प्रेमिका प्रदर्शनको होड

प्रेमिका प्रदर्शनको होड

सिमोन द बोउभारले एक अन्तर्वार्तामा यौनिकताबारे सोधिएको प्रश्नको उत्तरमा भनेकी छन्, ‘यौनिकता केवल व्यक्तिगत विषय होइन, बरु यो एक राजनीतिक मसला हो ।’ नेपाली मिडियामा अचेल गैरराजनीतिक लाग्ने गरी त्यस्ता प्रेमकहानी छापिन्छन्, जसमा धेरै पुरुष सेलिब्रिटीहरू आफ्ना प्रेमिकाका संख्यामा गर्व गरिरहेका हुन्छन् । मिडियामा राजनीतिपछि सबैभन्दा धेरै बिक्री हुने विषयमध्ये नै पर्छन्, यौन र प्रेम । त्यसकारण ‘पपुलर’ पुरुषलाई सबैभन्दा बढी सोधिने प्रश्न हुन्छन्— तपाईंका कतिवटा प्रेमिका भए ? कति जनासँग तपाईंले यौनसम्बन्ध राख्नुभयो ? बिहेपछि पनि तपाईंको अफेयर चल्यो कि चलेन ?

Bandana-Dhakal-Photo-मिडियामा आइरहने यस्ता प्रश्नोत्तरी सतहमा सामान्य जीवनशैलीसँग सम्बन्धितजस्ता लाग्छन् । तर, अन्तर्यमा त्यसले पितृसत्तात्मक समाजको गहिरो राजनीतिक प्रभुत्वलाई निरन्तरता दिइरहेको हुन्छ । त्यस्ता अन्तर्वार्तामा पुरुष सेलिब्रेटीहरू प्रेमिकाको अधिक संख्या भनेर आफूलाई अब्बल सावित गर्न चाहन्छन् वा धेरैभन्दा धेरैसँग शारीरिक सम्बन्ध राख्नसक्ने ‘मर्दपन’ प्रदर्शन गर्न चाहेका हुन्छन् । केहीले बिहेपछि घरमा श्रीमती पनि भएको र बाहिर प्रेमिकाहरू पनि भएको सगर्व सुनाइरहेका हुन्छन् ।

के सेलिब्रिटीहरूका प्रेमिका धेरै नै हुनुपर्ने हो ? उनीहरू किन प्रेमिका धेरै भएकोमा गर्व गर्छन् ? के धेरै महिलासँगको प्रेमसम्बन्ध नै पुरुषको सफलताको द्योतक हो ? के त्यस्ता अन्तर्वार्तामा महिलालाई पनि स्वतन्त्र मान्छेको रूपमा प्रस्तुत गरिएको हुन्छ ?

कतिपय सन्दर्भमा महाभारतको कथाको उदाहरण ल्याएर बहुप्रेमिका सम्बन्धलाई पुष्टि गर्न कृष्णको चर्चा गरिन्छ । कांग्रेसनेता तथा चिन्तक प्रदीप गिरीले धेरै ठाउँमा ‘विवाहको आदर्श राम-सीता र प्रेम सम्बन्धको आदर्श राधा-कृष्ण’ भनेर चर्चा गरेका छन् । कृष्णका सोह्र सय गोपिनीसँगको आख्यानकृत सम्बन्धलाई बहुप्रेमको शास्त्रीय साक्ष्यका रूपमा अघि सारिन्छ । पितृसत्ता र पुरुषकेन्द्री शक्ति-भाष्यले कहिले धार्मिक ग्रन्थ अगाडि सारेर, कहिले सामाजिक सम्बन्ध वा इतिहासका घटना देखाएर पितृसत्तात्मक अत्याचार र संरचनागत हिंसालाई जायज ठहर्‍ याइरहेको हुन्छ । महाभारतका कथा-उपकथा होऊन् वा हाम्रै देशको साहित्य, ती सबैले मूल रूपमा पितृसत्ताकै मानक र आदर्शलाई स्थापित गरेका छन् । त्यसकारण प्रेम र प्रेमी-प्रेमिका सम्बन्धमा पनि पितृसत्ता बलियो छ ।

वैध बजारमा यौन र प्रेमको खरिदबिक्री चलिरहेकै छ । त्यसैले अब पुरुषका श्रीमतीहरू होइनन्, बजारमा प्रेमिकाहरू बन्न थालेका छन् । बहुपत्नीको ठाउँमा बहुप्रेमिका हुनु गजबको काइदा छ पुरुषका लागि ।

नेपाली समाज पुरुषप्रधान समाज हो । पुरुषका आचारविचार, मानमर्यादा, खानपान, सामाजिक व्यवहार उसका अनुकूल हुन्छन् । उसका अनुकूल हुन पुगेनन् भने उसै अनुकूल बनाइन्छन् । पुरुषसत्ताको मूल स्वरूप भनेको उसले शासन गर्ने हो । हुर्काइँदा सोहीअनुरूप हुर्काइन्छ, शासन गर्ने व्यक्तिले अन्याय गर्न सिक्नुपर्छ, व्यभिचार पनि सिक्नुपर्छ । महिलालाई दबाउन पर्ने सामाजिक मनोविज्ञानमा आधारित भएर ‘पुरुष शासक’ हुर्काइन्छ । हजुरबा पुस्तामा प्रशस्तै श्रीमती बिहे गर्ने चलन थियो । एउटीले घर धान्ने, एउटीले गोठ धान्ने, अर्कीले खेतीपाती धान्ने, अर्कीले बालबच्चा र श्रीमान्का आवश्यकता पूरा गर्ने । यी सबैको समष्टि रूप पुरुषको वंश परम्परा र सम्पत्तिको सुरक्षाका लागि आवश्यक सेनामेना तयार गर्नु नै हो । पुरुषले आफ्नो सम्पत्ति रक्षार्थ र खेतीपाती, वस्तुभाउ हेरविचारका लागि सस्तोमा श्रीमतीका रूपमा घरेलु दासको प्रबन्ध गथ्र्यो । प्रशस्त जग्गाजमिन भएको पुरुषका प्रशस्त श्रीमती हुन्थे । पुरुषको धाक रवाफका लागि श्रीमती थुपार्नु गौरवको विषय थियो ।

हजुरबाबाट बाबुको पालासम्म आउँदा जमिन टुक्रिएर सानो सानो एकाइ भएर अनेक परिवारमा बाँडिइसकेको थियो । जनजीविका निर्वाहमुखी भइसकेको थियो, निर्वाहमुखी आर्थिक अवस्थाले दुइटी श्रीमती धान्न पनि धौधौ हुने ठाउँमा पुर्‍ यायो । आर्थिक प्रणालीमा क्रमशः परिवर्तन आएर कामको खोजीमा घरभन्दा बाहिर बस्ने र पुख्र्यौली सम्पत्तिले नधान्ने अवस्था आएपछि पारिवारिक संरचना पनि फेरियो । त्यसपछि नेपालको कानुन (देखाउनैका लागि भए पनि) बहुविवाहलाई अपराध हो भन्नसक्ने स्थितिमा पुगेको थियो । अर्थव्यवस्थामा आएको परिवर्तन, महिलाहरूकै बेलाबेलाका विद्रोह र आधुनिक चेतना आदिका कारण श्रीमतीलाई निजी सम्पत्ति ठान्ने स्थिति फेरिएर कानुनमा समेत ‘सुधार’ भएको हो । तर, पितृसत्ताचाहिँ फेरिएको होइन ।

अहिले बहुविवाह गर्नु सामाजिक प्रतिष्ठा होइन, बेइज्जतीको विषय बन्न पुगेको छ । समाजको आर्थिक सम्बन्ध तीव्रतर ढंगले पुँजीवादतिर गइरहेको छ । उपभोक्तावाद मौलाइरहेको छ । अब पहिलाको स्वामी, पालक, हर्ताकर्ता, मालिकका रूपमा गनिएका बहुसंख्यक पुरुष मजदुरमा फेरिएका छन् । केही पुरुष सम्पन्न उपभोक्ता बनेका छन्, अनि केही सम्पत्तिवान् पुरुषहरू दुईचारवटी श्रीमतीका ‘मालिक’ बन्ने हैसियत राख्छन्, गैरकानुनी रूपमै पनि । तर, बदलिँदो शक्ति संरचना, सामाजिक चेतनामा आएको तीव्रतर परिवर्तन, विभिन्न आन्दोलनबाट महिला पनि सशक्त र प्रतिरोध गर्नसक्ने अवस्थामा आइपुगेका छन् । तथापि मूल संरचना पुँजीवादी पितृसत्तात्मक भएका कारण यो व्यवस्थाले पनि महिलालाई ‘उपभोग्य वस्तु’कै व्यवहार गरेको छ ।

अहिलेको पितृसत्ताले पुरुषमा मालिकपन र भोग गर्ने प्रवृत्ति नै थपेको छ । पहिले समाजले ससम्मान प्रदान गरेको बहुपत्नी प्रथा कानुनतः पनि अवैध भयो तर वैध बजारमा यौन र प्रेमको खरिदबिक्री चलिरहेकै छ । त्यसैले अब पुरुषका श्रीमतीहरू होइनन्, बजारमा प्रेमिकाहरू बन्न थालेका छन् । बहुपत्नीको ठाउँमा बहुप्रेमिका हुनु गजबको काइदा छ पुरुषका लागि । किनभने यस्तो सम्बन्धबाट न पुरुषको निजी अर्थतन्त्रमा कुनै दीर्घकालीन धक्का लाग्छ, न मुद्दा लाग्छ, न सन्तान उत्पादनको र स्याहारको जिम्मा नै लिनुपर्छ । अनि बजारमा जति धेरै प्रेमिकाको संख्या देखायो, उति फ्यानहरू आकर्षित गर्न सकिने ! यो पितृसत्ता बलियो बनाउने काइदामा कतिपय महिलाहरू पनि गौरवबोधसहित सहभागी देखिन्छन् । ‘सेलिब्रेटी’ पुरुषसँग प्रेमसम्बन्ध गाँस्ने, उनीहरूसँग नजिक हुने र घुमफिरमा जाने महिलाले आफू उपयोग भएको थाहै पाएका हुँदैनन् । स्थापित र सार्वजनिक जीवनमा शक्तिशाली ठानिएका पुरुषसँग नजिक भएका वा हुन चाहने कतिपय महिलाहरू त्यो सम्बन्धलाई माध्यम बनाएर आफ्नो फाइदा उठाउन चाहने पनि नहुने होइनन् । तर, समाज व्यवस्थामा पुरुष नै शक्तिशाली हुने भएकाले पुरुषलाई उपयोग गर्न चाहने महिलाहरू पनि अपवादबाहेक आफंै खेलौना र वस्तुका रूपमा प्रयोग भइरहेका हुन्छन् ।

अहिलेको सामाजिक व्यवस्थामा पुरुषहरू मालिकको भूमिकामा छन्, महिला वस्तुको स्थानमा । त्यसकारण पुरुष एउटा धनवान् र शक्तिशाली मालिक भएर समाजमा प्रस्तुत हुन्छ । महिलामाथि चाहिँ सिकारको वा वस्तुको रूपमा व्यवहार गरिएको हुन्छ । मानौं, प्रेमी मालिक हो र प्रेमिका उसको मालसामान । कुन साहुजीसँग कति मालसामान छ, वा कस्तो भाउको मालताल छ भन्ने कुराले उसको हैसियत र इज्जत-प्रतिष्ठामा अर्थ राख्छ । आफ्ना प्रेमिकाको चर्चा गर्दा पुरुषहरूको मानसमा यही मान्यताले घर गरेको देखिन्छ । किनभने यो व्यवस्थाले महिलालाई वस्तुजस्तै उपयोग गर्छ र फ्याँकिदिन्छ, महिलालाई स्वतन्त्र मान्छेको व्यवहारसमेत गरेको हुन्न ।

पुँजीपतिहरू महिलालाई उत्पादनका साधन ठान्छन् भन्ने कुरा माक्र्स-एंगेल्सले कम्युनिस्ट घोषणापत्रमा पनि चर्चा गरेका छन् । घोषणापत्रमा एक ठाउँ भनिएको छ, ‘पुँजीजीवी वर्गले आफ्नी पत्नीलाई उत्पादनको साधारण ज्यावलका रूपमा मात्र देख्छ ।’ त्यसैकारण कम्युनिस्टहरूले उत्पादनको साधनलाई सामूहिकीकरण गर्छ भन्ने सुनेका पुँजीजीवीहरूले कम्युनिस्टहरू श्रीमतीहरूलाई पनि सामूहिक भोग गर्ने सामाजिक सम्पत्ति बनाउन चाहन्छन् भनेर हल्ला मच्चाउने गरेको माक्र्स-एंगेल्सले उल्लेख गरेका छन् ।

निजी सम्पत्ति र परिवारको व्यवस्था सुरु भएदेखि यताका सबै युगमा महिला निरन्तर उत्पीडनको उत्पीडनमै छ र उसलाई पितृसत्ताले एक वस्तुको रूपमा मात्रै व्यवहार गर्दै आएको छ । आजको उपभोक्तावादी बजारव्यवस्थामा महिला वस्तुकै भूमिकामा पारिएकी छ भने पुरुषचाहिँ कि सम्पत्तिवान् उपभोक्ता छ, कि शक्तिशाली साहुजीको स्थानमा ।

पुँजीवादले समाजका सबै चीजलाई बिक्री र नाफाका दृष्टिबाट हेर्छ । महिलालाई पनि त्यसरी नै वस्तुकरण गरिरहेको छ । आमाबाबुको प्रेम, बच्चाको प्रेम, संवेदना, मानवीयता, भोक, रोग, शोक, उत्साह, यौन, कुमारीत्व, जन्मदेखि मृत्यु सबै बिक्रीका विषय हुन् । त्यसमाथि महिला सबैभन्दा बिक्रीयोग्य माल हो, जुन ‘माल’ पुरुषले दारी काट्न प्रयोग गर्ने पत्ती, पुरुषकै अन्डरवेयर, मोजा, जुत्ता, अत्तर आदि सबैतिरको विज्ञापनमा देखिन्छन् । सकेसम्म दोहन गर्नसक्ने वस्तुका रूपमा महिलालाई उपयोग गर्ने मानसिकता मिडियामा पनि छ । त्यसकारण नै बजारमा बिक्ने नाममा सञ्चारमाध्यमले पनि त्यस्तै खालका महिलाद्वेषी विषयवस्तुहरू प्रवद्र्धन गरिरहेको हुन्छ । दुःखद र विडम्बनाको पक्ष त के छ भने यसप्रकारको विभेदकारी सामग्रीको प्रतिवाद कतैबाट भइरहेको हुँदैन ।

पुरुष श्रेष्ठता र यौन बराबरीकै विषयमा एलिस स्वेर्जरले सोधेको एक प्रश्नमा सिमोनले भनेकी छन्, ‘महिला पुरुषका बीचमा यौन बराबरीको संघर्ष अन्य कुनै पनि संघर्षजस्तै आधारभूत र प्राथमिक हो । अन्ततः यो लडाइँ आधा मानवताको बाँकी आधा हिस्साका विरुद्ध छ । मलाई यो संघर्ष वर्गसंघर्षजत्तिकै महत्वपूर्ण लाग्छ ।’ तर प्रेम बराबरी र यौन बराबरीको मुद्दामा हामीकहाँ महिला मुक्तिका कोणबाट बहस-छलफल नै भइरहेको छैन ।

 

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.