'एमाले-माओवादीको वैचारिक र राजनीतिक मतभेद लुकाएर लुक्दैन'

'एमाले-माओवादीको वैचारिक र राजनीतिक मतभेद लुकाएर लुक्दैन'

गोरखा : दुई पार्टी एमाले र माओवादीका बीचमा एकताको चर्चा चलिरहेका बेला माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमाले–माओवादी बीचमा वैचारिक र राजनीतिक मतभेद रहेको खुलासा गरेका छन्। नियमित गृहजिल्ला आउने क्रममा शनिबार गोरखा आएका श्रेष्ठले एमाले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्।

‘यो कुरा लुकाएर लुक्ने होइन। के कुरा सत्य हो भने एमाले र माओवादी बीचमा अहिले वैचारिक र राजनीतिक मतभेदहरु छन्’, नेता श्रेष्ठले भने, ‘मतभेद भएका कुरालाई अन्तरिम समयका लागि थाती राख्दै, मध्यमार्गी बाटो अपनाउँदै महाधिवेशनमा गएर समाधान गर्ने गरी अघि बढ्नु पर्छ।’

पार्टी एकताचाहिँ हुने, तर दुवै पार्टीका नेता, कार्यकर्ताको आत्मीयता एकता हुन सकेन भने एकताको घोषणाले पनि पार्टीलाई शक्तिशाली नबनाउने उनको भनाइ छ। ‘त्यसैले दुवै पार्टीका नेता कार्यकर्ताले आफूलाई सम्मान भएको, देश र जनताको सेवा गर्नका निम्ति आफूले उपयुक्त भूमिका पाएको वातावरण निर्माण गर्नुपर्छ’, उनले भने, ‘त्यसैले अहिले हामी संगठनात्मक एकीकरणको नीति बनाउने चरणमा छौँ।’

सांगठनिक र प्राविधिक कारणले एकता हुँदैन कि भन्ने चर्चा, परिचर्चा धेरै गरिएको पनि उनले उल्लेख गरे। ‘भागबण्डा नमिलेर एकता हुँदैन कि भन्ने चर्चा, परिचर्चा धेरै गरिएको छ। यस्ता चर्चाको महत्व छैन भन्न खोजिएको होइन’, उनले भने, ‘तर, यी विषयमा विचार, छलफल, बहस गर्दै मतभेद समाधान गरेर अघि बढ्छौँ र पार्टी एकतालाई सुनिश्चित गर्छौं।’

माघमा सरकार, फागुनमा पार्टी एकता
नेता श्रेष्ठले सरकार गठन गरेर फागुनमा पार्टी एकता गर्ने तयारी भएको जानकारी गराए। अहिले पार्टी एकीकरण घोषणाको तयारी जोडतोडका साथ भइरहेको उनको भनाइ छ।

‘सरकार गठन फागुनमा पुगेको कारणले हाम्रो लक्ष्य के छ भने सकेसम्म हामी सरकार गठन हुनुभन्दा अगाडि नै पार्टी एकताको घोषणा गर्छौं’, एमाले, माओवादीको संयुक्त कार्यक्रममा बोल्दै उनले भने, ‘तर, कथंकदाचित पार्टी एकता त्यो भन्दा अघि नै घोषणा गर्न सकिएन भने सरकार गठन हुनुअघि नै वैचारिक, राजनीतिक लाइनका आधारमा, यो संगठनात्मक नीतिको आधारमा पार्टी एकता हुने निश्चित भयो भनेर प्रारुप तयार पार्छौं।’

एकीकृत पार्टीको घोषणा चाहिँ सरकार गठन भएपछि गर्ने उनले प्रष्ट पारे। प्राविधिक रुपले सरकार गठन गर्ने ठाउँमा पुगेपछि सरकार गठन गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको भन्दै उनले पार्टी एकीकरणको प्रक्रियाको ढिलाइले सरकार गठनमा ढिलाइ गर्न नहुने बताए।

पार्टी एकताको प्रयास भाँड्न देशी, विदेशी शक्ति लागि परेको उनले खुलाए। ‘पार्टी एकीकरण हुन्छ, यसमा ढुक्क हुनुहोस्’, नेता श्रेष्ठले भने, ‘तर, वामपन्थी सरकार बन्न नदिन, वाम एकता भत्काउन, भाँड्न विभिन्न देशी, विदेशी प्रतिक्रियावादी शक्तिहरु लागिरहेका छन्, अझै लाग्नेछन्।’

नेता श्रेष्ठले वाम एकता रोक्ने दुष्प्रयात्न भने असफल हुने दाबी गरे।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.