इटहरी गोल्डकप: टाइब्रेकरमा आर्मीलाई हराउँदै थ्रीस्टार फाइनलमा
इटहरी: रुस्लान थ्रीस्टार क्लबले नेपाल आर्मी क्लबलाई हार चखाउँदै थ्रीस्टार क्लब इटहरीमा जारी मदन भण्डारी स्मृति गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
इटहरीस्थित क्षेत्रीय रंगशालामा भएको खेलमा थ्रीस्टारले टाइब्रेकरमा विभागीय टोली नेपाल आर्मीलाई हराउँदै उपाधि भिडन्त पक्का गरेको हो ।
निर्धारित र थपिएको समयमा एकएक गोलको बराबरीपछि खेल टाइब्रेकरमा पुगेको थियो । जहाँ थ्रीस्टारले बाजी मार्यो । टाइब्रेकरमा थ्रीस्टारसँग आर्मी ५-३ गोलअन्तरले पराजित भएको हो ।
यसअघि खेलको नियमित समयमा आर्मीका लागि खेलको २५ औं मिनेटमा गोल गर्दै नवयुग श्रेष्ठले अग्रता दिलाएका थिए । नवयुगले दिलाएको अग्रतालाई खेलको ५७ औं मिनेट थ्रीस्टारका लागि मार्टिन्सले गोल गर्दै खेललाई बराबरीमा पुर्याए ।
टाईब्रेकरमा थ्रीस्टारका राजिन सुब्बा, बुद्ध चेम्जोङ, निराजन खडका, सुनिल बल र अनन्त तामाङले गोल गरे । पराजित आर्मीबाट नवयुग श्रेष्ठ, सन्तोष तामाङ र दीप लामाले मात्र गोल गरे । यो खेलको म्यान अफ द म्याच थ्रीस्टार क्लबका पिटर सेगुनले दश हजार रुपैयाँ प्राप्त गरे ।
थ्रीस्टारले अब फाइनलमा उपाधिका लागि आगामी माघ १३ गते कोलकाताको गरिफा स्पोर्टिङ क्लब र मनाङ मर्स्याङदी क्लबबीचको विजेतासँग भिड्ने छ । बिहीबार हुने दोस्रो सेमिफाइनल खेल पाहुना टोली गरिफा स्पोर्टिङ क्लब कोलकाता र मनाङ मर्स्याङ्दीबीच हुनेछ ।