राष्ट्रियसभा निर्वाचन : ३२ सिटका लागि ५२ प्रतिस्पर्धी

राष्ट्रियसभा निर्वाचन : ३२ सिटका लागि ५२ प्रतिस्पर्धी

 

काठमाडौं : राष्ट्रियसभा सदस्य निर्वाचनका लागि २४ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । उम्मेदवारी फिर्ता लिने अन्तिम दिन सोमबारसम्म २४ जना निर्विरोध निर्वाचित भएका हुन् ।निर्विरोध हुनेमा प्रदेश १ मा ६ जना, प्रदेश २ मा ८ जना, प्रदेश ४ मा १ जना, प्रदेश ५ मा ३ जना, प्रदेश ७ मा ६ जना उम्मेदवार छन् । प्रदेश ३ र प्रदेश ६ का भने सबै ८ पदमा निर्वाचन हुनेछ ।

प्रदेश १ मा महिला ३ र अन्य ३ गरी ६ जना र प्रदेश २ मा भने सबै उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । प्रदेश ४ मा अपांगता वा अल्पसंख्यकको १ पद, प्रदेश ५ मा ३ महिला र प्रदेश ७ मा महिला ३ र अन्य ३ गरी ६ जना निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचनमा अब ३२ पदमा ५२ जनाबीच प्रतिस्पर्धा हुनेछ । निर्वाचन आयोगले सोमबार सबै उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरेको छ । निर्वाचन चिह्न पाएसँगै उम्मेदवारले चुनाव प्रचार प्रसार सुरु गरिसकेका छन् ।राष्ट्रियसभा निर्वाचनमा एउटा प्रदेशबाट महिला ३, अन्य ३, अपांग वा अल्पसंख्यक १ र दलित १ गरी ८ जना निर्वाचत हुने व्यवस्था छ ।

१० माघमा ५६ सिटका लागि ८३ जनाले उम्मेदवारी दर्ता गरेका थिए भने ७ जनाले उम्मेदवारी फर्ता लिएका छन् ।निर्वाचन कार्यतालिकाअनुसार सोमबार २ बजेसम्म उम्मेदवारलाई मनोनयनपत्र फिर्ता लिन समय प्रदान गरिएको थियो ।

प्रदेश १ मा ३ महिलासहित ६ जना निर्विरोध भएका छन् । यो प्रदेशमा निर्विरोध हुनेमा कांग्रेसका रमेशजंग रायमाझी, एमालेका पर्शुराम मेघी गुरुङ र हरिचरण सिवाकोटी, महिलातर्फ कांग्रेसका सरिता प्रसाई, एमालेका नैनकला ओझा र माओवादी केन्द्रका बीना पोखरेल छन् ।

प्रदेश २ मा ८ वटै पदमा निर्विरोध निर्वाचित भइसकेका छन् । निर्विरोध हुनेमा कांग्रेसका जितेन्द्र देव, एमालेका सुमनराज प्याकुरेल र राजपाका रमेशप्रसाद यादव, महिलाबाट कांग्रेसकी मुक्ताकुमारी यादव, फोरमकी प्रमिला कुमारी र माओवादीकी शशिकला दाहाल, अल्पसंख्यकबाट राजपाका वृषेशचन्द्र लाल र दलित कोटाबाट फोरमका रामप्रित पासवान छन् ।

६ नं. प्रदेशमा कोही पनि निर्विरोध भएनन् ।

प्रदेश नम्बर ३ मा ८ वटै पदमा मतदान हुने भएको छ । १७ जनाले उम्मेदवारी दिएकोमा तीन जनाले उम्मेदवारी फिर्ता लिएका छन् । फिर्ता लिनेमा एमालेका वेदुराम भुसाल, माओवादीका गंगा पराजुली र राप्रपाका लक्ष्मी रुचाल छन् । १४ जना चुनावी प्रतिस्पर्धामा छन् ।

एमाले र माओवादी केन्द्रको सहमतिमा प्रदेश ३ बाट खुलातर्फ राष्ट्रियसभा निर्वाचनमा उम्मेदवारी दिएका वेदुराम भुसालले उम्मेदवारी फिर्ता लिएका छन् । एमालेका वेदुरामसहित माओवादीबाट गंगा पराजुली र राप्रपाबाट लक्ष्मी रुचालले पनि नाम फिर्ता लिएका छन्।

आइतबार बिहान दुवै पार्टी अध्यक्षका साथै कार्यदल संयोजक सुवास नेम्बाङ र रामबहादुर थापाबीचको छलफलपछि भुसालको उम्मेदवारी फिर्ता लिने निर्णय भएको कार्यदलका सदस्य मातृका यादवले जानकारी दिए ।

प्रदेश ४ मा अपांगता भएका वा अल्पसंख्यक १ पदमा उम्मेदवार निर्विरोध भएकाले अन्य पदमा निर्वाचन हुनेछ । कांग्रेसका प्रकाश पन्थ निर्विरोध निर्वाचित भएका छन् भने सात पदमा चुनाव हुने भएको छ ।

प्रदेश ५ मा महिला ३ पदमा उम्मेदवारहरू निर्विरोध निर्वाचित भएकाले अन्य ३, दलित १ र अपांगता भएका वा अल्पसंख्यक १ गरी ५ पदमा निर्वाचन हुनेछ । निर्विरोध निर्वाचित हुनेमा कांग्रेसकी अनिता देवकोटा, एमालेकी कोमल वली र एमालेकै मीना बुढा छन् ।

प्रदेश ६ मा सबै पदमा निर्वाचन हुँदै छ ।

प्रदेश ७ मा महिला ३ र अन्य ३ गरी ६ पदमा उम्मेदवार निर्विरोध भएकाले अब दलित १ र अपांगता भएका वा अल्पसंख्यक १ गरी २ पदमा निर्वाचन हुनेछ ।निर्विरोध निर्वाचित हुनेमा महिलातर्फ कांग्रेसकी तारादेवी भट्ट, एमालेकी इन्दु कडरिया र एमालेकै कमला कुमारी ओली छन् । कांगे्रसका बद्री पाण्डे, एमालेका शेरबहादुर कुँवर र माओवादीका हरिराम चौधरी निर्विरोध निर्वाचित भएका छन् ।

एकताका लागि उम्मेदवारी फिर्ता : भुसाल

एमालेका पोलिटब्युरो सदस्य वेदुराम भुसालले राष्ट्रियसभा सदस्यका लागि प्रदेश ३ बाट उम्मेदवारी दिएकोमा एमाले-माओवादीबीच पार्टी एकताका लागि फिर्ता लिएको बताएका छन् ।

उनले उम्मेदवारी फिर्ताका सम्बन्धमा अन्नपूर्णसँग भने, ‘पार्टी अध्यक्ष केपी ओलीले पार्टी एकताका लागि उम्मेदवारी फिर्ता लिन गरेको आग्रहलाई स्विकारे ।’४७ वर्ष लामो राजनीतिक यात्रामा आफूले एमालेका लागि धेरै पटक त्याग गरेको पनि भुसालले स्मरण गरेका छन् ।

एक पटक राष्ट्रियसभा सदस्यबाहेक कुनै लाभको पदमा आफू नपुगेको बताए । उनले भने, ‘टिकट पाएर पनि उम्मेदवारी फिर्ता लिन त्याग मैले धेरै पटक गरेको छु । मेरो इच्छा भनेको एकीकृत कम्युनिस्ट पार्टी बनाउनु हो । त्यो उद्देश्य पूरा गर्न राष्ट्रियसभा उम्मेदवारी फिर्ता ठूलो कुरा होइन ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.