तेक्वान्दो मास्टरको कथा

तेक्वान्दो मास्टरको कथा

भनिन्छ- जसले संघर्ष गरेको हुन्छ, उसले जिउन जानेको हुन्छ। अर्थात् संघर्ष र अभावबाट गुज्रेको मानिसले नै जीवनमा सही अर्थमा सफलता हात पार्न सक्छ। तेक्वान्दो प्रशिक्षक तथा अन्तर्राष्ट्रिय निर्णायक प्रशिक्षक नोर्बु लामा (४४) पनि यस्तै संघर्षका पर्याय बनेका छन्। काभ्रे मादनकुडारीका नोर्बुले सानै उमेरदेखि दुःख पाए। अभाव, अशिक्षा र असमानतासँग संघर्ष गरे। १३ वर्षकै उमेरमा गाउँ छाडे। काभ्रेका ज्ञानबहादुर लामाको पछि लागेर उनी ‘सपनाको सहर’ काठमाडौं छिरे।

काठमाडौं खाल्डो उनले सोचेजस्तो थिएन। हेर्दा रंगीचंगी देखिने काठमाडौंसँग दुःखका अनगिन्ती भंगालाहरू छन्। नोर्बु त्यही भंगालाहरूमा दाइको हात समाउँदै थांका कोर्न थाले। त्यस बेला उनी स्वयम्भूमा बस्थे।

Bishnu-Thapaउनले थांका कोर्ने नजिकै सेतो लुगा लगाएर उनकै उमेरकाहरू ‘किक’ हान्ने गरेको देखिरहन्थे। उनी थांका कोर्न रोकेर उनीहरूले खेले नियालिरहन्थे। उनीहरूले जस्तै आफू पनि खेल्न सक्छु भन्ने आत्मविश्वास उनीसँग थियो। उनले दाइसँग तेक्वान्दो सिक्ने जिद्दी गरे। तेक्वान्दोप्रतिको भाइको लगाव देखेर दाइले अनुमति दिए। सुरुमा डल्लुमा शेरबहादुर थापामगरको डोजाङमा लगेर भर्ना गरिदिए। यसरी नोर्बुले २०४३ सालमा १३ वर्षको उमेरदेखि तेक्वान्दो खेल्न थाले।

केही समय डल्लुमा सिके। त्यसपछि रंगशालासम्म पुगे। नोर्बुले २०४५ सालदेखि त्रिपुरेश्वरको रंगशाला प्रवेश गरे। उनले तेक्वान्दोका तत्कालीन प्रशिक्षक यामबहादुर पुन र अनिल श्रेष्ठसँग प्रशिक्षण लिए।

खेलाडी जीवनमा नोर्बुले केही सीमित प्रतियोगिता मात्र खेले। उनले २०४६ सालमा चौथो डोजाङ च्याम्पियनसिपबाट प्रतिस्पर्धा थाले। त्यसपछि फस्ट, सेकेन्ड र थर्ड कलर द ग्रेट च्याम्पियनसिप, शुभजन्मोत्सव कप, दोस्रो राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप, सेती आमन्त्रण च्याम्पियनसिप लगायतका प्रतियोगितामा प्रतिस्पर्धा गरे। उनले यी प्रतियोगिताबाट दुई स्वर्ण, एक रजत र तीन कांस्य पदक जिते। त्यस बेला धेरै प्रतियोगिता नहुने भएकाले आफूले थोरै पदक जितेको लामाले बताए। उनले ११औं वल्र्ड कल्चर एक्स्पोमा ४५ वर्षमाथिको स्पर्धामा रजत पदक जिते।

खेलकुदमा लागेपछि थाङ्काको काम छाडे। यसले गर्दा उनले आर्थिक अभाव झेल्नु पर्‍यो। केही समय दाइसँग मागे पनि त्यो एथेष्ट हुन सकेन। आर्थिक अभावकै कारण उनले थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाएनन्। त्यसपछि उनले सक्रिय खेल जीवनलाई टुंग्याएर प्रशिक्षक बन्ने निर्णय गरे।

स्युचाटार डोजोङ सञ्चालन

नोर्बुले जम्माजम्मी ६ वर्ष मात्रै सक्रिय खेलाडी जीवन बिताए। खेलेर मात्रै आफ्नो गुजारा नहुने देखेपछि उनले प्रशिक्षक जीवनलाई अगाडि बढाए। २०५० सालमा स्युचाटारमा डोजोङ स्थापना गरेर विधिवत् रूपमा प्रशिक्षक जीवन सुरु गरे। डोजोङ स्थापना भएको लामो समयसम्म हल निर्माण गर्न सकेनन्। अहिले हलको फाउन्डेसन भने तयार गरेका छन्। एक सय जनाले हरेक दिन ट्रेनिङ गर्दै आइरहेको उनी बताउँछन्। उनकै डोजाङको प्रतिनिधित्व गर्दै सबिना महर्जनले एसियाली तथा दक्षिण एसियाली खेलकुदमा सहभागिता जनाइसकेकी छन्। यस्तै सशस्त्र प्रहरी बलको एपीएफ क्लबमा आबद्ध अस्मिता खड्काले भुटान, मलेसिया र हङकङमा भएको प्रतियोगितामा स्वर्ण पदक जित्न सफल भएकी छन्। अमित शाहीले पनि वल्र्ड च्याम्पियनसिपमा प्रतिस्पर्धा गरिसकेका छन्। लामाकै पहलमा डोजाङले चार राष्ट्रिय प्रतियोगिता पनि आयोजना गरिसकेको छ।

राखेपमा जागिरे

डोजोमा तेक्वान्दो सिकाउँदा सिकाउँदै लामाले राष्ट्रिय खेलकुद परिषद्मा पनि प्रशिक्षण दिन सुरु गरे। २०५२ सालदेखि प्रशिक्षकको जिम्मेवारी सम्हालेका लामाले २०६१ सालदेखि स्थायी प्रशिक्षकका रूपमा तेक्वान्दो कला सिकाउँदै आएका छन्।

विगत नौ महिनादेखि राष्ट्रिय टोलीलाई प्रशिक्षण गराउँदै आएका लामाले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरिसकेका छन्। उनकै प्रशिक्षणमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा थुप्रै खेलाडी पदक जितिसकेका छन्।

‘खेलकुद क्षेत्र राज्यको प्राथमिकतामा पर्न सकेको छैन। जीवनभर खेलाडी बनेर जीविकोपार्जनका लागि अर्कै पेसा अँगाल्नुपर्ने बाध्यता छ। खेलकुदमै जीवन सुम्पिन्छु भन्थेँ तर बेलाबेलामा पछुतो लाग्छ।’

ब्ल्याकबेल्ट ६ डान लामा केगोरी, पुम्से र डेमोस्ट्रसन तीनै विधाका अन्तर्राष्ट्रिय रेफ्री पनि हुन्। उनले हङकङ, बेलायत, मलेसिया, चीन, भारत, बंगलादेश, मकाउ लगायतका मुलुकमा पुगेर निष्पक्ष निर्णय दिइसकेका छन्। ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदा उनी विदेशमा गएर निर्णायकको जिम्मेवारी सम्हाल्ने गरेका छन्।

नेपाल तेक्वान्दो संघमा केन्द्रीय सदस्यका रूपमा दुई कार्यकाल बिताइसकेका नोर्बु संघको ग्रेडिङ कमिटीका संयोजक पनि हुन्। उनको कमिटीले तीन डानभन्दा माथिको डानलाई कन्ट्रोल गर्दै आएको छ। खेलाडीले ग्रेडिङ कमिटीले सञ्चालन गरेको एक साताको प्रशिक्षणपछि मात्रै ग्रेडिङमा सहभागी हुन पाउने छन्। ६ डानसम्मको ग्रेडिङ नेपालमै हुने र त्योभन्दा माथिको डानका लागि तेक्वान्दो हेडक्वार्टर दक्षिण कोरियामै जानुपर्ने संयोजक लामा बताउँछन्। विगत दुई वर्षदेखि संयोजक रहेका नोर्बुले झन्डै सात सय जनाको डान परीक्षा लिइसकेका छन्।

तेक्वान्दोबाट सन्तुष्ट

नोर्बुले जीवनमा धेरै आरोहअवरोह पार गरिसके। उनी सानैमा तेक्वान्दोसँग जोडिन पाउनु नै अहिले यो अवस्थामा आइपुग्नुको श्रेय मान्छन्। ‘मलाई तेक्वान्दोले डोर्‍याएकै कारण अहिले यो अवस्थामा आइपुगेको हुँ’, नोर्बु भन्छन्, ‘सायद यही पेसामा सफल हुन लेखेको रहेछ।’ नामका हिसाबले तेक्वादोमा जोडिनु सही भए पनि आर्थिक हिसाबले भने गलत क्षेत्र रोजेको बेलाबेलामा महसुस हुने नोर्बु सुनाउँछन्। ‘खेल क्षेत्रमा लागेर नाम कमाएँ तर आर्थिक रूपमा सन्तुष्ट हुने अवस्था भने छैन। बरु थाङ्का लेख्ने पेसालाई नै अगाडि बढाएको भए आर्थिक रूपमा सम्पन्न हुने थिएँ कि ? ’ लामा आफैंलाई प्रश्न गर्छन्।

नोर्बु अहिले पनि खेलकुदमा लागेर जीवनयापन गर्न गाह्रो भइरहेको बताउँछन्। ‘खेलकुद क्षेत्र राज्यको प्राथमिकतामा पर्न सकेको छैन। यसले गर्दा खेलकुदमा जस्तोसुकै सफलता हासिल गरे पनि जीविकोपार्जनका लागि अर्कै पेसा अँगाल्नुपर्ने बाध्यता छ, ‘नोर्बु भन्छन्, ‘खेलकुदमै जीवन सुम्पिन्छु भन्थेँ तर बेलाबेलामा पछुतो लाग्छ।’

 

 

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.