आफ्नै जीवनले लेखेको किताब

आफ्नै जीवनले लेखेको किताब

जीवन आफैंमा केही हो/होइन तर यो समयको एक लहर चाहिँ अवश्य हो। यही लहरमा लहरिँदै मानिस शरीरको कठिन उचाइ निरन्तर चढिरहन्छ। हरेक बिहान उसको जीवनको एक सुन्दर यात्राको थालनी र समापन पनि हो। हामी सधैं एक मीठो सम्भावनाका साथ ब्युँझन्छौं र एक थकानका साथ विश्राम लिन्छौं। उद्देश्य जे बोकेर बाँच्न सुरु गरे पनि सामान्य सत्य एउटै हो कि हाम्रो यात्रा निरन्तर बिसर्जन तिरको छ। जब हामी केही काम गर्दागर्दै थाक्छौं अनि एकाएक कहीँ कतैबाट मृत्यु चिन्तनहरू बाछिट्टा जस्तो भएर भिजाउन आइपुग्छन्।

हामी सत्यको पक्षमा सधैं पैरवी गर्न रमाउँछौं तर त्यस्तो सत्यको पक्षमा मात्र जुन सत्य हाम्रो हितकारी हुन सक्छ। जीवको अनुपस्थिति पनि एक कटु सत्य हो भन्ने कुरालाई सैद्धान्तिक रूपमा स्वीकारे पनि त्यसलाई आफ्नै जीवनसँग भने जोडेर हेर्न कहिल्यै साहस गर्दैनौं। हरेक दिन एउटा यस्तो दिन हो जो हाम्रो जीवनमा मात्र होइन, यो प्रकृतिको जीवन मै पहिलो र अन्तिम पल्टको लागि हुन्छ। तर, यसलाई हामी कसरी बिताइरहेका हुन्छौं यो एक आफैंसँग गरिने प्रश्न हो। त्यति परको दार्शनिक तहसम्म नपुगी आफैं त्यो कसरी बितिरहेछ भन्ने कुरालाई मात्र पनि ध्यानले बुझे बाँकी बुझ्नुपर्ने कुरा नै रहँदैनन् कि !

प्रत्येक दिन विशेष हुँदाहुँदै पनि हामीले विशेष मान्ने दिनहरूलाई आफ्नै गणितले अझ विशेष बनाइरहेका हुन्छौं। त्यसैले प्रत्येक दिन प्रत्येक मानिस आफ्नै विशेष दिनको रूपमा बिताइरहन्छ। जस्तो कि जन्म, मृत्यु, विवाह, जागिर, अवकाश आदि। नितान्त आफ्नो विशेष दिन भोग्दै हामी सामाजिकताको अनुभव गरिरहेका पनि हुन्छौं। आफ्नो विशेष जिन्दगीलाई विशेष नबुझी सामूहिकताको हिमाल आरोहण गर्नु आफैंमा एक अहम् यात्रा पनि पो हो कि !

सन्दर्भमा नयाँ वर्षहरूको आगमन र पुरानाहरूको गमन सँगै हामी आफ्नो उमेरको गणना गर्छौं। यसो त हामी एक वर्ष बितेपछि मात्र एक वर्ष बूढो हुने होइनौं। हाम्रा प्रत्येक दिनहरू हाम्रो उमेरमा थपिने पानाहरू हुन् जसमा लेखिएका हुन्छन् हाम्रै कर्मका किरिङमिरिङहरू। म हरेक साँझ जब केही खान बस्छु, सोच्छु आज दिनभरि मैले त्यस्तो के काम गरेँ जसका कारण म यो खाना निर्धक्क खाइरहेको छु ! के मैले आफ्नै वा अरू कसैका लागिसमेत भलाइ हुने पनि केही गरेको छु, जसका लागि यो कुनै दूर देशको किसानले फलाएको अन्न खाइरहेको छु ! कुन त्यस्तो काम गरेबापत म यो अन्नको हकदार छु ?      

म अमेरिका आउन थालेको पाँचौं वर्ष दौडिरहेको छ। आउन थालेको किनभने म हरेक वर्र्ष आधा नेपाल आधा अमेरिका गरिरहेको छु। नेपालमा मेरो जे काम थियो यहाँ पनि मेरो काम त्यही हो। सोच्छु त्यसो भए त्यही काम गर्न म किन अमेरिका आइरहेको त ! के मसँग धेरै पैसा भएर ?  कि खानै नपाएर ! कि देशदेखि नै विरक्त लागेर ? अनि आफैं उत्तर दिन्छु — थाहा छैन। आफैंभित्र आफैंलाई ताकेर उब्जेका प्रश्नहरूको सायद कसैसँग पनि सही उत्तर हुन सक्दैन। त्यसैले धेरै लामालामा स्पष्टीकरणहरूको निबन्ध लेखिबस्छन्। मैले पनि यस्ता धेरै नै निबन्धहरू लेखेँ जीवनमा। अचेल मलाई थाहा हुन थालेको छ, मेरा यस्ता निबन्धहरू अरू केही होइनन् केवल आफैंभित्रका अन्योलहरूको अभिव्यक्तिमात्र हुन्। फेरि पनि मानिस आफ्नो जिरह गर्न कहाँ छोड्छ, झन् कुनै लेखक त सबैभन्दा ठूलो जिरहकै पोको त हो !

मैले पनि आफ्नो जीवनको किताब पल्टाएर हेरेँ। सन् १९६० जुलाई १७ देखि गनेर ल्याउँदा चानचुन २०६२४ पानाको निकै मोटो पुस्तक भइसकेछ सन् २०१७ डिसेम्बर ३१ सम्ममा। उसो त २०१७ साउन २ गते जन्मेको म २०१७ डिसेम्बर ३१ मा गनेर ल्याउँदा १५५ दिनको मात्र पनि त होइँदो रैछ। सम्बत् लीला। मजस्तो रोगी, पिलन्धरे, खिनौट, नसे मानिसले पनि यत्ति मोटो किताब बनाइसकेछु जीवनको। गर्व लाग्यो। आहा ! यो त साँच्नै जीवनको निकै ठूलै उपलब्धि हो नि !

होलान् यस पुस्तकभित्र कयौं कामै नलाग्ने पृष्ठहरू, कति दोहोर्‍याएरै पढ्न मन लागिरहने पानाहरू पनि। कति त यस्ता पनि होलान् जसलाई च्यातेरै फ्याक्न मन लागोस्। तर के जीवन लेखिएको यो बृहत् पुस्तकका कुनै पनि पानाहरू आफू वा अरू कसैलाई मन नपर्दैमा च्यात्न वा मेट्न सकिएला त ! धेरै यस्ता पानाहरू पल्टाउन खोजेँ जसमा रमाइला र सुनौला दिनहरू लिपिबद्ध भएका हुन्। निकै घोत्लिँदा पनि भेट्न सजिलो भएन। तर दुःखको बारेमा लेखिएका पानाहरू त कण्ठै रहेछन् बाबै ! डिक्सनरीका शब्द जस्तो फ्याटफ्याटी भेटिने।

सोचेँ जिन्दगीको यस किताबमा मैले रोजेर चाहिँ के के लेखेँ होला ! के मैले रोजेको बाबुको वीर्यबाट रोजेकी आमाको अण्डमा प्रवेश गरेको हुँ ? के मैले रोजेको शिक्षकबाट रोजेको ज्ञान प्राप्त गरेको हुँ ? मैले रोजेकी केटीसँग बिहे गरेर जीवन बाँचेको हुँ वा रोजेको जागिर खाएर रमाएको हुँ ! मैले रोजेर भोगेको जीवन कुन र कति हो ? कुन पृष्ठमा कहाँनेर कति शब्दमा लेखिएको होला त्यो प्याराग्राफ ?  मनैले हाँसेका पानाहरू र मनैदेखि रिसाएका वाक्यहरू कति छन् ? प्रेमले पगालिएका र घृणाले नुहाइएका अध्याय कति छन् ?      

म अमेरिका आउन थालेको पाँचौं वर्ष दौडिरहेको छ। म किन अमेरिका आइरहेको ? के मसँग धेरै पैसा भएर ? कि खानै नपाएर ? कि देशदेखि नै विरक्त लागेर ? आफैं उत्तर दिन्छु– थाहा छैन।

जिन्दगीको यस किताबमा अनेकौं यस्ता पृष्ठहरू पनि छन् जो कहिल्यै पल्टिन मान्दैनन्। आफैं माथि गिल्ला गरिएका पृष्ठ त कति हो कति ! अरूबाट सहयोग पाएका पानाहरूले निकै अध्याय भरिएका भेटिए तर भेटिएनन् त्यस्ता पानाहरू जहाँ आफूले पनि अरूलाई उत्पात सहयोग गरिएको होस्। मलाई पश्चाताप चाहिँ कुनै कुराको किन छैन भने यो जुन किताब हो करिब २० हजार पृष्ठको, यसको रचनाकार म आफैं कहिल्यै हुन पाइनँ। म लेखिँदै केरिँदै गरेको एउटा कसैको लागि आवश्यक बिम्बमात्र थिएँ।

फररर पल्टाउँदै हेर्दै जाँदा एकाएक चार हजार ६ सय १३ पृष्ठमा आँखा अडिए। लेखिएको रहेछ— ‘त्यो दिन तिमी बल्छी बोकेर गड्यौला खोज्न रछ्यान खन्दै थियौ। धेरै खन्दा पनि गड्यौला नभेटेपछि खुम्ले कीरा नै बल्छीमा उनेर सातपत्रे पैनीतिर लागेका थियौ। पैनीको डिलमै थियो एउटा लामो धामनसाप जो निल्दै थियो भ्यागुतो। तिमीलाई देखेपछि त्यसले आधा निलिसकेको भ्यागुतो त्यत्तिकै ओकलेर भाग्यो। सापले भ्यागुतो ओकलेर भागेकोमा तिमी खुसी त थियौ तर आफैं चाहिँ माछा मार्न गइरहेथ्यौ। निकै माथि अरू साथीहरू सिलमा हिले माछा उनेर रमाइरहेथे। तिमीले चाहिँ गड्यौलाको सट्टा खुम्ले कीरा बोकेको देखेर सबैले उल्याएका थिए। लाजले खुम्ले कीरा फ्याकेर सबैभन्दा मिल्ने साथीसँग एउटा गड्यौलो माग्यौ तर उसले दिएन।

तिमीलाई खुब रिस उठ्यो तर ऊ तिमीभन्दा बलियो थियो केही गर्न सकेनौं। त्यसको बदला उनीहरूले माछा मारिरहेका पैनमा पसेर उनीहरूका माछा बिच्क्याइँ दिँदै आफू चाहिँ हातैले समात्न दुलाभित्र छाम्न थाल्यौ। एकै छिनमा मुठीभरिको माछाको टाउको थियो तिम्रो हातमा। फुर्तिसाथ साथीहरूलाई देखाउन पानी बाहिर निकालेर हेर्दा त्यो त लामो न लामो साप थियो। तिमी आँत्तिएको देखेर उनीहरू रमाउँदै परपर भागे। सापले तिम्रो नारीमा फन्को मारिसकेको थियो। फ्याक्न खोज्दा पनि त्यो नफ्याकिने भएर बेरिँदै गयो। जति डरले त्यसको टाउको अठ्याउँदै जान्थ्यौ त्यो उत्ति नै तिम्रो नारीमा कसिँदै जान्थ्यो। साथीहरू तिमीलाई छोडेर टाढा पुगिसकेका थिए। सापलाई त्यत्तिकै अँठ्याएरै घरतिर हानिएका तिमी बाटोमा कतिपल्ट लड्यौ, कति पल्ट कसरी उठ्यौ तिमीलाई नै थाहा भएन। घरको आँगनमा पुग्दा बाबु पाटाको दाम्लो बुन्दै थिए। आँत्तिएको तिमी र तिम्रो हातमा बेरिएको सापलाई हेरेर बाबुले हाँस्दै भने किन डराको ? त्यो साप होइन, बाम माछा हो। त्यसले टोक्दैन। त्यो दिन तिमीलाई संसार जितेको जस्तो घमण्ड भरिएर आयो। आँगनमै त्यसलाई फालेर तिमी दौडिएका थियौ साथीहरूलाई आफ्नो बहादुरीको धाक लगाउन।’

खासै लागेन आज त्यो पृष्ठ पढ्दा तर जिन्दगीको किताबमा नमेटिने गरी त्यो पनि बसेकै रहेछ। के जिन्दगी सुन्दर अनुभवहरूको मात्र दस्तावेज होइन त उसो भए !

सबैभन्दा पछिल्लो तीन सय ६५औं पाना पल्टाएँ आज।

— ‘तिम्रा लागि यो वर्ष अघिल्ला कतिपय वर्षहरू जस्तै र केही विशेष भएर बित्यो। एक वर्षपछि तिमी झोलामा दुइटा पाण्डुलिपि बोकेर नेपाल पुगेका थियौ। जसमा एउटा थियो लीलाबोध जो विगत २७ वर्षदेखि तिमी काम गरिरहेका थियौ। अर्को थियो तल्लोबाटो उपन्यास जसमा थियो नेपालबाट अनेक दुःख र खर्च गर्दै महिनौं लगाएर मेक्सिकोको बाटो हुँदै अमेरिका छिर्नेहरूको कथा। दुवै किताब छापेर तिमी निस्केका थियौं लीलायात्रामा देशका विभिन्न दस सहरमा पाठकसँग संवाद गर्न। यो यात्रा तिम्रो लागि नयाँ अनुभव पनि थियो र पाठकबाट असाध्यै सम्मान पनि पाएका थियौ।’

‘दोस्रो तिम्रो खुसीको कुरा थियो अर्को नयाँ फिल्मको निर्माण। तिमीले एक वर्षअघि लेखिसकेको कथामा (‘झोला’ फिल्मका निर्देशन यादव भट्टराईले नै) नेपालको मधेसमा हुने दहेज प्रथा जसको कारणबाट महिलामाथि सधैं भइरहने हत्या र हिंसामाथि नयाँ फिल्म ‘भोर’ निर्माण गरिसकेका थिए। यी तीनैवटा काम वर्षको सुरुमै सम्पन्न भइसके पछि तिमी रमाउँदै फर्केका थियौ अमेरिका। अमेरिका हिँड्दा कहिल्यै तिमीलाई खुसी लाग्दैन। यसपालि पनि लागेको थिएन। अमेरिका उड्ने बेलासम्म तिमी सधैं सोचिरहेका हुन्छौ यो मेरो अन्तिम उडान हुनेछ तर हरेकपल्ट यस्तै सोचेर उडेको चारपल्ट भइसकेको थियो। यो पल्ट तिमीले तल्लोबाटोको विमोचनमा मन्तव्य राख्ने क्रममा अब म केही वर्ष उपन्यास लेख्दिनँ भनेर घोषणा गरेका पनि थियौ र त्यो कुरा पत्रपत्रिका र सामाजिक सञ्जालमा निकै चर्चित बनेको थियो। यसैपालि तिमीले त्रिभुवन विश्वविद्यालयको अडिटोरियम हलमा अंग्रेजी विभागका विद्यार्थीको आयोजनामा दुई घन्टासम्म लीलाबोधबारे आफ्ना कुराहरू राख्ने मौका पायौ। यो तिमीले जीवनमा पाएको साह्रै ठूलो उपलब्धि र सम्मान पनि हो।’

अमेरिका फर्किंदा साथमा निकै पूर्वीय दर्शनका पुस्तकहरू बोकेर आएका थियौ। तिम्रो अबको योजना दर्शनमाथि अलिक मोटै किताब लेख्ने हो भनेर सुनाउने पनि गरेका छौ। तर बोकेर ल्याएका किताब आजसम्म पल्टाएर पनि हेरेको देखिँदैन। यो त लेखनले वि श्राम लिँदै जान थालेको लक्षण पनि पो हो नि थाहा छ के !

तर वर्षको अन्त्यतिर एकाएक तिमी साह्रै खुसी भएका छौ। तिमीले वर्षौंदेखि गरेको रहर पूरा भएको छ। २०६२ सालमा छापिएर त्यसै साल मदन पुरस्कारले सम्मानित भएको उपन्यास राधा अमेरिकाको प्रकाशनबाट प्रकाशित भएर विश्वबजारमा पुगेको छ। तिमी जस्तो साधारण नेपाली लेखकका लागि यो गौरवको कुरा हो। ‘अमेजन डट कम’ र ‘बन्स एन्ड नोबल’का माध्यमबाट विश्वबजारमा पुगेको तिम्रो यो उपन्यास नेपाली साहित्यलाई अन्तर्राट्रियकरणको यात्रामा एक महत्वपूर्ण पाइलो हो। अझ तिमी यसकारण पनि खुसी भयौं कि तिमीले दुई वर्षअघि प्रकाशित गरेको उपन्यास ग्रेट फल्सलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले उत्कृष्ट कृति पुरस्कारका रूपमा सम्मान पनि गर्‍र्यो। बधाई छ तिमीलाई यो वर्षान्तको उपलक्ष्यमा।

आफ्नै जीवनको किताबका पानाहरू पल्टाउन थाल्यो भने के के भेटिने रहेछ के के। सोचेको छु — अब फेरि एकपल्ट फुर्सदमा पल्टाएर हेर्नेछु केही छुटेका पानाहरू।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.