गुमनाम नायकको कथा
विप्लव प्रतीकको ‘अविजित’ यही नामको पात्रको जीवनीपरक आख्यान हो। कथाको प्रारम्भ अविजित लगभग नौदस वर्षको हुँदा सुरु हुन्छ र छयालीस साल चैत २४ गतेको दरबारमार्गको नरसंहारमा गोली लागेर गुमनाम मृत्यु भएपछि समाप्त हुन्छ। अविजित राजनीतिक रूपले सचेत व्यक्ति हो। उसको लगाव कम्युनिस्ट पार्टीसँग छ। लगभग अन्ठाउन्न वर्षको उमेरसम्ममा उसले नेपालको मुख्यमुख्य राजनीतिक घटनालाई नजिकबाट हेर्न पाएको छ।
सन्तान्नब्बे सालमा सिफलको रूखमा झुन्ड्याइएका धर्मभक्त माथेमालाई उसले देखेको थियो। सात सालको क्रान्तिमा वीरगन्जमा उसको सानो सहभागिता रह्यो। कम्युनिस्ट विचारबाट प्रभावित भएर राजनीतिमा लागेको अविजित जीवनपर्यन्त यो विचारबाट च्यूत भएन। समताभावले प्रेरित भएर उसले आफ्नो थर पनि ‘सर्वहारा’ राखेको थियो।
अविजितका पिता भीमप्रसाद राणाको दरबारमा भान्छे थिए। यिनको देहावसान भएको केही महिनामै यिनकी पत्नी अर्थात् अविजितकी आमा छिमेकी वीरमणिसँग बेपत्ता भइन्। त्यसपछि अविजितको दुःख र संघर्षका दिन सुरु भए। भिनाजु कुलभक्तसँग केही वर्ष तराईमा बसेर सात सालतिर काठमाडौं फर्केपछि भने उसको वास्तविक जीवन सुरु हुन्छ। आर्थिक संकट परिरहन्छ। गृहस्थी चलाउन गरेका दुवैै विवाह सफल हुन सक्दैनन्। कम्युनिस्ट पार्टीका महासचिवले पनि धोखा दिन्छन्। तर, साथीहरूबाट भने उसले सहयोग पाइरहेको हुन्छ।
पात्रविधान
उपन्यासको केन्द्र अविजित नै हो। अविजितका बुवा भीमप्रसाद र आमा पार्वतीको भूमिका गौण छ। बुवा, आमाको अविभावकत्व छुटेपछि उसको जीवनमा भिनाजु कुलभक्त आइपुग्छन्। कुलभक्त तराईतिर बडाहाकिम थिए। भिनाजुकहाँबाट भागेर फर्कने क्रममा वीरगन्जमा मदनसँग भेट हुन्छ। मदनबाटै उसलाई कम्युनिस्ट राजनीतिको दीक्षा पनि मिल्छ। राणा सरकारले गरेको मदनको हत्याले उसलाई गहिरो प्रभाव परेको हुन्छ। काठमाडौं फर्किएपछि कम्युनिस्ट पार्टीसँग आबद्ध हुने क्रममा स्वनाम, पार्टी महासचिव आदिसँग सम्पर्क हुन्छ। तीमध्ये स्वनाम प्रतिबद्ध कम्युनिस्ट हुन्। पार्टी महासचिव दरबारपरस्त भएपछि पनि अविजित महासचिवको विश्वास गरिरहन्छ।
कथामा महत्वपूर्ण भूमिका अविजितका मित्रमण्डलीको छ। यिनमा विजयलाल, भुवन, बलराम र मघैया पर्छन्। बीचमा श्रीमतीको रूपमा सरिता र जानुका थपिन्छन्। पछिल्लो समय भान्जा धिरू उसको सम्पर्कमा आइपुग्छ। अविजित सरल भईकन पनि पारिवारिक मामलामा भने सफल हुँदैन। सरिताले दोस्रो बिहे गर्छिन् भने जानुका धिरूसँग आकर्षित हुन्छिन्। यीबाहेक अविजितले काम गरेका विभिन्न ठाउँमा सीमित भूमिकाका केही पात्र छन्, जो पछि कहिल्यै भेटिँदैनन्।
कथावस्तु
अविजित नेपालको राजनीतिक इतिहासका घटनाहरूलाई भोग्दै हुर्किन्छ। तर, ती घटनाको मूल्यांकन गर्नु उपन्यासको लक्ष्य होइन। ती घटना अविजितको दिनचर्यासँग जोडिन आइपुग्दा उल्लेख भएका मात्र हुन्। सन्तान्नब्बे सालको काण्डले काठमाडौंमा राणा सरकारले पैदा गर्न खोजेको त्रासको चित्र छ। तर, अविजित यो घटनासँग तत्कालमा अछुतो नै छ। सात सालको घटनामा ऊ वीरगन्जको लडाइँमा थोरै संलग्न भयो। तर, पक्राउ परेपछि त्यो संलग्नतामा पनि विराम लाग्यो। काठमाडौं आइपुगेपछि ऊ आफूलाई शिक्षित बनाउने काममा बढी सक्रिय रह्यो। सत्र सालको काण्डलाई उल्लेख गरे पनि त्यसको बारेमा खासै चर्चा छैन। सात सालदेखि सत्र सालसम्मको १० वर्ष उपलब्धिहीन भएकोमा अविजितलाई चिन्ता छ। अट्ठाइस सालतिर कम्युनिस्ट पार्टीले गरेको व्यक्ति हत्याको राजनीतिप्रति उसको निरपेक्ष दृष्टिकोण छ। बयालीस सालको बमकाण्डलाई उसले सुन्छ, तर एउटा पत्रकारका रूपमा उसलाई त्यो एउटा ब्रेकिङ न्युज मात्र बन्छ। खासमा राजनीतिक घटनाहरूको उल्लेख राजनीतिक प्रयोजन भन्दा पनि राजनीतिक रूपले निष्क्रिय तर एउटा सचेत व्यक्तिले कसरी लिएको छ भन्ने तस्बिर उतार्ने उद्देश्यले गरिएका लाग्छन्।
काठमाडौंका महत्वपूर्ण घटनामा हिप्पीहरूको आगमन र झोंछेको मुक्त जीवनशैलीलाई किताबमा मिहिन रूपले चर्चा गरिएको छ। काठमाडौंमा पहिलोपटक खुलेको डिस्को थेक कपर फ्लोरको प्रसंग र बीपी कोइरालाको शवयात्राको वर्णन एउटा दर्शकको आँखाबाट गरिएको छ।
उपन्यासले नेपाल कम्युनिस्ट पार्टीको विभाजनको घटनाको पृष्ठभूमिलाई अलि बिस्तार रूपले प्रस्तुत गरेको छ। विशेषगरी पार्टीका तत्कालीन महासचिवले गरेको पञ्चायतको समर्थन रमाइलो र व्यंग्यात्मक शैलीमा गरिएको छ। सोभियत संघको समर्थन गरेर र दरबारसँग नजिक रहेर सम्भ्रान्त जीवन जिउने महासचिवको चरित्रको पर्दाफास भएको छ। यी महासचिव आफ्नो समर्थक रहेका अविजितजस्ता इमानदार कार्यकर्तालाई आफ्नो दासका रूपमा मान्छन् र स्वतन्त्र निर्णय गर्नबाट पनि वञ्चित गर्न खोज्छन्। नेपालको कम्युनिस्ट आन्दोलन यिनै महासचिवको कारण दुर्घटित भएकोतर्फ उपन्यासले संकेत गरेको आभास मिल्छ।
उपन्यासले प्रस्तुत गरेको अर्को महत्वपूर्ण पाटो हो, काठमाडौंको जनजीवन र खास गरेर यहाँको नेवार संस्कृति। काठमाडौंमा भएका महत्वपूर्ण घटनामा हिप्पीहरूको आगमन र झोंछेको मुक्त जीवनशैलीलाई मिहिन रूपले चर्चा गरिएको छ। काठमाडौंमा पहिलोपटक खुलेको डिस्को थेक कपर फ्लोरको प्रसंग र बीपी कोइरालाको शवयात्राको वर्णन एउटा दर्शकको आँखाबाट गरिएको छ।
नेवार समुदायमा यसको खाना संस्कृति महत्वपूर्ण अंग हो। अविजितलगायत उसका साथीहरू रक्सी, छोइला, कचिलाजस्ता मासुका परिकारका पारखी छन्। उनीहरूको भेटघाट जहिल्यै रक्सी र मासुका परिकारको ग्रहणले उल्लासमय हुने गर्छ। पाककलाका प्रसंगहरूले कथालाई थप जीवन्तता प्रदान गरेको छ। खास गरेर अविजित पकाउने कलामा पनि पोख्त छ।
काठमाडौंको भूगोललाई उपन्यासमा प्रभावकारी चित्रण गरिएको छ। झन्डै असी वर्षअघिको काठमाडौंको बस्ती, बाटो, खोलानाला, घर आदिलाई दुरुस्त उतार्न खोजिएको छ। सहरको क्रमशः विकास हुँदै गर्दाका परिवर्तनहरूलाई पनि समयअनुसार उतारिएको छ। ती समयमा मान्छेका जीवनशैली, बजार, आर्थिक कारोबार आदिको पनि यथोचित वर्णन छ। हिप्पीहरूले काठमाडौंमा बाँचेको स्वतन्त्र जीवन र तिनको चर्तिकलालाई नजिकबाट अवलोकन गरिएको छ।
विश्लेषण
उपन्यासको मुख्य विषय एउटा व्यक्तिको जीवनको रेखीय प्रस्तुति हो। विभिन्न पात्रहरू आउँछन्, जान्छन्। नायक छुटेका पात्रको खोजीमा लाग्दैन। आक्कलझुक्कल स्मरणमा मात्र आउँछन् ती। जीवनको मूल्यांकन गर्ने क्रममा ती पात्रलाई सम्झनेबाहेक नायकले तिनीहरूलाई महत्व दिएको पनि देखिँदैन। जीवनको उत्तराद्र्धमा अविजितमा जीवन र जगत्प्रति निर्लिप्त भाव पैदा हुन थालेको देखिन्छ। तर, यो कुनै ज्ञानोदय भने होइन। पत्नीलाई भगाउने तेजवीरसँग पनि उसको कुनै वैरभाव छैन। उसलाई आमाको नियास्रो लाग्दैन र आफूसँग खेलेको छोरालाई पनि ऊ खासै सम्झिँदैन। उसलाई दिदी भिनाजु काठमाडौं छोडेर गएको पनि पत्तो छैन। दिदी, भिनाजुको मृत्यु भएको पनि उसलाई खबर हुँदैन। उसको जीवन खाने, पिउने र अलिअलि राजनीतिको कुरामै सीमित छ।
लेखकले नायकलाई किन यस्तो एकलकाँटे बनाए भनेर पाठकको मनमा प्रश्न उठ्न सक्छ। नायकलाई महत्व छ त केवल मित्र मण्डलीको। त्यसो त मित्रहरूले नै उसलाई निःस्वार्थ सहयोग पनि गरेका छन्। सहयोग र माया त दिदीले पनि गरेकै हो। तर, दिदीसँग घरको चाबी लिएर आएपछि ऊ फेरि दिदीको सम्पर्कमै पुग्दैन। दिदीका तीनजना छोरा थिए। धेरैपछि एउटा मात्र सम्पर्कमा आउँछ। अविजित अरू दुई भान्जाका बारेमा कुनै चासो गर्दैन। भान्जाको जीवनशैली, सम्पत्ति, व्यवहार आदिका बारेमा उसलाई कुनै मतलब छैन। भान्जासँग भेट हुँदा पनि खानपानबाहेक अरू कुनै कुरामा महत्व हुँदैन उसलाई। जानुकाको लसपस भान्जासँग भएको थाहा पाउँदा भने उसलाई चोट लाग्छ। पारिवारिक भूमिकाप्रति पनि निरपेक्ष दखिन्छ ऊ। धादिङमा ६ महिना बस्दा र दुर्घटनामा परेर अस्पताल रहँदा पनि कसैसँग सम्पर्क गर्ने प्रयास गर्दैन।
राणाको परिवारमा काम गर्ने भईकन पनि भीमप्रसादले अविजितलाई अक्षर चिनाउँदैन। पछि बडाहाकिम भएका भिनाजुले पनि अविजितले पढोस् भन्ने सोचेका हुँदैनन्। अविजितले वीरगन्जमा आएपछि मदनसँग अक्षर चिनेको हो। तर, निरक्षर सालोलाई भिनाजु कुलभक्तले अड्डामा कस्तो काम सिकाउन लान लागेका हुन्, प्रस्ट हुँदैन।
अविजितको उमेर गणनामा केही अलमल देखिन्छ। सन्तानब्बे सालमा सात वर्षकी छोरीको विवाह गरेका हुन् भीमप्रसादले। अविजित यिनको पनि दाजु हो। अर्को वर्ष भीमप्रसादको देहावसान हुँदा अविजितले नै संस्कार ग¥यो। भीमप्रसादको मृत्यु हुँदा पार्वती बत्तीस वर्षकी थिइन्। सात सालमा अविजित फर्केर आउँदा अविजितकी दिदीको जेठो छोरा नै १० वर्षको थियो। यो सबैको हिसाब मिलाउँदा अविजित बाबुको मृत्यु हुँदा कम्तीमा नौदस वर्ष जतिको हुनैपर्छ। अर्थात्, उसको जन्म लगभग अठासी सालतिर भएको मान्नुपर्छ। जब कि बयालीस सालको बमकाण्डपछि दोस्रो बिहे गर्दा अविजितको उमेर पचास टेक्न लागेको (पृ. ३१२) मात्र बताइएको छ।
भीमप्रसादको देहावसान अन्ठान्नब्बे सालमै भएको बुझिन्छ कथाअनुसार। भीमप्रसादको मृत्युको केही महिनामै पार्वती वीरमणिसँग भागेकी हुन्। कथाअनुसार त्यसको लगत्तै अविजित भिनाजुसँग तराई गएको हो र सात सालको आन्दोलनताका फर्केको हो काठमाडौं। तर, अविजितले वीरगन्जमा मदनसँग आफू ६ वर्षपछि काठमाडौं फर्कन लागेको बताउँदा (पृ. ७९) कुरा बाझिन्छ। अविजितलाई भीमप्रसादको कान्छो छोरो (पृ. १) भनिएको छ। जबकि पार्वतीको तीन सन्तान (पृ. २८) मात्र थिए। अविजित एउटा मात्र छोरा हो र उसका एक दिदी र एक बहिनी थिए। अविजित कसरी कान्छो ठहरियो भन्ने पनि प्रस्ट हुँदैन। भीमप्रसादकी कान्छी छोरी मुनालाई पनि सुरुमा माहिली छोरी भनिएको छ (पृ. १)। अविजितले उसका बाजे र बाबुको पनि दुई बिहे भएको स्वीकारेको छ (पृ. ३५३)। तर, भीमप्रसादको अर्को बिहे भएको कतै खुल्दैन। जीवनपर्यन्त अविजितको आफ्ना खलक कसैसँग पनि कुनै सम्पर्क भएको छैन।
अविजितले धोबीधाराको घर बेचेर बानेश्वरको उचाइमा चार आना जग्गामा बनेको दुईतले घर किनेको हो (पृ. १०५)। तर, त्यो चार आनाको घरघडेरीमा बगैंचा पनि अट्यो (पृ. १२१) ? कत्रो बगैंचा प्रस्ट हुँदैन। पृ. १२०÷२१ मै अविजितले रक्सीमा सुन्तला निचरेको प्रसंग आउँछ। त्यही दिन उनीहरू धोबीखोलामा पौडी खेल्न पनि गएका थिए अपराह्नतिर। काठमाडौंमा पौडी खेल्ने याममा सुन्तला पनि पाइने कुरा मेल खाएजस्तो लाग्दैन। न्यारेसनमा पनि केही अलमलजस्तो अनुभूति हुन्छ। घटना र कथावाचन समानान्तर नै विकास हुँदै गएको छ। तर, एक ठाउँमा ‘त्यो जमानामा’ (पृ. ९२) भन्ने पदावलीले कथावाचन कुन समयमा गरिएको हो भन्ने प्रश्न उठ्छ।
कतिपय वर्णन मिहिन छ। सानासाना घटनालाई नबिराई वर्णन गर्न खोजिएकाले कथा अतिरिक्त लामो भएको भान हुन्छ। तत्कालीन परिवेश र इतिहासलाई क्रमशः छुँदै अगाडि बढेकाले पाठकको उत्साहलाई बाँधिराख्न भने उपन्यास सफल छ। नायकको विशिष्ट प्रकृतिको चरित्र उपन्यासको सबल पक्ष हो। भाषा सुन्दर छ। ठेट शब्दहरूको प्रयोगले थप मिठास भरेको छ। जल्दै गरेको तासको जोकरसहितको कभरले पुस्तकलाई आकर्षित तुल्याएको छ।