बनारसको रङ
यस सहरको उल्लेख स्कन्दन पुराण, रामायण, महाभारत हुँदै ऋगवेदमा समेत उल्लेख छ। यसकारण बनारसको इतिहास कम्तीमा तीन हजार वर्ष माथिको छ।
सयौं वर्षअघि निर्मित बनारस सहरसँग विशिष्ट शास्त्रीय कथाहरू छन्। धार्मिक कथाहरूमा वर्णित यो सहरबारे हिन्दु धर्म मान्नेहरूले यति धैरै पल्ट सुनेका छन् कि कहिल्यै नपुगे पनि सपनामा गंगा तटका घाटहरू देख्छन्। मन्दिरहरू देख्छन्। सपनामै गंगाको पानीमा डुब्छन् र चिसिँदै ब्युँझिन्छन्।
सयौं घाट र मन्दिरबाटबाट निर्मित यो सहर आजसम्म पनि उत्तिनै शास्त्रीय छ। गुरुकुलको परम्परा अझै जीवित छ। गुरु शिष्यबीचको सौन्दर्यले आजै ताजा सास फेरिरहेको छ।
हिन्दुहरूको ठूलो मन्दिर विश्वनाथ बाबाको मन्दिर यहीँ छ। गौद्धम बुद्धले बुद्धत्व प्राप्त गरेपछि पहिलो प्रवचन दिएको ठाउँ सारनाथ पनि यहीँ छ।
यस सहरको उल्लेख स्कन्दन पुराण, रामायण, महाभारत हुँदै ऋगवेदमा समेत उल्लेख छ। यसकारण बनारसको इतिहास कम्तीमा तीन हजार वर्ष माथिको छ।
दार्शनिक एवम् ध्यानी योगी महर्षि अगस्त्य, गौतम बुद्ध, अघोराचार्य बाबा कानीराम, महर्षि वेदव्यास, गोस्वामी तुलसीदासलगायत कयौं सञ्जनले पवित्र बनाएको ठाउँ हो यो। उनीहरूले लिएको पवित्र श्वासको गन्द अझै जीवित छ बनारसमा।
गंगातटमा फैलिएका सयौं घाटहरूमध्ये मुख्य घाट असीघाट पुग्दा लाग्छ ‘पुराणका कथामा वर्णित पात्रको दुनियाँमा पसिरहेको छु। जीवन प्राचिनकालमा फर्किरहेको छ।’
हिन्दुहरू गंगाको पानीलाई सबसे पवित्र मान्छन्। एकपल्ट गंगा स्नान गर्न पाए स्वर्गको द्वार खुल्छ भन्ने विश्वास छ। बिहान ४ बजेदेखि गंगास्नानको लर्काे लाग्छ।
संसारमा एकै मात्र ठाउँ होला जहाँ मृत्युलाई उत्सवको रूपमा मनाइन्छ। बनारसमा मृत्युवरण गर्न पाए सीधै स्वर्गको बास हुन्छ भन्ने विश्वास छ। यही विश्वासले मृत्यु, उत्सवमा परिणत हुन्छ। पूर्ण हिन्दुहरूको सपना हो गंगाधाममा मृत्युवरण गर्नु।
सानदार तवरले पूर्ण हिन्दुहरूले मृत्यु माथि सपना देख्ने धाम हो बनारस।
त्यहाँका बोटम्यानहरू सामान्य मान्छे हैनन्। प्रत्येक बोटम्यान भव्य दार्शनिकजस्ता सुनिन्छन्। महर्षिहरूले आफ्नो उत्ताराधिकारी बोटम्यानलाई बनाएर महासमाधिमा गए जस्तो लाग्छ। जीवनको दृष्टि आम मान्छेभन्दा फरक छ। खुसी आम मान्छेको भन्दा भिन्न छ। दुःखको रङ कलात्मक छ।
बनारस सयौं रङ र रसबाट निर्मित क्लासिकल सहर हो। जसलाई जुन रङ मनपर्छ त्यही रङबाट आनन्द लिन सक्छ। जसलाई जुन रस मनपर्छ त्यही रसबाट मज्जा लिन सक्छ।
हिन्दु धर्ममा आस्ता राख्नेहरू धार्मिक मस्तीको लागि यो सहर पुग्छन्।
गैरहिन्दुहरू र धार्मिक नास्तिकहरू त्यहाँको संगीत, कला, रसरङको मस्तीको लागि पुग्छन्।
असीघाटलगायत अन्यघाटमा आरती साँझ हुन्छ। आरतीकला हेर्न मानिसहरू डुंगा चढ्छन् र गंगाभित्र पस्छन्। सयौं बोटमा चढेका हजारौं मानिसहरू आरतीको संगीत र कलाले मोहित हुन्छन्।
ईश्वर सम्झनेहरूले ईश्वर सम्झेलान्।
ईश्वर छ भन्नेहरूले ईश्वर खोज्लान्।
ईश्वर छैन भन्नेहरूले जीवनको अन्तिम सत्यको बाटो कति कलात्मक छ र कति सानदार छ भनि बुझ्लान् !
साँझ बढ्दै जाँदा चहकिला प्रकाशले गंगाको किनारा उज्यालिँदै जान्छ। जीवनबाट एकाएक कुनै तिलश्मी दुनियाँमा पुगेको भान हुन्छ।
बनारस फोहोरी सहर हो। सिंगो सहरको मलमूत्र सिधैं गंगामा विर्सजन हुन्छ। तर गुनासो छैन। अस्तव्यस्त सडक र भीडभाड यहाँको सौन्दर्य हो।
सडकमा जनावर र मानिसको लागि बराबर अधिकार छ।
साँघुरा गल्लीमा पैदल, यात्रु, सवारीसाधन, छाडा साँढे सबैले एकै हक राख्छन्। कसैले पालो पर्खिंदैनन्। सबैलाई हतार छ। मानौं प्रत्येक जिनिस स्वर्ग जाने हतारोमा। सहरको कुनाकाप्चातिरका झुपडपट्टीमा समेत ईश्वरको बासस्थान छ।
अर्थ लाएहुन्छ ‘ईश्वर पनि औकातअनुसार हाजिर छन्’
नेपालबाट पढ्नको काशी जाने परम्परा पुरानो हो। अझै पनि त्यहाँको गुरुकुल र विश्वविद्यालयमा नेपाली विद्यार्थी टन्नै भेटिन्छन्।
आश्रममा खाको बसेको पैसा लाग्दैन। तर सकेको काम गर्नुपर्छ। पाहुनाले सकेको दान गर्नुपर्छ। काम पनि गर्न सकिँदैन र दान पनि गर्न सकिँदैन भने पनि बाँच्न पाइन्छ। बनारसले अरू सहरले जस्तो भोकभोकै मान्छे मार्दैन।
जीवनका सारा लोभ त्याग्ने हो भने बाँच्ने काइदा बनारसले सिकाउँछ।
बनारस पुगेपछि मान्छे किन फर्कंदैन। बनारसका घाट र गल्लीहरूलाई सोधे थाहा हुन्छ। फरक जीवनको रसरङको लागि बनारस दामी ठाउँ हो।