फोरम-राजपालाई मुख्यमन्त्रीको सकस
काठमाडौं : प्रदेश २ को मुख्यमन्त्री र सभामुख चयनका लागि संघीय फोरम र राजपाबीच अनौपचारिक छलफल जारी छन्् । प्रदेशसभाका १०७ सिटमध्ये फोरमले २९ र राजपाले २५ सिट जितेका छन्् । दुई दलको सिट जोड््दा प्रदेशसभामा बहुमत पुग्छ।
कांग्रेसले मधेसी गठबन्धनको आसन्न प्रदेश सरकारलाई सहयोग गर्ने यसअघि नै बताइसके पनि पदीय बाँडफाँटसमा सहमति नजुटेको राजपा नेता रामनरेश रायले बताए । उनले भने, ‘अझै जिम्मेवारी मिलाउन बाँकी छ, हामी यसै साताभित्र निर्णयमा पुग्छौं ।’ फोरम उपाध्यक्ष लालबाबु राउतले प्रदेश २ मा मुख्यमन्त्री, सभामुख र मन्त्रालयको बाँडफाँट कसरी भन्ने विषयमा छलफल चलिरहेकाले अन्तिम टुंगो लाग्न अझै बाँकी रहेको स्वीकारे । उनले मुख्यमन्त्री आफ्नै दलको पोल्टामा पर्ने दाबीसमेत गरे । फोरमभित्र अहिले उनीसहित कोषाध्यक्ष विजय यादव र राजनीतिक समितिका सदस्य शैलेन्द्र साहको नाम मुख्यमन्त्रीको चर्चामा छ ।
दुवै दलले केन्द्रमा संविधान संशोधनको मुद्दालाई कार्यान्वयन गराइ छोड््ने प्रतिबद्धता जनाएका छन् ।
यता राजपा महासचिव मनीषकुमार सुमनले प्रदेश बैठकबाट प्रादेशिक सरकारको टुंगो लाग्ने भएकाले अहिले अनुमान कठिन हुने बताए । फोरमका महासचिव एवं प्रतिनिधिसभा सदस्य रामसहायप्रसाद यादवले आफ्नो पार्टीले प्रदेशको मुख्यमन्त्री, सभामुख र मन्त्रिमण्डलको टुंगो लाउँदै प्रदेशको प्राथमिकता र कार्ययोजनासमेत प्रस्तुत गर्ने जानकारी दिए । उनले भने, ‘मधेस आन्दोलनको मुद्दाको सम्बोधन, राज्यमा मधेसीको पहुँचजस्ता विषयमा फोरम र राजपाले गृहकार्य गरिरहेका छन्।’ यसै उद्देश्यलाई उच्च प्राथमिकता दिँदै केन्द्रमा संविधान संशोधनको मुद्दालाई कार्यान्वयन गराई छोड््ने प्रतिबद्धता उनले व्यक्त गरे ।