डीपीएल टोली र रणनीतिक खेलाडी घोषणा

डीपीएल टोली र रणनीतिक खेलाडी घोषणा

काठमाडौं : रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल)का सहभागी टोली र रणनीतिक खेलाडी घोषणा गरिएको छ। धनगढी क्रिकेट एकेडेमी (डीसीए)को आयोजनामा आगामी चैत १७ देखि वैशाख १ गतेसम्म सञ्चालन हुने लिगका लागि बुधबार ६ टोली र टोलीका ६ जना रणनीतिक खेलाडी सार्वजनिक गरिएको हो। लिगमा ६ वटा सहरको फ्रेन्जाइज टोली काठमाडौं गोल्डन्स, विराटनगर किङ्स, सीवाईसी अत्तरिया, टिम चौराहा धनगढी, रूपन्देही च्यालेन्जर्स र महेन्द्रनगर युनाइटेडको सहभागिता रहनेछ। महेन्द्रनगर युनाइटेडले कञ्चनपुर आइकोनिकको स्थानमा पहिलोपटक सहभागिता जनाउन लागेको हो।

आयोजक डीसीएले बुधबार सार्वजनिक गरेको काठमाडौं गोल्डन्सको रणनीतिक खेलाडीमा राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ल छन्। यसैगरी पारस लुनिया सञ्चालक रहेको विराटनगर किङ्सको रणनीतिक खेलाडीमा राष्ट्रिय टोलीका कप्तान पारस खड्का, सामाजिक संस्था सृजनशील युवा क्लबले सञ्चालन गर्ने सीवाईसी अत्तरियाको रणनीतिक खेलाडीमा दीपेन्द्रसिंह ऐरी तथा सुशीलकुमार श्रेष्ठको सञ्चालनमा रहेको महेन्द्रनगर युनाइटेडको रणनीतिक खेलाडीमा विनोद भण्डारी रहेका छन्।

यसैगरी सुरज उप्रेती सञ्चालक रहेको रूपेन्देही च्यालेन्जर्सको रणनीतिक खेलाडीमा शक्ति गौचन र राजकुमार श्रेष्ठ सञ्चालक रहेको टिम चौराह धनगढीको रणनीतिक खेलाडीमा सोमपाल कामी रहेका छन्। प्रत्येक टोलीका रणनीतिक खेलाडीको न्यूनतम मूल्य दुई लाख रुपैयाँ राखिएको जानकारी डीपीएलका संयोजक सुवास शाहीले दिए। रणनीतिक खेलाडीले टोलीलाई आवश्यक सल्लाह र खेलाडी अक्सनमा समेत सहयोग गर्न सक्नेछन्।

अघिल्लो संस्करणमा रणनीतिक खेलाडीलाई ‘मार्की' खेलाडीका रूपमा लिइएको थियो। आयोजकले यसअघि नै टोलीमा अक्सनबाट छानिने खेलाडीका लागि ए, बी र सी श्रेणीमा विभाजन गरेको छ। प्रत्येक टोलीमा दुई विदेशी र एकजना धनगढीको स्थानीयसहित १५ जना खेलाडी हुनुपर्ने, ए श्रेणीका खेलाडीको मूल्य न्यूनतम एक लाखदेखि एक लाख ५० हजार रुपैयाँ, बी श्रेणीमा रहने खेलाडी राष्ट्रिय स्तरका वा यू-१९ टोलीका हुने र उनीहरूको मूल्य ५० हजारदेखि एक लाखसम्म रहने तथा सी श्रेणीमा राष्ट्रिय टोली बाहिरका वा युवा खेलाडीलाई समावेश गरिने प्रावधान राखेको छ। सी श्रेणीका लागि न्यूनतम २५ हजारदेखि अधिकतम ७५ हजार रुपैयाँ राखिएको आयोजकले जनाएको छ।

खेलाडीको अक्सन फागुनमा गरिने बताइएको छ। प्रत्येक टोलीले रणनीतिक र विदेशीबाहेक ११ लाख रुपैयाँसम्म खर्च गर्न पाउने प्रावधान पनि राखिएको छ।

टीट्वेन्टी फरम्याटमा खेलाइने प्रतियोगिताको लिग चरणमा प्रत्येक टोलीले अन्य टोलीसँग एक÷एक खेल खेल्नेछन्। त्यसपछि शीर्ष चार टोली प्ले-अफमा पुग्नेछन्। प्ले-अफको पहिलो र दोस्रो स्थानमा रहने टोलीबीचको विजेता फाइनलमा पुग्ने तथा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टोलीबीचको विजेतासँग फाइनल प्रवेशका लागि खेल्नेछ।

सर्वाधिक पुरस्कार राशि रहेको डीपीएलको विजेता टोलीले २५ लाख र उपविजेताले १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। पहिलो संस्करणको विजेताले १५ र उपविजेताले सात लाख रुपैयाँ पाएका थिए। यसैगरी तेस्रोलाई तीन लाख र चौथोलाई दुई लाख रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ। प्रत्येक खेलका म्यान अफ दी म्याचलाई १० हजार रुपैयाँ र म्यान अफ दी सिरिजलाई टीभीएस अपाचे मोटरसाइकल पुरस्कार प्रदान गरिने बताइएको छ।

प्रतियोगिताको उद्घाटन समारोहमा एकजना पूर्वखेलाडीलाई ‘धनगढी क्रिकेट सम्मान' तथा नेपाली क्रिकेटमा महत्वपूर्ण योगदान पुर्‍याउने एक व्यक्तिलाई ‘अर्जुन खड्का स्मृति सम्मान'सहित एक एक लाख रुपैयाँ प्रदान गरिने पनि बताइएको छ। डीपीएल सञ्चालनका लागि तीन करोड रुपैयाँ लाग्ने संयोजक शाहीले बताए। डीपीएलका खेलको एपीवान एचडी टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.