प्रदेशसभा डाक्न अलमल

प्रदेशसभा डाक्न अलमल

पोखरा : प्रदेश ४ को प्रदेशसभा बैठक बोलाउन अलमल भएको छ। प्रदेश प्रमुखले डाक्नुपर्ने बैठकको तयारी गर्ने प्रदेशसभा कर्मचारीकै अभाव हुँदा बैठक आह्वान हुन सकेको छैन। सरकारले प्रदेशसभा सचिवालयका लागि ७ जना कर्मचारी खटाए पनि पोखरा आइपुगेका छैनन्। बैठक डाक्नेबारे छलफल भइरहेको सभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले जानकारी दिए। २२ गतेका लागि बैठक डाक्ने तयारी गरेको उनको भनाइ छ। प्रदेश प्रमुख बाबुराम कुँवरले श्रेष्ठसहित दलीय नेतासँग छलफल गरी उक्त मितिमा बैठक डाक्ने पहल गरेका हुन्। तर, मिति भने टुंगो लागेको छैन।

प्रदेशसभा निर्वाचनको परिणाम आएको २० दिनभित्र सभाको पहिलो बैठक डाक्नुपर्ने बाध्यकारी प्रावधान संविधानले गरेको छ। प्रदेश ४ को परिणाम माघ ३ गते सार्वजनिक भएको थियो। त्यस हिसाबले २३ गते अन्तिम म्याद हो। २४ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि सांसद पोखरा आउनै पर्ने भएको हुँदा गणपूरक संख्या पुर्‍याउन समस्या नहुने विश्वाससहित २२ गतेका लागि मिति उपयुक्त हुने ठानिएको हो।

प्रदेश प्रमुखको कार्यालयका सहसचिव देवीप्रसाद ज्ञवाली प्रदेशसभा सचिवालयमा कर्मचारी व्यवस्था र भौतिक पूर्वाधार पूरा गर्नुपर्नेलगायत काम बाँकी हुँदा पनि पहिलो बैठक डाक्न ढिलाइ भएको बताउँछन्। उनले दलका नेतासँग परामर्श चलिरहेको बताए। पोखरा नदीपुरको नगर विकास प्रशिक्षण केन्द्रलाई प्रदेशसभा भवन तोकिएको छ। सभा बस्न मिल्ने हल र सचिवालय कर्मचारीका लागि कोठा तयार छन्। तर सभामुख, उपसभामुख, संसदीय दलका कार्यालयका लागि पूर्वाधार छुट्याउन बाँकी छ। पार्टीले संसदीय दलका नेता तोकिनसकेको हुँदा पनि छलफलका लागि आधिकारिक व्यक्ति प्रदेश प्रमुखले भेटेका छैनन्।

एमाले सचिव तथा संगठन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ संसदीय दलको नेता चयन पार्टीको केन्द्रले गर्ने प्रतिक्रिया दिए। उनले माओवादीसँग चुनावी गठबन्धन भएको हुँदा दुई पार्टीले देशभरिकै प्रदेशको जिम्मेवारी बाँडफाँटबारे छलफल गरिरहेको बताए। ‘अब धेरै दिन लाग्दैन, केन्द्रले २/३ दिनमै टुंगो लगाउँछ’, उनले भने। गुरुङ प्रदेश ४ को मुख्यमन्त्रीका प्रबल दाबेदार हुन्। एमालेकै अर्का नेता किरण गुरुङको पनि मुख्यमन्त्रीमा जोडदार दाबी छ। एमालेका सांसदबीच नै चुनाव गरेर संसदीय दलको नेता चुन्ने वा पार्टी केन्द्रले तोकिदिने दुवै सम्भावना रहेको उक्त पार्टीका सांसदको भनाइ छ।

प्रदेशमा कांग्रेसका वरिष्ठ नेतासमेत रहेका सांसद कृष्णचन्द्र पोखरेल नेपाली पनि आफ्नो पार्टीमा संसदीय दलको नेता छनोटका लागि छलफल चलिरहेको बताउँछन्। उनले यस विषयमा आफ्नो पार्टीका केन्द्रीय नेतासँग छलफलका काठमाडौं गएको जानकारी दिए। यो प्रदेशमा ६० सांसद छन्। त्यसमा २७ एमाले, १५ कांग्रेस, १२ माओवादी, ३ जनमोर्चा, २ नयाँशक्ति र १ स्वतन्त्र छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.