डाकियो कांग्रेस प्रदेशसभा सांसदको बैठक

डाकियो कांग्रेस प्रदेशसभा सांसदको  बैठक

काठमाडौ : सातै प्रदेशसभाको पहिलो बैठक माघ २२ गतेसम्म बस्ने भएपछि कांग्रेसले आफ्ना प्रदेश सासंदलाई पहिलो बैठक गर्न निर्देशन गरेको छ । २४ गते हुने राष्ट्रियसभाको निर्वाचन दृष्टिगत गरी सबै प्रदेशसभाको बैठक २२ गते सम्ममा डाकिएको छ ।

कांग्रेसको केन्द्रीय नेतृत्वले प्रादेशिक स्तरमा प्रदेशसभा सासंदलाई २२ र २३ गते पहिलो बैठक गर्न निर्देशन दिएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए । उनले भने, ‘यसका लागि केन्द्रीय प्रतिनिधिसमेत खटाइ सकिएको छ ।’ चुनावमा कमजोर परिणाम बेहोरेको कांग्रेस सातै प्रदेशमा सरकारबाहिर बस्ने निश्चित भएकाले प्रदेशसभामा समेत कांग्रेस प्रतिपक्षीको बेन्चमा बस्नेछ । शर्माले प्रतिपक्षीको भूमिका महत्वपूर्ण भएकाले कांग्रेसले सुरुदेखि नै प्रदेशसभामा कसरी जाने छलफल गर्न लागेको बताए । यसका साथै संसदीय दलको नेतादेखि प्रदेश स्तरमा प्रतिपक्षीमा पार्टीले पाउने स्थानबारे पनि २२ र २३ गते नै प्रारम्भिक छलफल हुने कांग्रेसले बताएको छ ।

‘पहिलो बैठकले नै संसदीय दलको नेता चुन्नेलगायत सबै काम गर्छ भन्ने होइन’, प्रवक्ता शर्माले भने, ‘तर हामीले सुरुदेखि नै छलफल र समझदारी कायम गर्ने भनेका छौं ।’ राष्ट्रियसभा निर्वाचनमा मधेसी दलहरूसँग अघोषित सहकार्य गरेको कांग्रेस प्रदेश २ मा गठन हुने मधेसी दलको सरकारमा सहभागी हुने नहुने निश्चित भएको छैन । प्रदेश २ बाहेक बाँकी ६ वटै प्रदेशमा वाम गठबन्धनको प्रष्ट बहुमत छ ।

राष्ट्रियसभा चुनावमा कांग्रेसलाई सघाउन मधेसी दल संघीय फोरम र राजपाले प्रदेश १ र ५ मा उम्मेदवारी दिएका छैनन् । त्यहाँ संघीय फोरम र राजपाको मत कांग्रेसका पक्षमा जाने आन्तरिक समझदारी भइसकेको नेताहरूले बताएका छन् । संघीय फोरम र राजपाले प्रदेश २ मा गठन गर्ने संयुक्त सरकारमा कांग्रेस सहभागी हुने नहुने टुंगो लागिनसकेको नेताहरू बताउँछन् ।

कांग्रेस प्रवक्ता शर्माले २४ गतेको राष्ट्रियसभा निर्वाचनपछि थप रणनीतिबारे छलफल हुने बताए । ‘अहिले पहिलो बैठक गर्न भनेका छौं’, उनले भने, ‘२४ गतेपछि बस्ने बैठकमा सरकारलगायत अन्य विषयमा छलफल हुनेछ ।’ उनका अनुसार पहिलो बैठकले संसदीय दलको नेतादेखि राष्ट्रियसभा निर्वाचनबारे छलफल गर्नेछ । प्रत्यक्ष र समानुपातिक गरी कांग्रेसबाट सातवटै प्रदेशमा १ सय १३ सांसद निर्वाचित भएका छन ।

प्रदेश १ मा कुल ९३ सांसदमध्ये कांग्रेसबाट प्रत्यक्षमा ८ र समानुपातिकमा १३ गरी २१ सांसद छन् । यो प्रदेशमा कांग्रेस संसदीय दलको नेतामा ४ जनाको चर्चा छ । प्रदेश २ मा कुल १ सय ७ सांसदमध्ये कांग्रेसबाट प्रत्यक्षमा ८ र समानुपातिकमा ११ गरी १९ सांसद छन् । यहाँ संसदीय दलको नेतामा ३ जना चर्चामा छन् । प्रदेश ३ मा कुल १ सय १० सांसदमध्ये कांग्रेसबाट प्रत्यक्षमा ७ र समानुपातिकतर्फ १४ गरी २२ सांसद छन् ।

प्रदेश ४ मा कुल ५७ सांसदमध्ये कांग्रेसबाट प्रत्यक्ष ६ र समानुपातिकतर्फ ९ गरी १५ सांसद छन् । प्रदेश ५ मा कुल ९० सांसदमध्ये कांग्रेसबाट प्रत्यक्ष ७ र समानुपातिकतर्फ १२ गरी १९ सांसद छन् । प्रदेश ६ मा कुल ४० सांसदमध्ये कांग्रेसले प्रत्यक्षतर्फ १ र समानुपातिकतर्फ ५ गरी ६ सांसद छन् । प्रदेश ७ मा कुल ५३ सांसदमध्ये कांग्रेसबाट प्रत्यक्षमा ४ र समानुपातिकतर्फ ८ गरी १२ सांसद छन् ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.