सेमिफाइनलमा पुग्यो बार्सिलोना
बार्सिलोना : जारी सिजनको घरेलु लिगमा उत्कृष्ट प्रदर्शन गर्दै आएको स्पेनिस पावर हाउस बार्सिलोना कोपा डेल रे फुटबलको सेमिफाइनलमा पुगेको छ । चिरप्रतिद्वन्द्वी रियल म्याड्रिड उपाधि होडबाट बाहिरिएको एक दिनपछि नै बार्सिलोना अन्तिम चारमा स्थान पक्का गर्न सफल भएको हो । घरेलु मैदानमा शुक्रबार बिहान खेलिएको क्वार्टरफाइनलको दोस्रो लेग खेलमा बार्सिलोनाले स्पान्योललाई २-० गोलले हरायो ।
उक्त नतिजापछि बार्सिलोना २-१ कुल गोलभिन्नताका आधारमा अगाडि बढेको हो । अघिल्लो साता स्पान्योलको घरेलु मैदानमा खेलिएको क्वार्टरफाइनलको पहिलो लेग खेलमा भने बार्सिलोना १-० ले पराजित भएको थियो । दोस्रो लेग खेलमा भर्खरैमात्र ठूलो धनराशिमा बार्सिलोनामा आबद्ध भएका फिलिप कोउटिन्हो पनि मैदानमा ओर्लिएका थिए । यद्यपि उनले आफ्नो पहिलो खेलका क्लबका लागि गोल गर्न सकेनन् ।
कोउटिन्हो १४ करोड २० लाख पाउन्डमा इङ्लिस प्रिमियर लिग क्लब लिभरपुलबाट बार्सिलोनामा आबद्ध भएका हुन् । दोस्रो लेग खेलमा बार्सिलोनाको जितमा दुई स्टार खेलाडी लियोनल मेसी र लुइस स्वारेजले एक÷एक गोलको योगदान गरे । खेल सुरु भएको नवौं मिनेटमै उरुग्वेका स्वारेजले बार्र्सिलोनालाई अग्रता दिलाएका थिए । २५ औं मिनेटमा अर्जेन्टिनी खेलाडी मेसीले बार्सिलोनाको अग्रता २-० बनाएका थिए । मेसीको गोलसँगै बार्सिलोनाले क्याम्प नोउमा गरेको गोल संख्या चार हजार पुगेको छ ।
बार्सिलोनाको उपस्थितिसँगै जारी सिजनको कोपा डेल रेको सेमिफाइनलमा पुग्ने सबै टोलीको टुंगो लागेको छ । सेभिल, भ्यालेन्सिया र लेगानेस भने यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन् । लेगानेस भने रियल म्याड्रिडलाई हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । जारी सिजनको घरेलु लिगमा पनि २० खेलबाट ५४ अंक बटुल्दै बार्सिलोना पहिलो स्थानमा छ । दोस्रो स्थानमा आसीन एट्लेटिको म्याड्रिडले समान खेलबाट ४३ अंक बटुलेको छ । २० खेलबाट ४० अंक जोडेको भ्यालेन्सिया तेस्रो र १९ खेलबाट ३५ अंक बटुलेको रियल म्याड्रिड चौथो स्थानमा छन् ।