राजधानी ताक्दै वीरगन्ज : प्रदेशसभाको पहिलो बैठकबाट स्थायी राजधानी बनाउने

राजधानी ताक्दै वीरगन्ज : प्रदेशसभाको पहिलो बैठकबाट स्थायी राजधानी बनाउने

वीरगन्ज : अस्थायी प्रदेश मुकाम जनकपुरमा प्रदेशसभा सदस्यले शपथ लिइसके पनि वीरगन्जको आन्दोलन भने रोकिएको छैन। सरकारले अस्थायी मुकाम (राजधानी) मात्र तोकेकाले स्थायी राजधानी भने प्रदेशसभाको पहिलो बैठकले तोक्ने भन्दै वीरगन्जमा आन्दोलन जारी रहेको हो। प्रदेश राजधानी माग गर्दै पुस २१ गतेदेखि घन्टाघर चोकमा रिले अनशनसहित वीरगन्ज राजधानी संघर्ष समितिले आन्दोलन गर्दै आएको छ।

संघर्ष समितिले माघ २१ गते आमहडताल गर्ने घोषणा गरेको छ। वीरगन्जमा बसेको बैठकले प्रदेशसभाको पहिलो बैठक बस्ने दिन नै आमहडताल गर्ने निर्णय गरेको हो। समितिले त्यसअघि १९ गते आमसभा र २० गते मसाल जुलुस प्रदर्शन गर्ने निर्णय पनि गरेको छ।

प्रदेशसभाको पहिलो बैठकले वीरगन्जलाई स्थायी राजधानी तोक्ने निर्णय नगरे पर्सा र बाराबाट निर्वाचित सांसदलाई वीरगन्ज प्रवेश निषेध गर्ने चेतावनी समितिले दिएको छ। शनिबार विरोध प्रदर्शनपछि घन्टाघर चोकमा आयोजित सभा सम्बोधन गर्दै संघर्ष समितिका अगुवाले प्रदेशसभाको पहिलो बैठकबाट वीरगन्जलाई स्थायी राजधानी बनाउने निर्णय नभए सांसदलाई वीरगन्ज प्रवेश गर्न नदिने चेतावनी दिएका हुन्।

संघर्ष समितिका सदस्य एमाले युवा नेता मनोज चौधरीले सरकारले अस्थायी राजधानी जनकपुरलाई तोकेर वीरगन्जमाथि कुठराघात गरिसकेको गुनासो गरे। अब जिम्मेवारी प्रदेशसभा सदस्यको हातमा आएकाले स्थायी राजधानी वीरगन्जलाई बनाउने निर्णय नगरे वीरगन्ज प्रवेश निषेध गर्ने चेतावनी उनले दिए।

आन्दोलनमा सहभागिता नजनाएका दलका नेतालाई लक्ष्य गरी उनले भने, ‘ वीरगन्ज राजधानी बन्न सकेन भने तिनै नेताका सन्ततिले उनीहरूलाई धिक्कार्नेछन्।’ मधेस आन्दोलन र निर्वाचनका बेला वीरगन्जलाई राजधानी बनाइदिने नारा अघि सारेर जनमत बटुलेका मधेसकेन्द्रित दलले अहिले वीरगन्जलाई बिर्सिएको उनको भनाइ थियो।

तरुण दल बाराका अध्यक्ष लोकेश सिंहले प्रदेशसभा बैठकमा सशक्त आवाज उठाएर वीरगन्जलाई स्थायी राजधानी बनाए पर्सा–बाराका सांसदलाई एक हजार किलोको माला लगाइदिने बताए। ‘वीरगन्जलाई राजधानी बनाउन सफल हुन्छन् भने यहाँका प्रदेशसभा सदस्यहरूलाई यहाँका जनता ५१ किलो होइन, एक हजार किलोको माला लगाइदिन तयार छन्’, उनले भने, ‘वीरगन्जलाई राजधानी बनाउन सकेनन् भने उनीहरूलाई यहाँका जनताले फूल त होइन, अरू नै चिजको माला लगाइदिन्छन्।’

नेत्री अनिता रौनियारले पर्सा र बाराबाट निर्वाचित मधेसकेन्द्रित दलका सांसदहरूले अहिले आएर वीरगन्ज र वीरगन्जवासीलाई धोका दिइरहेको आरोप लगाइन्। ‘चुनावका बेला वीरगन्जलाई राजधानी बनाउँछौं भनेर भोट मागे। जनताले भोट दिएर जिताए पनि’, उनले भनिन्, ‘तर, अहिले तिनै नेता राजधानीका लागि भइरहेको आन्दोलनका बारेमा अनेक कुरा बोल्दै हिँडेका छन्।’

सभामा संघर्ष समितिका सहसंयोजक राजकुमार गुप्ता, सदस्यहरू बसरुद्दिन अन्सारी, अरविन्द गुप्ता, शम्भु गुप्ता, वृजलाल पासवान, वीरगन्ज महानगरपालिका वडा नम्बर १५ का अध्यक्ष गजेन्द्र पटेललगायतले सम्बोधन गरेका थिए। घन्टाघर चोकमा रिले अनशन पनि जारी छ। २४ औं दिन शनिबार नेपाल विद्यार्थी संघका नेता बद्रीनारायण तिवारीको नेतृत्वमा रोशन सिंह, विकास साह, शशी काफ्ले, चन्दन सहनी, मुनराज तिवारी, विकास मेहता, मनीष यादव, अनुराग तिवारी, शर्मा पटेल र शम्भु साह अनशन बसेका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.