झेलम ३४७

झेलम ३४७

एकसरो झरी परेर रहेपछि भदौरे घाम आफ्नो विराट रूप प्रदर्शन गर्ने तरखरमा छ। इन्दिरा गान्धी एअरपोर्टको ३ नम्बर टर्मिनलबाट बाहिर निस्कँदा सामना गरेको पहिलो चुनौती घामको उही विराट रूप हो।

एअरपोर्टभित्रको वातानुकुलित कक्षबाट बाहिरिँदा झरी भर्खरै रहेको छ। तापमान अनुमान गर्न लाग्ने समयभित्र सर्वांग शरीर पसिनाले भिजिसक्छ। भिजेको कमेज यसो छामेर मनमनै भन्छु, ‘बादल च्यातेर धमाधम पचासवटा घाम निस्के कि कसो !’

पसिनाले भिजेका हातले झोला तान्दै प्रिपेड ट्याक्सी खोज्छु। केही सय भारु एउटा सानो झ्यालबाट भित्र छिराएपछि कालो रङको ट्याक्सी अघिल्तिर आइपुग्छ। एअरपोर्ट छोडेर बाहिर निस्कँदा ट्याक्सीको झ्यालबाट हावा होइन तातो बाफ पसेर न्याक्न खोज्छ। झापाको गर्मी पचाएको शरीर दिल्लीको घामले फतक्क गलाउँछ।

लगभग बीस मिनट कुदेपछि जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू)को मुख्य प्रवेशद्वार आइपुग्छ। सुरक्षाकर्मीलाई जानुपर्ने मुकाम बताएपछि ट्याक्सी अघि बढ्छ। हरिया रूखहरूले झपक्क ढाकेको ठाउँ कुनै सुन्दर पार्कजस्तो देखिन्छ। घामसँग जुधेर ठिंग उभिएका रूखहरू देखेपछि सास फेर्न सजिलो भएझैं हुन्छ। झर्नुपर्ने ठाउँको राम्रो हेक्का नभएकाले कसैलाई सोध्न खोज्छु, भुंग्रोजस्तो कालोपत्रेमा कोही उभिएको देखिँदैन। अलि अगाडि चौबाटोमा उत्रेर ट्याक्सी बिदा गर्छु। गह्रुँगो झोला किनारामा ठड्याएर बस बिसौनीमा ओतिन्छु।

एकैछिनमा अलि पर कोही देखा पर्छ। मानौं घामको रापलाई खिचेर शरीरमा ऊर्जा फैलाउने उद्देश्यसहित लगाएको होस्, त्यो खिरिलो ज्यान निख्खुर कालो कमेजमा बेरिएर म उभिएतिर हिँडिरहेको छ। ऊ हिँड्दा उसले लगाएको घुर्मैलो लुंगीका अघिल्तिरका मुजा खास गतिमा हल्लिएको हेर्न रमाइलो लाग्छ।

नजिक आइपुगेपछि म उसलाई बोलाउँछु, ‘हेलो !’ ऊ मतिर फर्कन्छ, औंलाले च्यापेको बिँडी ओठका बीचमा राखेर एक सर्को फुक्छ। केही बोल्दैन तर उसका आँखामा ‘अँ भन् न, के भन्न खोजेको हो ? ’ यस्तो भाव पढ्न सकिन्छ।

उसका कालो कमेज र घुर्मैलो लुंगी, हातको बिँडी र उसका ढपढाँचा हेरेर अनुमान गर्छु— वरपर ढाबामा काम गर्ने मान्छे होला। खसोखास खस नेपाली लवजमा म हिन्दी बोल्छु, ‘यहाँ से वो चन्द्रभागा होस्टल जाने का रास्ता कौन सा है ? ’

ऊ अलि नजिक आएर ‘के भनेको ? ’ जस्तो भावमा मुन्टो हल्लाउँछ। म उही वाक्य अलि सुधारिएको लवजमा दोहोर्‍याउँछु।

उसले अंग्रेजीमा जवाफ दिएर मलाई बाटो देखाइदिन्छ। उसले अंग्रेजी बोलेको सुनेर म मजैले अचम्मित हुन्छु तर सामान्य भएको भान पार्छु। सम्हालिएर थप बोल्न खोज्छु, अंग्रेजी शब्दहरू जिब्रोभित्रै कतै लकपकाउँछन्, उच्चारण हुन मान्दैनन्।

ऊ मलाई थप केही प्रश्न गर्छ, चिनजान गर्छ र हात मिलाएर छुट्छ। म सम्हालिँदै उत्तर दिन्छु। मेरा कान राता भएको उसले थाहा पाउँदैन, हाँस्दै ऊ अघि बढ्छ। पछिल्तिरबाट लुंगीका मुजा हल्लिएका देखिँदैनन्। बिँडीको सर्को तानेर फालेको धुवाँ भने केही बेर उसको पछिल्तिर रंगमंगिँदै कुदेको देखिन्छ। उसैले देखाएको बाटोमा झोला र झस्केको मन बिस्तारै चन्द्रभागा छात्रावासतिर घिसार्छु।

अंग्रेजी भाषा र गोरो छाला/अंग्रेजी लवज र सुकिला कपडा/अंग्रेजीमा दखल र सर्टपेन्ट...।

मेरो दिमागमा खिपिएका यी चित्रहरू भर्खरै धुजाधुजा भए। दिमागले साँचेको यो चित्र बलियोसँग कुँदिएको थियो होला तर प्रहार सम्भवतः ठाउँमा लागेछ, त्यो खिपाइ सहजै मक्कियो। एकछिन त्यही खिरिलो ज्यानमा अडिएको सानो मुख सुस्तरी चलेर बोलेका अंग्रेजी वाक्यहरू सम्झँदै ग्लानिजस्तो अनुभूति गरिरहेको छु।

विश्वविद्यालयको पूर्णकालीन विद्यार्थी भएपछि त्यो लुंगीधारी खिरिलो ज्यानको थप परिचय पाएँ। दक्षिण भारतबाट इतिहास केन्द्रमा पीएचडी गर्न आएको उसले मैले जति पनि हिन्दी बोल्न जान्दो रहेनछ। अंग्रेजी भाषामा उसको पकड मेरोभन्दा धेरै गुना बलियो रहेछ।

कालो छाला र ढाबा/लुंगी र हिन्दी भाषा/बिँडी र मजदुर...।

मेरो दिमागले यस्तो चित्र देखेको भए सहज मान्ने थियो। मैले गरेका पूर्वानुमान अनुसारको सत्य फेला परेको भए, म उसबारे जान्न इच्छुक हुने थिइनँ। अंग्रेजीमा उसको दखल कति छ भन्ने चासो हुने थिएन। फेरि उसलाई बाटा र चिया पसलमा भेट्दा हात उठाएर हेलो भन्ने वा गफ गर्ने लेठो गर्ने थिइनँ। ज्ञान र शक्तिका सामाजिक संरचनाले कब्जा गरेको दिमागका पत्र उक्काउन सजिलो कहाँ छ र ! तिनले निर्माण गरेका सौन्दर्य मूल्यको प्रभाव त्यति कमजोर कहाँ हुन्छ र !

घामले डढाउन मात्र नसकेको त्यो दिनले मलाई ‘अनलर्निङ’को एउटा मौका दियो। सामान्य देखिने त्यो घटनाबारे पछिल्ला दिनमा याद गर्दा अरू खाले ‘अनलर्निङ’हरू भए। विश्वविद्यालयको काम पूर्वमान्यताहरू भत्काएर (अनलर्न गरेर) नयाँ बुझाइका लागि ठाउँ बनाउनु हो भने विद्यार्थीका रूपमा जेएनयू पुगेको पहिलो दिन नै त्यो प्रक्रियाको सुरुआत भएको थियो।

पीएचडीको रहर बोकेर पुगेँ, बीचैमा छोडेर घर फर्कंदा सर्टिफिकेट थिएन बरु पुराना मान्यताका खण्डहर र नयाँ विचारका साना फिलिंगा मात्र आफूसँग थिए। ती झिल्काले भारत नामको त्यो अबोधगम्य दुनियाँमा अलिकति प्रकाश हाल्यो, समाजका जटिलता बुझ्न ऊर्जाको काम गर्‍यो।

भारत विशाल छ र विविध छ। मोहनदास करमचन्द गान्धीले बनाउन चाहेको भारत र नेहरूले देख्न चाहेको भारतको तस्बिरमा लाख भिन्नता छन्। बीआर अम्बेडकरको भारत र भीडी सभर्करले बुझेको भारतको चरित्रमा आकाश–जमिनको अन्तर छ। एमएन रोयको भारत र ज्योति राव फुलेको भारत उस्तै हुने कुरै भएन। महिलाहरूले भोगेको र चिनेको भारतीय समाज र पुरुषले एकाधिकार जमाएको भारतका दुई भिन्न कहानी छन्। दलितले भोगेको उत्तर र दक्षिण भारतका कथा नै भिन्न छन्। मणिपुरी र आसामे, सिम्लाका पहाडी र उत्तर प्रदेशका मैदानी, विहारका गरिब र महाराष्ट्रका निमुखा, यिनले देखेका भारतका चित्रमा समानता कम, भिन्नता बढी छन्। त्यसैले भारत आकार र विविधताका कारण विस्मयकारी छ। जेएनयूका भित्ता र कक्षाकोठामा, होस्टलका साँघुरा कोठा र पुस्तकालयमा, अडिटोरियम र खुला चौरहरूमा भारतीय विस्मयका अनेक रंग छताछुल्ल देखिन्थे।

पीएचडीको रहर बोकेर जेएनयू पुगेँ, बीचैमा छोडेर घर फर्कंदा सर्टिफिकेट थिएन बरु पुराना मान्यताका खण्डहर र नयाँ विचारका साना फिलिंगा मात्र आफूसँग थिए। ती झिल्काले भारत नामको त्यो अबोधगम्य दुनियाँमा अलिकति प्रकाश हाल्यो, समाजका जटिलता बुझ्न ऊर्जाको काम गर्‍यो।

प्रशासनले छात्रावास तोकिदिएपछि, म पुगेँ झेलम। एक सिट खाली रहेका केही कोठा हेरेपछि सबभन्दा माथिल्लो तलाको एउटा कोठामा बस्ने निधो गरेँ। तर, कोठाको चाबी बोकेर मेरो हुनेवाला रुममेट कतै बेपत्ता छ। छात्रावासको रेकर्डबाट नम्बर लिएर फोन गर्दा उसले कोही एकजनासँग सम्पर्क गर्न आग्रह गर्छ। ती साथीले मलाई अर्को कोठामा पुर्‍याउँछन् जहाँ एउटा सिट भर्खरै खाली भएको छ। केही दिन यहाँ बसेपछि फेरि आफूले चुनेको रुममा जानुहोला भनेर मलाई दोस्रो तलाको एउटा अँध्यारो कोठामा छोडेर ती हिँड्छन्। करिब एक घन्टापछि सामान लिएर आउँदा ती अस्थायी रुममेटले मेराबारे जानकारी लिन थाल्छन्। कुन स्कुल, कुन सेन्टर, कुन तह इत्यादि सोधेर सकिने छाँट छैन।

–तपाईंको नाम के हो ?

–उज्ज्वल।

–घर उडिसा हो ?

–होइन।

–बिहार ?

–होइन।

–कहाँ त ?

–नेपाल हो।

–ए, बिहारी र उडिया त मलाई पटक्कै मन पर्दैन। तपाईंको हिन्दी सुनेर मलाई त्यस्तै लाग्यो। अनि नेपाली भनेपछि त हिन्दु भइहाल्यो नि, हैन ?

–खासमा म धर्म मान्दिनँ तर म हिन्दु परिवारमा हुर्केको हो।

–नेपाली पनि नक्सली हुन्छ र ?

–म नक्सली होइन। धर्ममा रुचि छैन भनेको। तर, नेपाल बिहारसँग मिल्दोजुल्दो छ। हिमालतिर गयो भने काश्मीरजस्तो पनि देखिन्छ। तपाईंलाई त मन पर्दैन होला नेपाल ?

–ठाउँ त सबै राम्रो हुन्छ नि, काश्मीर अच्छा ठाउँ हो। मुसलमान नभए त भइहाल्छ।

उनलाई थप चिढ्याउन मन भएन। मैले टाउको हल्लाएँ।

–अनि यो कोठामा भित्र सिगरेट, बिँडी खान पाइँदैन। केटी मान्छे लिएर नआउनुहोला। पहिला बस्नेसँग मेरो त्यही कुरामा झगडा पथ्र्यो। धुप बाल्न राखेको सलाई लगेर सिगरेट जलाउँथ्यो अनि म अर्को सलाई किन्न दोकान पुग्नुपथ्र्यो। बेलुका उसको गर्लफ्रेन्ड लिएर आउन थाल्यो। त्यसपछि त म ऊसँग बोल्नै छोडिदिएँ। रक्सी खानुहुन्छ भने खाएको दिन कोठामा नआउनुहोला।

–हुन्छ।

यहाँ धेरै दिन बस्नुपर्ने नभएकाले मैले थप केही भनिनँ। ‘मोरल पुलिस’को भेषमा देखा परेका एमए संस्कृतका यी विद्यार्थी महाराष्ट्रका रहेछन्। गान्धी, नेहरू वा अम्बेडकरका भारतमा यिनको चासो थिएन, सभर्करले देख्न खोजेको भारतीयसँग यिनको चरित्र धेरै मिल्दो हो। काश्मीर हुँदै बग्ने झेलम नदीको नाम पाएको यो छात्रावासमा झेलममा वर्षौंदेखि बगेका उत्ताल तरंगलाई नदेख्ने प्रयत्नमा लीन थियो एक संस्कृत विद्वान्।

दुई रात उनीसँग बास बसेँ। हरेक बिहान छिट्टै उठेर नुहाउने र संस्कृतका स्तोत्र फलाक्ने यी हिन्दु ब्राह्मणसँग मेरो कुनै समस्या भएन। बस्, भारतका हजार परिचयमध्ये एउटा सग्लो परिचय मेरा अघिल्तिर खुलेको थियो। विस्मयको त्यो गेरुवा रंग !

त्यसपछि दुई वर्षका लागि मेरो स्थायी मुकाममा पुगेँ— झेलम ३४७। जेएनयू बसुन्जेलका मेरा रुममेट मुस्लिम थिए। सामान्य धार्मिक रीत मान्ने उनी साइन्स फिक्सन लेख्थे, अंग्रेजी साहित्य केन्द्रमा आफ्नो रुचिकै विषयमा विद्यावारिधि गर्दै थिए। लिबरल लेफ्ट भन्न मिल्ने यिनलाई अरू विषयभन्दा भाषा, साहित्य र सिनेमामा रुचि बढी थियो। दिल्लीमा अक्सर परिवारसँग बस्ने उनी कहिलेकाहीँ कोठामा एक हूल साथीहरू लिएर झुल्किन्थे।

मद्यपान वा धूमपान कतै रुचि नभएका यी रुममेटसँग आउने साथीहरू कहिले बियरका बोतल र कहिले गाँजाका प्याकेट बोकेर आउँथे। साहित्य, संगीत र सिनेमाका अनेक गफ गर्थे। गाँजा बेरेर पालैपालो सर्को लिन्थे। ह्यारी पोर्टरदेखि मोहम्मद हनिफसम्म, सिमस हिनीदेखि फैज अहमद फैजसम्म, कबिरदेखि डायर स्ट्रेट्ससम्म।

हिउँदको एक साँझ यसरी नै गफिएर बसेका छौं। चिकन स्वर्मा र मटन कोर्मा, केही चिल्ला नान र श्रीमाल रोटीहरू बाँडेर खाइसकेपछि सुरु हुन्छ यी अंग्रेजी साहित्यका डाक्टर उन्मुख फकिरहरूको निकोटिन र म्यारिवाना गोष्ठी। आफ्ना सरदाम निकालेर पारखीहरू सुस्तरी, बडो होसियारीसाथ सेतो पातलो कागजका साना सोली बनाउँछन्। खिरिला औंलाले कागज यसो बटार्दै, एक छेउलाई हलुका हातले जिब्रोसम्म पुर्‍याउँदै, थुकले सुस्तरी भिजाउँदै सोली तयार हुन्छन्। पत्रिकामा राखिएको सुर्ती र गाँजाको मिक्सलाई त्यसरी नै ठिक्क मात्रा मिलाएर सोलीमा खन्याउँछन्। कुनै चित्रकारले यति होशियारी र लगनसाथ साना पोस्टकार्ड चित्र कोर्छ कि कोर्दैन थाहा छैन। सोली बनाउँदै सुर्ती र गाँजाको मात्रा मिलाउनेको तन्मयता भने हेर्नलायक छ। यति मेहनतले केही सोली तयार भएपछि, उज्यालो सीएफएल चिम निभ्छ र जिरो वाट भनिने रातो गुलुप बलेर सिंगो संसार राताम्मे हुन्छ।

त्यसपछि जे हुनुपर्ने हो, त्यही हुन्छ। पालैपालो तानेका सर्कोहरूका लर्को लाग्छन्। साँघुरो त्यो ३४७ को राताम्य अँध्यारो कुइरीमण्डल बन्छ। यसै बेला छात्रावासबाहिर एक हूल विद्यार्थीहरू चिच्याउन थाल्छन्, ‘लाले लाले लाले लाले लालसलाम !’ एउटा खास लयमा लाले लाले भनेपछि ‘जोड लगाके हैंसे’को भाकामा बल लगाएर ‘लाल सलाम’ भन्छन्। यता कोठामा भने आफ्नो पालोको सर्को तानेर छात्रावास पछिल्तिरको जंगलतिर फर्केर कोही गुनगुनाउँछ सन् ८० को एउटा धुन :

अबोलिस मनडे मर्निंग्स एन्ड फ्राइडे आफ्टरनुन्स

द अदर वान्ज अन अ हंगर स्ट्राइक ही इज डाइंग बाई डिग्रिज

हाउ कम जिसस गेट्स इन्डस्ट्रियल डिजिज् !

उसले यति हरफ गाएर टुंग्याउन नपाई कोही हतासापूर्वक चिच्याउँछ, ‘ओ सिट् ! अन् द लाइट।’ सबै आत्तिन्छौं तर के भएको भन्ने पत्तो पाइँदैन। उज्यालो चिम जलेपछि थाहा हुन्छ, म सुत्ने ओछ्यान जहाँ अहिले तीनजना अटाई नअटाई बसेका छन्, त्यसको बीच भागमा आगो सल्कन थालेछ। कसैले जलिरहेको सोली यसै ओछ्यानमा छोडिदिएछ। सल्केर निकै ठूलो भाग जलेपछि अर्कोले एक्कासि तातो महसुस गरेर चिच्याएको रहेछ। त्यस रात फकिर साहित्यवाजहरूको फकिरगिरीलाई एक थान दह्रो लालसलाम ठोकेर म भ्वाङ परेको डसनामा निदाउँछु।

उनीहरू सबै साहित्य लेख्न चाहन्छन्। कोही साइन्स फिक्सन, कोही कविता। कतिले पान्डुलिपि तयार पारेर प्रकाशकका कार्यालयमा ठूलो दौड मच्चाइसके। कसैगरी छापिए, त्यसको पारि श्रमिकस्वरूप केही थान किताबबाहेक केही हातलागी हुँदैन। अर्को संस्करण निस्कन्छ वा निस्कँदैन भन्ने सवाल नै फजुल हो। दिनहुँ छापिने सयौं किताबका चेपमा तिनका सास कुन बेला फुस्किन्छन्, स्वयं लेखकले पत्तो पाउँदैन। कसैका पाण्डुलिपि सहजै ईमेलमा फिर्ता आउँछ। आफूले आर्जन गरेका डिग्री बेचेर पैसा बटुल्ने ठूलो दबाबका मुन्तिर किचिएर उनीहरूको साहित्यकर्म साहित्यवाजीमा रूपान्तरित भएको छ। कोही अनुवाद गरिरहेका छन्, कोही भाषा सम्पादन गरेर चित्त बुझाएका छन् भने कोही शिक्षक बन्ने नेट नामको अल्छीलाग्दो परीक्षामा पटकपटक विफल भइरहेका छन्। त्यो दिक्दारीको विरेचन एक साँझ झेलम ३४७ मा त्यसरी नै भएको थियो।

नाखुसी पनि एक खाले योगा हो,

उसले आफूलाई बताउँछ हरेक बिहान,

त्यो एक श्वासप्रश्वास ध्यान हो

अनि त्यसपछि सोध्छ,

तिमी खुसी हुन चाहन्छौ कि लेख्न चाहन्छौ ?

–जित थाइल

खुसी हुन र साहित्य लेख्न एकसाथ सम्भव छैन होला। नाखुसी नै साहित्यको ऊर्जा पनि हो कि ? मेरा प्रिय साहित्यवाजहरूले यो निक्र्योल गरिसकेका छैनन्।

त्यसो त प्रेमी हुनु र खुसी हुनु पनि एकैसाथ सम्भव छैन। जस्तो झेलम ३४७ मा सबैभन्दा बढी समय सँगै बिताएको मेरो यो दक्षिण भारतीय साथी प्रेमी भएका कारण खुसी हुन सकेको छैन। मलायलमभाषी मुस्लिम लखनउमा अंग्रेजी साहित्य पढ्न पुग्छ, एउटा कविता लेखेर लखनउवाली हिन्दु ब्राह्मण केटीको मन जित्छ। त्यहाँको पढाइ सकेर ऊ दिल्ली आउँछ, उसकी प्रेमिका बम्बई पुग्छे। एकअर्कासँग कुरा गर्न उनीहरूले छुट्टै मोबाइल राखेका छन् जसको नम्बर अरू कसैलाई दिँदैनन्। खास समय मिलाएर, पहिला मेसेज पठाएर, सुरक्षित भएर फोनमा लामो गफिन्छन्। हिन्दु केटी र मुस्लिम केटा अनि यस्तो गहिरो प्रेमसम्बन्ध, त्यसमाथि साहित्य र समाजशास्त्र अध्ययन त्यो प्रेमको बलियो सेतु। गेरुवा भारतमा यस्तो सम्बन्ध बर्जित छ। त्यसैले उनीहरू मुस्किलले जोगिएर यो सम्बन्धलाई टिकाउन खोज्छन्। तर, कुनै पनि क्षण त्यो च्वाट्ट चुटिन सक्छ भनेर सधैं सचेत र सधैं भयभीत रहन्छन्।

एक साँझ उसको जन्मदिनको अवसर पारेर हामी ‘खुसी’ हुन खोज्छौं। ऊ र म दुवैलाई मन पर्ने गीत क्रमैसँग मिलाएर विन्डो प्लेयरमा सुनेर बसेका छौं। छात्रावासमा वर्जित स्टोभ कतै खोजेर ल्याएका छौं, उसले कुखुराको मासु आफ्नै पाराले पकाइरहेको छ। अलिकति सेतो रङको ओल्डमंक रम र त्यसमा मिसाउने कुनै गुलियो पेय पदार्थको पनि जोहो गरिएको छ। चुस्की थपिँदै जाँदा हामीलाई ल्यापटपमा धिमा बजिरहेको गीत मादक लाग्छ। यसरी बसिरहेका बेला कसैले ढोका ढक्ढक्याउँछ। माहोल बिथोल्न खोजिएकोमा हामी अँध्यारिन्छौं। ऊ आफूले लगाएको लुंगी यसो मिलाएर ढोका खोल्न जान्छ। थोरै खोलेर बाहिर हेर्छ, कोही मान्छेले उसको हातमा एउटा प्याकेट थमाउँदै ‘जनमदिन मुबारक, सर !’ भन्छ। त्यति भनेर एउटा कागजमा हस्ताक्षर गराउँछ अनि ऊ आफ्नो बाटो लाग्छ। हामी छक्क पर्छौं। प्याकेट खोलेर हेर्दा त्यहाँ राता र सेता फूलको एउटा सुन्दर गुच्छा र अरू केही उपहार हुन्छन्। प्याकेट खोल्दै गर्दा उसकी प्रेमिकाको फोन आउँछ अनि थाहा हुन्छ, त्यो प्याकेट बम्बईबाट अनलाइन गिफ्ट सपमा अर्डर भएर हाम्रो कोठासम्म आइपुगेको रहेछ। खुसी व्यक्त गर्न मेरो मोबाइलबाट उसले फूलको गुच्छा समातेको फोटो खिच्छु र उसकी प्रेमिकालाई ईमेल गरिदिन्छु। ऊ दंग परेर मलाई धन्यवाद भन्छे।

एकछिनपछि ऊ गम्भीर भएर मलाई भन्छ, ‘त्यो फोटो पठाएको ईमेल डिलिट गर्दे है। उसले पनि उता डिलिट गरिसकी। हामी यस्तो कुनै पनि रेकर्ड राख्न चाहँदैनौं, असुरक्षित महसुस हुन्छ। अनि फेरि हाम्रो सम्बन्ध अब लामो पनि त रहँदैन, यो टिक्न असम्भव छ।’ आँखा रसिला बनाएर त्यति भनेपछि गिलासमा बाँकी रहेको रम एकै घुड्कीमा निल्छ। यता दुःखजिलो गरेर पढ्न आएको मलायलमभाषी मुस्लिम, उता धनाढ्य बाहुन हिन्दीभाषी उत्तर भारतीय। बीचमा नाघ्नै नसकिने खाडल छ। त्यो खाडलको कल्पना गर्छु, म ईमेल डिलिट गरिदिन्छु। विस्मयकारी विभेदको अहो कस्तो डरलाग्दो सुरुङ !

यस्ता अनेक सुरुङ छिचोलेर चारतिरका भारतीयहरू यहाँ आइपुगेका छन्। कतिले यहाँ आइपुगेपछि आफ्ना मस्तिष्कमा बोकेर ल्याएका यस्ता सुरुङ भत्काएका छन्। रातरातभरि पुस्तकालयमा बसेर, ढाबामा पाइने सस्तो चियाका असंख्य चुस्की लगाएर, त्यहाँ हुने विद्यार्थी युनियनका बैठक र गोष्ठीहरूमा अनेक बहस गरेर, गीत र नाटक गरेर भारतीय समाजमा ठड्याइएका विभेदका भयंकर ठूला पर्खालहरू भत्काउने प्रयत्न गरेका छन्। दुनियाँका अनेक रंगहरू पहिल्याउने उपक्रममा लीन भएका छन्। भित्र ढलेका पर्खालहरू बाहिर दुरुस्तै देखिनुले जेएनयूका कति विद्यार्थी बेताबीले ग्रस्त भएरै जीवन बिताउँदा होलान्। धेरैले समाजका जटिलता फुकाउने हिम्मत लिएर आफ्नो जीवनलाई संघर्षपूर्ण पनि बनाएका छन्।

‘उत्तर भारतको गन्जागोलभित्र अलग्ग उभिएको टापु हो जेएनयू।’ भारतीय समाजमा क्षीण बन्दै गएको, खुम्चँदै गएको वामपन्थको जरो यहाँ बलियो भएकोमा व्यंग्य गर्दै यस्तो धारणा राख्नेहरूको बाहुल्य छ। त्यहाँका अधिकांश विद्यार्थी र प्राध्यापक भने आफू अलग्ग टापुमा नभएर भारतीय समाजमा लछ्याप्रै भिजेर प्रगतिको उज्यालो खोजिरहेको दाबी गर्छन्। झेलम ३४७ मा थोरैतिनो जति उज्यालो सँगालियो, त्यो तिनैले खोजेको दुनियाँ बुझ्ने प्रकाश हो। मैले पनि त्यही आलोकमा समाजका जटिलता उधिन्ने साहस सञ्चार भएको महसुस गरेको थिएँ।

ये आँखें हैं तुम्हारी

तकलिफ का उमड्ता हुआ समुंदर

इस दुनिया को

जितनी जल्दी हो

बदल देना चाहिए।

–गोरख पाण्डेय


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.