युवा क्रिकेटर रोहित पहिलोपटक राष्ट्रिय टोलीमा
काठमाडौं : युवा क्रिकेटर रोहितकुमार पौडेल पहिलोपटक सिनियर राष्ट्रिय टोलीमा परेका छन् । दुई सातापछि नामिबियामा सुरु हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन दुईका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गर्दा रोहितले पहिलोपटक अन्तिम १४ मा स्थान बनाएका हुन् ।
यू-१९ राष्ट्रिय टोली र घरेलु क्रिकेटमा पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका रोहित प्रतिभावान् क्रिकेटर हुन् । नवलपरासीका रोहितले पहिलोपटक राष्ट्रिय टोलीमा पर्दा आफूलाई धेरै खुसी लागेको प्रतिक्रिया दिए । ‘निकै खुसी लागेको छ’, रोहितले भने, ‘अब अन्तिम १४ बाट अन्तिम ११ मा परेको अवस्थामा टोलीलाई जिताउन सकेको मेहनत गर्नेछु ।’ रोहित यसअघि यू-१९ राष्ट्रिय टोलीका लागि सञ्चालन गरिएको ट्यालेन्ट हन्ट कार्यक्रममार्फत नेपाली क्रिकेटमा उदाएका प्रतिभा हुन् । रोहित उनले खेलेको घरेलु र अन्तर्राष्ट्रिय प्रतियोगितामा बल र ब्याट दुवैतर्फ सशक्त देखिँदै आएका छन् । विशेष गरी उनी ‘म्याच फिनिसर’को भूमिकामा प्रभावकारी देखिएका छन् ।
आईसीसीका प्रतिनिधि अमिनुल इजलामले नेतृत्व गरेको नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटा तथा कप्तान पारस खड्कासमेत सम्मिलित छनोट समितिले सार्वजनिक गरेको नेपाली टोलीमा अर्का युवा खेलाडी अनिल शाहले पनि स्थान बनाएका छन् । अनिल यसअघि गत डिसेम्बरमा भएको आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत यूएईविरुद्धको खेलका लागि पनि अन्तिम १४ मा परेका थिए । यद्यपि त्यस बेला अतिरिक्त खेलाडीका रूपमा रहेका उनलाई दीपेन्द्रसिंह ऐरी चोटग्रस्त बनेपछि मात्रै अन्तिम १४ भित्र समावेश गरिएको थियो । त्यस बेला यूएईविरुद्धको दुईमध्ये दुवै खेलमा उनले खेल्ने अवसर भने पाएका थिएनन् ।
नेपाली टोलीको अन्य सदस्यहरूमा भने पुरानै खेलाडीको बाहुल्य छ । कप्तान पारसको नेतृत्वमा रहेको नेपाली टोलीको अन्य सदस्यहरूमा उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, शक्ति गौचन, वसन्त रेग्मी, सोमपाल कामी र करण केसी रहेका छन् । यस्तै आरिफ सेख, दीपेन्द्र सिंह ऐरी, ललित भण्डारी, सन्दीप लामिछाने र दिलीप नाथले पनि राष्ट्रिय टोलीमा स्थान बनाएका छन् ।
सुनिल धमलासहित ललितनारायण राजवंशी, सिद्धान्त लोहनी र किशोर महतो वैकल्पिक खेलाडीमा परेका छन् । यससँगै प्रतियोगितामा ज्ञानेन्द्र मल्ल र दिलीप नाथले प्रारम्भिक टोलीको रूपमा खेल्नेछन् ।
सन् २०१९ मा इङ्ल्यान्ड र वेल्समा संयुक्त रूपमा आयोजना हुने विश्वकप क्रिकेटको ग्लोबल छनोट र डिभिजन एकमा फर्कने अवसरका रूपमा रहेको डिभिजन दुई प्रतियोगिता आगामी फेब्रुअरी ८ देखि १५ सम्म नामिबियामा हँुदैछ । प्रतियोगिताका लागि नामिबिया पुग्नुअघि नेपाली टोली शनिबार अन्तिम तयारीका लागि दुबई जानेछ । दुबईको ग्लोबल क्रिकेट एकेडेमीमा नेपाली टोलीले स्थानीय टोलीसँग तीन अभ्यास खेल खेल्नेछ । नेपाली टोली प्रतियोगिताका लागि तीन फेब्रुअरीमा उतैबाट नामिबिया पुग्नेछ ।