माइली तामाङ्नी
सरकार !
म माइली तामाङ्नी
वर्ष चार बीस
घर मेरो नेपाल खाल्डोबाट
दस बाह्र कोस पूर्व ।
हुलिया त के बताऊँ र
सरकार !
सन्तोषले कहिल्यै नसेकेका
खोपिल्टे कन्चट,
थाप्लोमा कहिल्यै नपुरिएको
नाम्लोको डोब,
सुन्दरताको महक नचाखेका
एक जोडी निरीह आँखा ।
सोलोडोलोमा भनौं सरकार ?
कालले पनि बिर्सेको
एउटा विदिर्ण आकृति !
सपनाचाहिँ
राम्रै देख्थेँ सरकार अघिदेखि नै ।
रेडियो नेपालबाट
देशवासीका नाममा सन्देश आउँदा
कानमै रेडियो जोडेर
कम्ता पुलकित भइएन बाबै !
तिम्रा सबै भाषा त
के बुझ्थेँ र म अधमले
तर मनको लड्डु
खुब निलियो घ्यूसित ।
भोट ?
भोट पनि हालियो सरकार !
कहिले रंगीन कागजमा
कहिले सेतारकाला चिर्कटमा
एकबारको जुनीमा
धेरैपटक लाएँ स्वस्तिक छाप
अनि मेटेँ औंलाको दाग
एसिड हालेर तिरस्कारको ।
साँच्चि, सरकार !
सिंहदरबारमा कति पुगे हौ
तिम्रा बाजे बराजुका तस्बिर ?
लौ न मेरा ख्वामित
तिम्रा टाउकामाथि झुन्डिएका
जुँगामुठे फोटाका मुनि
यो माइलीको एउटा
श्यामश्वेत फोटो पनि टाँसिदेऊ न
हेर्न हुन्छ तिमीलाई
देश दुखेका बखत !