विवाद र विद्वताका पर्याय
सन् २०१७ को डिसेम्बर ४ तारिखका दिन भारतीय राजनीतिक, कूटनीतिक तथा प्राज्ञिक वृत्तका एकजना चर्चित हस्ती शशि थरुरको मृत्युको अपुष्ट हल्लाले कतिपय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ‘हाई प्रोफाइल’ व्यक्तिको पनि चैन हर्यो। उनको कार्यालयमा समवेदनासहित थुप्रै फोन कल आए। सामाजिक सञ्जालमा ‘उनको असामयिक निधनको खबरले दुःखी बनाएको’ भन्ने भावका समवेदना सन्देशको ओइरो लाग्यो। भारतीय सामाजिक सञ्जाल प्रयोगकर्ताको छटपटी उकासियो, ‘साँच्चै शशि थरुरले संसार छाडेकै हुन् त ? ’ अल्लिबेर सबै तप्का तथा क्षेत्र नाजवाफ भयो।
खासमा, संसार छाड्ने व्यक्ति शशि थरुर थिएनन्, थिए त बलिउडका भेटरान कलाकार शशि कपुर। जो ७९ वर्षको उमेरमा स्वर्गे भएका थिए। तर, ‘कपुर’को मृत्युको खबरसित ‘थरुर’ गाँसिएका थिए। यो कच्चा समाचारको भेरिफाई थरुर आफैंले गर्नुपर्यो। उनले आफू जीवित रहेको सवालमा स्पष्टीकरण दिनुपर्यो। उनले ट्विट गरे, ‘शशि कपुर बिते, म जिउँदै छु।’ यस घटना भारतीय पत्रकारिताको व्यावसायिकता कुन हदसम्मको आलो रहेछ भन्ने पनि पुष्टि गर्छ। भारतजस्तो विश्वव्यापी सामरिक–आर्थिक हैसियतधारी मुलुकका छापा माध्यममा पनि खबर ‘भेरिफाई’ नगरी सम्प्रेषण गर्ने यसखाले अभ्यास साँच्चै टिठलाग्दो हो। यसको मार यसपटक शशि थरुरले खेप्न बाध्य भए।
०००
उनको जन्म सन् १९५६ मा लन्डनमा भएको हो। सन् १९७८ मा २२ वर्षे हुर्कंदो उमेरमै प्रतिष्ठित ‘टफ्स विश्वविद्यालय’बाट कूटनीतिमा विद्यावारिधि गरेका थरुरको खास थातथलो भने भारतको केरला हो। कुनै बलिउड स्टार हाराहारीकै प्रोफाइल छ, उनको। जसको पछाडिको कारक उनको ज्ञानको विश्वव्यापी दायरा हो। उनको ज्ञान कुनै एक विषयमा मात्रै सीमित नभएर यसको फराकिलोपन इष्र्या गर्न लायक छ। उनको राजनीतिक करिअरको थालनी सन् २००९ मा भारतीय कांग्रेसको तर्फबाट केरलाको थिरुभनन्थापुरमबाट चुनाव जितेपछि भएको हो। सन् २०१४ मा पनि उनले त्यही क्षेत्रबाट चुनाव जिते। कोची–आईपीएल टिमसितको उनको संलग्नताका कारण विवादमा आएपछि उनले मन्त्री पदबाट राजीनामा दिए।
सन् २००९ मा विदेश मन्त्रालयको तथा सन् २०१२ देखि २०१४ सम्म भारतीय विदेश मन्त्रालयको राज्यमन्त्री बनेका उनी संयुक्त राष्ट्रसंघीय महासचिव पदको लागि सन् २००६ मा चुनाव लडेका थिए। तर, मनोनीत सात उम्मेदवारमध्ये वान कि मुनले थरुरले भन्दा चार मत बढी ल्याएर उनलाई उछिनेर महासचिव बनेका थिए। ‘फ्लेचर स्कुल अफ ल’ बाट पनि विद्यावारिधि उपाधि हासिल गरेका थरुरले संयुक्त राष्ट्रसंघीय महासचिव पदको चुनाव हारेपछि आफ्नो तत्कालीन पदबाट राजीनामा गरेर दुबईको एक इन्भेस्टमेन्ट कम्पनी ‘अफ्रास भेन्चर’का प्रमुख बने। उनले भारतीय कांग्रेस पार्टीको सदस्यता लिएको सन् २००९ मा हो। त्यही वर्ष नै उनले भारतीय लोकसभाको प्रतिनिधिको लागि केरलाबाट टिकट हात पारेका हुन्।
सन् १९९१ मा ‘वेस्ट बुक अफ दी एयर’ घोषित उनको ‘द ग्रेट इन्डियन नोभल’ महाभारतको धार्मिक कथाको पुनर्वाचन हो। हिन्दु धर्मग्रन्थमा वर्णित पात्र र स्थानलाई भारतीय इतिहास र स्वतन्त्रता प्राप्तिको आन्दोलनसित गाँसेर उनले कथा भनेका छन्। त्यसैगरी, ‘पाक्स् इन्डिका’मा उनको तर्क छ, भारतको शक्ति यसको सैन्य सामथ्र्य वा आर्थिक हैसियत होइन, हो भने केवल भोलि भारतलाई उदाहरणीय रूपमा प्रस्तुत गर्न सक्ने हैसियत निर्माण मात्र। यो कुनै प्राज्ञिक किताब होइन, यसमा कुनै वाद वा सैद्धान्तिक आधार समातेर तर्क प्रस्तुत गरिएको छैन। बरु भारत–पाक सम्बन्धका आयामलाई इतिहासको संघारमा टेकेर तथा इस्लामिक अतिवादको रसी समातेर दमदार व्याख्या भने गरिएको छ।
थरुर लिखित अर्को किताब ‘नेहरूः द इन्भेन्सन अफ इन्डिया’ हो। यसले वर्तमान भारतको आकार र स्वतन्त्रता निर्माणमा नेहरूद्वारा खेलेको भूमिकाको उच्च सम्मान गरिएको छ। यसमा राष्ट्रियताको पुनःआकारीकरण गर्ने सवालमा उठेका विभिन्न आन्दोलनहरूको मर्मसमेत संग्रह गर्ने प्रयास गरिएको छ। भारतको आजको आधुनिक स्वरूपको लोकतन्त्र नेहरूको विरासतको उपज रहेको तर्क थरुरको छ। भारतीय स्वतन्त्रता प्राप्तिमा नेहरूको योगदानमा रंग भर्ने काममा यस किताब कामयाव रहेको तर्क गर्ने समालोचक थुप्रै छन्।
‘इनलोरिअस एम्पाएरः ह्वाट द ब्रिटिस डिड इन इन्डिया’ २०१७ मा प्रकाशित किताब हो। यसमा सन् १७५७ मा इस्ट इन्डिया कम्पनीको आगमनदेखि सन् १९४७ मा ब्रिटिस राजको अन्त्य नहोउञ्जेल सम्मको कथा भनेका छन् उनले। उनको तर्क छ, ‘बेलायतको आजको हेर्नलायक समृद्धि भारतमाथि गरिएको कुरूप विध्वंसमा भएको हो।’ त्यसैगरी, ‘एन एरा अफ डार्कनेस’ (२०१६) मा थरुरले दुई सय वर्ष लामो बेलायती उपनिवेशमा रहेका भारतको तत्कालीन सामाजिक–आर्थिक तथा सांस्कृतिक चित्र उतार्न खोजेका छन्।
सुरुवातकालीन समयमा लेखेका उनका कथाहरू ‘द फाइभ डलर स्माइल’मा संग्रृहीत छन्। तिनले रंगभेद, जातीयता, लैंगिक कट्टरतालगायत सवाललाई उठाएका छन्। खासगरी पहिचान, अवस्थिति तथा विस्थापनजस्ता जल्दाबल्दा विषयलाई उनले आफ्नो लेखनको गुदो बनाएका छन्। उनी ‘वासिङ्टन पोस्ट्’, ‘टाइम्स् अफ इन्डिया’, ‘न्युवर्क टाइम्स’, ‘द हिन्दु’ लगायतमा नियमित विचारोत्तेजक लेख लेख्छन्। तिनले धेरैखाले आयामिक बहसको सिर्जना पनि गर्छन्। उनी एक जबर्जस्त वक्ता र अभियन्ता पनि हुन्। ‘सो बिजिनेस’ उनको दोस्रो उपन्यास हो। बलिउडको एकजना ‘महानायक’ यसको मुख्य पात्र हो। उसैको फिल्मी दुनियाँको चुचुरोमा पुग्ने सपनालाई यस उपन्यासले वर्णन गरेको छ। सरसर्ती हेर्दा यस उपन्यासको महानायक अशोक बञ्जरा र भारतीय ‘सुपरस्टार’ अमिताभ बच्चनबीच धेरै समानता देखिन्छ।
०००
दक्षिण एसियाको भूराजनीति, क्षेत्रीय राजनीति, शक्ति सन्तुलनलगायतमा दक्खल राख्ने थरुरकी पहिली पत्नी तिलोत्तमा मुखर्जी हुन्। उनीसत सम्बन्धविच्छेद पछि एकजना क्यानेडेली महिला भिस्र्ता गिल्ससित सम्बन्ध गाँस्न पुगे। तर, उनीसितको सम्बन्ध पनि दिगो हुन नसकेपछि सन् २०१० मा तेस्री पत्नीको रूपमा सुनन्दा पुष्कर उनको जीवनमा आइन्। सन् २०१४ मा उनी होटेलको कोठामा मृत भेटिइन्। यसको आरोप थरुरको थाप्लामा खनियो। यही प्रकरणमा प्रहरीको अनुसन्धान जारी छ। पछिल्लो समय, ‘रिपब्लिक टीभी’सँग आबद्ध एकजना टीभी जर्नालिस्ट आर्नव गोस्वामी उनको बौद्धिक धरालतमा छेद पार्न सकिन्छ भन्ने ध्ययेका साथ उनको खेदो खनिरहेका छन्। तर, थरुर अडिग छन्।
दर्जनभन्दा बढी चर्चित किताबका स्वामित्वकर्ता थरुर बेलाबेला विवादमा तानिइरहन्छन्। त्यसो त उनी विवादको घेरोमा बस्छन् भने पनि हुन्छ। सन् २००९ मा महाराष्ट्रका पूर्वगभर्नर एसएम कृष्णसँगै एक पाँचतारे होटेलमा बसेको सवालमा विवादमा तानिए। त्यही सालको गान्धी जयन्तीको दिन ‘बिदा लिएर मान्छेले काम गर्नुपर्ने र त्यो नै गान्धीप्रतिको असली श्रद्धा हुने’ टिप्पणी गरेपछि उनी फेरि विवादमा मुछिए। सन् २०१० मा तत्कालीन भारतीय प्रधानमन्त्री मनमोहन सिंहसँग तीनदिने साउदी अरेबिया भ्रमणमा गएको बेला ‘साउदी अरेबिया पाकिस्तानको सबैभन्दा नजिकको मित्र भएको र उसले भारतको लागि ‘इन्टरलोकुटर’को काम गर्ने’ आसयको उनको टिप्पणी पनि विवादमा पर्यो। सन् २०१४ मा ‘स्वच्छ भारत अभियान’को समर्थन गरेपछि कांग्रेसभित्रका आफ्नैबाट पनि ‘थरुरले मोदीको समर्थन गरेको’ भन्ने आरोप झेल्न बाध्य भए।
हुन त, उनको व्यक्तिगत जीवनसित गाँसिएका मसिना घटनाले पनि सार्वजनिक सञ्चार माध्यममा प्राथमिकता पाउने वा भारतीय तथा विदेशी छापाले तिनको सम्प्रेषण गर्ने भएकोले उनी धेरैजसो चर्चामा रहने गरेका होलान्। हालै, ‘इन्टरनेसनल फिल्म फेस्टिभल अफ केरला’मा उनले विवादको चुचुरोमा रहेको पछिल्लो भारतीय चलचित्र ‘पद्मावती’का बारेमा टिप्पणी गरे। उक्त फिल्मको नाममा गरिएको विवादको कुनै तुक नभएको उनको तर्क थियो। उनले १४औं शताब्दीकी राजपुत महारानीको जीवनी वरिपरि केन्द्रित सञ्जयलीला भन्सालीको फिल्म ‘राजस्थानी महिलाको सामाजिक–शैक्षिक अवस्थाका बारेमा बहस गर्ने उत्तम अवसर’ रहेको जिकिर गरे।
पछिल्लो ‘पद्मावती बहसमा’ मिसिएर थरुरले १४औं शताब्दीतिर मात्रै होइन आज पनि राजस्थानी महिलाको साक्षरता दरमा कुनै तात्विक बदवाल नआएको उनको टिप्पणी गरेका छन्। खासगरी, बहस ‘महाराजा’को चरित्रनिर्माणमा बढी केन्द्रित देखिन्छ। भारतीय जनता पार्टीकी नेतृ तथा युनियन मन्त्री स्मृति इरानी समेतले थरुरको उक्त ‘महाराजा टिप्पणी’मा कटाक्ष गर्न भ्याएकी छन्। यसैबीच हालै मिस वल्र्डको ताज पहिरिन सफल मानुषी चिल्लरको बारेमा उनले गरेको टिप्पणीसमेत विवादित बनेपछि उनलाई त्यहाँको महिला आयोगले स्पष्टीकरण लिने निधो गरेको थियो। उनका कतिपय टिप्पणीकै कारण भारतीय कांग्रेस पार्टीभित्रै पनि उनको खरो आलोचना हुने गरेको छ।
०००
समकालीन भारतीय– अंग्रेजी लेखकमा उनी हक्की सुनिन्छन्। लेखेकै वा बोलेकै कारण पटकपटक विवादको घेरामा तानिनुको पाश्र्व कारण पनि त्यही नै होला। तर, जे भए पनि उनी आम भारतीय मात्रै होइन, भारत बाहिर पनि उच्च सम्मानित स्थानमा रहेका एकजना प्रतिष्ठित लेखक हुन्, जसको राजनीतिक चेतलाई विद्वताले निर्देश गरेको छ। भारतीय कांग्रेस पार्टीका तर्फबाट हाल लोकसभाका लागि सांसद रहेका शशि थरुर संयुक्त राष्ट्रसंघमा २९ वर्ष कामको अनुभव सँगाल्ने एकजना कुशल कूटनीतिज्ञ हुन्।
एकजना जबर्जस्त स्तम्भकार र मानवअधिकारवादी अभियन्ताका रूपमा पनि उनको परिचय भारतभित्र र बाहिर सर्वत्र स्थापित छ। कतिपय समालोचक त थरुरलाई विवाद र विद्वताका पयार्यका रूपमा समेत अर्थाउने गरेका छन्। हुन पनि हो, उनको व्यक्तित्वमा जति प्राज्ञिक रोगन छ, त्यही अनुपातमा उनको छवि विवादित पनि छ। यी विवादलाई केहीबेर पन्छाउने हो भने शशि थरुर समकालीन राजनीतिक–प्राज्ञिक खेमाका एकजना जब्बर हस्ती हुन्, जसले आजको आफ्नो मजबुत स्थान विद्वताकै बलमा निर्माण गरेका छन्।
(एजेन्सीको सहयोगमा)