प्रदेश ५ को संसद् बैठक माघ २१ मा

प्रदेश ५ को संसद् बैठक माघ २१ मा

बुटवल : प्रदेश नम्बर ५ को पहिलो संसद् बैठक माघ २१ गते बस्ने भएको छ । शपथग्रहण भएको एक सातापछि प्रदेश प्रमुख उमाकान्त झाले प्रदेश बैठक आह्वान गरेका हुन् । संवैैधानिक व्यवस्थाअनुसार माघ २३ गतेभित्रै संसद् बैठक बोलाउनुपर्छ । संसद् बैठक आह्वानका लागि प्रमुख उमाकान्त झाले संसद्मा प्रतिनिधित्व गर्ने ६ वटा दलसँग परामर्श गरेका छन् । प्रदेश ५ मा एमाले, माओवादी, कांग्र्रेस, संघीय फोरम, राजपा र जनमोर्चाको संसद्मा प्रतिनिधित्व छ।

संविधानकै सीमाभित्र रहेर बैठक आह्वान भएको प्रदेश सचिव सनत दुवाडीले जानकारी दिए । ‘माघ २१ गते पहिलो बैठक बस्नेछ । त्यसको तयारी सुरु भइसकेको छ’, उनले भने । संसद् बैठक आह्वानका लागि प्रदेश कार्यालयले सार्वजनिक सूचना जारी गरेको छ । पहिलो बैठक शपथग्रहण भएकै स्थान बुटवल उद्योग वाणिज्य संघको सभाहलमा हुने भएको छ । संसद्को अध्यक्ष ज्येष्ठ सदस्य बलदेश शर्मा पोखरेलले गर्नेछन् । ७९ वर्षीया शर्मा कांग्रेसबाट समानुपातिक सांसद हुन् ।

संसद् बैैठक बस्ने भवन व्यवस्थापनको काम आइतबारबाट सुरु हुँदै छ । प्रादेशिक कार्यालयका लागि भवन व्यवस्थापन गर्न बनेको स्थानीय समितिका संयोजक रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले बुटवल उद्योग वाणिज्य संघको सभाहलमा बैठक कक्ष निर्माण हुने बताए । बैठक कक्ष कस्तो निर्माण गर्ने भन्ने विषयमा संसद् सचिवालयले खाका पठाएको छ । अधिकांश संरचना सातै प्रदेशमा एकैखालको भए पनि भवनको आकृतिका आधारमा केही परिवर्तन हुने बताइएको छ । प्रदेश ५ को सभाकक्ष निर्माण गर्न भवन डिभिजन रुपन्देहीले काम गर्ने प्रजिअ मैनालीले जानकारी दिए । सात दिनभित्रै सभामुख बस्ने रोस्टमसहितका अन्य संरचना निर्माण गर्न चुनौैती देखिएको छ । प्रदेशमा रहेका ८७ जना सांसद सहित, कूटनीतिक नियोगका व्यक्ति, पत्रकार बस्ने कक्षसमेत निर्माण हुनेछन् । प्रदेश ५ मा संसद बैठकको भवन टुंगो लागे पनि अन्य कार्यालय कुन भवनमा राख्ने अझै टुंगिएको छैन ।

मुख्यमन्त्रीको कार्यालयका लागि तीन वटा भवन सिफारिस गरिएको छ । श्रम कार्यालयको ६ तले भवन, नापी कार्यालय र अनुसन्धान कार्यालयको भवनमध्ये एउटामा मुख्यमन्त्रीको कार्यालय र निवास हुनेछ । ‘मुख्यमन्त्री कार्यालयका सचिवले कुन भवन उपयुक्त हुन्छ भन्ने टुंग्याउनुहुनेछ’, प्रजिअ मैनालीले भने । यी भवनमा अन्य मन्त्रालय पनि व्यवस्थापन गर्न सकिनेछ । संसद् बैठक आह्वान भए पनि प्रदेशमा पर्याप्त कर्मचारी आइसकेका छैनन् । अस्थायी मुकाम बुटवलमा प्रदेश प्रमुख उमाकान्त झासहित तीन जना मात्रै छन् । संसद् सञ्चालन गर्न संसद् सचिवालयबाट कर्मचारी आउने बताइएको छ ।

 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.