जीवनभर किन दूधसँग लडे गान्धी ?

जीवनभर किन दूधसँग लडे गान्धी ?

‘म दूधजन्य पदार्थ खान्नँ। त्यसो गर्दा मर्छु भने पनि मलाई स्वीकार्य छ।’

जसरी मासु मान्छेको खाना होइन, दूध पनि मान्छेका लागि उपभोग्य चीज हुन सक्दैन। दूध छाड्ने दृढ संकल्पका साथ म बिहान उठेँ। त्यस संकल्पले मलाई चरम आनन्दको अनुभूति भयो।

‘आज बाँचिरहेका भए महात्मा गान्धी दूध खान्थे ? ’ गान्धीको आत्मकथा पढिसकेपछि यसको उत्तर प्रस्ट हुन्छ— अवश्य खाँदैनथे। गुजरातको तटवर्ती क्षेत्रको हिन्दू–व्यापारी परिवारमा जन्मेका गान्धीले भारतलाई स्वतन्त्र बनाउने आन्दोलनको नेतृत्व गरे। विश्वभरि अहिंसा आन्दोलन, नागरिक अधिकार र स्वतन्त्रता आन्दोलनलाई उनले प्रेरणा दिए। कतिलाई यो पनि थाहा छ, गान्धीले धेरै प्रकारका भोजनजन्य प्रयोग गरेका थिए। उनी गाई, भैंसीलाई भारत र यस क्षेत्रमा गरिने यातनापूर्ण व्यवहारका कारण अत्यन्तै दुःखी थिए। जनावरका उत्पादनबिनै जीवन जिउनेबारे गान्धी कति प्रतिबद्ध थिए भन्ने विषयचाहिँ थोरैलाई मात्र थाहा होला।

गाईभैंसीलाई गोठ र फार्ममा गरिएका व्यवहारबारे उनी कति दुःखी थिए भन्ने कुरो त्यस्ता व्यवहारका बारेमा गान्धीको आत्मकथामा रहेका अप्रसन्नतायुक्त अभिव्यक्तिहरूको थुप्रोले प्रस्टिन्छ। मान्छेले आफू बच्चा छँदा उस÷उनको आमाले दिएको दूधबाहेक अरू कसैको दूध खानु पर्दैन भन्नेबारे उनको दह्रो अडान पनि उक्त किताबमा भेटिन्छ। वास्तवमा गान्धीले आफ्ना साथी हर्मन कालेनबाकसहित सन् १९१२ मा दक्षिण अफ्रिकाको तोल्स्तोए फार्ममा जनावरको दूध छोड्ने प्रतिज्ञा गरेका थिए।

वनस्पतिजन्य भोजन मात्रै गर्ने प्रण गान्धीले यस्तो बेला गरे, जति बेला संसारमा अपेक्षाकृत अत्यन्तै थोरै वनस्पतिजन्य मात्र खाना खाने (अचेल यस्तो जीवन अपनाउनेलाई ‘भिगन’ भनिन्छ) मान्छे थिए। वनस्पतिजन्य भोजन अपनाउँदा स्वास्थ्यमा कस्तो प्रभाव हुन्छ भन्नेबारे त्यतिखेर कमै मात्र विश्वासिलो जानकारी बाहिर आएको थियो। आज हामीसँग लामो अध्ययनको परिणामपश्चात् अरू खालको भोजनजस्तै वनस्पतिजन्य भोजनले लामो र स्वस्थ जीवन बाँच्न सम्भव हुने तथ्य प्रमाणित छ।

(स्मरण : अरू भोजन गर्नेका हकमा पनि भिटामिन बी १२ को समस्या देखिए पनि वनस्पतिजन्य भोजन गर्नेले पर्याप्त र नियमित रूपमा भिटामिन बी १२ लिनु उचित हुन्छ।) अहिले त भिगन समाजजस्ता विश्वव्यापी संस्था छन् र त्यसले वनस्पतिजन्य भोजन गर्नेका लागि अद्यावधिक गरिएका, विश्वसनीय र पोषणसम्बन्धी मार्गनिर्देशन गर्ने गर्छ। दुःखको कुरो, गान्धीको समयमा यो सबै थिएन। र, त्यतिखेर ‘भिटामिन बी १२’को पोषणलाई बेग्लै रूपमा आविष्कार गरिएको पनि थिएन।

जीवनको पछिल्लो कालखण्डमा गान्धी गम्भीर बिरामी भए। पहिला त उनले दूध, मासु, मासुजन्य सुरुवा अथवा अन्डा खानैपर्ने डाक्टरको सुझावलाई जोडदार रूपमा अस्वीकार गरे। तर, बिमारीको पछिल्लो अवस्थातिर उनकी पत्नी कस्तुरबाईले गान्धीलाई ‘गान्धीको दूध उपभोग गर्ने प्रतिज्ञाले केवल गाई र भैंसीको दूध नखाने विषय समेट्ने’ र बाख्राको दूध खाँदा सो प्रतिज्ञा भंग नहुने भन्दै गान्धीलाई सम्झाइन्। गान्धीलाई थाहा थियो, बाख्राको दूध खाँदा पनि उनको प्रतिज्ञाको त्याग नै हुन्थ्यो, तर उनको बाँच्ने इच्छा प्रबल थियो। उनले बाख्राको दूध खाने निर्णय गरे तर यो निर्णयबाट उनी पश्चात्तापले भरिए। र, कसरी बाख्राको दूधसमेत नखाने होला भनेर नियमित रूपमा सोच्न थाले।

हामीले आज पाएजस्तै चिकित्सकीय, पोषणजन्य जानकारी र खान्की गान्धीले पाउँथे भने धेरै हदसम्म यो भन्न सकिन्छ कि उनको प्रतिज्ञालाई अक्षर र मर्म नमर्ने गरी जनावरको उत्पादनको उपभोग नगरीकनै उनको स्वास्थ्योपचार गर्न सम्भव हुन्थ्यो। उनको आत्मकथा पढिसेकपछि उनी आज बाँचिरहेका भए उनले कडा भिगन भोजन लिने थिए। भिगन जीवनसम्बन्धी विश्वसनीय र सहयोगी जानकारी ‘प्रोफेसनल’, अहिंसात्मक र अविवादित तरिकाले प्रकाशित गर्ने भिजन समाजजस्ता संस्थाहरूको गान्धी कडा समर्थक हुने थिए भन्नेबारे मेरो मनमा अति थोरै शंका छ।

आत्मकथामा दूधबारे गान्धीका भनाइ

गान्धीको अहिंसा र उनले दूध खान किन अन्कनाए भन्नेबारे चासो राख्नेलाई थप सहयोगी होस् भनेर गान्धीको आत्मकथामा भएका उनका भनाइहरू तालिका र सम्बन्धित पाठको शीर्षकसहित यहाँ पेस गरिएको छ। इन्टरनेटका कतिपय लिंकमा गएर गान्धीको आत्मकथा निःशुल्क पढ्न पनि सकिन्छ।

भाग ४ : चेतावनी

‘यो मेरो दृढ विश्वास हो, मान्छेले बच्चैमा आफूले आमाबाट प्राप्त गर्ने दूधबाहेक कुनै पनि हालतमा अन्य जनावरको दूध खानु पर्दैन।’

‘मैले दूधको कुनै विकल्प थाहा पाउन आफूले चिनेका डाक्टर, वैद्य र वैज्ञानिकसँग सल्लाह मागेँ। कतिले मुङको पानी, मोह्राको तेल (एक प्रकारको वनस्पतिको तेल) र अल्मोन्ड (देसी बदाम)बाट निर्मित दूध खान मलाई सल्लाह दिए।’

‘यो जीवनपद्धति (दूध, दही, घिउ, माछामासु र अन्डाबिनाको खाद्य)को अनुभव भएको कोही व्यक्तिले यो पाठ पढिरहनुभएको छ र पढेर मात्र होइन, अनुभवमार्फत नै उहाँलाई दूधजत्तिकै पोषणयुक्त र पाच्य अन्य कुनै वनस्पतिजन्य विकल्पका बारे थाहा छ भने मलाई भनिदिएमा म उहाँप्रति अनुगृहित हुने थिएँ।’

भाग ४ : आत्मसंयमतर्फ

‘त्यतिखेरसम्म मैले ब्रह्मचर्य पालनको प्रण नगरेका हुनाले दूध त्याग्ने विषयमा धारणा बनाउन सकिनँ।’

‘मैले लामो समयदेखि शरीर सञ्चालनका लागि दूध आवश्यक छैन भन्ने महसुस गरेको थिएँ तर दूध त्याग्न सहज थिएन।’

‘आत्मसंयमताका लागि दूध त्याग्नुपर्ने अनिवार्यता ममा बढ्दै गर्दा मैले कलकत्ताबाट कुनै पत्रिका÷किताबमार्फत त्यहाँका गाईभैंसीपालकले दूध बढाउनकै लागि ती जनावरमाथि गर्ने यातनाबारे थाहा पाएँ।’

‘कालेनबाखले भने, ‘हामी नियमितजसो दूधका गलत पक्ष र खराबीबारे कुरा गर्छौं, तर त्यसो भए दूध खान किन छाड्दैनौं ?  दूध वास्तवमै मान्छेका लागि आवश्यक छैन।’ त्यस भनाइसँग म सहमत हुँदै गर्दा आश्चर्यचकित पनि भएँ र मैले दिलैदेखि त्यो कदमलाई स्वागत गरेँ। हामी दुवैले त्यहीँ र त्यसै बेलादेखि दूध त्याग्ने प्रतिज्ञा गर्‍यौं।’

(यो पाठको अन्तिम अनुच्छेद गान्धी र कालेनबाख दुवैले सन् १९१२ मा दक्षिण अफ्रिकाको तोल्स्तोय फार्ममा हुँदा दूध नखाने प्रतिज्ञा गर्दाताकको हो।)

भाग ४ : गोखलेको परोपकार

यस पाठमा भएका भनाइहरू त्यस समयका हुन् जति बेला गान्धी कलेजोको रोगले ग्रस्त थिए। यो रोगमा लामो श्वास लिँदा र खोक्दा धेरै छट्पटी र दुःखाइ हुन्छ।

‘डा. जीवराज मेहताले मेरो उपचार गरे। उनले मलाई दूध र अनाज खान धेरै नै दबाब दिए तर म धेरै नै हठी भएँ। मानिनँ।’

‘दूध छाड्ने विषयमा धार्मिक विचारहरू प्रबल रूपमा हावी भए। मेराअगाडि कलकत्ताका कृषकले आफ्ना गाई र भैंसीको अन्तिम थोपा दूधसमेत लिनका लागि अपनाएको दानवीय प्रक्रियाको एक चित्र थियो। त्यस गलत तरिकालाई ‘फुका’ भनिन्थ्यो। त्यसपछि मलाई यो पनि लाग्यो कि जसरी मासु मान्छेको खाना होइन, दूध पनि मान्छेको लागि उपभोग्य चीज हुन सक्दैन। दूध छाड्ने दृढ संकल्पका साथ म बिहान उठेँ। त्यस संकल्पले मलाई धेरै आनन्द महसुस भयो।’

‘एकबाहेक अरू सबै कुरामा दबाब दिन म विनम्रतापूर्वक आग्रह गर्छु। म दूध खान्नँ, दूधजन्य कुनै पनि पदार्थ खान्नँ। यी कुरा नखाँदा म मर्छु भने मलाई लाग्छ, मैले त्यो स्वीकार्नुपर्छ।’

भाग ५ : मृत्युको ढोकानजिकै

यो समयमा गान्धी धेरै नै बिरामी भएका थिए...

‘डाक्टर कनुगा आए र मलाई औषधि खान आग्रह गरे। मैले मानिनँ। उनले त्यसको सट्टा सुई लगाउने प्रस्ताव गरे। त्यसलाई पनि मैले अस्वीकार गरेँ। इन्जेक्सनका बारेमा त्यतिखेर मेरो अज्ञानता धेरै हाँसउठ्दो थियो। त्यतिखेर मलाई कुनै जनावरको प्रोटिनको झोल नै इन्जेक्सन हो कि भन्ने लाग्थ्यो। तर, पछि मैले थाहा पाएँ कि डाक्टरले उतिखेर लगाउन खोजेको सुई वनस्पतिबाट निर्मित तत्व थियो। प्रयोग गर्नकै लागि मिल्ने गरी त्यो जानकारी धेरै ढिलो गरी प्राप्त भयो।’

‘दुई या तीन व्यक्तिले दूधको विकल्पमा मासुको सुरुवा (झोल) हुनसक्छ भन्दै आयुर्वेदका अधिकारीहरूको सुझाव पनि यही हो भनेर आफ्नो सुझाव दिए। तीमध्ये एकले दृढ रूपमा अन्डा खान सुझायो। ती सबैका लागि मेरो एउटै उत्तर थियो— हुँदैन।’

‘मेरा लागि खान्कीको प्रश्न शास्त्रले निर्धारण गर्दैनथ्यो। कुनै बाहिरिया प्राधिकारमा आश्रित नरहेको मेरो जीवनसँग अन्तर्घुलित विषय थियो त्यो। ममा शास्त्रमा आधारित भई जिउने कुनै रहर थिएन। म कसरी निजी हितका लागि मात्र त्यो आचरण त्याग्न सक्थेँ जब कि मैले त्यो आचरण मेरी श्रीमती, बालबच्चा र साथीहरूका लागि समेत बाध्यकारी बनाएको थिएँ ? ’

‘यो अवधि लम्बियो र मेरो जीवनको पहिलो लामो बिमारीले मलाई मेरो सिद्धान्त तथा आचरण र त्यसलाई जाँच्ने अद्भुत अवसर प्रदान गर्‍यो। अनि एक रात म निराशासँग हारेँ। आपूm मृत्युको ढोकामा छु भन्ने लाग्यो।’

‘कुनै डाक्टरले मेरो खान्कीमा सुधार गर्न सुझाव दियो। उसले भन्यो, ‘तपाईंले काँचो अन्डा खानुभयो भने तपाईंमा तागत बढ्छ र छिटै पहिलाझैं बलियो हुनुहुन्छ भन्ने म ठोकुवा गर्छु। दूध र अन्डा उत्तिकै कम घातक छन्। दूध र अन्डालाई मासुजस्तै नठान्नुहोस्। र, तपार्इंलाई थाहा छ कि छैन कुन्नि, सबै अन्डाभित्र भ्रूण (फर्टिलाइज्ड) हुँदैनन्। ‘जीवन नभएका’ अन्डा पनि बजारमा पाइन्छन्।’ यद्यपि म भ्रूणविहीन अन्डा खान पनि तयार थिइनँ। तर, अन्डामा गरिएको त्यो सुधार मेरा लागि आममान्छेको क्रियाकलापमा चासो दिन पर्याप्त थियो।’

भाग ५ : रोलात विधेयक र मेरा दुविधा

‘डा. दलालले भने, ‘तपाईंले दूध खानुभएन भने म तपाईंको शरीर पहिलाको जस्तै बनाइदिन सक्दिनँ। त्यसका साथै तपाईंले आइरन र आर्सेनिक इन्जेक्सन पनि लिनुपर्नेछ। त्यसो भएमा मात्रै म तपाईंको शरीर पूर्ण स्वस्थ हुन्छ भन्ने ग्यारेन्टी गर्छु।’ ‘मलाई सुई लगाउन सक्नुहुन्छ’, मैले भनेँ, ‘तर दूध बेग्लै विषय हो : मैले दूध नखाने प्रतिज्ञा गरेको छु।’ ‘तपाईंको यो प्रतिज्ञा ठ्याक्कै कस्तो हो ? ’, डाक्टरले जान्न चाहे।

‘मैले मेरो प्रतिज्ञा र यससम्बन्धी सबै कुराबारे उनलाई बताएँ। गाई र भैंसीको योनीमा पाइप हालेर वा सीधै मुखले फुकेर दूध बढाउने एउटा घिनलाग्दो प्रक्रिया (फुका)का बारेमा थाहा पाएपछि मलाई दूधप्रति नै घृणा जाग्यो। त्यसका साथै म सधैं दूध मान्छेको प्राकृतिक भोजन नभएको मत राख्थेँ। त्यसकारण मैले दूध र दूधबाट निर्मित कुनै पनि चीज खान छाडेको थिएँ।’

कस्तुरबाई (गान्धीपत्नी) मेरो ओछ्याननजिकै उभिएर हाम्रो कुराकानी सुनिरहेकी थिइन्। ‘त्यसो भए तपाईं बाख्राको दूधमा त कुनै आपत्ति जनाउनुहुन्न होला नि ? ’, उनले आफ्नो मत राखिन्। डाक्टरले थोरै तनाव मोलेर भने, ‘तपाईं बाख्राको दूध मात्रै खानुहुन्छ भने पनि म मान्छु।’ मैले हार मानेँ। सत्याग्रहको आन्दोलन अघि बढाउने मेरो उत्कट चाहनाका कारण ममा बाँच्ने दृढ इच्छा बढेको थियो। त्यसो हुँदा मैले मेरो प्रतिज्ञाको मात्र अक्षरशः पालना गरेँ, त्यसको मूल मर्मलाई भने त्याग्न बाध्य भएँ।’

‘मैले प्रतिज्ञा गर्दा मेरो दिमागमा गाई र भैंसीको दूधको मात्रै सोच भए पनि प्रतिज्ञाको निहितार्थले प्राकृतिक रूपमा सबै जनावरको दूध समेट्थ्यो। मैले सधैंभरि दूध मान्छेको भोजन होइन भनेपछि सम्पूर्ण रूपमा मैले दूध प्रयोग गर्नु अनुचित हुन्थ्यो। तर सबै जान्दाजान्दै पनि मैले बाख्राको दूध खान मानेँ।’

‘सत्यप्रतिको निष्ठाभन्दा बाँच्ने इच्छा नै बलियो ठहरियो र एकपटक सत्यको पक्षधरले सत्याग्रहको आन्दोलन अघि बढाउने इच्छाका कारण आफ्नो पवित्र आदर्शसँग सम्झौता गर्‍यो। त्यस कदमको घाउले अहिले पनि मेरो हृदयमा पीडा र पश्चात्ताप हुन्छ। र, म बारम्बार दूध कसरी छाड्ने भन्नेबारे सोचिरहन्छु।’

‘तर म अझै पनि आफूलाई त्यो कर्तव्य पूरा गर्ने सूक्ष्म लोभबाट आफूलाई मुक्त गर्न सक्दिनँ। त्यसले मलाई अझै अल्झाइरहेको छ। अहिंसाको मेरो अध्ययनको अंगका रूपमा भोजनसँगको मेरा प्रयोगहरू मलाई प्रिय छन्। त्यस्ता प्रयोगले मलाई मनोरञ्जन र आनन्द दिन्छन्। तर, बाख्राको दूधको विषयले मलाई भोजनजन्य अहिंसाको कोणबाट उति तनाव दिएको होइन, जति सत्यको कोणबाट। र, यो प्रतिज्ञा भंग गरेजत्तिकै हो। मलाई यस्तो लाग्छ कि म अहिंसाभन्दा पनि सत्यको आदर्शलाई बुझ्छु। र, मेरो अनुभवले मलाई बताउँछ— सत्यप्रतिको मेरो पकड छाडेँ भने मैले कहिल्यै पनि अहिंसाको पहेली सुल्झाउन सक्नेछैन। गरिएको प्रतिज्ञाको मर्म र अक्षर दुवै पालना गर्नुपर्ने कुरा सत्यको आदर्शले माग गर्छ। र, यो विषयको सन्दर्भमा यसको बाहिरी रूपमात्रै अँगालेर मैले मेरो प्रतिज्ञाको मर्म–आत्मालाई मारेँ। र, त्यस विषयले मलाई लज्जित बनाउँछ। यसरी प्रस्ट बुझ्दाबुझ्दै पनि म मेरो बाटो सीधा देखिरहेको छैन।

- जैनभिगन्स डट ओआरजीबाट प्रकाश आस्थाको अनुवाद


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.