७२ मिनेटसम्म पछि परेको बार्सिलोनालाई मेसी र सुआरेजले यसरी खेलमा पर्काए
काठमाडौं : स्पेनिस ला लिगामा हालसम्म अपराजित रहँदै आएको बार्सिलोनाले यस पटक पनि आफ्नो लयलाई कायम राखेको छ । ला लिगाको आइतबारको खेलमा आलाभेजविरुद्ध २-१ को संघर्षपूर्ण जित निकाल्न सफल भयो।
बार्सिलोनाको होम ग्राउण्ड क्याम्प नाउ रंगशालामा भएको खेलमा अलाभेजका जोन गुइडेटीले २३ औं मिनेटमा गोल गरेपछि बार्सिलोना १-० ले पछि परेको थियो । ७२ औं मिनेटसम्म पछि परेको बार्सिलोनालाई सुआरेजले गोल गरी बराबरी गर्न सफल भए । ८४ औं मिनेटमा मेसीले फ्री किकमार्फत सुन्दर गोल गरेपछि बार्सिलोना २-१ को जित निकाल्दै ३ अंक जोड्न सफल भयो।
शीर्ष स्थानका कायम रहेको बार्सिलोनाको आलाभेजमाथिको जितपछि २१ खेलबाट ५७ अंक पुगेको छ ।
आइतबार नै भएको खेलमा ला लिगा अंक तालिकाको दोस्रो स्थानमा रहेको यथ्लेटिको मड्रिडले लस पाल्मसमाथि ३-० को सहज जित निकाल्यो । यथ्लेटिको को जितका लागि ग्रिजम्यान, फर्नान्डो टोरेज, थोमस पार्टिले एक-एक गोल गरे । २१ खेलबाट यथ्लेटिको मड्रिडको ४६ अंकसहित दोस्रो स्थानमा यथावत रहेको छ । २१ खेलबाटै ४० अंक रहेको भ्यालेन्सिया तेस्रो र २० खेलबाट ३८ अंक रहेको रियल मड्रिड चौथो स्थानमा रहेका छन् ।
आइतबारका ला लिगाका अन्य खेलमा लेगानेजले स्पानिओलाई ३-२ ले हरायो । सेभिल्ला र गेटाफेले १-१ को बराबरी खेले