यसरी मिल्यो वाम गठबन्धनको भागबन्डा

यसरी मिल्यो वाम गठबन्धनको भागबन्डा

काठमाडौं : वाम कार्यदलले प्रदेश सरकार नेतृत्वको टुंगो लगाएको छ । कार्यदलले प्रदेश १, ३, ४ र ५ मा एमाले तथा प्रदेश ६ र ७ मा माओवादी नेतृत्वमा सरकार गठन हुने गरी टुंगो लगाएको हो ।

सहमतिअनुसार एमालेले प्रदेश १, ३, ६ र ७ मा सभामुख पाउनेछ भने माओवादीलाई उपसभामुख दिइने भएको छ । प्रदेश ४ र ५ मा माओवादीले सभामुख लिनेछ भने एमालेको भागमा उपसभामुख परेको छ ।

कार्यदलको आइतबार दिउँसो बसेको बैठकले एमाले र माओवादीले मुख्यमन्त्री, सभामुख र उपसभामुखमा भागबन्डा टुंग्याउन नसकेपछि एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसमक्ष निर्णयका लागि पेस गरेको थियो ।

दुई नेताबीच आइतबार पाँच घण्टा लामो गोप्य वार्ता भएपछि पद भागबन्डामा सहमति भएको हो । दुई नेता गोप्य वार्तामा बस्नुअघि कार्यदल संयोजक सुवास नेम्बाङ र रामबहादुर थापा बादलसँग ब्रिफिङ सुनेका

थिए । अध्यक्षद्वयबीच भएको सहमतिअनुसार नै कार्यदलले मुख्यमन्त्रीलगायत पदमा भागबन्डा गरेको नेम्बाङले जानकारी दिए ।

उनले भने, ‘कार्यदलले दुवै अध्यक्षलाई ब्रिफिङ गरेपछि मात्रै हामीले प्रदेशका मुख्यमन्त्री र सभामुख उपसभामुखलगायत पदमा कहाँ-कहाँ कसले नेतृत्व गर्ने निर्णय गरेका हौं ।’

कार्यदलले मुख्यमन्त्रीसहित प्रदेश मन्त्रिपरिषद् सदस्य संख्याको भागबन्डा पनि आइतबार नै टुंग्याएको छ । प्रदेशका मन्त्रिपरिषद्मा एमाले ७० र माओवादी केन्द्र ३० प्रतिशत रहने गरी बाँडफाँट गरिएको छ ।

मन्त्रीहरूका कार्यविभाजन र प्रदेश संसदीय समितिका नेतृत्वको बाँडफाँट सम्बन्धित प्रदेशका मुख्यमन्त्री र दुवै पार्टीका प्रदेशसभा दलका नेताको सहमतिमा गरिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को संख्या भने प्रदेशसभाको संख्याको अनुपातअनुसार ७ देखि ११ सम्म रहने सहमति भएको छ ।

प्रदेश नेतृत्वको भागबन्डा टुंगिए पनि नाम भने पार्टीले टुंग्याउन बाँकी छ । एमालेले मुख्यमन्त्रीको नाम सम्बन्धित प्रदेश कमिटीलाई नै छनोट गर्ने जिम्मा दिने तयारी गरेको छ । तर, माओवादीले भने सोही नीति अपनाउने देखिएको छ । आकांक्षी धेरै देखिएकाले दुवै पार्टीमा केन्द्रको नेतृत्वले हस्तक्षेप गर्ने सम्भावना उत्तिकै छ ।

प्रदेश १ मुख्यमन्त्रीमा शेरधन राई र भीम आचार्यसहित तीन जनाले आकांक्षा देखाएका छन् । प्रदेश २ मा मधेसवादी दलको नेतृत्वमा सरकार गठन हुने निश्चित छ । प्रदेश ३ मा भने एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र राजेन्द्र पाण्डेले दाबी पेस गरेका छन् । प्रदेश मुख्यमन्त्री बन्नकै लागि केन्द्रीय संसद्का लागि चुनाव नलडेको भन्दै पाण्डेले दाबी प्रस्तुत गरिरहेका छन् । गुट परिवर्तन गरेरै भए पनि उनी मुख्यमन्त्री बन्ने दाउमा छन् । समावेशिता तथा पार्टीमा लामो योगदान दिएको आधारमा मुख्यमन्त्रीमा अष्टलक्ष्मीको दाबेदारी पनि कमजोर छैन ।

प्रदेश ४ मा पार्टीसचिव पृथ्वीसुब्बा गुरुङ र सदस्य किरण गुरुङबीच प्रतिस्पर्धा छ । प्रदेश ५ मा सचिव शंकर पोखरेल निर्विरोधजस्तै देखिएका छन् । उनलाई प्रदेश संसदीय दलको नेतासमेत घोषणा गरिसकेको छ ।

प्रदेश ६ मा माओवादीका महेन्द्रबहादुर शाही र नरेश भण्डारी आकांक्षी छन् । प्रदेश ७ मा माओवादी केन्द्रकै वीरमान चौधरी र झपट बोहराले लबिङ गरिरहेका छन् ।

मुख्यमन्त्री छानिने व्यवस्था

संविधानको धारा १६८ मा प्रदेश मन्त्रिपरिषद् गठन :

(१) प्रदेश प्रमुखले प्रदेशसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नेछ । निजको अध्यक्षतामा प्रदेश मन्त्रिपरिषद् गठन हुनेछ।

संविधानअनुसार प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको वा मुख्यमन्त्री पद रिक्त भएको मितिले ३५ दिनभित्र यस धाराबमोजिम मुख्यमन्त्री नियुक्तिसम्बन्धी प्रक्रिया सम्पन्न गर्नु पर्नेछ ।

प्रदेश प्रमुखले मुख्यमन्त्रीको सिफारिसमा प्रदेशसभा सदस्यमध्येबाट समावेशी सिद्धान्तबमोजिम मुख्यमन्त्रीसहित प्रदेशसभाका कुल सदस्य संख्याको २० प्रतिशतभन्दा बढी नहुने गरी प्रदेश मन्त्रिपरिषद् गठन गर्नेछ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.