लहडी कवि

लहडी कवि

नेपाली समाजमा साहित्यकारको उपस्थिति तिनको देहान्तपछि धूमिल हुँदै जाने गरेको देखिएको छ, यदि तिनका परिवार वा नातागोताले तिनको नाममा गुठी वा पुरस्कार स्थापना गरेका छैनन् भने। यसको एक ज्वलन्त दृष्टान्त कविवर केदारमान व्यथित हुन्। उनको नाममा पुरस्कार त थियो तर गुठी थिएन। क्रमशः यी कवि नेपाली समाजको विस्मृतिको गर्ततिर धकेलिए।

२०३६ सालको आन्दोलनपछि राजा वीरेन्द्रले ऐतिहासिक जनमतसंग्रहको घोषणा गरे। त्यस बेला मैले व्यथितलाई घोषित सडक कविता क्रान्तिपछि भेट्ने अवसर पाएको थिएँ। सडक कविता क्रान्तिले जनमतसंग्रहमा आफ्नो उद्देश्य प्राप्तिका लागि के ककस्तो योगदान पुर्‍यायो, त्यसको अलग मूल्यांकन होला, तर व्यक्तिगत रूपमा म तत्कालीन सिकारु कविलाई भने यौटा विशाल रंगमञ्च प्राप्त भयो। साहित्यमा नाम कमाइसकेका र प्राज्ञ भइसकेका व्यक्तित्वहरूसँग महिनौं नियमित रूपले एउटै मञ्चमा बसेर कविता पढ्ने अवसर जुट्यो, त्यो मेरा लागि अपूर्व र अभूतपूर्व अवसर थियो। मोहन कोइराला, शैलेन्द्र साकार, हरिभक्त कटुवाल, ध्रुव सापकोटाजस्ता स्थापित प्रतिष्ठित लेखक कविहरूसँग एउटै लहरमा कुर्सीमा बस्न पाउनु कम्ता रोमाञ्चकारी थिएन।

त्यही सहभागिता र संसर्ग, परिचय र साहित्यिक नाताले नै मलाई व्यथितको ज्याठाको घरको फराकिलो बैठक कोठामा हुने कवि गोष्ठीसम्म पुर्‍यायो।

व्यथित सानाठूला साहित्यिक जमघटहरू आफ्नोे घरमा गरिरहँदा रहेछन्। त्यस्तो जमघटमा सुरापानदेखि भोजनसम्म पनि हुँदो रहेछ। उनी कविता भन्न मन पराउने मात्र होइन, असल श्रोता पनि थिए। कवि गोष्ठीमा आफूलाई कुनै हरफ मन पर्‍यो भने दोहोर्‍याएर फेरि भन्नोस् त भन्दै स्वाद लिईलिई सुन्थे। एकाधपटक म एक्लै उनलाई भेट्न जाँदा कविता ल्याउनु भाको छैन ? सुनाउनोस् त भनेका थिए।

२०३६ सालपछि कुनै एक साँझ कविवरको वैठकमा निकै मजाको काव्य जमघट भएको थियो। व्यथितले निकै जोशका साथ ताजा कविता सुनाएका थिए। उनलाई कविता वाचन गर्न कागजको पानामा हेर्नु पर्दैनथ्यो। आफ्ना कविता प्रायः कण्ठाग्र, मुखाग्र हुन्थ्यो र ओजिलो ढंगले कविता भन्थे। सो कार्यक्रममा समालोचक अभि सुवेदीले भनेका थिए— नयाँ पुस्ताका भाइहरूले कविता लेख्न सिक्न कवि व्यथितको कविता पढ्नुपर्छ।

२०३६ सालको आन्दोलनका बेला कविवर व्यथित गृहमन्त्री थिए। आन्दोलनमा प्रहरीबाट गरिएको बल प्रयोगको दोष उनलाई दिइएको कुराकानी सुनिन्थे र अखबारमा छापिएका पनि थिए। त्यो गृहमन्त्री पद उनको जीवनको अन्तिम मन्त्री पद थियो। त्यसपछि उनले सार्वजनिक रूपमा नै अब म कहिल्यै मन्त्री पद खान्नँ भन्ने गरेका थिए। उनी राजा महेन्द्रको पालामै मन्त्री भइसकेका थिए।

व्यथितलाई मदनमणि दीक्षितले विश्वकविको उपाधि दिएका थिए। उनी विश्वकवि किन हुन् भनेर दीक्षितले कैयन्पटक आफ्नो धारणा मौखिक तथा लिखित रूपमा राखेका थिए। तर, त्यसलाई समाजले सकारेको, स्वीकारेको पाइएन।

व्यथितले नेपाली साहित्य संस्थान स्थापना गरेर देशव्यापी साहित्य सम्मेलन गरेका थिए। झापामा भएको देशव्यापी साहित्य सम्मेलनमा पहिलोपटक भाग लिन नेपाल आएका हरिभक्त कटुवालले कविको राम्रो छाप पारेपछि व्यथितकै आग्रहमा उनी नेपाल बस्ने गरी आएका थिए। त्यस्तै कथाकार परशु प्रधानलाई काठमाडौंमा स्थापित गराउने पनि व्यथित नै थिए। देशव्यापी साहित्य सम्मेलनमा राजा महेन्द्रलाई सहभागी गराउन सक्नु उनको खुबी थियो। त्यो खुबीले उनलाई राजा महेन्द्रको नजरमा पार्‍यो र उनी तत्कालीन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको पहिलो कुलपति भए। स्थापनाकालमा महेन्द्र आफैं कुलपति थिए प्रतिष्ठानको। व्यथितलाई कुलपतित्व हस्तान्तरणपछि उनी संरक्षकको रूपमा त्रसे।

केदारमान व्यथितलाई कविता वाचन गर्न कागजको पाना हेर्नु पर्दैनथ्यो। आफ्ना कविता प्रायः कण्ठाग्र, मुखाग्र हुन्थ्यो।

नेपाली साहित्य संस्थानको गतिमान समयमा त्यसको प्रकाशनका लागि कवि मविवि शाह अर्थात् राजा महेन्द्रसँग कविता मागियो। राजाबाट कविता प्राप्त भएर प्रकाशित पनि भयो। प्रकाशित रचनाका लागि पारि श्रमिकको व्यवस्था थियो। अब राजालाई कसरी कविताको पारि श्रमिक दिने ? तर, व्यथितले राजालाई होइन कवि मविवि शाहलाई पारि श्रमिक दिने हो भनेर पारि श्रमिकको खाम लिएर राजदरबार गए र सोही कुरा बिन्ती गरे। राजाले हाँसेर यो मेरो साँचो कमाइ हो, म लिन्छु भनेर ग्रहण गरे। राजाले ग्रहण गरिसकेपछि संस्थालाई नै सो रकम फिर्ता गरेका थिए। यो घटनाको विषयमा कवि व्यथित आनन्दपूर्वक वर्णन गर्ने गर्थे।

व्यथितको साहित्य भोजनालय हो, राजनीति शौचालय भन्ने भनाइ निकै लोकप्रिय भएको थियो साहित्यिक जगत्मा। सारा मानिस उनको यो उक्तिलाई वाहवाह गर्थे। तर, जगदीशशमशेर राणाले एक अन्तर्वार्तामा व्यथितजीले शौचालयमा बसेर भोजन गर्नुभयो भन्दिए। कारण व्यथितको प्रारम्भिक गरिबीपूर्ण अवस्थालाई ज्याठाको भव्य भवनमा विराजमान गराउने काम साहित्यले होइन, राजनीतिले नै गरेको हो भन्ने जगदीशशमशेरले बुझेका थिए।

२०३८ सालमा विराटनगरमा सम्पन्न विराट साहित्य सम्मेलनमा हामीले सँगै भाग लिने मौका पाएका थियौं। उनी काठमाडौंबाहिर जाँदा शौचालय जोडिएको कोठामा बस्न खोज्थे। उनी भन्थे— मलाई सुगर छ, शौचालय गइरहनुपर्छ। एकपल्ट उनी थला परे। हामी धेरै साहित्यकार भेट्न गयौं। उनी भन्थे, ‘यो मेरो श्रीमती, श्रीमती होइन आमा हो। यसले मलाई सानोमा आमाले जस्तै हेरचाह गरेकी छे।’

मेरो फेरो नियात्रा पुस्तक अच्युतरमण अधिकारीले उन्नयन पत्रिकामा पूरै पाठ प्रकाशित गरेका थिए। अच्युतरमण उन्नयनका प्रायः सबै प्रति लेखक कविहरूको घरघरैमा पुर्‍याएर वितरण गर्ने गर्थे। व्यथितले पनि पढेछन् र मन पराएछन्। मलाई भेटेपछि भने, बडो राम्रो लेख्नु भा छ। यसलाई अनुवाद गराएर देश विदेश पुर्‍याउनुपर्छ। त्यति नै बेला रामदयाल राकेशलाई उनले सोधे, ‘राकेशजी, गोविन्दको फेरो पढ्नु भो ? गजब राम्रो छ। त्यसलाई तपाईं हिन्दीमा अनुवाद गर्नुहोस्।’ यो सुनेर रामदयाल राकेशले नीलो मुख लाए, बोलेनन्। कारण उनीसँग मेरो साहित्यिक विवाद भएर बोलीचाली नै बन्द भएको अवस्था थियो, जुन व्यथितजीलाई थाहै थिएन।

कवि व्यथितको निवासमा मैले एकपल्ट शान्तिदूत भन्ने हिन्दी पत्रिका देखेँ। पल्टाएर हेरेँ, उनी त्यो पत्रिकाका सल्लाहकार रहेछन् र उनको कविता पनि त्यसमा प्रकाशित भएको रहेछ। मैले त्यो पत्रिकाबारे चासो लिएपछि उनले त्यो पत्रिकाको एक प्रति मलाई दिँदै भने, ‘तपाईं पनि कविता पठाउनोस्, छापिन्छ। सम्पादकलाई मेरो बारेमा उल्लेख गरेर चिट्ठी लेख्नुहोला।’ त्यो नर्वेको राजधानी ओस्लोबाट आप्रवासी भारतीयहरूले प्रकाशन गर्ने पत्रिका रहेछ। त्यो पत्रिकामा मेरो कुनै रचना त प्रकाशित भएन, सम्पादकलाई चिट्ठी भने प्रकाशित भयो, म त्यसैमा दंग परेँ।

नेपाली साहित्यमा केही गर्ने उद्देश्यले मसहित एक सानो समूहले युवा साहित्य समाज गठन गरेका थियौं २०३७ सालमा, तर आन्तरिक विग्रहका कारण त्यो इतिहास बनिसकेको थियो। फेरि यौटा अर्काे संस्था बनायौं गोष्ठी नेपाल जसमा म, जीवन आचार्य, विधान आचार्य, शलभलगायत थियौं। हामीले संस्थामार्फत विशेषत पुस्तक विमोचन, कवि गोष्ठी आदि गथ्र्यौं। एकपल्ट यौटा कवि गोष्ठी व्यथित निवासमा गर्ने प्रस्ताव आयो। खानपानसहित हुने सो गोष्ठीको प्रस्ताव अस्वीकार गर्ने कुरै थिएन। त्यसमाथि जीवन आचार्यलाई पुत्रवत् माया गर्ने व्यथितलाई जीवनले आग्रह गरेपछि व्यथितले त्यो प्रस्ताव स्वीकार नगर्ने कुरै थिएन। राम्रो काव्य सन्ध्या भयो। त्यसको विषयमा समीक्षा पत्रिकामा मदनमणि दीक्षितले पूरा पृष्ठ नै लेख्नुभएको थियो। त्यो गोष्ठीको अन्त्यमा व्यथितले प्रस्ताव गर्नुभयो, ‘आज पढिएका कविताहरूमा नेपाली कविताको वर्तमानको तस्बिर देखिन्छ। यो सबै संकलन गरेर किताब निकाल्नुपर्छ। म पाँच सय मेरो तर्फबाट हाल्छु, अरू तपाईंहरू व्यवस्था गर्नुस्।’ पाण्डुलिपि तयार भयो। रकमका लागि जीवन आचार्य र शलभ फोन गरेर थाके। ज्याठासम्म जुत्ताको खुर खियाएर धाउनुसम्म धाए। तर, कवि व्यथितले लहडमा बोलेको रकम कहिल्यै दिएनन्। त्यसको मार शलभले आफ्नो पिता एसएल शर्मालाई पारे। उहाँको शर्मा प्रेस भद्रपुरबाट गोष्ठी नेपाल प्रकाशक भएर पुस्तक छापियो।

कवि तुलसी दिवसको पहल र सुझबुझमा स्थापित सिर्जनशील साहित्य समाजका कैयन् कार्यक्रममा कवि व्यथित सहभागी भएका थिए। एकपल्ट उनले सिसासमा आफ्नो नाउँमा एक हजार रुपैयाँको पुरस्कार स्थापना गर्ने प्रस्ताव गरे। उनको प्रस्तावलाई सिसासको कार्यसमितिले स्वीकार गरेन। उनले तत्कालीन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानमा पनि आफ्नो नामको पुरस्कार स्थापनाका लागि प्रस्ताव गरेका थिए। त्यहाँबाट पनि त्यो प्रस्ताव स्वीकार भएन। पछि साहित्यिक पत्रकार संघले उनको नाममा व्यथित काव्य पुरस्कार राख्ने भयो। त्यो पुरस्कार स्थापना हुनेबित्तिकै काठमाडौंका गल्लीहरूमा कवि व्यथितले जीवन आचार्यलाई पुरस्कार दिन यो पुरस्कार स्थापना गरेका हुन् भन्ने हल्ला चल्यो। उनले नै यो पुरस्कार पाउँछन् तर त्यसो भएन। पहिलोपल्ट दिनेश अधिकारीले सो पुरस्कार पाए। फेरि हल्ला चल्यो, अर्काे वर्ष जीवन आचार्यले पक्कै पाउँछन्। नभन्दै दोस्रो वर्ष जीवन आचार्यले सो पुरस्कार पाए। तर, पछिपछिका वर्षहरूमा पुरस्कार निर्णयमा एवं वितरणमा ढिलाइ हुन थाल्यो। कारण थियो, कवि व्यथितबाट सो पुरस्कारको रकम नपाएकाले ढिलाइ हुँदो रहेछ। उनले अक्षयकोषको व्यवस्था गरेका थिएनन्। यो एक प्रकारको लहडजस्तो देखिन्थ्यो।

जगदीशशमशेर राणा, प्रदीप नेपाल, नरहरि आचार्य लगायतको सुझाव टोलीको प्रतिवेदनअनुसार नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको संरचनात्मक परिवर्तन भयो, कुलपति प्रधानमन्त्री, सहकुलपति शिक्षामन्त्री रहने गरी। प्रज्ञाप्रतिष्ठानमा कवि लेखकले पाउने उच्च पद उपकुलपतिमा खुम्चियो। यस विषयमा तीव्र विरोध भयो तर कानुनलाई विरोधले परिवर्तन गर्ने कुरा थिएन। असन्तुष्टि देखाउन भने छाडिएको थिएन। मैले उहाँको धारणा जान्न चाहेँ प्रकाशनका लागि, तर उहाँले म बूढो भइसकेँ, यो विषयमा नबोलौं भन्नुभयो। त्यसको केही समयपछि प्रज्ञाभवनको प्रेक्षालयमा प्रज्ञाप्रतिष्ठानको साधारणसभा उद्घाटन भयो प्रधानमन्त्रीबाट। सो समारोहमा प्रधानमन्त्रीले कुलपति पद लिनु कति ठीक हो भन्ने कुरा वक्ता विद्वान्हरूले उठाए। प्रधानमन्त्री स्वयंले प्रज्ञाप्रतिष्ठानको कुलपति कवि लेखकै हुनु राम्रो, नियम संशोधन गरौं भन्नुभयो। बल्ल त्यसपछि कवि व्यथितले मुख खोल्नुभयो, ‘मैले त यो पहिलेदेखि नै भन्दै आएको हुँ।’

एक वर्ष उनको जन्मोत्सव सार्वजनिक समारोह गरेर निकै भव्यताका साथ मनाइयो। विशेष समारोह ब्ल्यूस्टार होटलको ठूलो हलमा भएको थियो। हुन त निकटतमहरूका लागि विशेष भोजभतेर अघिल्लै दिन भएको रहेछ। योचाहिँ सर्वसाधारणका लागि थियो। उनले भनेका थिए, ‘परम्परागत पूजा र भोज हिजो भयो, तपाईंहरू सबैलाई मैले बोलाउन सकिनँ। आज यस समारोहमा आउनुभएकोमा धन्यवाद छ।’ कार्यक्रमपछि मैले उपहार भनी कलम र डायरी उनी बसेको मेचमा गएर दिएँ, खुसी भएर कोटको खल्तीमा हाले। म गद्गद् भएँ।

समग्रमा कवि व्यथित साँच्चै कवि थिए, कविसुलभ थियो उनको व्यवहार। उनले गरेका लहड पनि साहित्यलाई राम्रो गर्ने खालकै लहड थियो। कविता पनि प्रशस्त रचना गरेका हुन्। तर, खै किन हो यी लहडी कविलाई अचेल क्रमशः बिर्सन थालिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.