अस्गवात घटनाको प्रतिवेदन : सचेत गराउनेदेखि प्रतिबन्धसम्मको सुझाव
काठमाडौं : चार महिनाअघि तुर्कमिनिस्तानको अस्गवातमा भएको ‘पाँचौं एसियन इन्डोर तथा मार्सल आर्टस् गेम्स’का क्रममा नेपाली खेलाडी र खेल पदाधिकारीले देखाएको गैरजिम्मेवारीपूर्ण रवैयाले राष्ट्रले लज्जाबोध गर्नुपर्ने स्थिति उत्पन्न भएपछि त्यसको छानबिन गर्न गठित समितिले बुझाएको प्रतिवेदनमा दोषीलाई सचेत गराउनेदेखि प्रतिबन्धसम्मको सजाय सिफारिस गरिएको छ ।
उक्त प्रतियोगितामा सहभागी हुन अस्गवात पुगेका तीन खेलका चारजना खेलाडीले विभिन्न कारण देखाउँदै आफ्नो खेल छाडेर विपक्षीलाई वाक ओभर दिएका थिए । खेलाडीले विभिन्न बहानामा खेल छाडेको समाचार अन्नपूर्ण पोस्ट्मा प्रकाशित भएपछि त्यसको दोष खेलाडी र पदाधिकारीले एकअर्कामाथि थोपरेका थिए ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन गएर खेल स्थलमा राष्ट्रको प्रतिष्ठा धूमिल पार्ने कार्य गरेको भन्दै युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले घटनाको विषयमा छानबिन गर्न राखेपका बोर्ड सदस्य गंगाबहादुर थापाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो । सोही समितिले साढे तीन महिना लामो छानबिनपछि बुझाएको प्रतिवेदनमा मुवाथाई खेलाडी नवराज गुरुङमाथि एक वर्षसम्म कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाउने गरी प्रतिबन्ध लगाउनुपर्ने सुझाव दिइएको छ ।
मुवाथाईको ६७ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्न अस्गवात पुगेका नवराज रिङमा नउत्रँदा उनका विपक्षीले वाकओभर पाएका थिए । रेफ्रीले पटकपटक बोलाउँदा पनि नवराज रिङमा नआएपछि रेफ्रीले मकाउका लेइका लोनलाई वाक ओभर दिएका थिए । रिङमा ओर्लनुपर्ने समयमा नवराज खेलस्थल नजिकैको हलमा अभ्यास गरिरहेका थिए ।
यो पनि पढ्नोस् : यसरी लज्जित बन्यो अन्तर्राष्ट्रिय खेलमञ्चमा नेपाल
‘प्रतियोगिताका क्रममा नवराज गुरुङले नखेल्ने नै चेष्टा लिएको बुझियो । सेभ दी मिसनले नै ४ बजे खेल रहेको जानकारी दिँदा पनि खेलमा सहभागी भएको पाइएन’, प्रतिवेदनमा भनिएको छ । नवराजले भने आफूलाई ४ बजे खेल सरेको कुरा नै जानकारी नभएकाले आफू खेलस्थल नजिकैको हलमा अभ्यासमा व्यस्त रहेको दाबी गरेका थिए ।
यसैगरी छानबिन समितिले बुद्धिचाल र कुराँस खेलका खेलाडी निर्धारित समयमा खेलस्थलमा नपुग्नुमा खेलाडीसँगै टोली व्यवस्थापकको समेत कमजोेरी रहेको निष्कर्ष निकालेको छ । ‘बुद्धिचाल र कुराँस खेलका खेलाडी निर्धारित समयमा खेल स्थलमा नपुग्नुमा खेलाडीसँगै टिम व्यवस्थापकको पनि कमजोरी देखिएकाले भविष्यमा यस्तो गल्ती नदोहो¥याउन दुवै खेल संघ र व्यवस्थापकलाई सचेत गराउनुपर्ने देखिन्छ’, छानबिन समितिको प्रतिवेदनमा भनिएको छ ।
कुराँस खेलमा सहभागिता जनाउन तुर्कमिनिस्तान पुगेका दीपक छन्त्याल खेल सुरु हुनुभन्दा ठीकअघि शौचालय गएपछि प्रतियोगितामा सहभागी हुनबाट वञ्चित भएका थिए । पुरुषतर्फको ९० केजी तौलसमूहमा सहभागिता जनाउन अस्गवात पुगेका दीपकलाई रेफ्रीले पटकपटक बोलाउँदा पनि उनी रिङमा उपस्थित नभएपछि रेफ्रीले विपक्षीलाई विजयी घोषित गरिदिएका थिए । दीपक खेल्ने समयमा शौचालय गएका थिए तर शौचालयबाट फर्कंदा उनको खेल्ने समय सकिइसकेको थियो ।
यस्तै घटना बुद्धिचाल खेलमा पनि देखिएको थियो । नेपालका मदनकृष्ण कायस्थ र मोनालिसा खम्बू खेल सुरु हुनुभन्दा ४० मिनेटपछि मात्र खेलस्थलमा पुगेका थिए । निर्धारित समयमा खेलस्थलमा नपुगेपछि नियमअनुसार उनीहरूले आफ्ना विपक्षीलाई वाकओभर दिनु परेको थियो । बिहान ९ः०० बजे खेलमा पुग्नुपर्नेमा मदनकृष्ण र मोनालिसा ९ः४० बेजमात्र खेल स्थलमा पुगेका थिए ।
यसैगरी छानबिन समितिले भविष्यमा व्यवस्थापक र प्रशिक्षकको व्यवस्था नगरी कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडी सहभागी नगराउन पनि सुझाव दिएको छ । यसका साथै भविष्यमा कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउन पारदर्शी रूपमा खेलाडी छनोट गर्नुपर्ने र खेलाडीको प्रमाणीकरण गरेर उत्कृष्ट खेलाडीलाई मात्र अन्तर्राष्ट्रिय प्रतियोेगितामा सहभागी गराउनुपर्ने सुझाव पनि अघि सारेको छ ।
यसैगरी कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएर फर्किएको सात दिनभित्र सम्बन्धित खेल संघले अनिवार्य रूपमा आफू सहभागी भएको प्रतियोगितामा खेलाडीको प्रदर्शन, कमीकमजोरी र भविष्यमा गर्नुपर्ने सुधारजस्ता विषयलाई समेटेर प्रतिवेदन बुझाउनुपर्ने सुझाव पनि छानबिन समितिले दिएको छ । राखेपका सदस्यसचिव केशवकुमार विष्टले छानबिन समितिको प्रतिवेदनलाई कार्यान्वयन गर्ने विषयमा आफूहरू अगाडि बढिसकेको बताए । ‘छानबिन समितिको प्रतिवेदन यथाशीघ्र कार्यान्वयनमा आउनेछ, यस विषयमा प्रक्रियासमेत अघि बढिसकेको छ’, उनले भने ।
‘अन्तर्राष्ट्रिय खेल मञ्चमा राष्ट्रको लज्जाबोध’ शीर्षकका अन्नपूर्ण पोस्ट्मा समाचार प्रकाशित भएपछि युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसी र राखेपका सदस्यसचिव विष्टले दोषीमाथि कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । सदस्यसचिव विष्टले नेपाल ओलम्पिक कमिटी (एनओसी) र सम्बन्धित खेल संघ गम्भीर नभएकाले अस्गवातमा राष्ट्रले लज्जाबोध गर्नुपर्ने अवस्था उत्पन्न भएको धारणा पनि व्यक्त गरेका थिए । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीबाट मान्यताप्राप्त राष्ट्रिय ओलम्पिक कमिटीको सहकार्यबिना कुनै पनि राष्ट्रले अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडी सहभागी गराउन पाउँदैन । सदस्यसचिव विष्टले अस्गवात पुगेका मुवाथाईका खेलाडी नवराज कसरी प्रतियोगितामा सहभागी भए भन्ने विषयमा समेत अनभिज्ञता व्यक्त गरेका थिए ।
राखेपले बुद्धिचाल, पौडी, तेक्वान्दो र भारोत्तोलनमा मात्र खेलाडी अस्गवात पठाएको सदस्यसचिव विष्टको दाबी थियो । जब कि प्रतियोगितामा नेपालबाट आठ खेलका १८ खेलाडीसहित २७ जनाले सहभागिता जनाएका थिए । उनले पुरुष थ्री बाई थ्री बास्केटबल, मुवाथाई, किक बक्सिङ र कुराँस खेलका खेलाडीको विषयमा अनभिज्ञता व्यक्त गरेका थिए ।
अस्गवातमा भएको प्रतियोगिताको उद्घाटन समारोहमै पनि नेपालको राष्ट्रिय झन्डा बोक्ने विषयमा अन्योल उत्पन्न भएको थियो । अन्तर्राष्ट्रिय मान्यताप्राप्त नेपाल ओलम्पिक कमिटीले प्रतियोगिताको उद्घाटन समारोहमा मार्च पासमा तेक्वान्दो खेलाडी नीमा गुरुङले राष्ट्रको झन्डा बोक्ने जानकारी दिएको थियो । तर, उद्घाटन समारोहमा भने अर्का तेक्वान्दो खेलाडी वीरबहादुर महराले नेपालको झन्डा बोकेका थिए ।
उद्घाटन समारोहपछि नीमाको जहाज ढिला भएकाले वीरबहादुरलाई झन्डा बोक्न दिइएको स्पष्टीकरण दिइएको थियो । पदाधिकारीहरू भने प्रतियोगिता सुरु हुनुअघि नै अस्गवात पुग्ने तर खेलाडी भने उद्घाटन समारोहमा समेत पुग्न नसक्ने गरी मिलाइएको यातायात व्यवस्थापनको विषयलाई लिएर समेत विभिन्न टिकाटिप्पणी भएको थियो ।