साझा आकाशको स्वर

साझा आकाशको स्वर

कवितालाई कतिपयले सबैभन्दा सजिलो विधाका रूपमा लिन्छन् त कतिपयले सर्वाधिक जटिल। जे भए पनि यो अत्यधिक लेखिने र पढिने विधा हो। भनिन्छ, बैंसमा एकपटक कवि नभएको मानिस दुर्लभ हुन्छ। अनि कविलाई प्रेमी र पागलसँग पनि तुलना गरिन्छ। प्लेटोले त कविलाई देश निकाला गर्नुपर्छसम्म भनेका थिए रे। भावनाको यो दुरुह र हृदयस्पर्शी खेतीमा निरन्तर लागिरहनु र जीवन समर्पण गर्नु भने चानचुने कुरा हुनै सक्दैन।

रेवतीरमण अर्थात् आरआर चौलागाईं कविता खेतीमा निरन्तर लागिरहने एक अथक शब्दकर्मीको नाम हो। हेटौंडानिवासी उनै कविको गहकिलो कवितासंग्रह बजारमा आएको छ, ‘असीम पर्खाइहरू’। कविताले मात्रै दुई सय ५५ पृष्ठ ओगटेको यस संग्रहमा अर्का कवि निमेश निखिलले कविताभन्दा अगाडि ६० पृष्ठको कविको व्यक्तित्व, कविता तथा लेखनशिल्पबारे टिप्पणी गरेका छन्। यसैगरी कविताको पृष्ठभागमा कवि स्वयंका अनुभूति, रचनागर्भ तथा विविध प्रसंगको एक सय पाँच पृष्ठ लामो आत्मालाप विवरण प्रस्तुत छ।

तीसको दशकदेखि नै कविता लेखनमा चिनिएका आरआर चौलागाईं कथा, लघुकथा, गजल, मुक्तक लगायतका विधामा पनि कलम चलाउँछन्। यद्यपि उनी एक प्रगतिशील कविका रूपमा आफ्नो पहिचान स्थापित गर्न सफल छन्। पूर्वप्रकाशित आधा दर्जन कवितासंग्रह तथा फुटकर रूपमा विभिन्न पत्रिकामा प्रकाशित एक सय एक थान प्रतिनिधि कविता ‘असीम पर्खाइहरू’मा संगृहीत छन्।

‘जीवन सहज मात्र भइदिएको भए सायद म कविता लेख्दैनथेँ हुँला। त्यसैले ती असहजताहरूलाई’, कविले पुस्तकको सुरुमा भनेजस्तै जीवन, समाज र सम्पूर्ण जगत्का असहजता, बेमेल र विसंगतिविरुद्ध उनका कविता दह्रो गरी उभिएका छन्। मानवीय संवेदनाको अभिव्यक्ति र समतामूलक समाजको स्थापना नै उनका कविताले सजाउने संसार हुन्। शिल्प, संरचना र विचारले माझिँदै आएका विविध शैली र विषयका उनका कविताहरू कतिपय पढ्नका लागि र कतिपय सुन्नका लागि उपयुक्त देखिन्छन्।

प्रतिनिधि कविता भनिए पनि एकै विषयका धेरैवटा कविता प्रस्तुत गर्नाले संग्रह अलि बोझिल र भद्दा पनि बनेको छ। जस्तो कविता र कवि विषयमा मात्रै यस संग्रहमा १९ वटा कविता छन्। यस्तै सहिद, नारी, काठमाडौं, हेटौंडा, बाटो, यात्री, साथी, फूलजस्ता विषयको पनि शीर्षकमै पटकपटक पुनरावृत्ति भएको देखिन्छ। एउटा सचेत पाठक सर्वथा नयाँ विषय, नवीन शब्द र नौलो शिल्प खोजिरहेको हुन्छ। यस अर्थमा यो पुनरावृत्तिले केही असहज महसुस पनि गराउँछ।

कविता या साहित्य सिर्जना वुद्धिविलास, आत्मसन्तुष्टि या स्वान्त शुखायका लागि मात्रै सीमित हुन सक्दैन। यो त आवाजविहीनको आवाज हो। समयको स्वर हो। आममान्छेको अनुभूति हो। संवेदनाको समवेत स्वर हो। जीवनलाई अझ सार्थक र जगत्लाई सुन्दर बनाउने सुमधुर धुन पनि हो। यही भावनामा दृढ आरआर चौलागाईं आफ्नो लेखनलाई समाज परिवर्तनको सार्थक बाटोका रूपमा स्वीकार्छन्। त्यसैले त उनी काठमाडौंबाहिर रहेर पनि एक स्वाभिमानी कविका रूपमा आफ्नो उपस्थिति जनाइरहेका छन् र परिवर्तनका लागि निरन्तर आह्वान गरिरहेका छन्:

पुराना काम नलाग्ने बाजा बोकेर

नयाँ संसारको गीत गाउनेहरू मनग्गे छन्धेरैपटक हामीलाई जुधाएर

रमिता बटुल्नेहरू असंख्य छनतिनको नक्कली अनुहार पखाल्न

सङ्लो पानी लिएर आऊ...

(वैशाख तिमी अर्कै भएर आऊ...)

कविता कविको भावना मात्र होइन, यो यस्तो अभिव्यक्ति हो जसले हरेक पाठकका हृदयमा पनि भावना पैदा गराउँछ। हृदयलाई पुलकित बनाउँदै, रन्थन्याउँदै मीठो स्पर्श गराउन सक्नु नै कविताको कला हो। कविताको सफलता पनि यही हो। यस अर्थमा ‘असीम पर्खाइहरू’ भित्रका अधिकांश कवितालाई सफल कविता मान्न सकिन्छ।

कविको ठूलो भीडमा टाढैबाट उनलाई टड्कारै चिन्न उनमा अझै क्रियाशीलता, अझ बृहत् ज्ञान गाम्भीर्य र अझै हृदयग्राह्य सिर्जनाशैलीको अपेक्षा पनि गर्न सकिन्छ।

नेपाली साहित्य तथा प्रकाशन क्षेत्रले बेहोर्दै आएको र यति बेला अत्यन्त अभाव महसुस खड्किएको असली समालोचना तथा सम्पादनको अभाव भने यस पुस्तकमा पनि टड्कारो महसुस हुन्छ। प्रतिनिधि कविता भनिएको पुस्तकमा कविता संख्या चालीस जतिमा सीमित गरिएको भए उत्कृष्ट र क्रिम कविताको चुस्त पुस्तक बन्ने थियो। अग्र भागको लम्बेतान समालोचना तथा पृष्ठ भागको सम्पूर्ण विवरण पनि पाठकलाई ध्यान दिएर होइन, कविको एउटा डायरी बनाउने हिसाबले प्रस्तुत गरिएको प्रस्ट देखिन्छ।

सरस र सहज भएकाले आरआरका कविता जोकोहीले बुझ्न सक्नेछन्। विम्ब र प्रतीकको अमूर्त र दुरुह भावव्यञ्जना कतै पनि भेटिँदैन। जे भन्नु छ सरल र सुस्पष्ट रूपमा उनले भनेका छन्। जीवन, आशा, उज्यालो, परिवर्तन, समानता, सिर्जना, उत्पादन, भ्रमको अन्त्य, श्रमको कदर र प्रकृतिप्रेम ‘असीम पर्खाइहरू’ भित्रका गुदी हुन्। समाजका गम्भीर र जटिल विषयहरूलाई पनि कविले यसमा सरस सुबोध शैलीमा प्रस्तुति दिएका छन्। अनि उनले आफ्नो समयको आवाजलाई मुखरित गर्ने सहज बाटो बनाएका छन् कवितालाई।

स्यालहरूका आवाजले

नानीहरू सुत्न सकेका छैनननिशाचरहरूको बिगबिगीले

भालेहरू बास्न सकेका छैननटुकीहरू फेरि निभेका छनबतासका झोक्काहरूले

हिँड्दाहिँड्दै छँगाछुर भीरमा

बाटो बिर्सेका छन् यात्रीहरूले

(असीम पर्खाइहरू)

कहिले रहरले, कहिले करले, कहिले मनले, कहिले रिस आक्रोशले कवितालाई निरन्तरता दिएको बकपत्र पेस गर्दै कवि आरआरले मनले लेखेका कवितामा सबैभन्दा बढी सन्तुष्टि मिलेको र ती कविता राम्रा पनि भएको बताएका छन्। उनी कहिले क्षेत्रप्रताप अधिकारीले झैं राष्ट्रप्रेममा डुबेर लेख्न चाहन्छन्। कहिले युद्धप्रसाद मि श्रले झैं क्रान्तिकारी भएर लेख्न खोज्छन्। कहिले पूर्णविरामले झैं विचारलाई रातो बनाएर सिर्जना गर्छन् त कहिले ईश्वरवल्लभले जस्तै कलैकलाले सिँगारेर। उनी विमल निभाले जस्तै आगोनेर उभिएको मान्छे भएर तात्न चाहन्छन् त कहिले श्यामलले भनेजस्तै हतारमा यात्रा नगरी होसियार भएर अघि बढ्न चाहन्छन्। कहिले भूपाल राईले झैं दाजै कविता गाउँमै छ भनेर बेस्मारी कराउन मन गर्छन् भने कतै कृष्णभूषण बलले जस्तै भोलि बास्ने बिहानप्रति आशावादी हुन्छन्। यी सबैका बीच पनि हरेक कविले आफ्नो पृथक् हस्ताक्षर स्थापित गर्न सक्नु आजको चुनौती हो। कवि आरआर चौलागाईंले ‘असीम पर्खाइहरू’ मार्फत पृथक हस्ताक्षरको यो बाटोमा आफूलाई अग्रयात्री साबित गरेका छन्। अनि कविहरूको ठूलो भीडमा टाढैबाट उनलाई टड्कारै चिन्न भने उनमा अझै क्रियाशीलता, अझ बृहत् ज्ञान गाम्भीर्य र अझै हृदयग्राह्य सिर्जनाशैलीको अपेक्षा पनि गर्न सकिन्छ।

आकाशमा चिल र गिद्ध उडेको

कविलाई सह्य हुँदैन

कवि चाहन्छ

आकाश सम्पूर्णता हो

आकाश बगैंचा हो

र आकाश सबैको साझा हो

(कविको आकाश)

लेखक : आरआर चौलागाईं

प्रकाशक : लिपि बुक्स

पृष्ठ : ४२०

मूल्य : ३००


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.