दाहाल भन्छन् : प्रतिबद्धता लागू गरेरै छाड्छौँ
काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको क्रममा वाम गठबन्धनका तर्फबाट गरिएका प्रतिबद्धता पूर्णरुपमा लागू गरेरै छाडिने दृढता व्यक्त गरेका छन्।
प्रेस सेन्टर नेपालको १४ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले जनताका सामु गरिएका प्रतिबद्धता पूर्णरुपमा कार्यान्वयन गरेर छाडिने र कुनै पनि प्रकारको अवरोधलाई चिरेर अगाडि बढ्ने बताएका हुन्।
राष्ट्रिय एकता र समृद्धिका लागि नयाँ संकल्प गरेर जानुपर्नेमा जोड दिँदै उनले भने 'जनताको अपेक्षा पूरा गर्न नयाँ संकल्प जरुरी छ। राजनीतिक स्थायित्वलाई पूर्णता दिन पनि आर्थिक क्रान्ति जरुरी छ।'
देशलाई अराजकतातर्फ लैजाने प्रयास भइरहेको भन्दै उहाँले त्यस्तो प्रयासलाई सफल हुन नदिने विश्वास व्यक्त गर्नुभयो। “हामी मुलुकलाई अराजकतामा धकेल्न खोज्नेको प्रयासलाई सफल हुन दिँदैनौँ' अध्यक्ष दाहालले भने।
सरकारका पछिल्ला गतिविधिप्रति संकेत गर्दै अध्यक्ष दाहालले आर्थिक अराजकता देखिन खोजेको र त्यस्तो प्रयास भइरहेकाले वाम गठबन्धनले त्यसलाई बाहिर निकालेर छाड्ने बताए।
वाम गठबन्धनले जनताका अगाडि गरेका प्रतिबद्धता पूरा गर्ने बताउँदै उनले देशलाई राजनीति स्थायित्व, सुशासन र समृद्धितर्फको यात्रामा लैजाने अठोट गरे।
पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले विगतमा आफूहरुले देखेको सपना पूरा गर्न पनि सबै मिलेर जानुको विकल्प नभएको उल्लेख गरे। जनयुद्धको समयमा कलमसँगै मादल र हतियार पनि प्रयोग भएको प्रसंग जोड्दै उनले केही सपना अझै बाँकी रहेकाले ती सपना कलमका माध्यमबाट पूरा गर्नुपर्नेमा जोड दिए।
यसैबीच जनयुद्धको समयमा युद्धपत्रकारितामा नै संलग्न संगीता खड्का, देवकी तिमिल्सिनालगायतलाई सम्मान गरिएको थियो। विसं २०६१ माघ १५ गते अखिल नेपाल क्रान्तिकारी पत्रकार संघको नाममा स्थापित संस्था गत वर्ष सम्पन्न अधिवेशनबाट प्रेस सेन्टर नेपालमा रुपान्तरित भएको थियो। रासस