फेरि हिन्दुत्वकै हतियार

फेरि हिन्दुत्वकै हतियार

काठमाडौं : संघ प्रदेश दुवै चुनावमा धर्मर बनेपछि राप्रपा अध्यक्ष कमल थापा फेरि हिन्दुत्वकै नारालाई दलीय हतियारका रूपमा उपयोग गर्ने रणनीतिमा अग्रसर भएका छन्। त्यसैले हिजोआज अक्सर एउटै कुरा दोहोर्‍याइरहेका हुन्छन्, त्यो हो हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्रको मुद्दा। थापा भन्छन्, ‘यी दुई मुद्दालाई स्थापित गर्न सडक संघर्षमा जान्छौं।’

हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्रको एजेन्डालाई पार्टीको ट्रेडमार्क बनाउन सफल राप्रपा अहिले संकटको स्थितिबाट गुज्रिरहेको छ र उसलाई एजेन्डा बेचेको आरोप बाहिर मात्र होइन, पार्टीभित्रबाटै लाग्न थालेको छ। जसको सबैभन्दा बढी दोष अध्यक्ष थापामाथि छ। त्यसैले पनि उनी अहिले जहाँजहाँ जान्छन्, यी दुई एजेन्डालाई जोडतोडका साथ उठाइरहेका हुन्छन्।

हिन्दु राष्ट्र र राजसंस्थाको एजेन्डाकै कारण पहिलो संविधानसभामा चार सिट जितेको राप्रपाको कद दोस्रो संविधानसभाबाट ह्वात्तै बढ्यो। राप्रपाले समानुपातिकतर्फ २४ सिट जित्यो भने सरकारबाट मनोनीत गरी संविधानसभा २५ सिटसहित संसद्मा प्रभावकारी उपस्थिति देखाउन सफल भयो। पार्टीको नीतिअनुसार नै धर्मनिरपेक्षता र संघीय गणतान्त्रिक संविधानको विपक्षमा राप्रपा उभियो। तर संविधान जारी भएलगत्तै बनेको केपी ओली नेतृत्वको सरकारमा राप्रपा प्रमुख सत्तासाझेदार दलका रूपमा सहभागी भयो। त्यसपछि बनेका तीनवटै सरकारमा राप्रपा सहभागी भएको छ।

कमल थापा अहिले जहाँ पुग्दा पनि हिन्दु राष्ट्र र राजतन्त्रको एजेन्डालाई जोडतोडका साथ उठाइरहेका हुन्छन्।

संविधान कार्यान्वयन गर्न बनेका सरकारमा राप्रपाको सहभागितालाई धेरैले सत्तासँग पार्टी एजेन्डा बेचेको आरोप लगाए। स्थानीय तह, मंसिरमा सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा राप्रपाको पराजयलाई त्यसैसँग जोडेर हेर्न थालिएको छ। पार्टीले बोकेका एजेन्डाविपरीत बनेको संविधानको शपथ खाएर पार्टी सरकारमा जानुले राप्रपामाथि लागेको आरोप पुष्टि भएको केही समयअघि मात्र पार्टी छोडेका दिलानाथ गिरी स्विकार्छन्। उनी भन्छन्, ‘हामीलाई जनताले राजतन्त्र र हिन्दु राष्ट्रको मुद्दा हेरेर भोट दिएका हुन् न कि कुनै नेताको अनुहार हेरेर तर चुनावपछि जितको उन्मादमा एजेन्डा नै बिर्सिने काम भयो।’

उसो त यहीबीचमा कमल थापा र पूर्वराजाबीच सम्बन्ध बिग्रिएका कुरा पनि आए। सञ्चो नभएको भन्दै ज्ञानेन्द्रको जन्मोत्वसमा सहभागी नभएका थापा साँझ भने भरत रायमाझीका छोराको बिहेको पार्टीमा झुल्किए, जहाँ ज्ञानेन्द्र पनि उपस्थित थिए। राप्रपाका एक नेताका अनुसार थापाले पूर्वराजाको जन्मोत्सवमा सहभागी नहुन बिरामी भएको बहाना गरेका थिए र उनले राप्रपाका कतिपय नेतालाई पनि नजान भनेका थिए। त्यो घटनापछि थापाले राजतन्त्रको मुद्दा छोडेको प्रचार भयो जसले गर्दा थापाको राजनीतिक मुद्दा थप कमजोर बन्यो।

‘राजतन्त्रको मुद्दा बोक्ने तर राजाकै महत्वपूर्ण कार्यक्रम बहिष्कार गर्ने प्रवृत्तिले मतदाताहरु रुष्ट हुनु स्वभाविक थियो, राप्रपाका पुराना नेता गिरीेले भने, ‘अध्यक्ष थापाले सरकारमा सहभागि हुँदा उत्कृष्ट संविधान भन्दै भाषण गरे।’ उनी राप्रपाको अहिलेकै नेतृत्वबाट हिन्दुराष्ट्र र राजतन्त्रको मुद्दा स्थापित हुन नसक्ने दाबी गर्छन्। ‘अहिलेको नेतृत्वलाई जनताले राम्रोसँग चिनिसके, उनले जनताको अभिमतलाई सत्तासँग साँटे। त्यसको सजाय जनताले दिएका छन्’, गिरी भन्छन्, ‘हिन्दुराज्यको मुद्दालाई फेरि हतियार बनाउने सपना नदेखे हुन्छ।’ केही साताअघि नेपालगन्जमा पूर्वराजा ज्ञानेन्द्रलाई भेटेर अध्यक्ष थापाले राजासँग आफ्नो सम्बन्ध समधुर रहेको पुष्टि गर्न खोजेका थिए।

प्रतिनिधिसभामा वाम गठबन्धनको सहयोगमा एक सिट र प्रदेशमा समानुपातिकतर्फ तीन सिट मात्र जित्नुले जनता हिन्दु राष्ट्र र राजतन्त्रको पक्षमा नरहेको पुष्टि भएको राजनीतिशास्त्री भाष्कर गौतम बताउँछन्। उनी भन्छन्, ‘जनताले राप्रपाका एजेन्डालाई पराजित गरिसके। अब पुरानै मुद्दाले राप्रपाको पक्षमा जनता आउलान् जस्तो लाग्दैन।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.