कहाँ पुगेर अड्कियो एमाले-माओवादी एकता ?

कहाँ पुगेर अड्कियो एमाले-माओवादी एकता ?

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको ‘वान टु वान’ वार्ता भएको छ ।

एमाले अध्यक्ष ओली दाहाललाई भेट्न उनको निवास खुमलटारमा बिहान पुगेका थिए । त्यहाँ दुई नेताहरुबीच ‘वान टु वान’ वार्ता भएको हो । दुई नेताबीचको वार्ता भएको दाहालका प्रेस स‌ंयोजक मनहरि तिमल्सिनाले बताए।

'पार्टी एकताका मुख्य विषय विचार र संगठनमा दुई अध्यक्षहरुबीच छलफल जारी छ', तिमल्सिनाले भने। दुई नेताको छलफल जारी रहेकाले एकताका लागि बनाइएको कार्यदलको बैठक भने अपरान्ह ३ बजेलाई सारिएको छ। यसअघिका सबै बैठक ओली निवासमा बस्ने गरेको थियो। तर, यो पटक भने ओ‌ली आफैँ दाहाल निवास खुमलटार पुगेका हुन्। 

पढ्नुस्: दाहाल भेट्न ओली पुगे खुमलटार

११ बजेका लागि डाकिएको बैठक नेताहरुको व्यवस्तताका कारण अपरान्ह ३ बजेका लागि सारिएको एमालेका सचिव प्रदीप ज्ञवालीले जानकारी दिए। ‘केही नेताहरु व्यस्त भएकाले कार्यदल बैठक सरेको हो’, ज्ञवालीले अन्नपूर्ण अनलाइनसँग भने, ‘एकताप्रक्रिया आफ्नो रफ्तारमा अघि बढिरहेको छ। यो सामान्य प्रक्रिया हो।’

यसकारण अड्कियो एकताको ‘हलो’

दुई नेताबीच कार्यभार बाँडफाँटमै कुरा नमिलेको स्रोतको भनाइ छ। माओवादी दुई पार्टीबीच सम्मानजनक एकताको पक्षमा देखिन्छ। उसका धेरै नेताहरु एमालेसँगको एकताको अर्थ माओवादीको बिलयका रुपमा बुझ्न नहुने बताउँछन्।

पढ्नुस्: कांग्रेसले पाँच वर्ष प्रधानमन्त्री बन्न प्रस्ताव गरेको प्रचण्डको खुलासा

ओली प्रधानमन्त्रीसँगै पार्टी अध्यक्षको जिम्मेवारी कम्तिमा पनि नयाँ महाधिवेशनसम्म अरुलाई हस्तान्तरण गर्ने पक्षमा देखिएका छैनन्। अर्कातिर दाहाल नयाँ पार्टीमा कार्यकारी अधिकारसहितकोे स्थानको खोजीमा छन्।

दुवै नेताले प्रदेशका मुख्ममन्त्रीसहितका प्राविधिक पदमा करिब सहमति जुटाएपनि एकीकृत पार्टीको नेतृत्वबारेमा नै कुरा नमिलेको हो। दाहाल कम्तिमा पनि नयाँ पार्टीको नेतृत्व लिने गरी एकताको मुडमा देखिएका छन्। उनलाई दोस्रो तहका नेताहरुबाट पनि त्यही दबाब परिरहेको स्रोतको दाबी छ।

दुई नेताले पार्टीको सांगठानिक संरचना र वैचारिक कार्यदिशा तय गर्ने जिम्मेवारी दुई दलका दोस्रो तहका नेता सम्मिलित कार्यदललाई दिएका छन्। कार्यदलले मुख्यमन्त्रीको छनोट तथा प्रदेश सरकारको खाका पनि बनाइरहेको छ।

दुवै नेता आफ्नै रणनीतिमा

दुवै पार्टीका अध्यक्ष आ–आफ्नै रणनीतिमा देखिएपछि एकता प्रक्रिया अघि बढ्न नसकेको अवस्थामा नेताहरुले भने एकताप्रक्रिया अघि बढिरहेको प्रतिक्रिया दिइरहेका छन्। शुक्रबार बेलुका दुई अध्यक्षबीच भएको ‘गोप्य वार्ता’ पनि एक–अर्कालाई मनाउने रणनीतिका कारण निष्कर्षमा पुग्न सकेको थिएन।

पढ्नुस् : 'एमाले-माओवादीको वैचारिक र राजनीतिक मतभेद लुकाएर लुक्दैन'

आइतवार बिहान खुमलटारमा भएको वार्तामा पनि दुई नेताबीच निचोड ननिस्केपछि कार्यदल बैठक सरेको स्रोतको भनाइ छ। नेताहरुले तयारी नपुगेका कारण गृहकार्यका लागि बैठक सारिएको बताएका छन्।

शुक्रबार बेलुका सुवास नेम्बाङ र रामबहादुर थापासँग बालकोटमा सामूहिक छलफल गरेपछि त्यहाँबाट बाहिरिएर दुई नेता ‘गोप्य वार्ता’ मा बसेका थिए। भक्तपुरस्थित एक व्यापारीको घरमा ओली–दाहालबीच अढाई घन्टा छलफल भएको थियो।

ओलीको चाहना सरकार

ओलीको चाहना पार्टी एकताभन्दा पहिले सरकार गठनमा देखिएको छ। सरकार गठन प्रक्रियालाई पहिले सकेर आफू प्रधानमन्त्री हुने र त्यसपछि मात्रै एकता प्रक्रियालाई अगाडि बढाउने योजनामा उनी देखिएका छन्।

पढ्नुस्: सरकार गठन भन्दा अगाडि पार्टी एकता : प्रचण्ड

यसैकारण उनले पार्टी एकता र सरकार गठन प्रक्रियालाई पृथक् विषय बनाई अलग–अलग ढंगले अगाडि बढाउनुपर्ने सार्वजनिक अभिव्यक्ति दिन थालेका छन्।

बिहीबार पार्टी मुख्यालय धुम्बाराहीमा उनले यो विषयमा मुखै खोले। ‘सरकार बनाउने कुरा जनताको आदेश, मतादेशको कुरा र पार्टी एकता दुई पार्टीबीचको कुरा हुन्। यी दुई विषय पृथक् रूपमै अगाडि बढ्छन्’, उनले त्यहाँ भनेका थिए।

एकता भाँड्न ठुलो शक्तिः प्रचण्ड

तर, दाहाल ओलीको यो भनाइसँग सहमत देखिएका छैनन्। उनले शनिबार नै चितवनमा आयोजित पत्रकार सम्मेलनमा पार्टी एकताको विषय आज–भोलि नै निष्कर्षमा पुग्ने र सरकार गठनअगाडि नै माओवादीको कुरा गर्ने हो भने जनभावनाअनुसार पार्टी एकता गर्ने भन्नेमा रहेको बताए। ‘जनभावनाको कुरा गर्दा सरकार गठनअगाडि नै पार्टी एकता गर्नुपर्छ भन्ने मेरो जोड छ,’ दाहालले चितवनमा भनेका थिए।

पढ्नुस्: ‘वाम एकता नभए केपी र प्रचण्ड ड्यामेज्ड हुन्छन्

अध्यक्ष दाहालले शनिबार काठमाडौंमा भएको एक कार्यक्रममा ‘पार्टी एकताका विरुद्ध एमाले र माओवादीकै नेता र शक्तिलाई उचाल्ने प्रयास भइरहेको’ बताएका थिए।

‘हामीसँग एकताको विकल्प छैन। तर, यसबीचमा पार्टी एकताको प्रयासमा मैले निकै ठूला चूनौतिको सामना गरें। एउटा शक्तिले वाम गठबन्धन भत्काउन मलाई पाँच वर्षकै प्रधानमन्त्री दिने प्रस्ताव गर्यो’, दाहालले भने, ‘तर मैले त्यसलाई ईन्कार गरें, फेरि त्यो शक्ति एकता भत्काउन अर्कोतिर लागेको छ। एकता हुन नदिन निकै ठूला प्रयास भए। तर, हामीले एकतालाई जसरी पनि सफल पार्नुपर्छ।’

एकताको यात्रा अझैँ बाँकी

दुई नेताबीच पदीय भागवण्डामा कुरो नमिलेकै कारण एकता प्रक्रिया टुंगोमा नपुगेको बताइन्छ। ओली–दाहाल ‘वान टु वान’ वार्ताका धेरै कुरा उनीहरुले दोस्रो तहका नेतासम्म सार्वजनिक गरेका छैनन्। केही दिनअघि एमाले नेता प्रदीप ज्ञवालीले एकता प्रक्रिया धेरै अघि बढिसकेको बताएका थिए।

पढ्नुस्: यी हुन् वाम एकताका सम्भावना र चुनौती

तर, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमाले र माओवादीबीच बैचारिक र राजनीतिक मतभेद लुकाएर लुक्न नसक्ने अवस्थामा रहेको बताए। उनले यसो भनेर अझै एकता प्रक्रियाले लामो यात्रा तय गर्नुपर्ने जनाउ दिए।

‘यो कुरा लुकाएर लुक्ने होइन। के कुरा सत्य हो भने एमाले र माओवादीबीचमा अहिले वैचारिक र राजनीतिक मतभेदहरु छन्’, नेता श्रेष्ठले भने, ‘मतभेद भएका कुरालाई अन्तरिम समयका लागि थाती राख्दै, मध्यमार्गी बाटो अपनाएर महाधिवेशनबाट समाधान गर्ने गरी अघि बढ्नुपर्छ।’

पढ्नुस्: वाम एकता प्रस्तावमा विदेशीको धम्की : प्रचण्ड

पार्टी एकताचाहिँ हुने, तर दुवै पार्टीका नेता, कार्यकर्ताको आत्मीयता एकता हुन सकेन भने एकताको घोषणाले पनि पार्टीलाई शक्तिशाली नबनाउने उनको भनाइ छ। ‘त्यसैले दुवै पार्टीका नेता कार्यकर्ताले आफूलाई सम्मान भएको, देश र जनताको सेवा गर्नका निम्ति आफूले उपयुक्त भूमिका पाएको वातावरण निर्माण गर्नुपर्छ’, उनले भने, ‘त्यसैले अहिले हामी संगठनात्मक एकीकरणको नीति बनाउने चरणमा छौँ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.