इराकमा यातना भोगेकी शान्तालाई सहयोग जुट्दै
भोजपुर : तीन वर्षदेखि इराकमा कार्यरत ट्याम्केमैयुङ्ग गाउँपालिका –७ गोगनेकी ३४ वर्षीया शान्ता राईलाई मालिकको चरम यातना पछि उद्धार गरिएको छ । हाल उपचाररत राईको सहयोगका लागि युएईस्थित भोजपुरेहरुले थप आर्थिक सहयोग गरेका छन् ।
टिचिङ हस्पिटल काठमाडौं उपचाररत शान्तालाई भोजपुर हातेमालो समाज युएईका प्रतिनिधि राजिन राई र काठमाडौंस्थित एबिसी टेलिभिजनका पत्रकार अवतारमान राईले अस्पतालमै पुगेर १८ हजार पाँच सय रुपैयाँ हस्तान्तरण गरे ।
हालैमात्र खुट्टाको अपरेशन गरेकी शान्ताको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको अस्पतालले जनाएको छ । ठग दलालमार्फत इराक पुगेकी राईको मालिकको चरम यातनाबाट दुईवटै खुट्टा भाँचिएका थिए । खुट्टामा स्टिल लगाईएको र मेरुदण्डमा समेत गम्भीर चोट लागेकाले उनलाई तत्काल अपरेशन गर्नुपर्ने अस्पतालको भनाइ छ । उनको केही हप्ता अघिमात्र खुट्टाको अपरेशन गरिएको छ ।
शान्ताकी बहिनी ममताले आफ्नी दिदीलाई इराक पठाउने पश्चिम स्याङजाका ‘राम’ भनिने बलबहादुर थापा मगर र उनकी श्रीमती शशी घलेलाई कडा कारबाहीको माग गरेकी छिन् । ‘मजदुरी गरेर घरपरिवार धानी रहनुभएकी दिदीलाई यति ठूलो समस्या आउँदा केहि सोच्नै सकेकी छैन ।’ ममताले भनिन्
वैदेशिक रोजगारीका लागि इराक पु¥याउने दलाल बलबहादुर थापामगर र शशी घलेको खोजी भईरहेको प्रहरीले जनाएको छ । समाजले यसअघि पनि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारत रहँदा पीडित राईलाई ४० हजार सहयोग गरेको समाजका महासचिव तिर्थ योञ्जनले बताए ।