागि त्यसो गनुपर्ने बाध्यता छ। त्यसो हुँदा जसोतसो गाउँमा परदेशबाट अलिअलि पैसा आइपुगे पनि अनाजका लागि बजारमै आश्रित हुनुपर्छ। वृद्धवृद्धा र बालबच्चाले जसोतसो खोस्रेर गरेको आकाशे पानीमा निर्भर रहने धेरैजसो पहाडी खेतीको उब्जनीले वर्षको ३–४ महिनामात्रै धान्छ। त्यसो हुँदा बोकाएर लगिएको अन्नमै उनीहरूले भर पर्नुको विकल्प हुँदैन। सन्तुलित भोजनको अभावमा उसै कमजोर स्थानीयले पेट भर्ने अन्नसमेत नपाउँदा कसरी जीवन धान्लान् ? बालबालिकाको पोषण र स्वास्थ्य अवस्था कस्तो होला ?

तेस्रो, खाद्य संकटबारे सरकार र गैरसरकारी निकायले अनेक विमर्श गरे पनि ‘खाद्यवस्तुबारे अन्धविश्वास’ भने हामीले हटाउन सकेका छैनौं। पानी नपुग्ने पहाडी गाउँमा आकाशे पानीका भरमा मकै–कोदो खेती हुने र त्यसबाट बन्ने ढिँडोलगायतका आडिलो भोजन खाने चलन केही दशकअघि प्रचलित थियो। उतिखेर ‘धनीले भात खान्छन्’ भन्ने अवधारणा पहाडमा थियो र अझै पनि कतिपय ठाउँमा चामल किन्न नसक्नेले आफ्नो बारीमा फलेको मकैको ढिँडो खान्छन् र तिनमा त्यस्तो धारणा विद्यमान छ। पोषणाका हिसाबले मकै, कोदो र गहुँ उत्तिकै लाभदायक छन् भन्ने सर्वसाधारणले राम्ररी बुझेका छैनन्। अझ चामलको तुलनामा कोदोमा धेरै प्रोटिन तत्व हुन्छ। यसर्थ खानाका बारेमा रहेका भ्रम आफैंमा खाद्य संकटका कारण हुन्। चामलको विकल्पमा गहुँ, कोदो र मकै तथा कतिपय अवस्थामा आलुलाई समेत प्रयोग गर्ने हो भने खाद्यसंकट धेरै हदसम्म सुल्झिन्छ। यसका लागि सर्वसाधारणमा पोषण चेतना र उपलब्ध खाद्यलाई स्वादिलो परिकार बनाएर खान सक्ने सीप सिकाइनु आवश्यक छ।

तत्कालका लागि जाजरकोटका ‘स्थानीय सरकार’ ले खाद्य संकटमा परेका आफ्ना नागरिकका लागि तत्कालै कुनै उपायले चामललगायतका अनाज उपलब्ध सहजरूपमा उपलब्ध गराउनुपर्छ। आफूलाई सहज पर्ने ठाउँमा लगेर चामल बेच्ने ठेकेदारलाई चेतावनीसहित आवश्यक पर्दा कारबाही गर्नुपर्छ। साथै सरकारले पहाडी क्षेत्रमा हुर्कने र सहजै फल्ने बाली लगाउन स्थानीयलाई प्रेरित गर्ने, चामल र भातबारेको भ्रम र स्वाद हटाउने र स्थानीय अनाजलाई झनै रुचिकर र स्वादिलो बनाएर खुवाउनेबारे स्थानीयलाई बुझाउन सक्नुपर्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.