टेबल ठोक्न नपाउने भए सांसदले

टेबल ठोक्न नपाउने भए सांसदले

बुटवल : संसद् बैठकमा सांसदले प्रायः टेबल ठोकेर प्रस्तावको समर्थन र विरोधमा मत जाहेर गर्छन्। तर, प्रदेश ५ का सांसदले भने त्यो मौका नपाउने भएका छन्। संसद्को बैठकस्थल निर्माणमा भएको ढिलाइले यस प्रदेशका सांसदका लागि कुर्सीअगाडि टेबल राख्न नसकेपछि उनीहरू सो सुविधाबाट वञ्चित भएका हुन्। संसद् बैठक हुन ५ दिन बाँकी रहँदा बैठकस्थल निर्माण कार्य अझै सुरु भएको छैन। प्रदेश ५ का सांसदले पहिलो बैठक शपथग्रहणमा जस्तै सामान्य कुर्सीमा बस्नुपर्ने भएको हो।

माघ २१ गते प्रदेश ५ को पहिलो प्रदेशसभा बैठक बस्ने भए पनि तयारी अझै गरिएको छैन। बैठक कक्षको तयारी सुरु नभएपछि पहिलो बैठकको अध्यक्षता गर्ने ज्येष्ठ सदस्य बलदेश शर्मा पोखरेल अन्योलमा छन्। बैठकस्थल तयार गर्न पोखरेल आइतबार र सोमबार दिनभर प्रस्तावित संसद् भवन बुटवल उद्योग वाणिज्य संघमा एक्लै बसिरहे। ‘सभामुख, संसदको सचिव, सांसद बस्ने कुर्सी राख्नेदेखि बार लगाउनेसम्मका काम गर्नुपर्ने हुन्छ। तर, अहिलेसम्म काम सुरु भएकै छैन’, शर्माले भने, ‘अब पाँच दिनमा कसरी संरचना तयार होला ? ’

पूर्वाधार व्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली र भवन डिभिजन कार्यालयका प्रमुख सुरेश ठाकुरले आइतबारदेखि काम सुरु हुने बताए पनि सोमबारसम्म बैठकस्थल निर्माणको कुनै काम भएन। संसद् बैठक बस्ने हलमा गैरसरकारी संस्थाले मंगलबार उत्प्रेरणा तालिम आयोजना गरेको छ।

सरकारले प्रादेशिक संरचनाको भवन व्यवस्थापन गर्न साढे ७ करोड रुपैयाँ विनियोजन गरी निर्माणको जिम्मा भवन डिभिजन रुपन्देहीलाई दिएको छ। ‘सबै पूर्वाधार बनाउन कठिन छ। तत्काल अस्थायी बैठक स्थल व्यवस्थापन हुन्छ’, भवन डिभिजन रुपन्देहीका कार्यालय प्रमुख सुरेश ठाकुरले बताए।

बैठकस्थल निर्माणका लागि संसद् सचिवालयले सातै प्रदेशमा एकै खालको नक्सा पठाएको छ। मञ्चमा सभामुखको अग्लो कुर्सी, छेउमा केही होचो सचिव कुर्सी राखेर बैठकस्थल तयार गर्नुपर्ने हुन्छ। अगाडि तीन ठूला दलसहित अन्य तीन साना दलका सांसद बस्ने कुर्सी रहन्छ। सांसद बस्ने कुर्सीभन्दा पछि बार लगाउने र कूटनीतिक नियोग, पत्रकारका लागि बस्ने स्थान निर्माण गर्ने गरी नक्सा पठाइएको छ।

बैठक स्थलमा ‘साउन्ड सिस्टम’ व्यवस्थापनको काम अझै भएको छैन। यसका लागि सञ्चार मन्त्रालयले चार दिनअघि दुई कर्मचारी पठाएको छ। तर, हल व्यवस्थापन भइनसकेकाले उनीहरू अन्योलमा छन्। संसद्का कर्मचारी आइतबार आउने बताइए पनि सोमबारसम्म आइपुगेका छैनन्।

संसद् सचिवालयले सह–सचिव सुरेन्द्र अर्यालको नेतृत्वमा प्रदेश संसद्का लागि कर्मचारी खटाएको छ। प्रदेश मुख्यालयमा हालसम्म प्रदेश प्रमुखको कार्यालयमा दुई जना मात्रै कर्मचारी छन्। कर्मचारी नआएकाले प्रदेश बैठकलगायत अन्य काम अन्योलमा छ। बैठक के–कसरी सञ्चालन गर्ने नियमावलीसमेत अझै आइसकेको छैन। ‘बैठकमा के कसो गर्ने केही नियमावली आएको छैन’, सभामुखको जिम्मेवारी पाएका ज्येष्ठ सदस्य पोखरेलले भने, ‘कर्मचारी आएपछि केही उपाय लाग्ला।’

सभामुखसहितको संसद् सचिवालयका लागि बुटवल उद्योग वाणिज्य संघको भवनका दुई वटा तला र हल प्रयोग गरिनेछ। सभामुखको जिम्मेवारी पाएका पोखरेलको सचिवालयमा टेबल–कुर्सी व्यवस्थापन भने भइसकेको छ। प्रदेश ५ मा ८७ जना सांसद छन्। बैठक बस्ने मिति तोकिएसँगै सांसद बुटवल आउने क्रम बढेको छ। बुटवलमा रहेका सांसद बैठकस्थल र प्रदेश प्रमुखको कार्यालयतिर पुग्न थालेका छन्।

 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.